नेपालगञ्जबाट सिमकाेटसम्मकाे हवाइ उडान सुरु, भाडा ६ हजार
हुम्ला । सडक यातायात नजोडिएको हिमाली जिल्ला हुम्लाका लागि उडान भर्ने सबै निजी क्षेत्रका एयरलाइन्सले सहुलियत उडान भर्न शुरु गरेका छन् । कोरोनापछि उक्त उडान बन्द भएकामा हाल सहजरुपमा हवाई यातायात सञ्चालन हुँदा उक्त उडान शुरु गरिएको हो । नेपालगञ्जबाट सिमकोटका लागि उडान भर्ने सबै एयरलाइन्सले सहुलियत उडान पुनः शुरु गरिएको कार्गाे व्यवसायी विष्णु रावतले बताए । यहाँका न्यून आयस्रोत भएका व्यक्तिलाई लक्षित गरी एयरलाइन्सले सहुलियत उडान भर्न शुरु गरिएको उनले बताए । नेपालगञ्जबाट सिमकोट उडानका लागि चार्टर भाडादर चर्को भएका बेला यसले हुम्लावासीलाई केही राहत पुगेको छ । नयाँ सहुलियत उडानको भाडादर सीता एयरलाइन्सले र तारा एयरलाइन्सले छ हजार तथा नेपाल एयरलाइन्सले पाँच हजार ९७५ तोकेको बताइएको छ । सबै एयरलाइन्सले हप्तामा एक/एक उडान भर्न शुरु गरेका छन् ।
निकुञ्जको जागिरले बनायो पर्यटकीय होटलको मालिक
चितवन । तीन दशकसम्म वन, वन्यजन्तु र पर्यटनसँग सम्बन्धित जागिरे जीवन बिताएका गणेश शर्मा पौडेललाई निवृत्त जीवनमा पनि तिनै सम्पदाप्रतिको मोहले छोडेन । जागिरे जीवनमा भोगेका र देखेका अनुभवलाई समेटेर उनले निकुञ्जको काखमा अहिले सुविधा सम्पन्न होटल सञ्चालन गरेका छन् । वन र वन्यजन्तु संरक्षणप्रतिको उनको मोह निवृत्त जीवनमा अरु थपिँदै गएको छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरा नजिकै राप्ती नदी किनारमा उनको जङ्गल भिल्ला रिसोर्ट रहेको छ । नदी छेउमा उभिएर निकुञ्जतर्फ देखाउँदै उनले भने “अहिले पनि मलाई निकुञ्जकै कर्मचारी झैं लाग्छ ।” यहाँका वन र वन्यजन्तुप्रतिको माया अरु बढ्दै गएको बताउँदै उनले थपे, “भाग्यले आज यिनै सम्पदा पर्यटकलाई देखाएर आम्दानी मात्रै गरेको छैन, यिनको संरक्षणमा पनि जुट्दै आएको छु ।” जिल्लाकै ठूलो मध्येको होटल पौडेलको पर्दछ । विसं २०३८ मा प्रशासनको मुखियाबाट जागिरमा प्रवेश गर्नुभएका पौडेल दुई वर्ष ढोरपाटन र दुई वर्ष पर्सा राष्ट्रिय निकुञ्जको आधाभारमा रहेपनि बाँकी २६ वर्ष चितवन राष्ट्रिय निकुञ्जमा नै बिताए । भरतपुर शीतलपानी निवासी पौडेलले जागिरकै सिलसिलामा राप्ती नदी किनारको नौ जना साथीभाइ मिलेर एक बिघा १० कठ्ठा जग्गा किने । निवृत्त जीवनमा कहिलेकाहीँ घुम्न आउँदा बस्ने ठाउँ साना टहरा बनाउने सोचका साथ सो जग्गा खरीद गरेका थिए । निकै सस्तो मूल्यमा खरीद गरेको उक्त जग्गामा ठूलो बाढी पसेपछि साथीहरुले ‘तपाइँकै जोडबलले किनेको हो, हाम्रो लगानी फस्यो, जे जति आउँछ दिनुहोस्’ भनेपछि पौडेलले एकल स्वामित्वको बनाए । काठमाडौँमा बसेर काम गर्दै गरेका भाइ सविन पौडेलसँग परामर्श गरेपछि ऋण धन गरेर साथीहरुको पैसा फिर्ता गरेसँगै उक्त जग्गा उनको एकल स्वामित्वमा आयो । जग्गा आफ्नो भएपछि त्यसलाई कसरी सदुपयोग गर्ने भन्ने दाजुभाइको छलफलपछि सानो होटल शुरु गर्ने निर्णयमा उनी पुगे । एकातर्फ होटल बन्दै गयो भने पर्यटकको आगमन राम्रो भएसँगै होटललाई विस्तार गर्ने सोच उनमा विकास भयो । उनले भने, “आन्तरिक पर्यटकलाई लक्षित गरेर सानोतिना होटल बनाउने सोच थियो । विस्तारको काम गर्दै जाँदा रिसोर्ट बनाउन पुगियो ।” सँगै रहेको जग्गा थप गर्दै अहिले चार बिघामा रिसोर्ट फैलिएको छ । शुरुमा २४ कोठाबाट शुरु भएको रिसोर्ट विस्तार हुँदै जाँदा अहिले ३८ कोठा पुगेको छ । तीमध्ये दुई वटा ‘स्वीट रुम’समेत छन् । विस्तारको क्रममा सभाहल, पौडी पोखरी, आकर्षक सोधपुछ कक्ष, पार्किङ, बगैँचा थपिएका छन् । राप्ती नदीको किनारमै रहेको होटलको बाहिरी भागबाट सजिलै वन र वन्यजन्तु देख्न पाइन्छ । त्यसो त वर्षामा नदी बढ्दा कुनै कुनै वर्ष उनको होटलमै पानी पस्नेसमेत गर्दछ । होटलकै परिसरमा दुर्लभ एकसिङ्गे गैँडा, हात्तीलगायतका वन्यजन्तु ओहोरदोहोर गर्दछन् भने राप्ती नदीमा घडियाल र चराचुरुङ्गी रमाएको नजिकबाट नियाल्न सकिन्छ । होटलमा पर्यटक घुमाउनका लागि दुई वटा हात्ती, दुई वटा जीप र दुई वटा डङ्गा छन् । उनी भन्छन्, ‘‘विसं २०७२ को भूकम्पअघि कोठा पु¥याउन नसक्ने गरी विदेशी पर्यटक आउने गरेका थिए । त्यसपछि नाकाबन्दी र कोरोनाका कारण व्यवसाय शिथिल भएको छ ।’’ दशैँ तिहारपछि भने विस्तारै पछिल्ला दिनमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेपछि भने उनीमा पुनः आशाको किरण पलाएको छ । यतिबेला उहाँले आन्तरिक पर्यटकलाई ४० प्रतिशत छुटमा होटलको सुविधा दिँदै आएका छन् । अरुबेला ८० प्रतिशत विदेशी हुने भए पनि अहिले अधिकांश स्वदेशी पर्यटक मात्रै छन् । विगतका वर्षमा वार्षिक झण्डै चार हजार पर्यटकलाई सेवा दिएर रु पाँच करोडभन्दा बढीको व्यापार गरेको स्मरण गर्दै उनले अब पुनः व्यवसाय पूर्ववत् अवस्थामा फर्किनेमा आफू विश्वस्त रहेको बताउँछन् । आफ्नो होटलमा उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका उच्चपदस्थ व्यक्तिदेखि विदेशी विशिष्ट व्यक्ति समेतलाई सेवा दिन पाएको उनले जानकारी दिए । उनका भाइ सविनले काठमाडाैंमा ट्राभल्स सञ्चालन गर्छन् भने आफूले यहाँको होटल हेर्दै आएको उनी बताउँछन् । निकुञ्जको जागिरे जीवन व्यथित गर्दै गर्दा यति ठूलो होटल आफैँले सञ्चालन गर्छु भन्ने कल्पना नगरेको भए पनि परिस्थितिले आफूलाई सुविधा सम्पन्न होटलको मालिक बनाएकामा भने उनलाई गर्व छ । रासस
