सगरमाथा इन्स्योरेन्स र पाेखराकाे हाेटल ल्याण्डमार्कबीच सम्झाैता
काठमाडाैं । सगरमाथा इन्स्योरेन्स कम्पनी र पाेखराकाे हाेटल ल्याण्डमार्क तथा काठमाडाैंकाे सम्राट टूर्स एण्ड ट्राभल्स प्रा.लि. बीच सम्झाैता भएकाे छ । नेपालको आन्तरिक पर्यटनको विकासलाई टेवा पुर्याउने उद्देश्यले यी कम्पनीबीच सम्झाैता भएकाे हाे । उक्त सम्झौता पत्रमा सगरमाथा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री तथा सम्राट टूर्स एण्ड ट्राभल्सको तर्फबाट सिएन पाण्डेले हस्ताक्षर गरेका हुन् । यससँगै सगरमाथा इन्स्योरेन्स कम्पनीका कर्मचारी तथा भीआईपी कार्ड हाेल्डर बीमितले विभिन्न सेवामा विशेष छुट पाउने छन् ।
बागलुङको पर्यटन विकासमा प्रदेश सरकारको ६० योजना
बागलुङ । बागलुङ जिल्लाको पर्यटन विकासका लागि यस वर्ष ६० योजना कार्यान्वयनमा आउन थालेका छन् । बागलुङमा गत आर्थिक वर्ष २०७६/७७ मा जम्मा सात वटा योजना छनोट गरे पनि आव २०७७/७८ मा ६० योजना कार्यान्वयनमा ल्याइएको गण्डकी प्रदेश सरकारले जनाएको छ । गत वर्ष सात योजनामा विनियोजन भएको पाँच करोड २४ लाख बजेटमध्ये कोरोनाका कारण जम्मा दुई करोड ४४ लाख रकम खर्च भएको थियो । गत वर्षको तुलनामा यस वर्ष पर्यटन क्षेत्रको विकासका लागि बागलुङमा ६० योजनाका लागि सात करोड ५५ लाख १३ हजार बजेट कार्यान्वयनमा आउन थालेको गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जानकारी दिएको छ । कोरोनाका कारण गत वर्षको बजेट कार्यान्वयनमा समस्या भए पनि यस वर्ष धमाधम योजना सम्झौता गरी काम शुरु गरिएकोे उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले बताए । उनका अनुसार भ्यू टावर (दृश्यावलोकन स्तम्भ), पदमार्ग, पर्यापर्यटन, प्याराग्लाइडिङ पूर्वाधार, घरबास अनुदानलगायतका कार्यक्रम कार्यान्वयनमा आउन थालेका छन् । “गत वर्ष कोरोना नियन्त्रणमा घरबासलाई दिइने रकम खर्च भयो, यस वर्ष छनोटका आधारमा १० घरबासले अनुदान पाउँदैछन्, धेरै योजनाको काम शुरु भएको छ”, मन्त्री लम्सालले भने, “पदमार्ग, भ्यू टावर, प्याराग्लाइडिङ पूर्वाधारलगायतका योजना म आफैँ पुगेर शिलान्यास गरेको छु, सबै योजना कार्यान्वयन सम्पन्न गरी बागलुङमा पर्यटनको विकासका लागि टेवा पुर्याउनेछौँ ।” मन्त्रालयका अनुसार ६० योजना उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहतका तीन कार्यालयअन्तर्गत कार्यान्वयनमा आउन थालेका हुन् । भू तथा जलाधार व्यवस्थापन कार्यालयबाट पर्यटनसम्बन्धी कार्यक्रम पोखरी संरक्षण, गल्छी तथा पहिरो नियन्त्रण, भू–संरक्षणमैत्री पदमार्गलगायतका संरचना निर्माणका लागि १४ वटा योजनामा एक करोड ६३ लाख ५० हजार विनियोजन भएर काम शुरु भइसकेको छ । यस्तै पर्यटन कार्यालय पोखरामार्फत घरबास अनुदान, पदमार्ग, पर्यटकीयस्थलमा पूर्वाधारलगायतका १९ वटा योजनामा तीन करोड १७ लाख ५० हजार विनियोजन गरेर कार्यान्वयनको चरणमा पुगेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको पर्यटन महाशाखा प्रमुख डिल्लीराम रिजालले जानकारी दिए । “बागलुङमा पर्यटनको धेरै सम्भावना भएकाले धेरै योजना समावेश गरिएको हो”, रिजालले भने, “यो वर्ष ६० योजना कार्यान्वयनमा आउँदा पर्यटनका क्षेत्रमा आधारभूत उपलब्धि हासिल हुनेछन् ।” आगामी वर्षसमेत यी योजनालाई आधार मानेर बजेट ल्याइने रिजालको भनाइ छ । डिभिजन वन कार्यालयमार्फत यस आर्थिक वर्षमा २७ वटा योजनामा रु दुई करोड ७४ लाख ३३ हजार विनियोजन भएर पाँच योजना सम्झौता भइसकेको र अन्य योजनाका लागि छनोट प्रक्रिया थालिसकेको डिभिजन वन कार्यालय बागलुङका डिभिजन अधिकृत मुकुन्दप्रसाद अधिकारीले जानकारी दिए । गत आर्थिक वर्ष सात वटा योजनामा छुट्याइएको रु पाँच करोड २४ लाखमध्ये २८ वटा सामुदायिक घरबासका लागि १० लाखका दरले छुट्याइएको दुई करोड ८० लाख बजेट कोरोना नियन्त्रणमा खर्च गरिएको थियो । रासस
५५ वर्ष पूरानो होटल अन्नपूर्ण नजिरले जन्माएको त्रास
काठमाडौं । काठमाडौंको दरबारमार्गमा विगत ५५ वर्षदेखि सञ्चालनमा रहेको अन्नपूर्ण होटल बन्द हुने भएको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण चैतदेखि बन्द अवस्थामा रहेको होटलमा सामान्य अवस्था भइसक्दा पनि ग्राहक नआएपछि होटल व्यवस्थापनले होटल बन्द गर्ने योजनामा पुगेको हो । ५५ वर्ष पूरानो होटल बन्द हुनु नेपाली होटल तथा पर्यटन उद्योगका लागि सुखद होइन । नेपाल सरकारले नेपालको पर्यटन व्यवसायको विकास तथा विस्तारका लागि विभिन्न कार्यक्रमहरु ल्याएपनि पूराना होटलहरु बन्द हुनु होटल व्यवसायी र सम्पूर्ण पर्यटन क्षेत्रका लागि एक किसिमको त्रासपूर्ण वातावरण सिर्जना भएको छ । अन्नपूर्ण होटलकी सञ्चालक रहेकी सिर्जना राणा होटल एसोसिएन (हान) की अध्यक्ष समेत हुन् । अध्यक्ष राणाले नै ५५ वर्ष पूरानो होटल बन्द गर्न खोज्नु होटल क्षेत्रका लागि एक थप चुनौती र लगानीका गर्नको लागि एक पटक सोच्नु पर्ने समय आएको व्यवसायीहरु बताउँछन् । सरकारले नै पर्यटन क्षेत्रको विकासका लागि व्यवसायीहरुलाई सहुलियत कर्जादेखि अन्य विभिन्न राहत ल्याएको अवस्थामा होटल क्षेत्रका व्यवसायी र लामो समयदेखि सञ्चालन हुँदै फरक किसिमको विरासत कमाएको होटल बन्द हुनु दुखद विषय हो । यसले होटल व्यवसायमा छिर्न खोज्ने नयाँ उद्यमी तथा होटल क्षेत्रमा लगानी गर्न खोज्नेहरुका लागि चुनौतीको विषयका रुपमा देखा परेको छ । काठमाडौंको मुख्य व्यापारिक तथा विदेशी पर्यटकहरुको आवागमन हुने स्थल दरबारमार्गमा रहेको ५५ वर्ष पुरानो पाँचतारे होटल अन्नपूर्ण बन्द हुनु भएपछि होटलमा लगानी गर्न चाहने र होटल व्यवसाय गर्दै आइरहेका व्यवसायीहरुलाई एक किसिमको त्रासको अवस्था सिर्जना भएको हानका महासचिव साजन शाक्य बताउँछन् । