प्रोग्रेशिभ फाइनान्सको शाखा धनुषाको सबैलामा

काठमाडौँ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले धनुषा जिल्लाको सबैला नगरपालिकामा शाखा शुभारम्भ गरेको छ । शाखाको समुद्घाटन आइतबार एक समारोहबीच सबैला नगरपालिकाका मेयर विजयशंकर प्रसाद साहले गरेका हुन् । शाखा शुभारम्भ कार्यक्रममा बोल्दै सबैला नपाका मेयर विजयशंकर प्रसाद साहले यस क्षेत्रमा बैंकिङ्ग सेवा प्रदान गर्न आएकोमा प्रोग्रेशिभ फाइनान्सलाई धन्यवाद दिँदै उक्त क्षेत्रका अन्य वित्तीय पहुँच नपुगेका स्थानहरुमा वित्तीय सेवा तथा वित्तीय साक्षरता प्रदान गर्न सुझाव दिए । उक्त कार्यका लागि नगरपालिकाले उचित सहयोग गर्ने बचनबद्धता व्यक्त गरे । उद्घाटन कार्यक्रममा संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न जनचेतना मुलक सन्देश छापिएको टिसर्ट बितरण गरिएको थियो । चुक्ता पूँजी रु. ८० करोड १ लाख रहेको फाइनान्सले काठमाण्डौंको तिनकुनेमा कर्पोरेट कार्यालय र न्यूरोडमा मूख्य शाखा सहित चार वटा शाखा र ललितपुरको पूल्चोक, महालक्ष्मीस्थान, काठमाण्डौको तीनकुने तथा भक्तपुरको थिमिमा एक्सटेन्सन काउण्टर मार्फत निरन्तर बित्तीय सेवा प्रदान गर्दै आइरहेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागार्इँले बताए । देशका सवै भूगोलको प्रतिनिधित्व हुने गरी शाखा बिस्तारको योजना राखेको फाइनान्सले निकट भविष्यमा धनुषा जिल्लाको महेन्द्रनगर र सर्लाहिको मलंगवामा नयाँ शाखा संचालनमा ल्याउने योजना रहेको फाइनान्सका अध्यक्ष किशोरकुमार महर्जनले बताए । बित्तीय क्षेत्रमा सरल, सहज र ग्राहकमुखी सेवालाई बढी प्राथमिकतामा राखी आधुनिक प्रविधियुक्त बैंकिङ सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको अध्यक्ष महर्जनले बताए । कार्यक्रममा फाइनान्सका सञ्चालक लक्ष्मीप्रसाद महर्जन, शम्भुलाल डंगोल, समुन्द्रकाजी श्रेष्ठ, फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाइँर्, मुख्यप्रबन्धक प्रमोद भट्टराई लगायत सबैलाका सहकारी संस्थाका प्रमुख, उद्योगी, ब्यापारीको उपस्थिति रहेको बताइएको छ ।

सिर्जना फाईनान्सद्वारा १० हजार उपचार खर्च प्रदान

काठमाडौँ । बिराटनगर महानगरपालिका वडा नं ११ बस्ने रामबाबु राउतकी पत्नी बर्ष २६ की आस्था राउत कार्की एआईएचए जस्तो गम्भीर रोगबाट पीडित भएकी छिन् । विगत ३–४ महिना देखि अस्पताल भर्ना भई उपचारार्थ रहेकोमा निजको उपचारका लागि सिर्जना फाईनान्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग स्वरुप रु. १०,००० प्रदान गरेको छ । शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन क्षमता अभिबृद्धि, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम आदिमा सहयोग गर्दै आएको उक्त संस्थाले असोज १३ गते संस्थाका कार्यकारी अधिकृत भवानीशंकर चापागाञी मार्फत निजको श्रीमान् रामबाबु राउतलाई सहयोग रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

लघुवित्त संघको अध्यक्षमा वसन्तराज लम्साल, उपाध्यक्षमा भेषराज पन्थी

काठमाडौं । लघुवित्त संस्थाका प्रमुख कार्यकारी अधिकृतहरु आवद्ध नेपाल माइक्रोफाइनान्स बैंकर्स एशोसिएशन (एनएमबिए) को अध्यक्षमा वसन्तराज लम्साल निर्वाचित भएका छन् । एशोसिएशनको आइतबार भएको साधारणसभामा विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत समेत रहेका लम्साल ‘निर्विरोध’ निर्वाचित भएका हुन् । अध्यक्षका आकांक्षी समेत रहेका प्रकाशराज शर्माले अन्तिम समयमा उम्मेदवारी नदिएपछि उनी निर्विरोध भएका हुन् । उनले निर्वाचन प्रक्रियाप्रति असहमति जनाउँदै अध्यक्षको मैदान छाडेको बताइएको छ । शर्माले छाडेपछि लम्साल निर्विरोध निर्वाचित भएका हुन् । लम्सालसहित उपाध्यक्षमा भेषराज पन्थी समेत निर्विरोध निर्वाचित भएका छन्, उनी फस्र्ट माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत हुन् । महासचिवसहित अन्य ९ पदाधिकारीका लागि भने छलफल भइरहेको नवनिर्वाचित अध्यक्ष लम्सालले जानकारी दिए । नवनिर्वाचित अध्यक्ष लम्सालले लघुवित्त संघको नेतृत्वमा रहँदा आफूले लघुवित्त संघको पहिचान र यसको स्वायत्तता बढाउने र लघुवित्त संघको प्रभावकारिता वृद्धि गर्दै जाने कुरामा जोड दिने बताए । उनले लघुवित्त आफ्ना संस्थालाई थप सशक्त बनाउने र कुनै न कुनै रुपमा प्रदेशगत रुपमा उपस्थिति जनाउने प्रतिवद्धता व्यक्त गरे ।