सेयरलगानीकर्ता भन्छन्-‘पूँजी बजारको अध्ययन गरेका व्यक्तिलाई बोर्डको अध्यक्ष बनाउ’

काठमाडौँ । सेयर लगानीकर्ताका दुई संगठनले पूँजी बजारको अध्ययन गरेका र अनुभवी व्यक्तिलाई नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न माग गरेका छन् । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार र शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले विहीबार विज्ञप्ति प्रकाशित गर्दै प्राविधिक ज्ञान र सीपमा पूर्ण दख्खल भएको व्यक्तिलाई बोर्डको अध्यक्षमा नियुक्त गरी सेयर बजारको समस्या समाधानको पहल गर्न अर्थमन्त्री समक्ष माग गरिएको हो । हाल अर्थतन्त्रको ऐनाको रुपमा रहेको सेयर बजार निरन्तर घटिरहेको र लगानीकर्ताको अर्बौँको सम्पत्ति गुमेको कुरा समेत विज्ञप्ति मार्फत ध्यानाकर्षण गराइएको छ । बोर्डका तत्कालीन अध्यक्ष डा. रेवतबहादुर कार्कीको ४ वर्षे कार्यकाल सकिएपछि हाल उक्त पद रिक्त रहेको छ ।

नेशनल माइक्रोफाइनान्सले गर्यो पोर्टफोलिया म्यानेजमेन्ट तालिम

काठमाडौँ । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लि.ले पोर्टफोलिया म्यानेजमेन्ट एण्ड लिडरसीप तालिम सम्पन्न गरेको छ । तालिम कार्यक्रम संस्थाको केन्द्रीय कार्यालय निलकण्ठ न.पा.३ धादिङबेसी स्थित धादिङक्रिक रिसोर्ट धादिङबेसीमा कात्तिक २ गतेदेखि ४ गतेसम्म सञ्चालन भएको हो । तालिमको उद्घाटन संस्थाको प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले गरेका हुन् । तालिम कार्यक्रममा संस्थाको ३३ वटा शाखा कार्यालयका वरिष्ठ सहायक तथा सहायक कर्मचारीहरुको सहभागिता रहेको थियो । तालिम कार्यक्रममा प्रशिक्षको रुपमा डा. केदार रायमाझी, प्रमुख अधिकृत रामबहादुर यादव, विभागीय प्रमुखहरु बिजय घिमिरे, सिताराम पण्डित र रामचन्द्र रुपाखेतीले सहभागीहरुलाई कर्जा व्यवस्थापन, नेतृत्व सीप विकास, हाल लघुवितहरुमा देखिएको चुनौतिहरुलाई न्युनिकरण गर्ने उपायहरु, धितो कर्जा विकास, लेखा सम्बन्धी साथै सकारात्मक धारणा, स्वयम् उत्प्रेरणा बारेमा प्रशिक्षण गराइएको थियो ।

दशैंमा डबलको डबलको डबल अफरमा विशाल नगरकोटी विजेता

काठमाडौँ । आइएमई सेवाग्राही विशाल नगरकोटी दशैंमा डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भई चेक ग्रहण गरेका छन् । नगरकोटीले जापानस्थित क्योदाई मार्फत नेपालमा रहेका आफन्तलाई पैसा पठाएको आइएमई ग्रुपका जनसम्पर्क व्यवस्थापन प्रमुख राजु पौडेलले जनाएका छन् ।