पुस २१ गतेदेखि मुक्तिनाथ मन्दिर खुल्ने

गण्डकी । कोरोना भाइरसको महामारीसँगै झण्डै १० महिनायता बन्द हिमालपारीको जिल्ला मुस्ताङस्थित मुक्तिनाथ मन्दिर खुल्ने भएसँगै यहाँका स्थानीयवासी एवं पर्यटन व्यवसायी उत्साहित भएका छन् । अन्य क्षेत्रका पर्यटकीय गन्तव्य खुलेसँगै मुस्ताङका पर्यटकीय गन्तव्य पनि खुलाउने सोचका साथ बृहत् सर्वपक्षीय भेलागरी यही पुस २१ गतेदेखि मुक्तिनाथ मन्दिर खोल्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङ, मुक्तिनाथ धार्मिक क्षेत्र विकास समिति, स्थानीय झारकोट, खिङ्गा र रानीपौवा गाउँका प्रतिनिधिसहित सम्पन्न बृहत् भेलाबाट मन्दिर खुलाउने निर्णय गरिएको रानीपौवा गाउँका पूर्वमुखिया एवं होटेल ग्राण्ड साम्बालाका सञ्चालक सुरज गुरुङले जानकारी दिए । “झण्डै १० महिनायता बन्द मुक्तिनाथ मन्दिर अब खोल्नुपर्छ भन्ने सोचका साथ सर्वपक्षीय भेलाबाट मन्दिर खोल्ने निर्णय गरेका हौँ”, उनले भने, “मन्दिर खुलेसँगै लामो समयदेखि ठप्प मुस्ताङमा आगामी दिनमा पर्यटकीय चहलपहल बढ्ने विश्वास लिएका छौँ ।” नेपालका चारधाममध्ये एक मुक्तिनाथको दर्शनपछि मनोकामना पूरा हुने जनविश्वासका साथ नेपाली तथा भारतीय दर्शनार्थी प्रत्येक वर्ष ठूलो सङ्ख्यामा मुक्तिनाथ पुग्ने गरेका छन् । मुक्तिनाथ मन्दिरका ब्राह्मण पुजारी कृष्णप्रसाद सुवेदीका अनुसार पछिल्ला वर्षमा देशका विभिन्न भूभागबाट मुक्तिनाथ आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो वर्षमा म्याग्दीको बेनी हुँदै सडक मार्ग भएर जाने बाटोको पनि स्तरोन्नति हुँदै गएका कारण बाटोको सहजताले धार्मिक पर्यटकको सङ्ख्या बढिरहेको अवस्थामा कोरोना भाइरसको सङ्क्रमणका कारण झण्डै १० महिना मुक्तिनाथ मन्दिर सुनसान बनेको उनले बताए । मुक्तिनाथ भगवान् विष्णुको नाम हो । विष्णु, लक्ष्मीनारायण, भूदेवीका मूर्ति रहेको यो मन्दिर हिन्दू र बौद्धमार्गीको साझा तीर्थस्थलका रुपमा रहेको छ । मुक्तिनाथ र गुम्बामा हिन्दूका ब्राह्मण पुजारी र बौद्धका झुमाले आआफ्नै परम्पराअनुसार पूजा तथा रेखदेख गर्ने प्रचलन छ । मुस्ताङको सदरमुकाम जोमसोमबाट पूर्वमा पर्ने यो मन्दिर तीन हजार ७१० मिटर उचाइमा छ । यहाँबाट धवलागिरि, निलगिरि, गणेश, थोरङ्लालगायत उच्च हिमाली शृङ्खला एकसाथ अवलोकन गर्न सकिन्छ । मुक्तिनाथ परिसरमा उत्तरपूर्वी भूभागमा अवस्थित ज्वालामाई मन्दिरभित्र धिपधिप बलिरहेको ज्योति हेर्नका लागि यहाँ पुग्ने जो कोही लालायीत हुने गरेका छन् । विशेषतः मुक्तिनाथमा फागुनको अन्तिम सातादेखि वैशाखको अन्तिम सातासम्म र असोेज तथा कात्तिकको समयमा दर्शनार्थी बढी आउने गरेको स्थानीयवासी एवं थकाली सामुदायिक होमस्टे ठिनीका सचिव जुना थकालीले जानकारी दिनुभयो । मन्दिर खुलेसँगै आगामी दिनमा होमस्टेमा आउने पर्यटकको सङ्ख्या पनि बढ्ने अपेक्षा गरिएको छ । पर्यटकको बढ्दो आगमनसँगै मुक्तिनाथ क्षेत्रमा नै लगभग २२ वटा होटलले पर्यटकलाई खान र बस्नको सुविधा प्रदान गरेको होटेल ग्राण्ड साम्बालाका सञ्चालक सुरज गुरुङ बताउँछन् । मुक्तिनाथमा भएका होटलमा प्रतिदिन एक हजार ५०० जनासम्म आन्तरिक पर्यटकलाई थेग्नसक्ने क्षमता रहेको जानकारी दिँदै उहाँले लगभग ७०० विदेशी पर्यटक प्रतिदिन मुक्तिनाथमा बस्नसक्ने अवस्था रहेको बताए । मुक्तिनाथ पुग्ने पर्यटकमध्ये केही पोखराबाट म्याग्दीको सदरमुकाम बेनी, जोमसोम हुँदै सडक यात्राबाट जाने गरेका छन् भने केही पोखरा–जोमसोम हवाई उडानका माध्यमबाट जोमसोम पुगी त्यहाँबाट लगभग दुई घन्टा सडक यातायात प्रयोग गरी पुग्ने गरेका छन् । बेनीबाट मुक्तिनाथसम्म नै पुग्ने बाटो चाँडो कालोपत्र गर्नसकेमा मुक्तिनाथ पुग्ने पर्यटकको सङ्ख्या अझै बढ्ने स्थानीयवासी बताउँछन् । लामो समयदेखि सुनसान नबनेको मुस्ताङमा मुक्तिनाथ मन्दिर खुलेसँगै आगामी दिनमा पर्यटकको चहलपहल बढ्ने विश्वास लिइएको जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख छिरिङ ल्हामो गुरुङले जानकारी दिए । कोरोनाले प्रभावित यहाँको पर्यटन चाँडै नै चलायमान हुने बताउँदै गुरुङले स्वास्थ्य सुरक्षा सजगता अपनाउँदै अघि बढ्नुको विकल्प नभएको उल्लेख गरे । लामो समयसम्म मुक्तिनाथ मन्दिर बन्द हुँदा इच्छा भएर पनि जान नपाएका सर्वसाधारणमा समेत उत्साह जगाएको स्थानीयवासीको तर्क छ ।

