वाइवाइ इन्डियाको ब्राण्ड एम्बेस्डरमा बलिउड अभिनेता आयुष्मान नियुक्त

काठमाडौं । वाइवाइ इन्डियाको ब्राण्ड एम्बेस्डरमा बलिउड सुपरस्टार आयुष्मान खुराना नियुक्त भएका छन् । चौधरी समूहको सिजी कर्प ग्लोबल अन्तर्गतको वाइवाइ इन्डियाले बलिउड स्टार आयुष्मान खुरानालाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको गरेको हो । वाइवाइ चाउचाउ २५ वर्षदेखि लोकप्रिय छ । आयुष्मान खुरानासँगको सहकार्य प्रमुख प्राथमिकतामा राखेको र छोटो समयमा सहकार्यलाई मूर्तरुप दिन सकेका सिजी फुड्स र सिजी कर्प ग्लोबल इन्डियाका प्रबन्ध निर्देशक वरुण चौधरीले बताए । वाइवाइ जस्तो ब्रान्डसँग जोडिन पाउँदा आफूले भाग्यमानी महसुस गरेको खुरानाले बताएका छन् । यसका उत्पादनले जीवन्त र विविध दायरा समेटेको उनको भनाइ छ । हरेक स्वाद, क्षेत्र र प्राथमिकता अनुसारको विदेशी चाउचाउहरूको सजावटबाट, ब्रान्ड आफ्नो नाममा रहने उनले बताए । वाइवाइले कोरियन स्पाइसी कुजिनको रुपमा डाइनामाइट ब्राण्डको चाउचाउ पनि बिक्री गरिरहेको छ ।