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको डरले विदेशी पर्यटकहरु नेपाल आउन छोडेपछि होटलमा ग्राहकको संख्या पनि शुन्य हुने गरेको शाक्यले बताए । ‘अहिले विदेशमा पनि कोरोना व्याप्त छ, विदेशीहरुलाई नेपालमा घुम्न आउन पनि डरसँगै समस्या पनि भइहरेको छ, त्यसको प्रत्यक्ष असर होटल तथा पर्यटन क्षेत्रमा परेको छ, यसले पनि हामी होटल व्यवसायीहरुलाई धेरै समस्या भइरहेको छ,’ उनले भने । अन्नपूर्ण होटल व्यवस्थापनले होटलको सञ्चालन खर्च पनि धान्न नसकेकोले होटल बन्द गर्नु परेको बताएको छ, होटलले औपचारिक रुपमा होटल बन्द भएको घोषणा नगरेपनि होटलले बन्द गर्नको लागि आन्तरिक तयारीहरु गरिरहेको होटल व्यवस्थापनले बताएको छ । दरबारमार्गको ४३.८६ रोपनी क्षेत्रफलमा फैलिएको होटलमा अध्यक्ष राणा र नेपाल ट्रस्टको सेयर रहेको छ भने होटलमा हाल साढे ३ सयभन्दा बढी कर्मचारीहरु छन् । ‘हामी अहिले कर्मचारीहरुको व्यवस्थापनको तयारीमा छौं, कसरी कर्मचारीहरुलाई व्यवस्थापन गर्ने हो त्यो पट्टी लाग्छौं, यस्तो अवस्था लामो समयसम्म रह्यो भने अर्कै समस्या फेरि सिर्जना हुन्छ,’ होटल स्रोतले भन्यो । कोभिड–१९ का कारण सिर्जित अहिलेको विकराल अवस्थामा व्यवसायीहरुलाई समस्या मात्र होइन श्रमिकहरुको व्यवस्थापनको मुद्दा पनि ठूलो चुनौतीको रुपमा देखिएको छ । हाल कोभिडका कारण प्रभावित होटलहरुले धमाधम कर्मचारी कटौती गर्ने र होटल नै बन्द गरिएको घोषणा समेत गर्न थालेका छन् । यस्तै, होटल सोल्टी क्राउन प्लाजाले समेत आफ्नो कर्मचारीमा ४० प्रतिशत कर्मचारी कटौती गर्ने घोषणा गरिसकेको छ । देशको पर्यटन उद्योगलाई विकास तथा विस्तार गर्नैको लागि सरकारले नेपाल भ्रमण वर्ष २०२० पनि घोषणा गरेको थियो । जसले गर्दा नेपालको होटल व्यवसाय र समग्र पर्यटन बजारनै फष्टाउन कल्पना मात्र होइन धेरैले होटलमा लगानी गर्ने सोच पनि बनाएका थिए । धेरैले देशका विभिन्न क्षेत्रमा होटल सञ्चालनका लागि आवश्यक तयारी पनि गरिसकेका थिए । तर, विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण ती सबै योजना र कार्यक्रमहरु स्थगित हुन पुगे । अहिले पनि देशमा धेरै ठूला लगानीका होटलहरु निर्माण भइरहेका छन् । जसले होटल क्षेत्रको वृद्धि विकासका लागि महत्वपूर्ण भूमिका खेल्नेछन् । तर, पूराना र आफ्नो छुट्टै खालको बजार बनाइसकेको होटलहरु बन्द हुनुले नयाँ आएका होटलहरुलाई चुनौती अवश्य नै छ ।