‘दशैमा डबलको डबलको डबल’ अफर, आइएमईमा पठाएको रकमको आठ गुणासम्म जित्ने अवसर

काठमाडौं । आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ । २०७६ साल भदौ १५ गतेदेखि कार्तिक मसान्तसम्म कायम हुने गरी ७७ दिनका लागि सेवाग्राहीमुखी उक्त अफर राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकावीच सार्वजनिक गरिएको हो । अफर अनुसार हरेक दिन आइएमई पे मार्फत पैसा पठाउने हरेक भाग्यशाली सेवाग्राहीहरुलाई आइएमई पे वालेटमा डबल रिवार्ड प्वाइन्ट, हरेक हप्ता दुई जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक (१) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ । अफर सार्वजनिक कार्यक्रममा संक्षिप्त मन्तब्य दिँदै आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले हरेक बर्ष चाडपर्वलाई लक्षित गर्दै आइएमईले ल्याउने स्कीममा आमसेवाग्राहीहरूको उल्लेख्य सहभागिता रहेको बताउँदै यस वर्ष त्यो सहभागिता झनै बढ्ने विश्वास व्यक्त गरे । त्यस्तै आइएमईका ब्राण्ड एम्बासडर दीपक राज गिरिले आइएमई र आइएमईका सेवाग्राहीहरूवीचको प्रगाढ सम्बन्धले नै आइएमईलाई एक सफल व्यवसायीक ब्राण्ड बनाएको उल्लेख गर्दै यो दशैँमा आइएमईले ल्याएको खुसीलाई डबलको डबलको डबल गरौँ स्कीम त्यो सम्बन्धलाई थप प्रगाढ बनाउन सफल हुने विश्वास व्यक्त गरे । सेवा र शर्त अनुसार भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिनेछ । योजना अवधिमा स्वदेश तथा विदेशबाट पैसा पठाउने सवै सेवाग्राहीहरू स्वत सहभागी बन्ने छन् । सेवाग्राहीहरुले आइएमईको जुनसुकै एजेन्ट सञ्जालमार्फत रेमिटेन्स कारोबार गरेको भौचरको सक्कलप्रती योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ । छनोटमा परेका विजेताको सिफारिसमा नेपालमा बस्नुहुने आफन्तलाई पुरस्कार रकम प्रदान गर्न गरिने जनाइएको छ ।

नेरुडेले लघुवित्तले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने

काठमाडौँ । नेरुडे लघुवित्त विकास बैंक लिमिटेडले सेयरधनीहरुलाई २० प्रतिशत प्रतिफल दिने घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको बैठकले चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ५.७९ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृतशी प्राप्त भई साधारण सभाबाट पारित भएपछि बोनस प्रदान गर्ने कम्पनी सचिव ऋषिप्रसाद न्यौपानेले जनाएका छन् ।

सहकारी कर्जा सूचना केन्द्र छिट्टै, ३४ वटा सहकारी कानुन संशोधन गर्न माग

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका नवनियुक्त सचिव सुर्यप्रसाद गौतमले सहकारी कर्जा सूचना केन्द्र छिट्टै स्थापना गर्ने बताएका छन् । उनले कर्जा सूचना केन्द्रको अभावले सहकारीले समस्या भोगेकाले अब त्यसको समाधानमा क्रियाशिल हुने बताए । राष्ट्रिय सहकारी महासंघ लि.नेपालले सचिवको स्वागतमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सचिव गौतमले कर्जा सूचना केन्द्र स्थापना महासंघ र मन्त्रालयको सहकार्य मा काम अगाडि बढ्ने बताएका हुन् । सहकारीमा सन्दर्भ ब्याज दर लागू भएदेखि नै सहकारीकर्मीहरुले कर्जा सूचना केन्द्रको माग गर्दै आएका छन् । सहकारी ऐन २०७४ मा पनि कर्जा सूचना केन्द्रको व्यवस्था गरिएको छ । ‘सहकारी नेपालको अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बा हो । यसलाई उत्पादनसँग जोड्न, आधारभुत आवश्यकतासँग जोड्नका लागि ऐन कानुनहरु बाधा अड्चन छन् भने त्यसलाई संशोधन गराउनका लागि छलफल चलाइने छ’ उनले भने । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले विभिन्न ३४ वटा ऐन कानुन संशोधन गर्न सकेको खण्डमा सहकारी आधारभुत आवश्यकतादेखि उद्योग धन्दामा समेत जान सक्ने बताए । उनले सहकारीमा प्रयाप्त तालिम शिक्षाको अभाव भएकाले यसतर्फ मन्त्रालयको ध्यानआकर्षण गराए । महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले महासंघको भावी कार्यक्रम तथा योजनाको विषयमा जानकारी गराएकी थिइन । कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेल, उपाध्यक्ष तथा आइसीए ग्लोबल बोर्ड सदस्य ओमदेवीमल्ल, संचालक तथा राष्ट्रिय किसान आयोगका सदस्य रविन्द्र केसी, संचालक तथा केन्द्रीय कृषि सहकारी संघका अध्यक्ष खेम पाठक, नायव महाप्रबन्धक बाबुल खनालको उपस्थिति थियो ।