पर्यटककाे आकर्षण बन्दै एसियाकै ठूलो ढुंगा ‘मेहल’

काठमाडाैं । पर्वतको महाशिलामा रहेको एसिया कै ठुलो ढुंगा क्षेत्रमा विभिन्न भौतिक संरचनाहरु निर्माण भैइरहेका छन् । खेतको बीचमा एउटा विशाल ढुंगा छ, जसको पुरानो नाम मेहल ढुंगा हो । महाशिला गाउँपालिकामा पर्ने यो ढुंगा एसियाकै ठूलो ढुंगा भएको स्थानीयहरुको दावी छ । करिब १३ रोपनी क्षेत्रफलमा फैलिएको महाशिला ढुंगा पर्वत घुम्न आउने पर्यटकका लागि आर्कषणको केन्द्र बनिरहेको छ । विगतमा प्रचार प्रसारको अभावका कारण यो ढुंगाको खासै चर्चा हुने गरेको थिएन । पर्वत सदरमुकाम कुश्माबाट डेढ घण्टा सडक यात्रा गरेपछि महाशिला ढुंगा पुग्न सकिन्छ । मोटरबाटोको सुविधा पुगे पनि पर्यटकहरु भने खासै पुगेको पाइदैन । तर अहिले गाउँपालिकाको पहलमा बाटो मर्मत, देवीका मूर्तिहरु निर्माण र होमस्टे सञ्चालन गरिएको छ । यस्तै महाशिला ढुंगालाई पर्यटकीय गन्तव्यको रुपमा चिनाउन ‘महाशिला पर्यटन विकास समिति’ समेत गठन गरिएको छ । गण्डकी प्रदेश सरकारले महाशिलामा पूर्वाधार निर्माणको लागि ८२ करोड रुपैयाँ बजेट विनियोजन समेत गरेको छ । यसबाहेक पानी धारा निर्माणको लागि गण्डकी प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट बिनियोजन गरेको र सोही योजनाअनुरुप १ सय ८ धारा निर्माण सम्पन्न भइसकेको छ । आन्तरिक र बाह्य पर्यटकका लागि महाशिला ढुंगा उत्कृष्ट गन्तव्य बन्न सक्छ । यसलाई उचित व्यवस्थापन गर्नको लागि गाउँपालिकाले काम गरिरहेको छ । गाउँपालिकाले १ सय ८ फिट भगवान शिवको मुर्ति निर्माणको काम अगाडि योजना समेत गाउँपालिकाको छ । दीर्घकालिन योजना अनुसार महाशिला क्षेत्रभित्र शिला परिक्रममा गर्नका लागि सिसाको पुल बनाउने, संस्कृति विद्यालयको स्थापना गर्ने, दुई सय ज्येष्ठ नागरिक राख्न सकिने वृद्धाश्रम बनाउने लगायतका योजनाहरु पनि गाउँपालिकाले बनाएको छ ।