सिमेन्ट उद्योगको प्रदूषणबाट बिरामी

मलेखु । धादिङको धुनिबेसी नगरपालिका-९ जुगेडीमा सञ्चालित युनाइटेड सिमेन्ट उद्योगबाट स्थानीय पीडित बनेका छन् । उद्योगबाट निस्कने धुवाँ, धुलो र ध्वनि प्रदूषणका कारण स्थानीय बिरामी पर्न थालेका छन् । शरीरभरीमा फोका आउने, चिलाउने, घाँटी सुक्नेजस्ता समस्याले स्थानीय हैरानी खेप्न बाध्य भएका छन् । पछिल्लो समय एलर्जीको समस्या जटिल बनेको छ । उद्योग सञ्चालन मापदण्ड पूरा नगरेर प्रदूषण बाहिरिएकै कारण मानव स्वास्थ्यमा त्यसको प्रत्यक्ष असर परेको स्थानीयको भनाइ छ । उद्योग सञ्चालन हुन थालेको केही वर्षयता सामान्य रुघाखोकी र ज्वरोले मात्रै सताए पनि अहिले स्वास्थ्यमा दीर्घरोग देखिन थालेको छ । स्थानीय लक्ष्मी राई भन्छन्, ‘उद्योगबाट निस्कने प्रदूषण बन्द भएन भने हामी अब यहाँ बस्न सक्ने अवस्था रहेन, ज्यान बचाउनकै लागि हामीले थाकथलो छाडेर जानुपर्ने अवस्था आयो ।’ सिमेन्ट उद्योगबाट निस्केको प्रदूषणका कारण जुगेडीका करिब दुई सय ३० प्रत्यक्ष मारमा छन् । स्थानीयका अनुसार यहाँका करिब ५० जनाभन्दा बढीले अहिले घाँटी, छाला र आँखाको उपचार गराइरहेका छन् । धेरैले आफूखुसी उपचार गराइरहेका छन् भने केहीले उद्योग व्यवस्थापन पक्षकै व्यक्तिको रोहबरमा जाँच गराएका छन् । जाँच गर्न अस्पताल पुग्दा उद्योग व्यवस्थापन पक्षका व्यक्तिले स्वास्थ्यकर्मीलाई नै दबाबमा पार्ने गरेको पीडितको भनाइ छ । जाँच गरेपछि अस्पतालले दिएको रिपोर्टसमेत उद्योगका मानिसले राखेर आफूलाई हेर्न नदिएको उनीहरु बताउँछन् । घाँटी सुक्खा हुने र शरीरमा फोका आएर चिलाउने समस्या भएपछि केही दिनअघिमात्रै काठमाडौँको वीर अस्पतालमा जाँच गराउँदाको रिपोर्ट नदिएको राईले बताउँछन्। ‘अस्पताल पुग्ने बित्तिकै टिकट उद्योगकै प्रतिनिधिले काट्नुभयो, लाइन बस्नु पनि परेन, सुरुमा दुई जनालाई सिधै भित्र छिराउनुभयो, रिपोर्टमा चाही केही देखिएन, सामान्य छ भन्यो,’ उनले भने । रिपोर्ट हामीलाई दिनुभएन,’ राईले भने, ‘पहिला पनि जाँच गरेको केही देखिएन भन्नुभयो, रिपोर्ट हामीलाई दिनुस्भन्दा माथि देखाउनुपर्छ, तपाइको घरघरमै ल्याइदिन्छौँ भनेर हामीलाई हेर्नै नदिइ लग्नुभयो, हामीलाई रिपोर्ट हेर्न दिएन ।’ उनका अनुसार जाँचका क्रममा रगत, खकार, पिसाब, मधुमेह, रक्तचाप सबै जाँच भएको र डाक्टरले पनि कुनै समस्या नदेखिएको मौखिक जवाफ दिएको थियो । ‘हामीलाई रोग नै नलागेको हो की उद्योगका व्यक्तिले डाक्टरलाई नै दबाबमा राखेर लुकाइदिन लगाइदियो हामीले पत्तो लाउन सकेनौँ,’ स्थानीय शोभा राइले भने । शोभाको घरमा शोभासहित श्रीमान् र छोराले पनि नियमित एलर्जीको औषधि प्रयोग गरिरहनुभएको छ । अस्पताल जाँदा एलर्जी हो भनेर पठाउने गरेको र के कारण एलर्जी भयो भन्ने कुरा नखुलाइदिने गरेको उनको भनाइ छ । उद्योग सञ्चालनमा आएको पाँच÷छ वर्षसम्म खासै समस्या नभए पनि विस्तारै असर देखिन थालेको स्थानीयको भनाइ छ । वृद्धवृद्धामा दम खोकीको समस्या देखिएको स्थानीय रमेश राईले बताए । उद्योगबाट निस्कने प्रदूषणले मानवबस्तीमा मात्र नभएर खेतीबालीमा समेत असर पारेको छ । ‘मानव स्वास्थ्यमा त असर पारेकै छ, बारीमा तरकारी रोपे पनी फल्दैन, फले पनि खान मिल्दैन, तरकारीको पातभरी सिमेन्टको धुलो जमेको हुन्छ, कृषिउपज उत्पादनको पकेट क्षेत्रमा फलफूल र तरकारीको उत्पादन नै हुन छाड्यो,’ राईले भने । अहिले उनीहरुले समूहगत रुपमै सिमेन्ट उद्योगविरुद्ध दबाब दिने अभियानसमेत चलाएका छन् । स्थानिय रमा राईको संयोजकत्वमा जुगेडी खाद्य अधिकार प्रभावित समूह बनेको छ । स्थानीयले उद्योग र धुनीबेसी नगरपालिकामा ज्ञापनपत्रसमेत पेश गरेका पनि छन् । ‘वातारणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन माग गर्दा उद्योगले नदिएपछि सूचनाको हक प्रयोग गरेर राष्ट्रिय सूचना आयोगमार्फत प्रतिवेदन प्राप्त गरेका छन्, गत पुसमा वडा कार्यालयका जनप्रतिनिधि, स्थानीय समुदाय र उद्योग व्यवस्थापन पक्षसँग छलफल पनि भयो, त्यतिबेला उद्योग आउजाउ गर्ने सडक बाटो ढलान/पिच गर्ने र पुराना प्रतिबद्धता लागू गर्ने आश्वासन दिलायो,’ उन भन्छन्, ‘अहिले नगरपालिकाको न्यायिक समितिमार्फत छलफलका लागि उद्योगको व्यवस्थापन पक्षलाई बोलाउँदा पनि अटेर गरेको छ ।’ धुनिबेँसीका वडा नम्बर २, ५ र ९ का बस्ती पनि प्रदूषणको मारमा छ । पशु वस्तुमा पनि मानिसमा जस्तै समस्या देखिएको बताइएको छ । उद्योगबाट निस्कने प्रदुषण नियन्त्रण गर्नका लागि स्थानीयले पटकपटक ध्यानाकर्षण गराउँदै आए पनि उद्योग सञ्चालकले बेवास्ता गरेको स्थानीयले गुनासो गरेका छन् । युनाइटेड सिमेन्ट उद्योगले भने उद्योग सरकारले तोकेको मापदण्डमा रहेर सञ्चालनमा रहेको दाबी गरेको छ । स्थानीयबाट गुनासो आएपछि गाउँका र उद्योगका केही व्यक्तिलाई अस्पताल लगेर स्वास्थ्य परीक्षण गरेर समस्या पत्ता लगाउने काम गरिरहेको उद्योगका प्रमुख कार्यकारी अधिकृत भरत दाहालले बताए । उद्योगको वातावरणीय प्रदूषण मूल्याङ्कन गर्ने प्रक्रिया थालिएको उनको भनाइ छ । धुलो बढी निस्किएकाले भारतबाट प्राविधिक ल्याएर काम गरिरहेको जनाइएको छ । उनले भने, “प्लान्टको एउटा एरियाबाट धुलो बढी निस्किएकाले भारतबाट विज्ञ ल्याएर प्राविधिक जाँच गर्दैछौँ, हाल १० दिनदेखि प्लान्ट बन्द गरेर उद्योगको ‘इक्वीकमेन्ट’ मर्मतको काम भइरहेको छ ।’ वातावरण मन्त्रालयको मापदण्ड पूरा गरेर नै काम गरिरहेको उनको भनाइ छ । रासस