सरकार निर्वाचनलाई मुख्य फोकस दिएर अघि बढिरहेको छः पर्यटनमन्त्री ढकाल
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले निर्वाचनलाई मुख्य फोकस दिएर अघि बढिरहेको बताएका छन् । संस्कृति मन्त्रालयअन्तर्गत नेपाल निजामती कर्मचारी सङ्गठनका प्रतिनिधिसँग आज भएको छलफलमा उनले आगामी वैशाख १७ र २७ गते घोषणा गरिएको निर्वाचन सम्पन्न गर्न सरकार पूर्ण प्रतिबद्धताका साथ लागिपरेको बताएका हुन् । “निर्धारित समयभित्रै घोषित निर्वाचन हुन्छ, अबको मुख्य फोकस चुनावै हो, राज्य अब चुनावी माहोलमा गएकाले तपाईँहरुले पनि राज्यको चुनावी अभियानलाई सहयोग गर्नुपर्छ ।”, मन्त्री ढकालले भने । मन्त्री ढकालले राजनीतिभित्रको एउटा कित्ता जनभावनाको परीक्षण नगरी सत्ता बाँडीचुडी खाने बानीले चुनावी प्रक्रियामा जान डराएर जनताबाट भाग्न खोजेको बताए । उनले अघिल्लो निर्वाचनमा राजनीतिक स्थिरताका लागि मत मागेर फरक धारमा अघि बढेको शक्तिलाई समाहित गरी लैजाने अठोटका साथ लागिएको भए पनि स्थायित्वको राजनीति नआएपछि अब त्यसका पक्षमा बहुमत प्राप्तिका लागि निर्वाचनमा जान लागिएको जिकिर गरे । स्वास्थ्य मन्त्रालयको बेथिति मन्त्री ढकालले असहज अवस्थामा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको आफ्नो पाँच महिने कार्यकाल सफल भएको जिकिर गर्दै विधि र पद्धतिभन्दा पनि अतिरिक्त स्वार्थका रुपमा लामो समयदेखि मन्त्रालय रुमलिएका अवस्थामा आफूले सुधारात्मक कार्य गरेको बताए । मेसिनरी औजार खरीदमा कमिसनको चक्कर आदि कारणले स्वास्थ्य मन्त्रालयको खरीद प्रक्रियामा पनि विकृति बढेको उल्लेख गर्दै उनले आफूले शुुद्धीकरणको यात्रा आरम्भ गरेको बताए । मन्त्री ढाकालले मुलुक लकडाउनमा रहेका बेला सामग्री ढुवानी गर्न कठिनाइ भइरहेको परिस्थितिमा पनि आफ्नो पहल कदमीले कोभिड–१९ सँग सम्बन्धित औषधिजन्य सामग्री ल्याएर विकसित मुलुकको भन्दा सहजरुपमा व्यवस्थापन गरिएको जिकिर गरे । सङ्कटपूर्ण अवस्थामा स्वास्थ्य मन्त्रालयको नेतृत्व गर्दा पनि एकै पटक गाउँपालिकामा अस्पताल उद्घाटन गरेर स्वास्थ्य क्षेत्रमा क्रान्ति ल्याइएको उल्लेख गर्दै उनले शक्तिशाली मुलुकले समेत स्वास्थ्य सामग्री नपाएका सन्दर्भमा सरकारले सहजरुपमा सामग्री ल्याएर दायित्व पूरा गरेको बताए । सरकारले एक चिकित्सक एक स्वास्थ्य केन्द्र नमूना परियोजनाको शुरुआत गर्नका साथै मुलुकभरका गाउँपालिकामा पाँच, १० र १५ श्ययाका ३१५ अस्पताल गत मङ्सिर १५ गते एकै दिन उद्घाटन गरेको थियो ।