सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्षका रुपमा मनाइने !

काठमाडाैं । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले सन् २०२१ आन्तरिक पर्यटन वर्ष हुने बताएका छन् । पर्यटन मन्त्रालयमा भएको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले तत्काल बिदेशी पर्यटक आउने सम्भावना नरहेकोले सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्षका रुपमा मनाउन तयारी गर्नु पर्ने बताएका हुन् । सरकारले आन्तरिक भ्रमण वर्ष भनेर घोषणा नगरे पनि सन् २०२१ हाम्रा लागि आन्तरिक पर्यटन वर्ष हुने भएकाले यसैलाई जोड दिनेगरी सरकारले योजना बनाइरहेको बताए । कोरोनाको जोखिम रहेको अवस्थामा विदेशी पर्यटक आइहाल्ने अवस्था नभएकोले स्वास्थ्यका मापदण्ड पुरा गरेर पर्यटन बजारलाई बढाउन ब्यबसायीहरुलाई आग्रह गरे । एक अर्को प्रसंगमा मन्त्री भट्टराईले अहिले चर्चामा रहेको दुइदिन सार्वजनिक बिदा दिने अवधारणा सहि रहेको दावी गरेका छन् । यस भन्दा अघि लागु भइ असफल भएको चर्चा समय परिस्थिति अनुसार अहिले सहि हुने भन्दै लागु गर्न सकिने बताए । कर्मचारी लगायत सबैमा दुई दिनको बिदाले पुनर्ताजगी बनाउने र आन्तरिक पर्यटन समेतलाई टेवा दिनसक्ने भएकोले सरकारले अगाडी सारेको दुईदिन सार्वजनिक बिदा दिने निर्णय सहि हुनसक्ने पनि मन्त्री भट्टराईले बताए । कार्यक्रममा मन्त्रालयका पर्यटन बोर्डका प्रमुख कार्यकारी डा धनन्जय रेग्मी, होटल एसोसिएसन नेपालकी अध्यक्ष सृजना राणा र मन्त्रालयका अधिकृत रचना प्रधानले कोभिडले नेपाली पर्यटन र पर्यटन अर्थ ब्यबस्थामा परेको प्रभाव बारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

नौ महिनापछि काठमाडौं-नयाँदिल्ली उडान शुरु

काठमाडौं । कोभिड-१९ महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल-भारत उडान आजदेखि पुनः शुरु भएको छ । करिब नौ महिनापछि काठमाडौं-नयाँदिल्ली उडान पुनःसञ्चालनमा आएको हो । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी ए३२० जहाजले काठमाडौंबाट १४१ यात्रु लिएर केहीबेरअघि दिल्ली उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । बिहान ११ः२० बजे उडेको उडान नं २०५१ जहाज दिल्लीबाट त्यहाँको समयअनुसार दिउँसो १ः५५ बजे काठमाडौं फर्किने उडान तालिका छ । एक सय ५७ यात्रु क्षमताको न्यारोबडी जहाजमा १३५ इकोनोमिक र छ बिजनेस क्लासका यात्रु सवार रहेको निगमले जनाएको छ । नौ महिनापछि पहिलो उडानको अकुपेन्सी उत्साहवद्र्धक रहेको र दिल्ली गन्तव्यमा आगामी दिनमा विगतमाझैँ प्रत्येक दिन दुई उडानको अपेक्षा गरिएको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले बताए । “भारतले आयोजना गरेको बबेल अवधारणाबाट निगम निकै उत्साहित भएर उडानमा जुटेको छ, भारतका अन्य दुई गन्तव्यमा पनि विगतमाझैँ छिट्टै उडान हुने अपेक्षा गरिएको छ”, उनले भने । काठमाडौ-नयाँदिल्ली गन्तव्यमा दुवै देशले दैनिक दुई उडान भर्नेछन् । दुवै पक्षका सरकारले ‘एयर ट्रान्सपोर्ट बबल संयन्त्र’ को अवधारणाअन्तर्गत काठमाडौँ र दिल्लीबीच नियमित निर्धारित उडान पुनः शुरु गरिएको हो । कोभिड-१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल तथा भारत दुवै मुलुकले अन्तर्राष्ट्रिय नियमित अन्तरदेशीय उडानमा प्रतिबन्ध लगाएकामा हाल दुवै मुलुकले अन्तर्राष्ट्रिय उडानमा गरिएको प्रतिबन्ध ‘एयर ट्रान्सपोर्ट बबल’ मार्फत खुकुलो बनाएकाले निगमले काठमाडौं–दिल्ली रुटमा हाललाई दैनिक नियमित एक उडान गर्न लागिएको जनाएको छ । नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र भारतको एयर इण्डियाले दैनिक उडान गर्नेछन् । नेपाल एयरलाइन्सले बन्दाबन्दीका कारण विसं २०७६ चैत १० (२३ मार्च २०२०) गतेदेखि काठमाडौं-दिल्ली उडान स्थगन भएको थियो । गत भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान शुरु भएको थियो । यी उडानमा नेपालतर्फ यात्रुले ७२ घण्टे पिसीआर रिपोर्ट पेश गर्नुपर्नेछ भने भारतबाट आउँदा त्यहाँ अनलाइन फाराम भर्नुपर्ने प्रावधान छ । कोभिड महामारीका कारण उडान स्थगन हुँदा यात्रुको आवागमन चापमा परेको प्रभावको अध्ययन गरी उडान सङ्ख्यामा समायोजन गर्न सकिने र सोको सूचना दिइने तथा नेपाल सरकार र भारत सरकारले निर्धारण गरेको स्वास्थ्यसम्बन्धी शर्तहरुको पूर्ण पालना गर्दै यात्रुलाई अधिकतम सुविधासहित सङ्क्रमणरहित गुणस्तरीय हवाई सेवा प्रदान गर्न प्रतिबद्ध रहेको निगमले जनाएको छ । निगमको अन्तर्राष्ट्रिय उडान गन्तव्यको व्यापारिक हिसाबले भारतका गन्तव्य निकै राम्रो मानिन्छ । लामो समय उडान नहुँदा निगमलाई आर्थिकरूपमा निकै घाटा भएको छ । सामान्य अवस्थामा काठमाडौं-दिल्ली दैनिक दुई उडान हुन्थ्यो । कोभिड महामारीकै बीच अहिले दैनिक एक उडान हुन लागेको हो । यो गन्तव्यको उडानमा यात्रुको मागबमोजिम निगम नेपाल एयरलाइन्सका वाइडबडी ए-३३० र वाइडबडी ए-३२० जहाजले आलोपालो गरेर उडान भर्नेछन् । निगमले भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । कम्पनीसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई वाइडबडी र दुई थान न्यारोबडी जहाज छन् । रासस

