‘साधना लघुवित्त’ले कमायो ७३ लाख नाफा, अघिल्लो वर्षको तुलनामा ५१३ प्रतिशतले बृद्धी

काठमाडौँ । गोरखा जिल्लाको गोरखा नगरपालिकामा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ७६ लाख ६३ हजार खुद नाफा आर्जन गरेको छ । लघुवित्तकोे अघिल्लो वर्षको यही अवधिमा १४ लाख ९३ हजार मात्रै नाफा रहेको थियो । अघिल्लो बर्षको तुलनामा चालु आवमा ५१३ प्रतिशतले नाफा बृद्धी भएको मंगलबार सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ । समीक्षा अवधिमा अन्य लघुवित्त नपुगेको क्षेत्रमा शाखा संजाल आक्रमक रुपमा बिस्तार गरेको लघुवित्तले गत असार ३० गतेबाट आर्थिक समृद्धी लघुवित्तलाई प्राप्ति गरी एकिकृत कारोबार संचालन गरेको छ । ब्यबसाय बिस्तारमा उत्कृष्ट प्रगती प्राप्त गरेकै कारण खुद ब्याज आम्दानी रु २ करोड ४६ लाख २ हजार पुर्याएको छ भने अघिल्लो बर्षको यही अवधिमा ६६ लाख ३१ हजारमा सीमित रहेको थियो । यसैगरी समीक्षा अवधिमा ३२ करोड ५९ लाख बचत संकलन गरी १ अर्ब ४ करोड १६ सापटी लिएर १ अर्ब ३६ करोड १९ लाख कर्जा परिचालन गरेको छ । अघिल्लो बर्षको यही अवधिमा ८ करोड ५६लाख बचत संकलन गरी ४४ करोड ७२ लाख सापटी लिई ५० करोड ७४ लाख कर्जा परिचालन गरेको थियो । यसैगरी वित्तीय संस्थाको अघिल्लो आर्थिक बर्षमा २३ लाख ९० हजारमात्र रहेको रिर्जब ३ करोड ४१ लाख पुगेको छ । अघिल्लो आवको यही अवधिमा कूल ४ करोड ९० लाख चुक्ता पूँजी रहेकोमा यस आवमा चुक्ता पूँजी १४ करोड ६० लाख भएको छ । त्यस्तै समीक्षा अवधिमा कस्ट अफ फण्ड ९.६२ प्रतिशत रहेको छ भने तरलता अनुपात १३.२१ प्रतिशत, प्रति शेयर आम्दानी २०.९८ (बार्षिक) रहेको छ ।

४३ करोड अपचलन गर्ने सहकारीका प्रमुख प्रबन्धक सहित ४ जना कारागार चलान

राँझा । रु ४३ करोड रकम अपचलन गरेको अभियोगमा नेपालगञ्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडका चार जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिएको छ । जिल्ला अदालत बाँकेका न्यायाधीश धनिश्वर पौडेलको इजलाशले आइतबार सहकारीका प्रमुख प्रबन्धक गोपाल भण्डारी, सहायक प्रमुख प्रबन्धक गङ्गाधर सुवेदी, बैंङिक प्रबन्धक अरुणकुमार पाठक र सहउपसहायक बलराम यादवलाई थुनामा राख्न आदेश दिएको हो । अभियुक्तद्वय लेखा समिति सदस्य स्थिरमणि बज्राचार्य र ओमप्रकाश चौधरीसँग जनही रु २० लाख धरौटी मागिएको छ । बज्राचार्य रु २० लाख नगद धरौटी बुझाएर रिहा भए भने चौधरीले धरौटीमा जायजेथा राखीपाउँ भनेर निवेदन दिएपनि जग्गाको मूल्याङ्कनलगायतका प्रक्रियामा कम्तीमा एक साता लाग्ने भएकाले थुनामै बस्नुपर्ने भएको छ । जिल्ला अदालत बाँकेमा सहकारीका सञ्चालक र कर्मचारी गरी ४१ जनाविरुद्ध सहकारी रकम हिनामिना, ठगी र सङ्गठित अपराधअन्तर्गत अभियोग पत्र दायर भएको छ । चारजना कर्मचारी र दुईजना लेखा समिति सदस्य गरी छ जना मात्र पक्राउ परेका थिए । ३५ जना अभियुक्त फरार छन् । बाँके प्रहरीले गठन गरेको विज्ञ समूहको सहयोगमा भएको छानबिनमा सहकारीको कूल पूँजी रु ५२ करोडबाट रु ४३ करोड अपचलन भएको दाबी गरिएको छ । सहकारीका ११ हजार ९०८ निक्षेपकर्ता र एक हजार ८६० शेयरधनीमध्ये एक हजार नौ निक्षेपकर्ता र शेयर धनीले जिल्ला प्रहरी कार्यालय बाँकेमा आफ्नो रकम फिर्ता गरी अभियुक्तमाथि कारवाहीको माग गर्दै जाहेरी दिएका छन् । रासस

बेष्ट फाइनान्सद्वारा छठ पर्बका २ सय व्रतालुलाई प्राथमिक स्वास्थ्य सेवा

काठमाडौँ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल रेडक्रस सोसाईटी, कमलपोखरी उपशाखाको सहकार्यमा काठमाडौं, कमल पोखरीमा आयोजित छठ मेलाको अवसरमा प्राथमिक उपचार स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सो अवसरमा छठ मेलामा उपस्थित २०० भन्दा बढी व्रतालुहरुलाई आवश्यकता अनुसार प्राथमिक स्वस्थ्य सेवा उपलब्ध गराईएको बेष्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले विगत देखि नै सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न क्षेत्रमा सहभागिता जनाउदै आईरहेको तथा सो कार्य नियमित गर्दै जाने बताइएको छ ।