पर्यटकीय क्षेत्रका होटल पुनः सञ्चालन

रसुवा । हिमाली क्षेत्रमा कोभिड–१९ को सङ्क्रमण नदेखिएपछि पाहुनाको सेवाका लागि स्थापित पर्यटकीय होटल तथा लज पुनः सञ्चालनमा आएका छन् । बाह्य पर्यटकको आगमन बन्द भए पनि पछिल्लो समय फाट्टफुट्टरूपमा आन्तरिक पर्यटक आउन थालेकाले लामो समय बन्द रहेको पर्यटकीय एवं व्यापारिक मार्गका होटल तथा लजले आफ्ना नियमित सेवा दिन थालेका हुन् । धुञ्चेदेखि लाङटाङ तथा गोसाइँकुण्ड, तामाङ सम्पदामार्ग, नेपालको उत्तरी नाकाको रसुुवागढीलगायत हेलम्बु, डाडेपाटीलगायतका स्थानमा सञ्चालित करिब २०० पर्यटकीय होटल तथा लज पुनः सञ्चालनमा आइसकेको होटल तथा पर्यटन व्यवसायी सङ्घ रसुवाका अध्यक्ष निशान उपनामले परिचित रामशरण गजुरेलले जानकारी दिए । हिमाली जिल्ला रसुवामा कोरोनाको खासै प्रभाव नपरेको र पर्यटकीय क्षेत्रको बढी हिस्सा ओगटेको गोसाइँकुण्ड गाउँपालिकाभित्र रहेका निजी तथा सरकारी विद्यालयले समेत बालबालिकाकोे नियमित पठनपाठन निर्वाधरूपमा पुनः सञ्चालन गराइसकेकाले रोगप्रति आशङ्का गर्ने ठाउँ नभएको होटल तथा पर्यटन व्यवसायी सङ्घले स्पष्ट पारेको छ । पर्यटकका लागि सेवा दिन अहोरात्र तल्लीन यहाँका व्यवसायीले कोरोनाको सङ्क्रमण शुरू भएयता मासिक छ करोड ७० लाख घाटा व्यहोर्दै जानुपरेको अवस्थामा पाहुनाको आगमनले केही आशा पलाउँदै गएको होटल तथा लज सञ्चालकले बताएका छन् । कोरोनाको असरले यस भेकमा पर्यटनसँग जोडिएका ७० भन्दा बढी पथ प्रदर्शक एवं करिब ४०० मजदुरसमेत बेरोजगार बन्न पुगेको सङ्घका पदाधिकारीले निचोड निकालेका छन् । माओवादी द्वन्द्व र विसं २०७२ को विनाशकारी भूकम्पभन्दा अहिलेको कोरोनाको असरले पर्यटन व्यवसायी जटिलरूपले धरासायी मोडमा पुगेको उनीहरूको ठूलो गुनासो बढेको पाइन्छ । एक सयको हाराहारीमा रहेका ससाना साधारण होटल पनि कोरोनाको असरले ठूलो मर्कामा परेका छन् । व्यवसायमार्फत पर्यटकलाई प्रदान गरेको सेवाबाट प्राप्त आयले बालबालिकालाई गुणस्तरीय शिक्षा दिलाई जीविकोपार्जनमा सरलता ल्याउने ठूलो अभिलाषाका साथ होटल तथा लज सञ्चालनका लागि बैंक तथा वित्तीय संस्था र गाउँघरका साहुबाट लिइएका ऋणको साँवा तथा ब्याजका किस्तासमेत तिर्ने उपाय नभएको होटल तथा पर्यटन व्यवसायी सङ्घले जनाएको छ । पाहुनालाई खानेबस्ने सुविधा पुर्याउन भाडामा घर लिने व्यवसायीले मासिक ५० हजारदेखि डेढ लाखसम्म घरधनीलाई तिर्नुपर्ने बाध्यता भएकाले आन्तरिक पर्यटनको प्रवद्र्धनलाई बढावा दिन माग गरिएको लाङटाङका व्यवसायीले बताएका छन् । काबुभन्दा बाहिरको परिस्थितिले उत्पन्न गराएको आर्थिक सङ्कट समाधान गर्न राहत वा निश्चित अवधिका लागि निब्र्याजी ऋण उपलब्ध गराई नेपालको दोस्रो पर्यटकीय क्षेत्रका व्यवसायीलाई उत्थान गरिदिन सरकारसमक्ष आग्रह गरिएको उक्त सङ्घका अध्यक्ष गजुरेलले बताए । पर्यटकको आगमन बन्द भएपछि यहाँका कृषि तथा फलफूलका साथै करेसाबारीमा सागसब्जी उत्पादन गराउने, चौँरी पालेर दुग्ध उत्पादन गर्ने किसानसमेत ठूलो मर्कामा परेका छन् । राजधानीको नजिक रहेको हिमाली क्षेत्र धुञ्चेबाट नजिकै देख्न सकिने लाङटाङ हिमाल, पवित्र तीर्थ गोसाइँकुण्ड, गणेश हिमाल, पर्वतीकुण्ड, नेपालको पहिलो तामाङ सङ्ग्रहालय, कुण्ड, ताल, झरना, हरिया वनस्पतिलगायतका जैविक विविधताले भरिपूर्ण स्वच्छ वातावरण भएको क्षेत्रमा भ्रमण गरी हिमाली प्रकृतिका छटाको रसास्वादन लिइदिन र यहाँका व्यवसायीलाई हौसला बढाइदिन पाहुनामाझ पर्यटन सङ्घले निम्तोसमेत गरेको छ । शिशिर ऋतुको हिमपातले चारैतिर सेताम्य हिजोआज सबैको मन लोेभ्याउन थालिसकेको र धुञ्चे क्षेत्रमात्रै पुग्दा पनि घले राजाले वासस्थान लिएको ऐतिहासिक स्थान, गोसाइँकुण्ड पुग्न नसक्ने भक्तजनका लागि शिवपादुका कुण्डको स्नान, तामाङ सङ्ग्रहालयको अवलोकन गर्न सकिने बताइएको छ । आगन्तुक पाहुनाको सुविधाका लागि शौचालयसहितको स्तरीय सुत्ने कोठा, न्यानो कपडा, तातो चिसोपानी, वाइफाइ, टेलिभिजनको सुविधा र मागअनुसारका मिठास भोजन तयार हुने व्यवसायी ढिण्डुप तामाङ बताउँछन् । रासस

