युवापुस्तालाई समर्थन गर्दै महासंघले खोज्यो विवेकपूर्ण अवतरण

काठमाडौं । सुशासन, भ्रष्टाचार नियन्त्रण, वाक स्वतन्त्रता, मर्यादित रोजगारी, स्वरोजगारी, राजश्वको सदुपयोग लगायतका विषयमा युवा पुस्ताले देखाएको चासोप्रति समर्थन जनाउँदै नेपाल उद्योग वाणिज्य महासंघले विकसित घटनाक्रमको विवेकपूर्ण अवतरणमा जोड दिएको छ ।  युवापुस्ताको चाहना बमोजिम समुन्नतिको यात्रामा देश अगाडि बढ्ने अपेक्षा महासंघले गरेको छ ।  ‘देशको समुन्नतिका लागि अन्यौल अन्त्य भएर शुसासन कायम गर्ने कार्यमा महासंघ समन्वय एवं सहकार्य गर्न तयार छ । नवनिर्माण एवं पुन: निर्माणका लागि आगामी दिनमा आवश्यक पर्ने बजेटको मुख्य स्रोत निजी क्षेत्र रहेको हुँदा उद्यम व्यवसायको निर्वाध संचालन गर्न आवश्यक शान्ति सुरक्षाको व्यवस्थाका लागि महासंघ आग्रह गर्दछ,’ शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ । महासंघको सबै जिल्ला र एक सय भन्दा बढी पालिकाहरूमा सदस्य उद्योग वाणिज्य संघहरु मार्फत उपस्थिति रहेको छ । जिल्ला, नगर, वस्तुगत, एसोसिएट लगायतका सदस्यता मार्फत महासंघले देशभरका करिब ६ लाख साना मझौला एवं ठूला उद्योगी व्यवसायीको प्रतिनिधित्व गर्दछ ।  पछिल्लो घटनाक्रममा कतिपय उद्यमी व्यवसायीको उद्योग, प्रतिष्ठान, कार्यालय एवं निवासमा समेत तोडफोड एवं आगजनीका घटना भएका छन् । यसरी व्यक्तिगत एवं व्यवसायिक सम्पत्तिमाथि भएका तोडफोडका घटनाको महासंघले भर्त्सना गरेको छ ।  साथै महासंघ व्यवसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आगामी दिनमा आक्रमण नहुने सुनिश्चितताको लागि सम्पूर्ण सबैको ध्यानाकर्षण गराएको छ । चाहन्छ । उद्योग व्यवसाय प्रतिष्ठानमा मुलुकभर नै अर्बौ रुपैया बराबरको क्षति भएको छ । यसबारे महासंघले थप विवरण संकलन गरिरहेको भएता पनि क्षतिका कारण राजश्व र कुल गार्हस्थ उत्पादनमै गम्भीर असर पर्ने प्रारम्भिक आंकलन गरिएको छ । यसैगरी, निजी क्षेत्रका गतिविधि निर्वाध रुपमा संचालन हुन नसकेमा अर्थतन्त्रमा थप समस्या हुने र आगामी दिनमा राजश्वमा समेत नकारात्मक प्रभाव पर्न जाने महासंघले जनाएको छ । त्यसैले सर्वप्रथम आम सर्वसाधारण तथा उद्यमी व्यवसायले निर्वाध रुपमा पेशा व्यवसाय गर्न पाउने सुनिश्चितताका लागि सुरक्षा प्रदान गरिदिन हुन आग्रह गरेको छ ।  निषेधाज्ञा एवं कर्फ्युका समयमा पनि अत्यावश्कीय सेवा तथा पेशाकर्मीहरूको आवतजावत एवं वस्तुहरू जस्तै औषधि, खाद्यान्न, दूध, पानी फलफूल तरकारी, पेट्रोलियम पदार्थ आदिको ओसार पसार सहजीकरणका लागि पनि महासंघले आग्रह गरेको छ । यसका लागि केन्द्र, प्रदेश र जिल्ला स्तरमा रहने सुरक्षा समितिमा महासंघ एवं महासंघका सदस्य उद्योग वाणिज्य संघका प्रतिनिधिको सहभागिताका लागि महासंघ आग्रह गरेको छ ।   यसैगरी गुणस्तरीय सामानको नियमित आपूर्ति गरि बजारमा अभाव सिर्जना हुन नदिने तर्फ देशैभरका सबै उद्यमी व्यवसायीहरुमा आग्रह पनि गरेको छ । साथै यसको सुनिश्चितताका लागि सम्बन्धित प्रदेश, जिल्ला, नगर एवं वस्तुगत संघहरुले अनुगमन गर्न पनि आग्रह गरेको छ ।  