नेपाली पर्यटन: डेढ खर्ब लगानी, ८५ अर्ब कर्जा प्रवाह, ३ लाख आवद्ध हुँदा १२ लाख पालिए
काठमाडौं । नेपाली पर्यटन उद्योगमा हालसम्म डेढ खर्ब रुपैयाँ लगानी रहेको बताइएको छ । नपाल पर्यटन बोर्डका अनुसार हालसम्म नेपाली पर्यटन उद्योगमा डेढ खर्ब मात्रै लगानी भएको छ । यसमा सरकारको स्वामित्व रहेको नेपाल वायुसेवा कम्पनीकाे लगानी जाेडिएकाे छैन । नेपाल पर्यटन बोर्डले गरेको एक अध्ययनका अनुसार नेपाली पर्यटन क्षेत्रमा डेढ खर्ब मात्रै लगानी रहेको हो । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनन्जय रेग्मीले नेपाल वायुसेवा निगमलाई नजोडेर नेपाली पर्यटन उद्योगमा डेढ खर्बको मात्रै लगानी रहेको बताएका हुन् । बिहीबार विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को एक वर्ष र कोरोनाले सिर्जना गरेका चुनौती र यो अवधिमा नेपाल पर्यटन बोर्डले गरेको काम कारवाहीका बारेमा जानकारी दिँदै सीईओ रेग्मीले नेपालमा पर्यटन उद्योग प्रवद्र्धन गर्नको लागि सरकारले जेजस्ता नीतिगत व्यवस्था तथा भाषणवाजी गरेपनि कार्यान्वयनमा भने सुस्त देखिएको बताए । ‘हामीले यो एक वर्षको अवधिमा अध्ययन अनुसन्धान तथा सर्भे गरेका थियौं, जसमा ८३७ जना सर्भेमा सहभागी भएका थिए, हामीले अध्ययन गरे अनुसार हालसम्म डेढ खर्ब रुपैयाँ मात्रै पर्यटन उद्योगमा लगानी भएको छ, त्यसमा ८५ अर्ब रुपैयाँ यो क्षेत्रमा कर्जा प्रवाह भएको छ,’ उनले भने । उनका अनुसार ३ लाख मानिस पर्यटनमा संलग्न छन् । तर, अप्रत्यक्ष रुपमा भने १०/१२ लाख मानिस पर्यटनमा आवद्ध भएको उनको भनाई छ । ‘३ लाख मानिस पर्यटनमा आवद्ध छन्, हाम्रो संस्कृती अनुसार एक जनाले ३/४ जनाको परिवार पाल्छ, यसरी १२ लाख जति मानिस पर्यटनमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा संलग्न छन्,’ कार्यक्रममा उनले भने । कोरोना महामारीले सबैभन्दा बढी प्रभावित भएको क्षेत्र पर्यटन भएपनि सरकारले पर्यटनप्रति खासै चासो नदिएको उनको भनाई छ । सरकारको नीतिकै कारण पर्यटक आवागमनमा सुस्तता आएको पनि उनले बताए । ‘हाम्रो नीति पर्यटकलाई बोर्डरमा अनावश्यक टर्चर दिने भयो, अनावश्यक सोधिखोजी गर्छौं, यसो गर्दा पर्यटक नै तर्सन्छ, त्यसपछि उ कहिल्यै पनि नेपाल फर्कने मनसाय गर्दैन, हामीले पर्यटकको संख्या बढाउन पनि सिस्टम चेन्ज गर्न आवश्यक छ,’ उनले भने । यस्तै, नेपाल पर्यटन बोर्डको सर्भेले नेपाली पर्यटन उद्योगमा डेढ खर्ब मात्रै लगानी रहेको बताए पनि यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको अध्ययनले नेपालको पर्यटन क्षेत्रमा १५ खर्ब जतिको लगानी रहेको तथ्यांक देखाएको थियो । गत बैशाखमा सार्वजनिक गरेको सो अध्ययनका अनुसार नेपाली पर्यटन क्षेत्रमा १५ खर्ब लगानी ७ लाख बढीलाई रोजगारी दिएको उल्लेख गरेको थियो । कार्यक्रममा रेग्मीले काेराेना भाइरसकाे समयमा बाेर्डले गरेका काम र अब गर्ने कामकाे बारेमा पनि जानकारी गराएका थिए । कोरोनामा बोर्डले गरेका काम महामारी वा यस्तै अन्य संकटमा कसरी काम गर्ने भनेर वोर्डमा संकट सञ्चार तथा व्यवस्थापन युनिट को शुरुवात गर्को थियो । जसमा हरेक दिनको अवस्था अपडेट तयार हुने गरेको छ । सोही