कर्मचारी अभावमा बाजुराका वन्यजन्तुको चोरी सिकारी नियन्त्रणमा सकस

मार्तडी । मौसम बदलीसँगै जिल्लाको हिमाली भेगमा हिमपात भएपछि वन्यजन्तुको चोरी शिकारी बढ्न थालेको छ । यहाँका लेकाली क्षेत्रमा वन्यजन्तुको चोरी शिकारी बढ्न थालेको डिभिजन वन कार्यालय बाजुराले जनाएको छ । भौगोलिक विकटताका कारण वन्यजन्तु मात्र नभई जडीबुटीसमेत चोरी निकासी हुने गरेको डिभिजन वन कार्यालय बाजुराका डिभिजलन प्रमुख कामु कालीराम चौधरीले बताएका छन् । उनका अनुसार डिभिजन वन कार्यालयमा कर्मचारी अभावका कारण वन्यजन्तु चोरी शिकारी र जडीबुटीको अवैध निकासीलाई नियन्त्रण गर्न सकस भएको छ । दुर्गम क्षेत्रमा रहेको हिमाली गाउँपालिकाको विच्छ्या, रुगिन, स्वामीकार्तिक गाउँपालिकाको जुकोट, साप्पाटा, जगन्नाथ गाउँपालिकाको गोत्री, जगन्नाथ र बूढीनन्दा नगरपालिकाको पाण्डुसैन कोल्टीको माथिल्लो क्षेत्रमा आवतजावत गर्न सकस भएकाले उक्त क्षेत्रबाट हुुने चोरी शिकारी तथा जडीबुटी निकासी गर्नेको निगरानी गर्न सम्भव नभएको डिभिजनल प्रमुख चौधरीले बताए । मौसम बदली भएसँगै जिल्लाका लेकाली भेगका उक्त क्षेत्रमा हिमापत भएकाले वन्यजन्तु चिसोबाट बच्न बेँसी आउने भएकाले विभिन्न प्रजातिका जनावरको शिकारी बढ्न थालेको प्रमुख चौधरीको भनाइ छ । पुस र माघ महिनाको अवधिमा जङ्गली जनावर मृग, हरिण, चित्तल, बँदेल, कालीज, डाँफेलगायतका वन्यजन्तुको चोरी शिकारी हुने भएकाले सुरक्षा निकायसँगको सहकार्य र समन्वयमा नियन्त्रणको प्रयास गर्ने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत तथा सूचना अधिकारी राजन कुँवरले जानकारी दिएका छन् । उनका अनुसार वन कार्यालयका कर्मचारीको सक्रियतामा छ सुरक्षाकर्मी परिचालन गरी वन्यजन्तु चोरी शिकारीलाई रोक्ने प्रयास गरिने छ । जिल्लाका सामुदायिक वनका उपभोक्ता समितिलाई सचेत बनाई अवैधरूपमा हुने जडीबुटी निकासी तथा पैठारी र वन्यजन्तुको चोरी शिकारीलाई न्यूनीकरण गर्न जोड दिएको उनले बताएका छन् । जिल्ला सदरमुकाम मार्तडीमा समेत जङ्गली जनावरको शिकार गरी बिक्री वितरण भइरहेको जनगुनासो आउन थालेकाले त्यसको निगरानी बढाउन वन कार्यालयले तयारी थालेको प्रमुख चौधरी बताउँछन् । वन्यजन्तुको शिकारभन्दा उनीहरुलाई संरक्षण गर्न सबैको ध्यान जान जरुरी रहेको छ । जिल्लामा पछिल्लो समयमा सामुदायिक वनमा स्थानीयवासीले आगो लगाउने गरेकाले सो कार्य रोक्न चौधरीले स्थानीयवासीलाई आग्रह गरेका छन् । रासस