अन्तराष्ट्रिय विमानस्थल सुचारु भएपनि धेरै भन्सार नाका अहिले बन्द रहेका छन् । अत्यावश्यकीय लगायतका सामान आयात निर्यातका लागि भन्सार नाकामा सुरक्षा दिइ सुचारु गर्ने वातावरण निर्माणका लागि पनि महासंघले आग्रह गरेको छ । नेपाली अर्थतन्त्रमा ८१ प्रतिशत, राजश्वमा ८० प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान रहेको निजी क्षेत्रका विषय समावेश हुँदा अर्थतन्त्र चलायमान भइ समुन्नति र स्थायित्व कायम हुने विश्वास महासंघले लिएको छ ।   सामाजिक न्याय सहितको उच्च आर्थिक वृद्धिको वातावरण निर्माण गरेर मात्र उच्च ज्याला सहीतको मर्यादित रोजगारी सम्भव भएको जनाउँदै महासंघले स्थायित्वका लागि युवाहरुको चाहनाअनुरूप सुशासन, वाक स्वतन्त्रता, स्वतन्त्र भएर पेशा व्यवसाय गर्न पाउने अधिकारको सुनिश्चितता संगै लगानी एवं रोजगारी प्रवर्द्धनका लागि उपयुक्त वातावरण सिर्जना गरि समुन्नत समाज निर्माणमा योगदान पुर्‍याउन सबैलाई आग्रह गरेको छ ।

निजी क्षेत्रको एउटै स्वर : ‘प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अब नयाँ शिराबाट अघि बढौँ’

काठमाडौं । जेन जेड आन्दोलनका प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अघि बढ्नुको विकल्प नभएको निजी क्षेत्रले बताएको छ । मुलुकभर जेन जेड पुस्ताले विभिन्न सुधारका माग राखी सञ्चालन गरेको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघ, निर्माण व्यवसायी महासंघ, होटल संघ नेपाल (हान), इप्पानलगायतका संस्थाहरूले अब नयाँ शिराबाट अघि बढ्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघअनुसार मर्यादित रोजगारी, स्वरोजगारी, सर्वसाधारण एवं उद्यमी–व्यवसायीले तिरेको राजस्वको सदुपयोगलगायतका विषयमा युवा पुस्ताले देखाएको चासोप्रति अब संवेदनशील हुन जरुरी छ । मुलुकमा थप निराशा र अशान्तिको वातावरण कतैबाट पनि सिर्जना नहोस् र शान्तिपूर्ण आन्दोलनका क्रममा अनावश्यक बल प्रयोग नहोस् भन्ने तर्फ पनि महासंघ सम्बद्ध सबैको ध्यानाकर्षण गराएको छ । महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘मुलुकभर जेन जेड पुस्ताले विभिन्न सुधारका माग राखी सञ्चालन गरेको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघ गहिरो दुःख व्यक्त गर्दछ । प्रदर्शनका क्रममा ज्यान गुमाएका व्यक्तिप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछौँ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकारलगायत सम्पूर्ण राजनीतिक दलहरू एवं जेन जेड पुस्तामा अपील गर्दै युवाहरूको चाहना अनुरूप नागरिकको सरकारी सेवामा सहज र मर्यादित पहुँच, स्वतन्त्र भएर पेशा–व्यवसाय गर्न पाउने अधिकारको सुनिश्चितता साथै लगानी एवं रोजगारी प्रवद्र्धनका लागि उपयुक्त वातावरण सिर्जना गरी समुन्नत समाज निर्माणमा योगदान पुर्‍याउन महासंघ सरोकारवाला सबैमा आग्रह गर्दछ ।’ निर्माण व्यवसायी महासंघले पनि मुलुक विषम परिस्थितिबाट अघि बढ्नुपर्ने स्थिति आएको बताएको छ । महासंघका अध्यक्ष रवि सिंहअनुसार मुलुक विषम परिस्थितिबाट अघि बढ्नुपर्ने अवस्था छ । नयाँ कोर्सका लागि जेन जेड पुस्ताले गरेको जुन योगदान छ, त्यसबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सुशासनयुक्त र भ्रष्टाचारमुक्त समाजको सिर्जना गरिनुपर्ने सिंहले बताए । उनका अनुसार अब सही व्यक्तिहरूको चयन गर्दै मुलुकमा नेतृत्वका लागि