नबिल इन्भेष्टमेन्टमा हितग्राही खाता र मेरो शेयरको नबीकरण अब अनलाइनबाटै

काठमाडौँ । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको हितग्राही खाता सञ्चालन नबिकरण तथा मेरो शेयरको वार्षिक नबीकरण शुल्क सिधै अनलाईन मार्फत भुक्तानी सकिने भएको छ । साथै नयाँ हितग्राही खाता खोल्ने व्यवस्था अनलाईन मार्फत नै मिलाईएको कम्पनीले जनाएको छ । ग्राहकले अनलाईन मार्फत भुक्तानी गर्दा नविल इन्भेष्टमेन्टको वेभसाइटमा अनलाइन डिम्याटमा गई भुक्तानी गर्न बाँकी रकम यकिन गर्न सक्ने छन् । नबिल बैंकको अनलाईन कार्ड सुविधा, खल्ती तथा ई–बैकिङ्गबाट भुक्तानी गर्ने व्यवस्था मिलाएको जनाइएको छ । कम्पनीका अनुसार नबिल बैंक वाहेकका अन्य बैंकहरुमा खाता रहेका ग्राहकहरुले पनि सिधै भुक्तानी गर्न सकिने छ । लगानीकर्ताहरुले नयाँ हितग्राही खाता खोल्नका लागि अनलाईन मार्पmत फाराम भर्न सक्नेछन् । सो फाराम भरेको ३० दिन भित्र आफ्नो सक्कल नागरिकता सहित कम्पनीमा उपस्थित भई हितग्राही खाता खोलिने व्यवस्था समेत मिलाईएको जनाइएको छ ।

राष्ट्र बैंकद्वारा नेप्सलाई भुक्तानी प्रणाली सञ्चालकको कार्य गर्ने अनुमति

काठमाडौँ । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स)ले बिद्युतीय कार्डहरुको सञ्जाल र भुक्तानी स्वीचको कार्य गर्ने अनुमति पाएको छ । नेपाल राष्ट्र बैंकद्वारा जारी भुक्तानी सम्वन्धि कार्य गर्ने संस्था/संयन्त्रलाई प्रदान गरिने अनुमति नीति, २०७३ बमोजिम नेप्सलाई भुक्तानी प्रणाली सञ्चालकको कार्य गर्ने अनुमतिपत्र प्रदान गरिएको हो । नेप्स विभिन्न बैंक तथा वित्तीय संस्थाहरुद्धारा संस्थापित एवम् संचालित कम्पनी हो । कम्पनीले १७ वटा बैंक तथा वित्तीय संस्थाहरुको निमित्त भिसा कार्ड, युनियन पे कार्ड तथा माष्टर कार्ड जारी गर्नुको साथै एटिएम र पस सञ्जालको होस्टिङ्ग र स्विचिङ्गको सेवा प्रदान गर्दै आएको छ ।

इमाडोलमा श्री इन्भेष्टमेन्टको १२ औँ शाखा बिस्तार

काठमाडौँ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कं. लिमिटेडले ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नम्वर ४ इमाडोलमा बाह्रौं शाखा सञ्चालनमा ल्याएको छ । देशभरीका विभिन्न १२ स्थानबाट बैकिङ्ग सुविधा प्रदान गरिरहेको कम्पनीले काठमाडौंमा १ स्थानबाट बैकिङ्ग सुविधा दिने तयारी भइरहेको जनाएको छ । हाल कम्पनीको चुक्तापूँजी रु. ८१ करोड, निक्षेप ४ अर्व ३५ करोड तथा कर्जा लगानी करिव ४ अर्ब रहेको कम्पनीले जनाएको छ ।