धवलागिरि आधार शिविर जोड्ने नयाँ पदमार्गमा पूर्वाधार निर्माण शुरु
म्याग्दी । म्याग्दीस्थित संसारको सातौँ (८,१६७) मिटर अग्लो धवलागिरि हिमालको आधार शिविर जोड्ने नयाँ पदमार्ग पहिचान भएको छ । अन्नपूर्ण गाउँपालिकाले पहिचान गरेको जलथले–फगाम–सुवा–मतिचौर–कालीबराह हुँदै रघुगङ्गा गाउँपालिकास्थित धवलागिरि हिमालको दक्षिणी आधार शिविर जोड्ने पदमार्गमा पूर्वाधार निर्माण शुरु भएको हो । दानाका बासिन्दाले भेडाबाख्रा र गाईभैँसीको गोठ लेक–बेँसी गराउन प्रयोग गरेको परम्परागत बाटोलाई पर्यटन पदमार्गमा रुपान्तरण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए । “सडक विस्तारसँगै पुराना पदमार्ग र पर्यटकको बसाइ छोटिएकाले नयाँ पदमार्ग पहिचान गरेका हौँ”, उनले भने, “गोठालाले प्रयोग गरेको बाटोमा पूर्वाधार तयार पारेर पदमार्गमा रुपान्तरण गर्न थालिएको छ ।” यसअघि पहिचान भएको नारच्याङ हुँदै संसारमै पहिलोपटक आरोहण भएको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने “मौरिस हर्गोज” पदमार्गमा पर्यटन विभागले पूर्वाधार निर्माण शुरु गरेको छ । जलथले हुँदै चारदेखि पाँच दिन पैदलयात्रा गरेर धवलागिरि आधार शिविरमा पुग्न सकिने स्थानीयवासीले बताएका छन् । गाउँपालिकाले चालु आर्थिक वर्षमा पदमार्गको प्रवेशविन्दु जलथलेबाट पदमार्ग निर्माण शुरु गरेको छ । उपभोक्ता समितिका अध्यक्ष दुर्गादत्त सुवेदीले जलथलेबाट फगामको चिहानडाँडाको टावरसम्म पदमार्ग निर्माण शुरु भएको जानकारी दिए । उनका अनुसार उकालोमा १.५ मिटर फराकिलो सिँढी चिनेर एक हजार १३३ मिटर पदमार्ग बनाउन लागिएको छ । “२० सेन्टिमिटर उचाइ र ४५ सेन्टिमिटर चौडाइ भएको सिँढी बनाउने डिजाइन छ”, अध्यक्ष सुवेदीले भने, “विभिन्न ठाउँमा पाँच चौतारी पनि बनाउने लक्ष्य छ ।” गाउँपालिकाले १० लाख विनियोजन गरेको जलथले–फगाम पदमार्ग निर्माणमा उपभोक्ताले रु एक लाख २३ हजार बराबरको श्रमदान गर्नुपर्नेछ । फगाम, सुवा र जलथलेका बासिन्दा पदमार्ग निर्माणमा खटिएका छन् । ढुङ्गाको सिँढी चिनेर पदमार्ग बनाउन लागिएको हो । गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले गत आवमा बजेट विनियोजन भए पनि बन्दाबन्दीका कारण कार्यान्वयन हुन नसकेको योजनालाई यसपालि निरन्तरता दिएको बताइन् । धवलागिरि आधार शिविर पुगेपछि रघुगङ्गा, अन्नपूर्ण र थासाङ गाउँपालिकाको सिमानामा पर्ने कालीबराह हुँदै मुस्ताङ निस्कने अर्को धवलागिरि आइसफल पदमार्ग छ । यो पदमार्गअन्तर्गत पर्ने दानाको मतिचौर बराहमा १०८ धारा निर्माण शुरु भएको छ । धारा निर्माण गर्न