आईपीओ आएको गणपतिको रिपोर्टचाहिँ कस्तो आयो, तीन महिनामा रिजर्भ ४५०%
काठमाडौं । प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को क्रममा रहेको गणपति माइक्रोफाइनान्सले आफ्नो नाफा २ करोड २३ लाख रुपैंया पुर्याएको छ । पुस महिनाको १ करोड ५१ लाख रुपैंया रहेको नाफालाई तीन महिनामा ७२ लाख रुपैंयाले बढाएर उक्त आकारमा पुर्याएको हो । अघिल्लो वर्षसम्म घाटामा रहेको गणपतिले यो वर्षको ९ महिनामा सो मात्रामा नाफा कमाउँदा त्यो नाफा जारी पुँजीको आधारमा प्रतिशेयर करिब ४२ रुपैंया हो । नाफासँगै माइक्रोफाइनान्सले रिजर्भको आकारमा उच्च सुधार गरेको हो । पुस महिना २ करोड रहेको गणपतिको रिजर्भ चैतसम्म आइपुग्दा झन्डै ४.५ गुणा माथि पुगेर ९ करोड रुपैंया कायम भएको छ । गणपतिले चैत मसान्तसम्म ७७ करोड रुपैंया कर्जा प्रवाह गर्दा ४ करोड १९ लाख रुपैंया खुद व्याज आम्दानी गरेको छ । उसले ५४ करोड ८५ लाख रुपैंया बराबरको ऋण लिँदा २० करोड रुपैंया भने सदस्यहरुबाट बचत संकलन गरेको जनाएको छ । गणपतिको हाल पुँजी पर्याइतता अनुपात १०.६६ प्रतिशत छ । यो अनुपात निष्कासित आईपीओको सूचीकरणपछि बढ्छ । त्यस्तै गणपतिको कस्ट अफ फण्ड १०.१८ प्रतिशत छ । निष्क्रिय कर्जा अनुपात भने ०.९७ प्रतिशत छ ।
यूकेमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको कार्यालय उद्घाटन
काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा यूकेमा पनि शुरु भएको छ । आइतबार यूकेको रेडीङमा कार्यालय उद्घाटन भएको हो । उक्त कार्यक्रममा युकेका लागी नेपालका राजदूत डा. दुर्गाबहादुर सुवेदी प्रमुख अतिथिका रुपमा रहेका थिए । साथै, एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामी, रेडिङ नेपाल समाजका अध्यक्ष टेकबहादुर गुरुङ, सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपालका प्रबन्ध निर्देशक चन्द्र टण्डन, सिटी एक्सपे्रस मनी ट्रान्सफर नेपालका उपाध्यक्ष डोलराज शर्मा, सिटी एक्सप्रेस मनी ट्रान्सफर जापानका अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृत महेशकुमार श्रेष्ठ र सिटी एक्सप्रेस मनी ट्रान्सफर यूके लिमिटेडका प्रबन्धनिर्देशक करमबहादुर गुरुङ्गले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । सिटी एक्सप्रेस मनी ट्रान्सफर यूकेले आफ्नो सेवा मोवाइल एप्लिकेशन र अनलाईन बाहेक यूके भर आफ्ना प्रतिनिधि मार्फतपनि दिने योजना बताएको छ । छिट्टै नै यूकेबाट नेपालमा मात्रै सीमित नभई विश्वभर बिप्रेषण सेवा दिने योजनापनि सार्वजनिक गरेको छ ।
गणपतिको शेयर आवेदन आजदेखि, १५०० कित्तासम्म आवेदन दिन सकिने, कति भर्ने ?
काठमाडौं । गणपति माइक्रोफाइनान्सको आईपीओ सोमबारदेखि खुल्दैछ । जम्म ३ लाख ३५ हजार कित्तामध्ये कर्मचारी र म्युचुअल फण्डको आरक्षण कटाएर बाँकी रहेको ३ लाख १३ हजार ७५ कित्ता शेयरका लागि सोमबार बैंकिङ समयदेखि आवेदन खुला हुनेछ । उक्त कम्पनीको आईपीओ बिहीबार बन्द हुनेछ । न्यूनतम १० देखि १५०० कित्तासम्म आवेदन गर्न सकिने उक्त शेयर ३१ हजार ३०७ जनालाई १०/१० कित्ताका दरले वितरण हुनेछ । आवेदकको संख्या ३१ हजारभन्दा कम भए मात्रै आवेदकलाई २० कित्ता शेयर पर्ने सम्भावना रहन्छ । तर त्यो असम्भवप्रायः रहेकोले आवेदकले न्यूनतम १० कित्तामात्रै आवेदन गर्नु उपयुक्त हुन्छ । उक्त आवेदन डिम्याट खातासँग लिंक भएका जुनसुकै बैंक खाता भएको बैंकका शाखाहरुबाट भर्न सकिन्छ वा मेरो शेयरका प्रयोगकर्ताले इन्टरनेट सुविधा भएका जुनसुकै स्थानमा रहेर पनि भर्न सकिन्छ ।