नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तालाई अध्यक्ष ढकालको आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्राकृतिक स्रोतसाधन, दक्ष जनशक्ति, चीन र भारतसँगको सहज बजार पहुँचलाई उपयोग गर्न लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । चीन साउथ एसिया बिजनेस फोरमको तर्फबाट युनान प्रान्तको कुनमिङमा आयोजित चाइना (युनान) नेपाल इन्डस्ट्रियल को अपरेसन प्रमोसन एण्ड इन्टरप्राइजेज म्याचमेकिंग बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले, प्राकृतिक स्रोत साधन, दक्ष जनशक्ति, बजार पहुँच र चीन तथा भारतसँग भएका सहुलियतपूर्ण व्यापार सम्झौताले नेपाल लगानी गन्तव्यको रूपमा विकसित भइरहेको बताए । अध्यक्ष ढकालले युनान र नेपालको मिल्दोजुल्दो भौगोलिक अवस्था र जलस्रोतले भरिपूर्ण रमणीय स्थलहरू लगायतका समान विशेषताका कारण पनि चिनियाँ लगानीकर्ताहरूका लागि नेपालमा लगानी गर्न सहज हुने उल्लेख गरे । अध्यक्ष ढकालले कुनमिङ र पोखराबीचको भगिनी सहर सम्बन्ध रहेको उल्लेख गर्दै सांस्कृतिक आदानप्रदान, पर्यटन र अनुसन्धान तथा विकास सहकार्यलाई प्रवर्द्धन गर्ने यो सम्बन्धलाई उपयोग गर्नुपर्ने बताए । ढकालले चिनियाँ ड्रागन बोट फेस्टिभलमा सिचुआन एयरलाइन्सको हालै पोखराको पहिलो उडानले नेपालमा चिनियाँ पर्यटन पर्वद्धनमा सहयोग पुगेको बताए । ऊर्जा, पर्यटन पूर्वाधार, यातायात, व्यापार सहजीकरण, साना तथा मझौला उद्योग, आईसीटी र कृषि जस्ता विविध क्षेत्रहरूमा नेपालमा थप लगानीका आकर्षक अवसरहरू रहेको जानकारी पनि अध्यक्ष ढकालले गराए । नेपालमा सञ्चालित बहुराष्ट्रिय कम्पनीहरूले निरन्तर नाफा कमाएको उल्लेख गर्दै भारत, ईयू र अन्य विकसित बजारमा नेपालले पाएको सहुलियतपूर्ण व्यापारिक पहुँचलाई लगानीकर्ताहरूले उपयोग गर्न सक्ने पनि अध्यक्ष ढकालले उल्लेख गरे । अध्यक्ष ढकालले युनान र नेपालबिचको आर्थिक सम्बन्ध थप सुदृढ गर्ने, व्यापार र अन्तर सरकारी सम्पर्कलाई थप विस्तार गर्न पनि आह्वान गरे । यसले लगानी, पर्यटन, व्यापार र औद्योगिक साझेदारीमा थप अभिवृद्धि हुने विश्वास समेत अध्यक्ष ढकालको छ । अध्यक्ष ढकालले चाइना साउथ एसिया एक्स्पोमा नेपाल कन्ट्री प्याभिलियनमा नेपालको जीवन्त संस्कृति र लगानीको सम्भावना पहिचान गर्न सबै सहभागीहरूलाई निमन्त्रणा समेत गरे । कार्यक्रममा चीन, नेपाल र दक्षिण एसियाली देशका विशिष्ट नेताहरू, सरकारी अधिकारीहरू, व्यवसायीहरू र सञ्चारकर्मीहरूको सहभागिता थियो ।
पानीको जार र बोतलमा तोकेभन्दा बढी मूल्य नलिन आग्रह
काठमाडौं । नेपाल बोटल वाटर उद्योग सङ्घले खानेपानीको जार र बोतलमा सरकारले तोकेको भन्दा बढी शुल्क नलिन आग्रह गरेको छ । सङ्घले आज पत्रकार सम्मेलन गरी पानीमा सरकारले तोकेभन्दा बढी मूल्य लिएको गुनासो आएको जनाउँदै बढी शुल्क नलिन व्यवसायीको ध्यानाकर्षण गरेको हो । सङ्घका अध्यक्ष धुव्र गौतमले विचौलियाका कारण आम उपभोक्तालाई पानीको मूल्य सरकारले तोकेभन्दा बढी परेको जनाउँदै सङ्घले बजार अनुगमलाई तीव्रता पार्न खोजेको बताए । ‘उपत्यकाभित्र जारको पानीमा बढीमा ४५ देखि ४७ रुपैँयासम्म र बोतलको पानीमा प्रतिबोतल १६ रुपैँयासम्म र उपत्यका बाहिर जारको पानीमा ६० रुपैँयासम्म र बोतलको पानीमा प्रतिवोतल २० रुपैँयासम्म पर्छ, त्यसभन्दा बढी मूल्यमा बेच्ने व्यापारीलाई कारबाही