अघि बढाउनुपर्छ । अध्यक्ष सिंहले भने– ‘मुलुक विषम परिस्थितिबाट अघि बढ्नुपर्ने अवस्था छ । जेन जेड पुस्ताले गरेको जुन योगदान छ, त्यसबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सुशासनयुक्त र भ्रष्टाचारमुक्त समाजको सिर्जना गरौँ । सही व्यक्तिहरूको चयन गर्दै मुलुकमा नेतृत्वका लागि अघि बढाऔँ । अहिलेसम्म सबै राजनीतिज्ञ, कर्मचारी, व्यवसायी सबैले आफ्नो सम्पत्तिको स्वघोषणा गरौँ र त्यसको स्रोत खुलाऔँ । स्रोत नखुलेको र गलत क्रियाकलापबाट आर्जित सम्पत्तिहरूलाई जफत गरी सरकारीकरण गरौँ । मुलुकमा सरकार, कर्मचारीसँग मिलेर जुन कार्टेलिङ हुन्थ्यो, त्यसविरुद्ध सबै उद्योगी–व्यवसायी, आम जनता, सर्वसाधारण, कर्मचारी, राजनीतिक नेतृत्वले भण्डाफोर गरौँ । मुलुकलाई सही दिशातर्फ लैजाऔँ । चाँडै मुलुकलाई समृद्धितर्फ लैजान म अपिल गर्दछु ।’ होटल संघ नेपालले देशभर जारी निषेधाज्ञा र विमानस्थल बन्दका कारण पर्यटकको भ्रमण प्रभावित भएको भन्दै आवागमन सहज बनाउन सम्बन्धित निकायलाई तत्काल पहल गर्न आह्वान गरेको छ । संघले विज्ञप्तिमार्फत भनेको छ– ‘परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने युवाहरूको आत्माको चिरशान्ति प्रार्थना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । साथै, युवाहरूको बलिदानबाट प्रारम्भ भएको नयाँ भविष्य सफल बनाउन संवाद तथा वार्तासहितका सबै प्रयासलाई परिणाममुखी बनाउन शुभकामना व्यक्त गर्दछौँ ।’ संघअनुसार चाडपर्व र पर्यटकीय सिजन सुरु हुने समयमा पर्यटक व्यवस्थापनमा प्राथमिकता नदिँदा नेपाल आउने पाहुनाबाट अप्रत्याशित र अत्यधिक क्यान्सिलेसन भएको छ । यसलाई न्यूनिकरण गर्न होटललगायत आतिथ्य क्षेत्र सक्रिय रहे पनि सम्बन्धित सबै निकायले थप प्राथमिकता दिनुपर्ने संघले स्पष्ट पारेको छ । होटल र सार्वजनिक सम्पत्तिमा भएको आगजनीलाई देशकै सम्पत्तिको विनाश भएको भन्दै संघले थप क्षति हुन नदिन सबैमा संयमता अपनाउन आग्रह गरेको छ । यसबाहेक प्रभावित पर्यटक व्यवस्थापनका लागि होटल संघ नेपालले पर्यटन बोर्ड र नेपाली सेनासँग सहकार्य गरिरहेको जनाएको छ । साथै, अलपत्र पर्यटकलाई आवास आवश्यक परेमा संघको हॉटलाइन ९८५१०३१४९५ मा सम्पर्क गर्न आग्रह गरिएको छ । संवैधानिक निकाय तथा राज्यका कार्यहरू सीमित व्यक्तिकै स्वार्थमा निहित रहेर भ्रष्टाचार, कुशासन, गलत नियुक्ति र पूर्वाधार प्रभावित पार्ने कामले युवाहरूमा चरम निराशा निम्त्याएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल ९इप्पान०ले ठहर गरेको छ । इप्पानले युवामाथि भएको दमनको स्वतन्त्र र निष्पक्ष छानबिन समितिमार्फत छानबिन हुनुपर्ने बताएको छ । इप्पानले विज्ञप्ति जारी गर्दै भनेको छ– ‘शान्तिपूर्ण प्रदर्शनमा सहभागी युवाविरुद्ध गोली चलाउनु, संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रतामाथि राज्यको प्रत्यक्ष उल्लंघन हो । त्यो अवस्था राजा ज्ञानेन्द्रको निरंकुश शासनकाल ९२०६२र६३० मा २६ जनाको ज्यान गुमाएका जनआन्दोलनको स्मरण गराउँछ, जसरी फेरि १९ जनाको ज्यान गएको उद्दण्ड घटना खेदजनक छ ।’ देशमा ३ हजार मेगावाटभन्दा बढी ऊर्जा उत्पादन गरी ५ हजार मेगावाट क्षमतासम्मको आयोजना निर्माणमा सक्रिय ऊर्जा उद्यमीहरूले वार्षिक साढे ३ अर्ब रुपैयाँभन्दा बढी रोयल्टीसहित कर तिर्दै आएका छन् । ऊर्जा क्षेत्रले हजारौँ रोजगारी सिर्जना गरेको र पूर्वाधार विकासको मुख्य आधार भएकोमा पनि जोड दिएको छ । तथापि, संवैधानिक निकाय तथा राज्यका कर्ता–धर्ताहरू सीमित व्यक्तिकै स्वार्थमा निहित रहेर भ्रष्टाचार, कुशासन, गलत नियुक्ति र पूर्वाधार प्रभावित पार्ने कामले युवामा चरम निराशा निम्त्याएको इप्पानको ठहर छ । घटनासम्बन्धी स्वतन्त्र र निष्पक्ष छानबिन समिति गठन गर्न पनि इप्पानले माग गरेको छ । राष्ट्र बैंकको निर्देशनपछि बैंकहरु खुल्दै  वाणिज्य बैंकहरूले आज दिउँसो २ बजेसम्म बैंक खोलेर सेवा दिने भएका छन् ।  भदौ २३ र २४ गतेको अन्दोलनपछि मुलुकभर अवस्था सामान्यिकरण हुन नसकिरहेकोले पनि दिउँसो दुई बजेसम्म सिमित स्थानबाट सेवा दिने भएको हो । एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बैंकहरूलाई नोटिस पठाउँदै काठमाडौं उपत्यकाभित्र बैंकका मुख्य कार्यालयसहित ३ वटा शाखा खोल्न भनेका छन् । त्यस्तै, २/२ वटा शाखा ललितपुर र भक्तपुरमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सीमित कर्मचारीसहित संचालन हुनेछन् । शाखाभित्र हुने कारोबारलाई सीमित समयमै गर्नुपर्ने भएकाले ग्राहकलाई यसबारे सचेत रहन आग्रह गरिएको छ । काठमाडौं बाहिरका शाखाहरू भने स्थानीय सुरक्षा निकायसँगको नजिकको समन्वयमा सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ । प्रत्येक जिल्लामा रहेको सुरक्षा निकायसँग समन्वय गरी बैंकले आफ्नै निर्णयअनुसार शाखा सञ्चालन गर्न सक्ने एशोसिएशनले जनाएको छ ।   यसैबीच, क्लियरिङ प्रक्रिया भने पूरै क्षमतासहित संचालन गरिने भएको छ । यसले गर्दा बैंकबीचको चेक कारोबार र भुक्तानी प्रणाली सहज हुने अपेक्षा गरिएको छ । रेमिट्यान्स विभाग पनि विदेशी मुद्राको विनिमयका लागि सीमित समयका लागि खोलिने जानकारी दिइएको छ । सार्वजनिक सेवामा अवरोध नहोस् भन्ने उद्देश्यले एटीएम सेवा निरन्तर चलाइनेछ । बैंकर्स एसोसिएसनले डिजिटल कारोबार पनि अवरोधविहीन बनाउन सबै बैंकलाई निर्देशन दिएको छ ।    बैंकर्स एशोसिएशनले भनेको छ– ‘मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर भुक्तानी, इसेवा जस्ता डिजिटल प्रणालीलाई अझै मजबुत बनाउनुपर्छ । वित्तीय प्रणाली बन्द हुँदा सर्वसाधारणको असन्तुष्टि बढ्छ र बजारमा अस्थिरता आउँछ । त्यसैले भुक्तानी कारोबारका गतिविधिमा जटिलता फुकाउन सहजीकरण गरिएको हो ।’ यसअघि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था, वित्त कम्पनी तथा भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरूलाई सिमित कर्मचारीबाट आफ्ना संवेदनशिल प्रणाली सञ्चालन गरी आत्यावश्यक बैंक तथा डिजिटल भुक्तानी सम्बन्धी सेवा सुचारु गर्न निर्देशन दिएको थियो । राष्ट्र बैंकले सम्पूर्ण संस्थाले आफ्नो व्यावसायिक निरन्तरतालाई मध्यनजर गर्दै नेपाली सेनाले भदौ २५ गते जारी गरेको विज्ञप्तिअनुसार आवतजावत हुनेगरी सीमित कर्मचारीबाट आफ्ना सम्वेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारू गर्न निर्देशन दिएको थियो । अन्य प्रणालीको हकमा जोखिमको आधारमा रिमोट एक्सीसमार्फत सञ्चालन गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ । साथै सञ्चालनमा आएका शाखा, एटीएम र उपलब्ध सेवासम्बन्धी सूचना आफ्नो वेवसाइट तथा सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई जानकारी गराउन समेत आग्रह गरेको छ ।  