खप्तड घुम्न हेलिकप्टर प्याकेज

डोटी । सुदूरपश्चिमप्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्नका लागि हेलिकोप्टर प्याकेजको व्यवस्था गरिएको छ । डोटीको पूर्वीचौकी गाउँपालिकास्थित झिङ्ग्रानामा निर्माण गरिएको खप्तड घरवासले माउन्टेन एयरसँग सहकार्य गर्दै खप्तड घुम्नका लागि प्याकेजको व्यवस्था गरेको हो । सुदूरपश्चिम प्रदेशकै सुन्दर तथा मनोमोहक खप्तड क्षेत्रमा घुम्न आउने पर्यटकको सहजताका लागि उक्त व्यवस्था गरिएको खप्तड घरवासका सञ्चालक दीपकबहादुर खड्काले जानकारी दिए । यहाँका पहाडी जिल्ला बझाङ, बाजुरा, अछाम तथा डोटीको सङ्गमस्थलका रूपमा समेत रहेको खप्तड क्षेत्र प्राकृतिक सौन्दर्यको खानीका रूपमा चिनिँदै आएको र उक्त क्षेत्रमा पर्यटक ल्याई सहजरूपमा भित्र्याउन हेलिकोप्टर प्याकेजको व्यवस्था गरिएको सञ्चालक खड्काले बताए । उनले भने, “कोरोनाका कारण हामीले पर्यटक भित्र्याउन सकेनौँ, अहिले केही सहज भएकाले हामीले बढीभन्दा बढी पर्यटक भित्र्याउनका लागि हेलिकोप्टरको प्याकेज गरेका छौँ, उक्त प्याकेजले पर्यटकलाई निकै सहज हुनेछ ।” घरवासका सञ्चालक खड्काका अनुसार कैलालीको धनगढीबाट ३० हजार, डोटीको दिपायलबाट १० हजार र झिङ्ग्रानाबाट आठ हजारमा खप्तड घुम्न पाइने भएको छ । कूल २२ वटा पाटन र ५३ थुम्का रहेको खप्तडमा उक्त प्याकेजले सहजै अवलोकन गर्न सकिने आयोजकले जनाएका छन् । सुदूरपश्चिममा खप्तड क्षेत्रलाई भूस्वर्गका रूपमा चिनिँदै आएको छ । खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ पनि खप्तड भएकाले खप्तड प्राकृतिक दृष्टिले मात्र नभई, धार्मिक र पर्यटकीय हिसाबले समेत उपयुक्त गन्तव्यका रूपमा चिरपरिचित रहेको स्थानीयवासी धर्मबहादुर साउदले जानकारी दिए । समुद्र सतहबाट तीन हजार मिटर उचाइमा रहेको खप्तड क्षेत्रको क्षेत्रफल २२५ वर्गकिलोमिटरमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । खप्तडमा पुस महिनाको मध्यदेखि हिउँ पर्ने भएकाले प्रायः सेताम्मे देखिने गर्दछ । जेठदेखि असार महिनासम्म विशाल फाँटमा रङ्गीचङ्गी फूलले यहाँको शोभा झनै बढाउने स्थानीवासी बताउँछन् ।