गाउँपालिकाले आठ लाख विनियोजन गरेको छ । जनै पूर्णिमाको दिन पूजाआजा र मेला लाग्ने मतिचौर बराहलाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्ने उद्देश्यले धारा निर्माण गर्न लागिएको उपभोक्ता समितिका सचिव गङ्गा पुनले बताइन् । मतिचौर बराहमा जनैपूर्णिमाका दिन पूजाआजा र भाकल गरेमा मनले चिताएको कुरा पूरा हुने विश्वास छ । पदमार्गमा पूर्वाधार निर्माणलाई निरन्तरता दिनुका साथै नक्शा तयार पार्न प्राविधिक टोलीसहित स्थलगत सम्भाव्यता अध्ययन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष पुनले बताइन् । ग्रामीण बस्ती, जनजीवन, वनजङ्गल, झरना, वन पैदावार, वन्यजन्तु, तालतलैया र अग्ला पहाडबाट हिमालको दृश्यावलोकन गर्न पाउनु यो पदमार्गको विशेषता हो । पूर्वाधार तयार भएपछि पदमार्ग सञ्चालनमा ल्याउने गाउँपालिकाको तयारी छ । रासस
यस वर्ष देखिएन हिमालमा हिउँ
रुकुमपुर्व । समयमा हिउँ नपर्दा यस वर्ष रुकुम (पूर्व) का हिमालको सौन्दर्य झल्किन पाएको छैन । केही वर्ष पहिलेसम्म बाह्रैमहिना हिउँ रहिरहने हिमालमा पछिल्लो समय हिउँ पर्न छोडेपछि सौन्दर्यको रुपमा देखापर्ने हिमाल टल्कन छोडेका हुन् । पहिले कात्तिकको अन्तिम र पुस महिनाबाट हिउँ पर्ने गरेको भए पनि यस वर्ष भने माघको दोस्रो साता लाग्दा पनि हिउँ परेको छैन भने तल्लो क्षेत्रमा वर्षासमेत भएको छैन् । हिउँ पर्ने मौसममै हिमालमा हिउँ नभएपछि हिमाली क्षेत्र उजाड देखिन थालेका छन् । हिमालको प्राकृतिक सौन्दर्यता नै हराउँदै गएको रुकुम (पश्चिम) बाफिकोट गाउँपालिका हिमाल आरोही मनबहादुर खत्री बताउँछन् । हिमाली क्षेत्रमा देखिएको यो समस्याले सिङ्गो पर्यटकीय क्षेत्र नै धरापमा पर्ने अवस्था देखिएको उनको भनाइ छ । दर्जन हिमालको आरोहण गरिसकेका खत्रीले विगतका वर्ष र अहिलेको वर्षमा सिस्ने हिमालमा धेरै परिवर्तन आएको बताए । चार÷पाँच वर्ष अघिसम्म बाह्रै महिना हिउँ टल्कने हिमाललाई अहिले नियाल्दा चट्टान मात्र देखिने गरेको उनको भनाइ छ । रुकुम (पूर्व) मा पाँच हजार ८४० मिटरदेखि सात हजार २४६ मिटर उचाइ भएका पाँच वटा हिमाल रहेका छन् भने अन्य साना थुप्रै हिमाल र हिमताल छन् । जिल्ला प्रशासन कार्यालय रुकुम(पूर्व)को आधिकारिक वेबसाइटमा राखिएको जानकारीअनुसार जिल्लाकै सबैभन्दा अग्लो हिमाल पुथाको सात हजार २४६ मिटर उचाइ रहेको छ । यस्तै दोगारी हिमालको उचाइ छ हजार ५३६ मिटर रहेको छ भने सामजाङ्ग हिमालको उचाइ पाँच हजार ९२४ मिटर छ । यस्तै सिस्ने हिमालको उचाइ पाँच हजार ९११ मिटर उचाइ रहेको छ भने निम्कु हिमालको उचाइ पाँच