समयमा स्टाण्डर्ड यन नेपाल नामक वेबसाइट सुरु गरी नेपालका विभिन्न ३३ जिल्लामा रहेका ६० देशका नागरिकहरुको खोजी, सम्पर्क स्थापना गरियो भने लुक्ला, पोखरावाट, तथा अन्य स्थावाट करिव १ हजार ७२१ जना पर्यटकहरुलाई उद्धारकार्य गरी काठमाण्डौ ल्याइपर्यटकहरुलाई देश फर्कनको लागी रिपार्टि«एसन फ्लाइट सञ्चालन गर्न सहजिकरण गर्यो । चीनमा काभिडको संक्रमण शुरु भएपछि नै अन्य बजारहरुको सम्भाव्यता खोजि गर्नको लागि पर्यटन वोर्ड, नेपाल भ्रमण वर्ष सचिवालय तथा नीजि क्षेत्र समेतको सहभागितामा १२ वटा टास्क फोर्स गठन गरी भारत,दक्षिण एसिया,बुद्धिस्ट देशहरू,मध्यपूर्वका देशहरू,युरोप र रसिया,अष्ेट्रेलिया र न्युजिल्याण्ड,अफ्र्रिका,नर्थ अमेरिका, साउथ अमेरिका चीन,नर्र्थ इस्ट एशिया लगायत विश्वका विभिन्न १२वटा पर्यटन स्रोत बजारहरूको अध्ययन गरेको थियो । पर्यटनमा परेको असर तथा भावि कार्ययोजना सम्वन्धमा नेपालका विभिन्न प्रदेशमा रहेका पर्यटन व्यवसायीहरुसँग तथा नेपालको प्रमुख स्रोत बजार भारतका पर्यटन व्यावसायीहरूसँग पुनः पर्यटन सुचारु गर्ने सम्बन्धमा सम्भाव्यता तथा आगामी कार्यदिशा तय गर्नको लागी अनलाइन प्लेटफर्म मार्फत अन्तक्रिया आयोजना गरिएको थियो । यो बीचमा धेरै भर्चुअल प्लेटफर्मको प्रयोग गरी नेपालको पर्यटनको प्रर्वद्धन गर्ने काम गरिएको छ । कोभिडको कारण तत्कालै अन्तरराष्ट्रिय पर्यटकहरु आउन नसक्ने, नचाहने परिस्थतीमा नेपालको आन्तरिक पर्यटन वजारको अध्ययन गर्न तथा पर्यटकिय सम्पदाहरुको पहिचान गर्न हरेक प्रदेशको लागी टास्कफोर्स गठन गरी अध्ययन गरी सात प्रदेशमा आन्तरिक पर्यटन पुनरुत्थान समिति गठनगर िकाम अगाडि बढेको छ । यसमा देश दर्शन कार्यक्रमको लागि विभिन्न निजि क्षेत्र सँग सम्बन्धित संघ संस्था तथा प्रदेशहरुसंग छलफल गरि उचित आन्तरिक पर्यटनमा प्याकेजको आवाहान गरि प्याकेज प्राप्त भएका छन् । आन्तरिक नेपाल पर्यटन बोर्डको प्रादेशिक कार्यालय विस्तार गर्नको लागि सम्पूर्ण प्रदेशहरुमा स्थलगत भ्रमण तथा अध्ययन गरि प्रदेश सरकार, प्रदेश मन्त्रालय, स्थानीय तह तथा निजि क्षेत्रसंग अन्तरक्रिया गरि सम्झौता गरिएको छ । दिर्घकालीन काम नेपालको पर्यटनमा तथ्याङ्कको अभावले गर्दा राज्यले तय गर्ने नीति समेत प्रभावित हुने अवस्थामा तथ्याङ्कको उलपब्धता रहोस भनेर बोर्डले यस क्षेत्रमा गरिएको लगानी तथा जनशक्तिको अध्ययन गरेको छ । जसबाट कोभिडको संक्रमणले व्यवसायमा परेको प्रभाव र यो क्षेत्रमा सरकारले दिने राहतको लागी सरकारलाई तथ्याङ्क उपलब्ध भएको छ । यस्तै नेपालको बहुआयामिक पर्यटनमा तथ्याङ्ककलाई डिजिटल डाटावेशमा राख्न बोर्डले डिजिटल डाटावेस फर टुरिजम प्लानिङ कार्यक्रमका लागि त्रिभूवन विश्वविध्यालय अन्तर्गतको केन्द्रीय भूगोल विभागमार्फत संचालन गर्न सम्झौता सम्पन्न भइ कार्य अघि बढेको लगायतका काम रहेका छन् । पर्यटन व्यवसायीले पुनरकर्जा नपाएको गुनासो कार्यक्रममा पर्यटन व्यवसायीहरुको पनि सहभागिता थियो । कार्यक्रममा बोल्ने अधिकांश पर्यटन व्यवसायीले सरकारले कोरोना प्रभावित व्यवसायीका लागि छुट्याएको पुनरकर्जा नपाएको गुनासो गरेका थिए । पर्यटन व्यवसायी विशेष श्रेष्ठले आफुहरुले पुनरकर्जा पाउनु पर्ने भएपनि नपाएको गुनासो गरे । ‘सरकारले कोरोना प्रभावितका लागि भनेर पुनरकर्जाको व्यवस्था गरेको छ, सबैभन्दा बढी प्रभावित क्षेत्र पर्यटन हो, पर्यटन व्यवसायीले चलाउने सवारी साधनमा पनि धेरै लगानी भएको छ, त्यसका लागि कुनै व्यवस्था नै छैन, राहात नै पाएका छैनौं, सरकारले यसको लागि व्यवस्था गर्नु पर्छ,’ उनले भने ।
