मंगलबारको नेप्से सूचक निलाम्मे, तथ्याङ्क नदेखिनुमा यस्तो छ कारण
काठमाडौं । मंगलबारको नेप्से परिसूचक निलाम्मे देखिएको छ । बजार नियमित समयमै खुला भएपनि कुनै पनि तथ्याङ्क अपडेट नभएकाले परिसूचक निलाम्मे देखिएको हो । बिजुलीको पोलमा आगलागि भएको कारण डाटा अपडेट गर्न नसकेकाले नेप्सेको साइटमा असर परेको हुन सक्ने एक स्रोतले जनाएको छ । सोही कारण नेप्सेको बिन्दु, प्रतिशत जस्ता कुनै पनि तथ्याङ्क अपडेट भएको छैन । उक्त साइटमा हिजो सोमबार २ बजेर ५९ मिनेट पछि कुनै पनि डाटाहरु अपडेट भएका छैनन् । ‘साइटमा समस्या देखिए पनि सेयर कारोबार भने टीएमएस प्रणालीबाट भइरहेको छ ।’ नेप्सेका सीईओ चन्द्रसिंह साउदले विकासन्युजसँग भने ।
नेपाल टेलिकमको नाफा १ अर्ब ८७ कराेडले घट्यो
काठमाडौं । सर्वाधिक बजार पुँजीकरण भएको बहुसंख्यक सरकारी लगानी रहेको नेपाल टेलिकमको नाफामा करिब २ अर्बले गिरावट आएको छ । अघिल्लो वर्षको ९ महिनामा रहेको ११ अर्ब ८५ करोड ६४ लाख रुपैंया नाफाबाट घटेर ९ अर्ब ९८ करोड रुपैंयामा झरेको छ । यो भनेको करिब १ अर्ब ८७ करोड रुपैंयाको गिरावट हो । उक्त नाफाको गिरावटमा टेलिकमको कोर बिजिनेसमा भएको गिरावट कारकको रुपमा रहेको छ । अघिल्लो वर्ष ९ महिनामा यो आम्दानी २९ अर्ब ३९ करोड थियो तर यो वर्षको सोही समयमा आम्दानी घटेर २७ अर्ब ५० करोडमा झरेको छ । अन्य आम्दानी भने २३ करोडले बढाएर ४ अर्ब ६९ करोड पुर्याएको छ । आम्दानी घटेको टेलिकमले कर्मचारी तथा अन्य प्रशासनिक खर्चलाई यो वर्ष प्रभावकारी बनाएर त्यस्ता खर्चहरुको वृद्धि भने रोकेको छ । टेलिकमले कमाएको नाफामा आधारमा प्रतिशेयर आम्दानी ८८.७५ रुपैंया हुँदा मूल्य आम्दानी अनुपात ८.९९ गुणा छ ।
तिनाउ विकास बैंक जेठ १७ गते विशेष साधारणसभा बस्दै
काठमाडौं । तिनाउ विकास बैंक लिमिटेड आगामी जेठ १७ गते विशेष साधारणसभा बस्दै छ । वैशाख ३० गते बिहान बसेको विकास बैंकको संचालक समितिको बैठकले उक्त दिन विशेष साधारणसभा गर्ने निणर्य गरेको हो । उक्त सभा सो दिन बिहान ८ बजे रुपन्देहीस्थित कालिकानगरको क्लब डेनोभो प्रा.लिको सभा हलमा बस्ने छ । बुटवलमा केन्द्रिय कार्यालय रहेको यस संस्थाको हाल ४६ करोड रुपैयाँ बराबर चुक्ता पुँजी रहेको छ । पछिल्लो समय संस्थाको सेयर मूल्य प्रतिकित्ता १६६ रुपैयाँ रहेको छ ।