मुस्ताङमा ‘हाइब्रिड’ स्याउ उत्पादनमा वृद्धि, गतवर्ष ८२ करोडभन्दा बढी कारोबार

मुस्ताङ । मुस्ताङमा उच्चघनत्व प्रविधिमा आधारित ‘हाइब्रिड’ स्याउको उत्पादन भइरहेको छ । यसपटक ‘पोस्ट हाभेस्ट’ अन्तिम चरणमा पुगेको छ । यहाँ सरोकार भएका निकाय सम्मिलित जिल्लास्तरीय समन्वयात्मक बैठकले उच्च ‘हाइब्रिड’ गाला स्याउ भदौ ५ देखि र किङरट जातको स्याउ भदौ १५ गतेदेखि जिल्ला बाहिर लैजान पाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार यहाँका स्याउ बगैँचाबाट पोखरा-काठमाडौंलगायत स्थानमा पुर्‍याइसकिएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यसवर्ष यस्तो स्याउको उत्पादन करिब १० प्रतिशतले वृद्धि भएको अनुमान छ । कार्यालय प्रमुख राजेश गुरुङले यहाँको प्रारम्भिक सर्वेक्षणमा स्याउ उत्पादनमा वृद्धि भएको देखिएको बताए । गत वर्ष मुस्ताङमा ६० हेक्टर ‘हाइब्रिड’ स्याउ बगैँचा क्षेत्र रहेकामा उत्पादनशील ५० हेक्टर क्षेत्रफलमा एक हजार २५० मेट्रिक टन स्याउ उत्पादन भएको उनले जानकारी दिए । यसवर्ष गत वर्षभन्दा एक सय २५ मेट्रिक टन बढी उत्पादन भएको कार्यालय प्रमुख गुरुङको भनाइ छ । यहाँ परम्परागत स्थानीय जातका स्याउको उत्पादनमा भने ह्रास आउने देखिएको कृषि ज्ञान केन्द्रले अनुमान गरेको छ । यस वर्ष गत वर्षको तुलनामा स्थानीय जातको स्याउ १५ प्रतिशतले ह्रास आउने प्रक्षेपण गरिएको केन्द्र प्रमुख गुरुङले सुनाए । गत वर्ष यहाँ आठ सय ३० हेक्टरमा स्थानीय लगाइएकामा छ हजार ७८ दशमलव ८४ प्रतिशत मेट्रिक टन उत्पादन भएको थियो । ज्ञान केन्द्रले गत वर्षभन्दा ९२ मेट्रिक टन कम उत्पादन हुने अनुमान गरेको छ । थासा-१ टुकुचेका कृषक दिपसागर थकालीले यसवर्ष थासाङ क्षेत्रमा स्थानीय स्याउको उत्पादन एक तिहाईले घटेको बताए । 'गत वर्ष लटरम्म फलेको थियो, तर यस वर्ष बोटमा स्याउ नै थोरै फलेको छ', उनले भने । केही क्षेत्रमा भने उत्पादनमा समस्या नआउने अनुमान रहेको छ । यहाँको घरपझोङ-५ स्थित चिम्ले अचार्ड कृषि स्याउ फार्ममा स्थानीय जातका स्याउ उत्पादनमा कुनै असर नपरेको फार्मका सञ्चालक कर्म गुरुङले बताए । बगैँचाको उचित व्यवस्थापन, भूगोल र स्थानले समेत स्याउ उत्पादनमा फरक पर्ने उनले सुनाए । शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका प्रमुख पद्मनाथ आत्रेयले बोटमा फूल फुल्दै गरेको बेला वर्षा भएकाले असर पुर्याएकाले उत्पादनमा कमी आउने देखिएको बताए । तथापि, जिल्लामा कति स्याउ उत्पादन भयो भन्नेबारे असोजपछि यकिन हुने उनको भनाइ छ । केन्द्रका अनुसार स्थानीय र ‘हाइब्रिड’ गरी गतवर्ष यहाँ छ हजार १६ हेक्टर क्षेत्रफलमा सात हजार ३२८ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । जसमध्ये १० प्रतिशत स्याउ मुस्ताङमै खपत भएको थियो भने ९० प्रतिशत स्याउ बाहिर निकासी भएको थियो । स्याउ निकासीबाट रु ८२ करोड ६८ लाख कारोबार हुँदा रु नौ करोड १८ लाख ६७ हजार बाराबर जिल्लामै खपत भएको ज्ञान केन्द्रले जनाएको छ । रासस