बागलुङमा नेपालकै नमूना प्राणी उद्यान निर्माण हुँदै, पाँच करोड ६१ लाख बजेट विनियाेजन
गलकाेट । बागलुङ नगरपालिकामा नेपालकै नमूना प्राणी उद्यान (जुलोजिकल पार्क) निर्माण शुरु भएको छ । नगरपालिकाले गत वर्ष निर्माण गरेको डिपिआरका आधारमा अहिले गण्डकी प्रदेश सरकारले विनियोजन गरेको ५० लाखले जुलोजिकल पार्क निर्माण सुरु भएको छ । बागलुङ–५, ६ र ७ मा पर्ने पाँच सामुदायिक वनलाई प्राणी उद्यान बनाउन नगरपालिकाले अगुवाइ गरेपछि सार्थकता पाउन थालेको छ । पर्यटन उपज कार्यक्रमअन्तर्गत सङ्घीय सरकार र स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत पाँच करोड ६१ लाख हालै विनियोजन भएको छ । उक्त रकममध्ये सङ्घीय सरकारले तीन करोड ६५ लाख र बागलुङ नगरपालिकाले एक करोड ९६ लाख व्यहोर्नुपर्ने हुन्छ । उक्त रकम तीन वर्षमा खर्च गरिसक्नुपर्नेछ । सामुदायिक वनमा भएका जीवजन्तुको संरक्षणसँगै पर्यटनको विकासका लागि नमूना प्राणी उद्यान निर्माण शुरु भएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । उक्त उद्यानको आर्थिक वर्ष २०७६/७७ मा विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)तयार गरिएको थियो । नगरपालिकाले प्राणी उद्यान निर्माण गर्नका लागि आर्किटेक्ट डिजाइन एण्ड सिभिल कन्स्ट्रक्सनले आठ लाखको लागतमा सम्भाव्यता अध्ययनसहित डिपिआर तयार गरेको थियो । झण्डै २६ करोड लागतमा निर्माण गर्न लागिएको प्राणी उद्यान तीन वर्षमा आधारभूत पूर्वाधार निर्माण गर्न पाँच करोड ६१ लाख बजेट विनियोजन भएको पौडेलले जानकारी दिए । “अहिले गण्डकी प्रदेश सरकारको ५० लाख लागतमा ठेक्कामार्फत तारबार र पैदलमार्ग निर्माणको काम शुरु भएको छ”, नगरप्रमुख पौडेलले भने, “तीन वर्षमा झण्डै छ करोडको काम हुनेछ, त्यतिबेलासम्म अन्य बजेटसमेत थपिँदै जाला, पाँच/सात वर्षमा प्राणी उद्यानले सार्थकता पाउला ।” अहिले बागलुङ–५ मालिका मन्दिरबाट ६०० मिटर पदमार्ग, ६०० मिटर तारजाली र वनस्पति परिहचानको काम शुरु भएको नगरपालिकाका इञ्जिनीयर मनोज शर्माले जानकारी दिए । उनका अनुसार जैविक विविधतायुक्त पर्यटकीय सामुदायिक वन, संसारकोट सामुदायिक वन, सुनाखरी सामुदायिक वन, वयलधारा सामुदायिक वन र तितौरे सामुदायिक वनको झण्डै ३७२ हेक्टर जङ्गलमा उद्यान फैलने छ । धेरै बजेट लाग्ने परियोजना भएकाले निर्माण सम्पन्न हुनका लागि लामो समय लाग्ने भए पनि निर्माणसँगै पर्यटन प्रवद्र्धन गर्दै लैजाने नगरपालिकाको योजना छ । पशुपक्षी, जडीबुटीको संरक्षण गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले जुलोजिकल पार्कको अवधारणा ल्याइएको थियो । उक्त पार्क निर्माणका लागि निरन्तरको पहलकदमीबाट सङ्घीय सरकारबाट पर्यटन साझेदारीमा बजेट विनियोजन गर्न सफल भएको