नेपालकै सबैभन्दा लामो केवलकार परियोजना अघि बढ्यो, अन्य ३ ठूला आयोजनाको पनि बन्यो डीपीआर

काठमाडौं । नेपालको सबैभन्दा लामो केवलकार परियोजना अघि बढेको छ । मुक्तिनाथ दर्शन प्रालिले बनाउन लागेको विरेठाँटी–मुक्तिनाथ केवलकार परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लगानी बोर्डमा पेश भएको छ । सो केवलकारको लम्बाई ८०.१६ किलोमिटर हुनेछ । यो केवलकार अहिलेसम्म नेपालमा बनेको सबैभन्दा लामो परियोजना हुनेछ । यो परियोजना बनेपछि मुक्तिनाथ दर्शन केवलकार चढेर मुक्तिनाथ दर्शन सम्भव हुनेछ । आयोजना विकासकर्ता मुक्तिनाथ केवलकार प्रालिले दिएको जानकारी अनुसार विरेठाँटी, घोडेपानी, तातोपानी, लेते, कोवाङ, टुकुचे, मार्फ, जोमसोम हुँदै मुक्तिनाथसम्म पुग्नेछ । परियोजना विकासकर्ताले गत १४ मंसिरमा डीपीआर लगानी बोर्डमा बुझाएको छ । यस्तै, बीरगञ्ज र भैरहवामा निर्माण हुने प्राइभेट फ्रेट टर्मिनल एण्ड बल्क ह्याण्डलिङ फ्यासिलिटीज परियोजनाको विकासकर्ता कम्पनी फ्लास फ्रेट लजिस्टिकस एण्ड इन्टरनेसनल कार्गाे टर्मिनल एण्ड इन्फ्रास्टक्चर प्रालिले बोर्डमा विस्तृत अध्ययन प्रतिवेदन पनि बुझाएको छ । बोर्डले दिएको जानकारी अनुसार गत वर्षको मंसिर १५ गते विस्तृत अध्ययन प्रतिबेदन बनाउने समझदारीपत्रमा हस्ताक्षर भएको थियो । विराटनगरमा निर्माण हुने मल्टीमोडल लजिस्टिकस पार्क परियोजनाको विकासकर्ता कम्पनी सीजी लजिस्टिक्स प्रालि र सराफ ग्रुपले पनि सो परियोजनाको विस्तृत अध्ययन प्रतिबेदन बुझाएका छन् । विकासकर्ता र बोर्डबीच गत वर्षको असार २ गते यस्तो प्रतिवेदन बनाउने सहमतिपत्रमा हस्ताक्षर भएको थियो । चाइना–नेपाल फ्रेन्डसीप इन्डष्ट्रियल पार्क परियोजनाको विकासकर्ता कम्पनीको तर्फबाट दमक इन्डष्ट्रियल पार्कले मंसिर २९ गते डीपीआर बुझाएको छ । सो परियोजनाको लागि बोर्डले गत वर्षको साउन १७ गते ५८ करोड ६१ लाख अमेरिकी डलर लगानी स्वीकृत गरेको थियो । उक्त परियोजना ल्हासा इकोनोमिक एण्ड टेकनोलोजी डेभलपमेन्ट जोन जीनफिङ ज्वाइन्ट क्रियसन कन्स्ट्रक्सन प्रोजेक्ट डेभलपमेन्ट कम्पनी र दमक क्लिन इन्डस्ट्रियल पार्कको संयुक्त लगानीमा झापाको दमकमा निर्माण हुनेछ ।