नौ सय साना उद्योग दर्ता, दुई सय ५९ खारेज

कलैया । घरेलु तथा साना उद्योग कार्यालयले आर्थिक वर्ष २०७९/८० मा आठ सय ९९घरेलु तथा साना उद्योग दर्ता गरेको छ यसैगरी दुई सय ५९ वटा साना उद्योग खारेज गरेको छ । आठ सय ९९घरेलु तथा साना उद्योग दर्ता र आठ सय छ वटा उद्योग नवीकरण गर्दा कूल एक करोड ३४ लाख ३५ हजार सात सय ३० रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख धर्मेन्द्रलाल कर्णले बताए । गत आर्थिक वर्ष साना घरेलु उद्योग ९८, वाणिज्यतर्फ ९ पसल एक सय ६१ समेत गरी दुई सय ५९ वटा साना उद्योग खारेज गरिएको थियो । चालु आर्थिक वर्ष दर्ता गरिएका उद्योगमा उत्पादनमूलक एक सय ३८ कृषि तथा वाणिज्य चार सय ७१, सेवामूलक दुई सय ८२, पर्यटन ४२, अन्य चारसमेत गरी जम्मा आठ सय ९९ उद्योग दर्ता भएका छन् । ती उद्योगमा चार हजार चार सय ४४ जनाले रोजगार पाएको बताइएको छ । हालसम्म दर्ता रहेका आठ सय ६६ वटा र नवीकरण भएका एक हजार ५८ वटा उद्योगसहित कूल एक हजार नौ सय ३४ वटा उद्योग सञ्चालनमा रहेको छ । आव २०७८/७९ मा महिला ८ सय १० र पुरुष नौ सय ५६ उद्यमी रहेको उद्योगमा महिला तीन हजार एक सय ६८ पुरुष सात हजार नौ सय ४६ समेत गरी ११ हजार एक सय १४ जनाले रोजगार पाएका थिए । उक्त कार्यालयले गत आबमा ब्यूटिपार्लर, सिलाइकटाई, हाउस वायरिङ, कम्प्युटर, गलैँचा, हाते कटाइबुनाई, अगरबत्ती, बाँसको मुढा बनाउनेजस्ता सीपमूलक तालिम सञ्चालन गरेको थियो । रासस