कुश्मा र बलेवामा प्याराग्लाइडिङको व्यावसायिक उडान हुँदै

पर्वत । पर्वत सदरमुकाम कुश्माबजार र बागलुङको बलेवा क्षेत्रको आकाशमा प्याराग्लाइडिङको व्यावसायिक उडान शुरु हुने भएको छ । पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न भएपछि सराङकोटबाट हुँदै आएको प्याराग्लाइडिङको विकल्प खोजी भइरहेका बेला पर्वत सदरमुकाम कुश्माबजार आसपासमा प्याराग्लाइडिङको व्यावसायिक उडानका लागि बलेवामा पूर्वाधार निर्माण गर्न थालिएको हो । प्याराग्लाइडिङको व्यावसायिक उडान गर्ने गरी बलेवामा पूर्वाधार निर्माण थालिएको छ । गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले बागलुङ नगरपालिका–१३ स्थित पैँयुपाटामा पूर्वाधार निर्माण थालिएको हो । प्याराग्लाइडिङ उडान (टेक अफ) गर्ने स्थान पहरेमा पूर्वाधार निर्माण शुरु गरिएको हो । गण्डकी प्रदेशले बागलुङसहित पाँच स्थानमा प्याराग्लाइडिङको पूर्वाधार निर्माण थालेकामा साहसिक पर्यटकहरुको गतिविधि बढ्दै गइरहेको धौलागिरिमा प्याराग्लाइडिङको राम्रो सम्भावना देखिएको गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले बताए । मन्त्री लम्सालले साबिकको धौलागिरि क्षेत्र साहसिक पर्यटनसँग जोडिँदै गएको बताए । बलेवास्थित पहरेबाट प्याराग्लाइडिङ उडान गर्ने र बलेवा क्षेत्रसँगै पर्वतको सदरमुकाम क्षेत्र अवलोकन गरेपछि अवतरण गर्ने गरी दुईपटकसम्म सफल परीक्षण गरिसकिएको छ । बलेवामै रहेको विमानस्थल वा कुश्माबजारस्थित चण्डिका गण रहेको बडागाउँ चौरमा समेत अवतरण गर्न सकिन्छ । हावाको वेग मिल्ने र दृश्यावलोकनमा राम्रो देखिएपछि गण्डकी प्रदेश सरकारले रु २० लाख विनियोजन गरेर पूर्वाधार निर्माण थालेको प्याराग्लाइडिङ पूर्वाधार निर्माण समितिका अध्यक्ष पदमबहादुर गिरीले जानकारी दिए । उनका अनुसार उडान गर्ने स्थानको धावनमार्ग सुधार, शौचालय, प्रतीक्षालय, कार्यालयलगायत संरचना निर्माण गरिनेछ । उक्त संरचना दुई महिनाभित्रै निर्माण सम्पन्न गरी प्याराग्लाइडिङको संस्था दर्ता गर्ने कार्यसमेत अगाडि बढाइने उनले बताए । प्याराग्लाइडिङ उडान गर्ने स्थान एक हजार ८५४ मिटरको उचाइमा रहेको छ । यस क्षेत्रमा प्याराग्लाइडिङ शुरु भएपछि पर्वत र बाग्लुङको बलेवा क्षेत्रका बासिन्दा प्रत्यक्षरुपमा लाभान्वित हुने भएका छन् । यहाँ जानका लागि पर्वतको मालढुङ्गा वा कुश्मा–कैया अग्लो झोलुङ्गे पुल, कुश्मा–बलेवा यान्त्रिक पुल र विश्वकै अग्लो बञ्जी जम्प सञ्चालन भएको पुल तरेर पुग्न सकिन्छ । रासस

सुस्ताएको पर्यटन चलायमान बनाउन चारदिने ‘जाऔँ है पोखरा अभियान’ शुरु

पोखरा । सुस्ताएको पर्यटन चलायमान बनाउन पश्चिमाञ्चल होटल सङ्घ पोखराले आजदेखि चारदिने ‘जाऔँ है पोखरा अभियान’ शुरु गरेको छ । कोभिड-१९ को महामारीमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सङ्घले मङ्सिर २४ देखि २७ गतेसम्म चारदिने भ्रमण कार्यक्रमको शुरुआत गरिएको सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । जनकपुर, पर्सा, वीरगञ्ज, विराटनगर र चितवनलाई समेटिएको अभियानमा अन्तर्गत ती स्थानमा पत्रकार सम्मेलन, प्रदेशस्तरीय, स्थानीय सरकारी तथा गैरसरकारी र पर्यटन व्यवसायीलगायतका सरोकार पक्षसँग अन्तर्क्रिया गरिने जनाइएको छ । पहिलो दिन वीरगञ्जमा स्थानीय सरकार, पत्रकार र पर्यटन व्यवसायीबीच अन्तर्क्रिया हुनेछ । सङ्घले १८ वर्षदेखि सो अभियान शुरु गर्दै आएको छ । कोरोनाले सुस्ताएको पर्यटनलाई जगाउनु नै मुख्य उद्देश्य भएको आन्तरिक पर्यटन पुनरोत्थान समिति गण्डकीका सहसंयोजकसमेत रहेका तुलाचनले बताए । अभियानका कार्यक्रममा होटल सञ्चालक, पर्यटन व्यवसायी, नेपाल पर्यटन बोर्डका प्रतिनिधि र पत्रकार सहभागिता रहनेछन् । सङ्क्रमण जारी रहे पनि कोरोनासँगसँगै स्वास्थ्य सतर्कतासहित पर्यटन चलायमान बनाउनुको विकल्प नरहेकाले जाऔँ है पोखरा कार्यक्रमलाई निरन्तरता दिएको आयोजकले जनाएको छ । रासस