पोखरामा कालिका लघुवित्तको शाखा प्रमुख भेला

काठमाडौँ । स्याङ्जाको वालिङमा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रथम त्रैमासिक समीक्षा गोष्ठी, वीमा सम्बन्धि तालिम तथा शाखा प्रमुखहरुको भेला पोखरामा सम्पन्न भएको छ । संस्थाका ७१ वटा शाखाका शाखा प्रमुखहरुको उपस्थिति रहेको ३ दिने कार्यक्रममा पहिलो त्रैमासमा भएको प्रगति विवरण एवम् समीक्षा गरिएको बताइएको छ । कार्यक्रमका प्रमुख अतिथिको रुपमा कालिका लघुवित्त वित्तीय संस्थासंग मर्ज हुन लागेको जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक समिति अध्यक्ष विकास गौचनले कालिकासंग मर्ज भए पश्चात संस्थालाई नेपालको लघुवित्त क्षेत्रमा उत्कृष्ट र नमुनाको लघुवित्तको रुपमा स्थापित गर्न कुनै कसर बाँकी नराख्ने बताए । विशेष अतिथि संस्थाका अध्यक्ष कृष्ण खाँणले दुबै संस्थाको लागि यो एउटा सुवर्ण अवसर रहेको र यसमा सबैको सकारात्मक धारणा पाएको बताए । उनले सबैको जीत हुने तरिकाले मर्ज हुने र लघुवित्त संस्था मर्जमा सुनौलो इतिहास बनाउन सबैलाई आग्रह गरे । संस्थाका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संचालकहरु नित्यानन्द तिवारी, कृष्ण काजी केसी, सन्तोष श्रेष्ठ, विश्वराज नेपाल, करुणा पोखरेल, जनसेवी लघुवित्त वित्तीय संस्थाका संचालक तथा संयुक्त मर्जर समितिका संयोजक पदमराज रेग्मी, संचालकहरु कुल प्रसाद गुरुङ, मेघनाथ सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत कमल बहादुर खत्री लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको लागि प्रभु लाइफ इन्स्योरेन्स, रिलायवल नेपाल लाइफ इन्स्योरेन्स र सुर्या लाइफ इन्स्योरेन्सले सहयोग गरेको थियो भने शाखा प्रमुखहरुलाई वीमा सम्बन्धि तालिम पनि दिइएको थियो । संस्थाको तर्फबाट योजना तथा अनुगमन विभाग एवम् कर्जा तथा जोखिम विभाग प्रमुख राजेश श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए भने सहायक प्रमुख कार्यकारी अधिकृत शिवराम जोशी, विभागीय प्रमुखहरू अनुप श्रेष्ठ र याम प्रसाद अर्याल लगायतले सहजिकरण गरेका थिए । यसै बीचमा संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासको प्रतिवेदन पनि सार्वजनिक भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा संस्थाले ७४ लाख त्रियासी हजार खुद नाफा गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा यो ६ गुणाले बढी हो ।

एक खर्ब ६ अर्बकाे सेयर काराेबारमा अनलाइनबाट १६ अर्ब ५४ करोड मात्रै

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा गत एक वर्षमा कूल एक खर्ब ६ अर्ब ९ करोड ३४ लाख १८ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसमध्ये अनलाइनबाट १६ अर्ब ५४ करोड ८२ लाख ९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।  उक्त रकम कूल कारोबारको १५.६ प्रतिशत हाे । नेप्सेका अनुसार २०७५ कात्तिक २० गतेदेखि २०७६ कात्तिक १९ गतेसम्मकाे अवधिमा कूल १६ हजार २३४ जनाले इन्टरनेट अर्थात अनलाइन कारोबार प्रणाली(नट्स)मार्फत सेयर खरिदबिक्री गरेका छन् । एक वर्षकाे अवधिमा कूल २४२ दिन मात्र सेयर कारोबार भएको थियो । जसमा कूल १५ लाख २४ हजार ०१४ पटक भएकोे कारोबारमा ३७ करोड १२ लाख ५७ हजार ९८८ कित्ता सेयर किनबेच भएको छ । जसमध्ये अनलाइनबाट मात्रै ३ करोड १३ हजार १९७ पटकमा ५ करोड ८७ लाख २१ हजार ६४९ कित्ता सेयर बिक्री भएका छन् । बाँकी ३१ कराेड २५ लाख ३६ हजार ३३९ कित्ता सेयर ब्रोकर कम्पनीमार्फत किनबेच भएकाे छ । नेप्सेले दिएको सूचना अनुसार १२ दिन सय करोडभन्दा बढी र एक दिन मात्र २ सय करोडभन्दा बढी सेयर कारोबार भएको छ । त्यस्तै, कारोबार संख्या २३ दिनमा १० हजारभन्दा बढी र एक दिन मात्र २० हजार भन्दा बढी भएको छ । सो अवधिमा सबैभन्दा बढी अर्थात उच्च कारोबार रकम २० करोड रुपैयाँ रहेको नेप्सेले जनाएको छ । नेप्सेले २०७५ कात्तिक २० गतेदेखि पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली(नट्स) सञ्चालनमा ल्याएको थियो । दोस्रो बजार कारोबारमा लगानीकर्ताको सहभागितालाई प्रोत्साहन गर्न ल्याएको उक्त प्रणाली सञ्चालनमा आएको एक वर्ष पुरा भएको छ । इन्टरनेटको माध्यमबाट जुनसुकै ठाउँबाट सेयर खरिद बिक्री गर्न सकिने भएपछि देशविदेशबाट लगानीकर्ताहरुले सेयर कारोबारमा सहभागिता जनाएका नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिएका छन् ।

केन्द्रीय बहिरा क्याम्पसलाई जनता बैंकको रु. १० लाख सहयोग

काठमाडौँ । जनता बैंक नेपाल लिमिटेडले केन्द्रीय बहिरा क्याम्पस, नक्साललाई रु. १० लाख आर्थिक सहयोग गरेको छ । विहीबार एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले क्याम्पस व्यवस्थापन समिति अध्यक्ष प्राडा प्रभा हमाललाई उक्त रकमको चेक हस्तान्तरण गरे । बहिरा विद्यार्थीहरुलाई सांकेतिक भाषामा उच्च शिक्षा प्रदान गर्न सामुदायिक कलेजको रुपमा ६ बर्ष अगाडि स्थापना गरिएको केन्द्रीय बहिरा क्याम्पसलाई बैंकले विगत ४ बर्ष देखि आर्थिक सहयोग उपलब्ध गराउदै आएको छ । क्याम्पसमा हाल छात्र/छात्रा गरी १०४ जना बहिरा बिद्यार्थीहरु स्नातक तहमा अध्ययनरत छन् । व्यवस्थापन समिति अध्यक्ष प्राडा हमालका अनुसार हाल नक्साल स्थित बालमन्दिरमा शिक्षा शास्त्र संकायको बीएड कक्षा संचालन गरिरहेको क्याम्पसले आफ्नै भवन निर्माण गरी ब्यबस्थापनको पढाई समेत सञ्चालन गर्ने योजना बनाएको छ ।