निवर्तमान सङ्घीय सांसद डा सूर्य पाठकले जानकारी दिए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका विज्ञ नारायाण रुपाखेतीको समूहले बागलुङ नगरपालिका–५, ६ र ७ मा पर्ने पाँच सामुदायिक वनलाई प्राणी उद्यान बनाउन सकिने निष्कर्ष निकालेपछि उद्यान निर्माणले गति लिएको हो । सामुदायिक वनमा प्राकृतिक, पर्यटन, वन्यजन्तुलगायतका पाँच क्षेत्रलाई ध्यानमा दिएर जुलोजिकल पार्क निर्माण गर्न आर्किटेक्ट डिजाइन एण्ड सिभिल कन्स्ट्रक्सनले डिपिआर निर्माण गरेको थियो । उद्यान वरपर तीन किलोमिटर सडक, करिब दुई किलोमिटर पदमार्ग, दृश्यावलोकन स्तम्भ, रेष्ट्रो सेन्टर, जुलोजिकल पार्कभित्र र बाहिर बाटो निर्माण, ५० हेक्टर जमिनमा जङ्गल व्यवस्थापन केन्द्र र वन्यजन्तु उद्धार तथा जङ्गलको फायर निर्माणलगायतका संरचना निर्माण गर्ने डिपिआरमा उल्लेख छ । प्राणी उद्यान नितान्त प्राकृतिक सम्पदालाई संरक्षण गर्दै निर्माण हुने भएकाले पर्यटकलाई समेत आकर्षण गर्न सक्ने नगरपालिकाको योजना छ । पर्यटकलाई सडकमार्ग र पदमार्गमार्फत जङ्गल सफारी गराउँदै जीवजन्तुको अवलोकन गर्न सकिने, जङ्गली जनवारको बासस्थान संरक्षण गर्ने नगरपालिकाको उद्देश्य रहेको नगरप्रमुख पौडेलले बताए । पर्यटकलाई आकर्षित गरी आरामदायी आतिथ्यता प्रदान गर्ने व्यवस्थाका लागि सुविधासम्पन्न होटल, रिसोर्ट सञ्चालनका लागिसमेत पहल र प्रोत्साहित गर्ने नगरपालिकाको योजना छ । जङ्गली जनवारको चोरी शिकार बढ्दै जानु तथा प्राकृतिक वातावरण नासिदै जान थालेपछि प्राकृतिक तथा जैविक विविधताको संरक्षणसँगै नगरपालिकाले प्राणी उद्यानको परिकल्पना गरेको थियो । सामुदायिक वन क्षेत्रमा सयभन्दा बढी प्रजातिका वन्यजन्तु रहेको अध्ययन तथा अनुसन्धानका क्रममा पाइएको छ । बागलुङमा पाँच कोटको सङ्गम मानेर निर्माण भइरहेको धार्मिक पर्यटकीयस्थल पञ्चकोट क्षेत्रमा पुग्ने पर्यटकलाई जुलोजिकल पार्क अवलोकनका लागि समेत लैजान सकिने छ । रासस
कुमारी बैंकले ठमेल पर्यटन व्यवसायीलाई ५० लाखसम्म कर्जा दिने
काठमाडौं । कुमारी बैंक र ठमेल पर्यटन विकास परिषदबीच ठमेल पर्यटन व्यवसाय पुनर्जीवन कर्जा सेवा उपलब्ध गराउने सम्बन्धमा सहकार्य भएको छ । कोभिड महामारीले प्रभावित पर्यटन व्यवसायीहरुको कारोबार पुनर्जागरणका लागि दुई कम्पनीले उक्त सहकार्य गरेका हुन् । उक्त सहकार्य अन्तर्गत ठमेल पर्यटन विकास परिषदमा आबद्ध रजिष्टर्ड सदस्य व्यवसायीलाई उक्त कर्जा सुविधा प्रदान गरिने छ । यसरी प्रदान गरिने अधिविकर्ष तथा चालु पुँजीकर्जा लगायत आवधिक कर्जाको सीमा अधिकतम ५० लाख रुपैयाँ रहने छ । उक्त कर्जाहरु व्यवसायको संचालन तथा प्रशासनिक खर्च व्यवस्थापनको लागि लगानी गर्ने बैंकले जानकारी दिएको छ । उक्त कर्जा, आकर्षक ब्याजदर तथा न्यूनतम प्रशासनिक शुल्कमा प्रदान गरिने छ । बैंकले हाल १९२ शाखा संञ्जाल, १५६ एटीएम, २३ शाखा रहित बैंकिङ्ग ईकाई र १३ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराइरहेको छ । बैंकले स्थानिय अर्थ व्यवस्था, खासगरी पर्यटन व्यवसायको विकासको निमित्त आगामी दिनहरुमा अझ प्रभावकारी सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।