हुन्छ,’ उनले भने । सङ्घले पानीको बजार अनुगमन गर्नका लागि सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विक्रम लिम्बू चेम्जोङको संयोजकत्वमा बजार अनुगमन समिति बनाएर बजार अनुगमनको कार्यलाई अगाडि बढाइसकेको छ । उक्त समितिले बजारमा रहेका थोत्रा जार, अधिकतम मूल्य, बिक्रेताको गुणस्तर परीक्षणको प्रमाणपत्र राखे नराखेको, ट्रेडमार्क मिस्युज, उत्पादन मिति र उपभोग्य मितिलगायतका विषयमा अनुगमन गर्नेछ । यसअघि उक्त समितिले ५० भन्दा बढी उद्योगी तथा बिक्रेतालाई कारबाही गरिसकेको छ । वरिष्ठ उपाध्यक्ष चेम्जोङले पानीको गुणस्तर हेरेर उपभोग गर्न आम उपभोक्तालाई आग्रहसमेत गरेका छन् । सङ्घका सल्लाहकार गोकर्ण सिलवालले सङ्घीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिले गरेको निर्णयका आधारमा पानीको मूल्य समायोजन भएको भन्दै समायोजन गरेकै मूल्यमा पानी खरिद गर्न आम उपभोक्तालाई आग्रह गरेका छन् । ‘उपभोक्तालाई ठगी गर्ने व्यवसायीलाई कारबाही गछौँ,’ उनले भने । हाल काठमाडौँ उपत्यकाभित्रमा मात्र दैनिक दुई लाख ५० हजार जार खपत हुँदै आएको छ । नेपालबाट आर्थिक वर्ष २०७९÷८० मा मात्र ६० करोड रुपैयाँमूल्य बराबरको पानी विदेश निर्यात भएको सङ्घले जनाएको छ । हाल काठमाडौँ उपत्यकाभित्र झण्डै २०० र देशभर ५०० भन्दा बढी पानी उद्योग रहेका छन् ।
नेपाल उद्योग परिसंघ र आईडिया स्टुडियोबीच उद्यमशिलता क्षेत्रमा काम गर्न समझदारी
काठमाडौं । नेपाल उद्योग परिसंघ र आईडिया स्टुडियो नेपालबीच उद्यमशिलता क्षेत्रमा सहकार्य गर्न समझदारी भएको छ । समझदारी पत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र आईडिया स्टुडियोका अध्यक्ष डा. छिरिङ्ग लामाले हस्ताक्षर गरे । दुई संस्थाबीच प्राविधिक, वैज्ञानिक, वित्तिय तथा मानव संसाधनको सहयोगबाट उद्यमशिलता तथा लगानी प्रवद्र्धनका क्षेत्रमा सहकार्य हुनेछ । परिसंघ सचिवालयमा आज आयोजित समझदारी पत्र हस्ताक्षर कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले आर्थिक विकासका लागि देशमा उद्यमशिलता तथा व्यवसायिक प्रबद्र्धन गर्न सरकारसँग प्रभावकारी रुपमा काम गर्नुपर्ने बताए । उनले ‘ब्रेन डे«न’ रोक्न, उद्यमीहरुका लागि उचित वातावरण बनाउन आवश्यक रहेको भन्दै आइडिया स्टुडियोसँगको सहकार्यले नवीन सोंच भएका युवाहरुलाई उद्यम बन्न रचनात्मक सहयोग हुने विश्वास व्यक्त गरे । उनले परिसंघले अगाडि बढाइरहेको मेक इन नेपाल स्वदेशी अभियान, स्टार्टअप एवं उद्यमशीलता प्रबद्र्धन सम्बन्धी गतिविधिबारे जानकारी गराउदै दुई संस्थाबीचको सहकार्यले यस क्षेत्रमा नविनतम् काम हुने विश्वास व्यक्त गरे । आईडीया स्टुडीयोका अध्यक्ष लामाले परिसंघसँगको सहकार्यले नेपालमा उद्यमशीलता तथा लगानीका क्षेत्रहरुमा नयाँ सम्भावनाहरु खोजी गर्दै नेपालमै केही गर्न सकिन्छ भन्ने वातावरण बनाउन आवश्यक रहेको बताए । देशमा केही गरौं भन्नेहरुका लागि सीप तथा नीतिगत सुधारमा काम गर्नुपर्ने र परिसंघ सँगको सहकार्यले उद्यमशीलता एवं इनोभेसनका क्षेत्रमा थप काम गर्न सकिने विश्वास व्यक्त गरे । परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डेले उद्यमशीलताको क्षेत्रमा सामुहिक रुपमा नयाँ काम हुने विश्वास व्यक्त गरे । कार्यक्रममा परिसंघका महानिर्देशक दिपकराज जोशी, आईडीया स्टुडियोकी सदीक्षा श्रेष्ठलगायत सहभागी थिए ।