काठमाडौं । काठमाडौंको दरबारमार्गमा विगत ५५ वर्षदेखि सञ्चालनमा रहेको अन्नपूर्ण होटल बन्द हुने भएको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण चैतदेखि बन्द अवस्थामा रहेको होटलमा सामान्य अवस्था भइसक्दा पनि ग्राहक नआएपछि होटल व्यवस्थापनले होटल बन्द गर्ने योजनामा पुगेको हो ।
५५ वर्ष पूरानो होटल बन्द हुनु नेपाली होटल तथा पर्यटन उद्योगका लागि सुखद होइन । नेपाल सरकारले नेपालको पर्यटन व्यवसायको विकास तथा विस्तारका लागि विभिन्न कार्यक्रमहरु ल्याएपनि पूराना होटलहरु बन्द हुनु होटल व्यवसायी र सम्पूर्ण पर्यटन क्षेत्रका लागि एक किसिमको त्रासपूर्ण वातावरण सिर्जना भएको छ ।
अन्नपूर्ण होटलकी सञ्चालक रहेकी सिर्जना राणा होटल एसोसिएन (हान) की अध्यक्ष समेत हुन् । अध्यक्ष राणाले नै ५५ वर्ष पूरानो होटल बन्द गर्न खोज्नु होटल क्षेत्रका लागि एक थप चुनौती र लगानीका गर्नको लागि एक पटक सोच्नु पर्ने समय आएको व्यवसायीहरु बताउँछन् ।
सरकारले नै पर्यटन क्षेत्रको विकासका लागि व्यवसायीहरुलाई सहुलियत कर्जादेखि अन्य विभिन्न राहत ल्याएको अवस्थामा होटल क्षेत्रका व्यवसायी र लामो समयदेखि सञ्चालन हुँदै फरक किसिमको विरासत कमाएको होटल बन्द हुनु दुखद विषय हो ।
यसले होटल व्यवसायमा छिर्न खोज्ने नयाँ उद्यमी तथा होटल क्षेत्रमा लगानी गर्न खोज्नेहरुका लागि चुनौतीको विषयका रुपमा देखा परेको छ । काठमाडौंको मुख्य व्यापारिक तथा विदेशी पर्यटकहरुको आवागमन हुने स्थल दरबारमार्गमा रहेको ५५ वर्ष पुरानो पाँचतारे होटल अन्नपूर्ण बन्द हुनु भएपछि होटलमा लगानी गर्न चाहने र होटल व्यवसाय गर्दै आइरहेका व्यवसायीहरुलाई एक किसिमको त्रासको अवस्था सिर्जना भएको हानका महासचिव साजन शाक्य बताउँछन् ।
विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको डरले विदेशी पर्यटकहरु नेपाल आउन छोडेपछि होटलमा ग्राहकको संख्या पनि शुन्य हुने गरेको शाक्यले बताए । ‘अहिले विदेशमा पनि कोरोना व्याप्त छ, विदेशीहरुलाई नेपालमा घुम्न आउन पनि डरसँगै समस्या पनि भइहरेको छ, त्यसको प्रत्यक्ष असर होटल तथा पर्यटन क्षेत्रमा परेको छ, यसले पनि हामी होटल व्यवसायीहरुलाई धेरै समस्या भइरहेको छ,’ उनले भने ।
अन्नपूर्ण होटल व्यवस्थापनले होटलको सञ्चालन खर्च पनि धान्न नसकेकोले होटल बन्द गर्नु परेको बताएको छ, होटलले औपचारिक रुपमा होटल बन्द भएको घोषणा नगरेपनि होटलले बन्द गर्नको लागि आन्तरिक तयारीहरु गरिरहेको होटल व्यवस्थापनले बताएको छ ।
दरबारमार्गको ४३.८६ रोपनी क्षेत्रफलमा फैलिएको होटलमा अध्यक्ष राणा र नेपाल ट्रस्टको सेयर रहेको छ भने होटलमा हाल साढे ३ सयभन्दा बढी कर्मचारीहरु छन् ।
‘हामी अहिले कर्मचारीहरुको व्यवस्थापनको तयारीमा छौं, कसरी कर्मचारीहरुलाई व्यवस्थापन गर्ने हो त्यो पट्टी लाग्छौं, यस्तो अवस्था लामो समयसम्म रह्यो भने अर्कै समस्या फेरि सिर्जना हुन्छ,’ होटल स्रोतले भन्यो । कोभिड–१९ का कारण सिर्जित अहिलेको विकराल अवस्थामा व्यवसायीहरुलाई समस्या मात्र होइन श्रमिकहरुको व्यवस्थापनको मुद्दा पनि ठूलो चुनौतीको रुपमा देखिएको छ ।
हाल कोभिडका कारण प्रभावित होटलहरुले धमाधम कर्मचारी कटौती गर्ने र होटल नै बन्द गरिएको घोषणा समेत गर्न थालेका छन् । यस्तै, होटल सोल्टी क्राउन प्लाजाले समेत आफ्नो कर्मचारीमा ४० प्रतिशत कर्मचारी कटौती गर्ने घोषणा गरिसकेको छ ।
देशको पर्यटन उद्योगलाई विकास तथा विस्तार गर्नैको लागि सरकारले नेपाल भ्रमण वर्ष २०२० पनि घोषणा गरेको थियो । जसले गर्दा नेपालको होटल व्यवसाय र समग्र पर्यटन बजारनै फष्टाउन कल्पना मात्र होइन धेरैले होटलमा लगानी गर्ने सोच पनि बनाएका थिए । धेरैले देशका विभिन्न क्षेत्रमा होटल सञ्चालनका लागि आवश्यक तयारी पनि गरिसकेका थिए ।
तर, विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण ती सबै योजना र कार्यक्रमहरु स्थगित हुन पुगे । अहिले पनि देशमा धेरै ठूला लगानीका होटलहरु निर्माण भइरहेका छन् । जसले होटल क्षेत्रको वृद्धि विकासका लागि महत्वपूर्ण भूमिका खेल्नेछन् । तर, पूराना र आफ्नो छुट्टै खालको बजार बनाइसकेको होटलहरु बन्द हुनुले नयाँ आएका होटलहरुलाई चुनौती अवश्य नै छ ।