नेपालको उड्डयन क्षेत्रलाई कालो सूचीमा राख्ने निर्णयको अन्तरवस्तु केलाउनुपर्छ: मन्त्री ढकाल

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले नेपालको अन्तर्राष्ट्रिय उडानलाई कालो सूचीमा राख्ने निर्णयको अन्तरवस्तु केलाउनुपर्ने बताएका छन् । बिहीबार नेपाल नागरिक उड्डयन प्राधिकरणको २२ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री ढकालले नेपालको उड्डयन क्षेत्रलाई कालो सूचीमा राख्ने विषयलाई फरक ढंगले हेर्नुपर्ने बताएका हुन् । नेपालको योग्यता नपुगेका कारण हो अथवा कुनैपनि देशको स्वार्थका कारण कालो सूचीमा राखिएको हो भन्ने सम्बन्धमा अन्तरवस्तु केलाएर हेर्नुपर्ने बताए । कसैले कालो सूचीमा राखेर आफ्ना स्वार्थ पुरा गर्नका लागि अतिरिक्त दवाव दिन खोजेको हो भने अन्तर्राष्ट्रिय समुदायलाई भन्न सक्नुपर्ने पनि मन्त्री ढकालले बताए । मन्त्री ढकालले राजनीतिक पहुँच र शक्तिको आधारमा विगतमा विभिन्न जिल्लामा एयरपोर्ट निर्माण गरिएकोले अहिले धरै एयरपोर्ट सञ्चालनमा आउन नसकेको पनि बताए । देशभर ५५ वटा एयरपोर्ट रहेकोमा ३६ वटा कालोपत्रे गरीएको र त्यसमा पनि ३५ वटा मात्रै सञ्चालनमा रहेको बताए । २० वटा एयरपोर्ट सञ्चालनमा आउन नसक्नुले राजनीतिक पहुँच र शक्तिको आधारमा एयरपोर्ट बनाइएको स्पष्ट हुने बताए । कार्यक्रममा प्राधिकरणका महानिर्देशक राजन पोखरेलले कोभिडका कारण नेपालको उड्डयन क्षेत्रमा अर्बौं रुपैयाँ नोक्सानी भएको बताए । नेपाल बायुसेवा निगमले झण्डै ५ अर्ब, हिमालयन एयरलाइन्सले झण्डै २ अर्ब र आन्तरिक तर्फका हवाई जहाज र हेलिकोप्टर अपरेटरहरुले करिब १० अर्ब ६२ करोड रुपैयाँ नोक्सानी व्यहोर्नुपरेको महानिर्देशक पोखरेलले बताए । प्राधिकरणको आम्दानीमा पनि ८० प्रतिशत अर्थात ५ अर्ब ६९ करोड रुपैयाँ घटेको बताए । प्राधिकरणका अनुसार कोभिड रोकथामका लागि लकडाउन भएपछि अहिले सम्मको अवधिमा अन्तर्राष्ट्रिय उडानमा ८६ प्रतिशत र आन्तरिक उडानमा ८३ प्रतिशत हवाई यात्रु घटेको छ ।

क्लब हिमालय नगरकोटमा आबीट्रेरीकाे न्यू इयर स्पेशल कार्यक्रम

काठमाडौं । नगरकोटको क्लब हिमालय नगरकोटले नयाँ वर्ष २०२१ लाई विशेष बनाउने उद्देश्यका साथ डिसेम्बर ३१ र जनवरी १ तारिकमा प्रख्यात सांगितिक ब्याण्डहरुबाट सांगितिक कार्यक्रमका साथ न्यू इयर स्पेशल कार्यक्रम ल्याएको छ । आबीट्रेरी एक्सपेरियन्स २०२१ नाम दिईएको यस सांगितिक कार्यक्रममा सुवेक्षा राई कोइराला र सन्देश आशिस मर्हजन, सन्देश रोजिलेन्ड श्रेष्ठ, रन्जित नेपाली र ईलिमेन्स् ब्यान्डले आफ्नाे सांगितिक कार्यक्रम प्रस्तुत गर्नेछन् भने डिजे वि.पी.एम, डिजे सेसी र डिजे दानले डिजेको भुमिका निर्वाह गर्ने हाेटलले जनाएकाे छ । विशेष गरी आन्तरिक पर्यटकलाई लक्षित गरी आयोजना गरिएको यस अफरमा १० हजार मै एक जोडीले बेड एण्ड ब्रेकफास्ट सहितको क्लब हिमालय नगरकोटमा मनोरम बसाई गर्न सक्नेछन् । २०१९ मा ट्रिप एडभाइजरको १० उत्कृष्ट होटलमा पर्न सफल विश्वकैं उत्कृष्ट मध्येको ४२ वर्षको ईतिहास भएको क्लब हिमालय एस होटेल्सको एउटा अंगको रुपमा पर्दछ ।