एनएमबि माईक्रोफाईनान्सको त्रैमासिक समीक्षा, आव २०७६/०७७ को योजना तर्जुमा
काठमाडौँ । एनएमबि माईक्रोफाईनान्स वित्तीय संस्थाले शाखा प्रवन्धक स्तरीय २ दिने त्रैमासिक समीक्षा, आव २०७६/०७७ को योजना तर्जुमा गोष्ठी तथा शाखा ब्यवस्थापन तालिम सम्पन्न गरेको छ । वैशाख २० र २१ गते दिइएको उक्त तालिममा खाडिचौर अनुगमन स्टेशन, ढल्केवर अनुगमन स्टेशन, गोपेटार अनुगमन स्टेशन र दव्रेवास अनुगमन स्टेशन अन्तगर्तका ४७ वटा शाखाका ४७ जना शाखा प्रवन्धकहरुको सहभागिता रहेको थियो । तालिम कार्यक्रममा लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत मुरलीप्रसाद लम्साल, जोखिम ब्यवस्थापन विभाग प्रमुख सूर्यप्रसाद उपाध्याय, कर्जा विभाग प्रमुख चन्दनकुमार सरदार, वित्त ब्यवस्थापन विभाग प्रमुख कृष्णप्रसाद गैह्रे र अनुगमन अधिकृत चार जना क्रमशः लंकबहादुर वम, प्रकाश रावल, पुरनचन्द्र चापागाई र कृष्णप्रसाद नेपालले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । सो अवसरमा शाखाको यस आर्थिक वर्ष २०७५/०७६ तेस्रो त्रैमास सम्मको प्रगति समीक्षा, आगामी आर्थिक वर्ष २०७६÷०७७ को रणनीति तथा लक्ष्य निर्धारण, शाखा ब्यवस्थापन, शाखा व्यवस्थापनमा शाखा प्रवन्धकको भूमिका, भाखा नाघेको कर्जा ब्यवस्थापन, लघुवित्त संचालनका क्रममा आइपरेका समस्याको समाधान, कर्जा लगानी ब्यवस्थापन, आन्तरिक नियन्त्रण र आन्तरिक लेखा परीक्षण प्रणाली, अनुगमनका क्रममा देखिएका कैफियतहरु र ग्राहक सदस्यहरु संग गर्ने व्यवसायिक व्यवहार र सम्बन्ध लगायत विषयवस्तुमा प्रशिक्षण दिएको थियो । वित्तीय संस्थाले पोखरा महानगरपालिका वडा नं.२५ हेम्जा कास्कीमा केन्द्रीय कार्यालय स्थापना गरी ५६ जिल्लामा १०० वटा शाखा विस्तार गरी करिब एकलाख विपन्न घरपरिवारलाई लघुवित्त सेवा प्रदान गदै आइरहेको जनाइएको छ ।
ट्रम्पको एक ट्वीटले खस्कियो एसियाली शेयर बजार
हङकङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को सातादेखि लागू हुनेगरी २०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा करबृद्धि गर्ने चेतावनी दिएसँगै सोमबार एसियाली शेयर बजारमा ठूलो गिरावट आएको छ । विश्व अर्थतन्त्रका पहिलो र दोस्रो स्थानमा रहेका संयुक्तराज्य अमेरिका र चीनबीच जारी व्यापारिक तनाबलाई मत्थर बनाउन र नयाँ व्यापार सम्झौता गर्न केही महिनादेखि जारी वार्ता दुबै पक्षबाट “सकारात्मक” रहेको बताइए पनि तार्किक निष्कर्षमा पुग्न सकेको छैन । तर, व्यापार वार्ता निकै सुस्त किसिमबाट अघि बढेको भन्दै राष्ट्रपति ट्रम्पले चीनमाथि थप दबाब दिन चाहनु भएको केही विश्लेषकको भनाई छ । शाङ्घाई शेयर बजार एकै दिन ५ प्रतिशतले घटेको छ भने एसियाका अन्य शेयर बजारमा पनि मन्दी छाएको छ । “विगत १० महिनादेखि चीनले ५० अर्ब डलर बराबरका उच्च प्रविधिका सामग्रीका लागि २५ प्रतिशत कर तिर्दै आएको छ, र २०० अर्ब डलर बराबरका सामानमा थप भएको १० प्रतिशत कर तिरिरहेको छ,” राष्ट्रपति ट्रम्पले स्थानीय समयअनुसार आइतबार राति ट्वीट गर्दै भने, “अब आगामी शुक्रबारदेखि त्यो १० प्रतिशत करलाई २५ प्रतिशत बनाइनेछ ।” राष्ट्रपति ट्रम्पको ट्वीटसँगै अर्को चरणको वार्ता हुने वा नहुने भन्नेमा अन्यौल बढेको छ । यसैसाता चिनियाँ व्यापार वार्ताकारहरु वार्ताका लागि अमेरिका प्रस्थान गर्ने कार्यक्रम तय भएको थियो । ब्लुमबर्ग न्यूजका अनुसार चिनियाँ पक्षले आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । अमेरिका र चीनले गतवर्ष एकअर्का विरुद्ध ३६० अर्ब अमेरिकी डलर बराबरका सामानमा करबृद्धि गरेका छन् । तर, राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच थप करबृद्धि नगर्ने र वार्ताद्वारा समस्याको समाधान निकाल्ने सहमति भएपछि गतवर्ष डिसेम्बर १ तारिख व्यापार वार्ता जारी छ । उक्त सहमति भएपछि शेयर बजारको गिरावट रोकिएको थियो । हङकङको शेयर बजार पनि ३.३ प्रतिशत घटेको छ । सिंगापुरको शेयर बजार ३.३ प्रतिशत र ताइपेईको शेयर बजार १.८ प्रतिशतले घटेको छ । सिड्नी र वेलिङ्टनको शेयर बजारमा एकएक प्रतिशत घटेको छ । रासस/एएफपी
एनबीआई र देवः विकास बैंकबीच वित्तीय साक्षरता कार्यक्रम सम्बन्धी सम्झौता
काठमाडौँ । नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट लि.(एनबीआई) र देवः विकास बैंक लि.बीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले विस्तार गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । साथै बैंकमा कार्यरत कर्मचारीहरुलाई बिशिष्टिकृत बैंकिङ्ग प्रमाणीकरण प्रदान गर्ने जेएएलबीआईकोर्सको विषयमा पनि सम्झौता भएको छ । उक्त सम्झौतामा नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बा र देवः विकास बैंक लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।