हजार ८४० मिटर रहेको छ । यी हिमालमा पुग्नको लागि ट्रेकिङ रुट निर्माणको काम भइसकेको छ । अहिलेसम्म सिस्ने र पुथालगायत त्यस आसपासका हिमालमा जाने रुट तयार भइसकेको हिमाल ओरोही खत्रीले बताउनुभयो । पुथा हिमाल जाने रुट छ वर्षअघि तयार भइसकेको छ भने सिस्ने हिमाल जानको लागि भने भर्खरै मात्र तीनवटा रुट पत्ता लगाइएको छ । लुम्बिनी प्रदेशको रुकुम (पूर्व) तथा कर्णाली प्रदेशमा पर्ने रुकुम (पश्चिम) को तीन स्थानीय तहको भूभाग छुने र डोल्पाका मनमोहक दृश्यावलोकनसमेत गर्ने गरी नयाँ ट्रेकिङ रुट–‘सिस्ने राउण्ड’ को अन्वेषण पूरा भएको हो । यो गन्तव्य अन्वेषण भइसकेपछि लाङ्टाङ भन्दा पनि राम्रो ट्रेकिङ रुट बन्ने पर्वतारोहीसमेत संलग्न अन्वेषण टिमले जनाएको छ । यो अन्वेषणको नेतृत्व सिस्ने आरोही खत्रीले नै गरेका छन् । खत्रीको नेतृत्वमा भइरहेको अन्वेषणमा रुकुम (पूर्व) को सिस्ने गाउँपालिकासहित रुकुम (पश्चिम) को आठबीसकोट नगरपालिका र बाफिकोट गाउँपालिकाले सहयोग गर्दैछन् । सरकार संस्था र व्यक्तिको त्रिपक्षीय साझेदारीमा भइरहेको गन्तव्य अन्वेषणमा संस्कृति तथा पर्यटन विकास केन्द्र पनि लागिरहेको छ । गत जेठदेखि गन्तव्य पहिचान शुरु गरिएको थियो । पहिलेका कतिपय तथ्याङ्कसमेत प्रयोग गर्दैै अन्वेषण टोलीले ट्रेक गर्दै रुट पहिचानको आधारभूत काम सम्पन्न गरेको छ । प्रारम्भिक अध्ययनबाट यहाँ १४ दिनको ट्रेक बन्दैछ । यो ट्रेकको विकास गर्ने हो भने थुप्रै विदेशी पर्यटक भित्रयाउन सकिने अन्वेषण टोलीको निष्कर्ष छ । देशका सबै ट्रेकिङमा पथप्रर्दशन गरिसक्नुभएका खत्रीले सिस्ने हिमालको पछाडिपट्टिको भागबाट काञ्जिरोवाका २८ हिमाल देख्न सकिने बताए । यस्तै त्यहाँबाट सानीभेरी, ठूलीभेरी दुबैको मनोरम दृश्य देख्न सकिन्छ । उनी भन्छन्, “सिस्ने राउण्ड लागाउनु भनेको श्रीपेचको वरिपरि घुमे जस्तै हो ।” तत्काललाई जाने बाटोमा व्यवस्थित आवास र खानपानको व्यवस्था नभएकाले सिस्ने राउण्डको लागि एक लाख वा त्यो भन्दा बढी खर्च लाग्ने गर्दछ । यसलाई व्यवस्थित बनाउने हो भने १४ दिनमा १४ हजार खर्चले सिस्ने राउण्ड लागाउन सकिन्छ, उनले भने । अब पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि भने सजिलै आन्तरिक पर्यटक भित्र्याउन सकिने छ । रासस
ठडिँदै वसन्तपुरको ऐतिहासिक सम्पदाहरु
काठमाडाैं । विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ दरवार क्षेत्र(हनुमानढोका क्षेत्र)का ऐतिहासिक सम्पदाहरु एकपछि अर्को ठडिन थालेका छन् । गोर्खा भूकम्पले पूर्णरुपमा भत्किएको सम्पदाहरु अहिले तीव्ररुपमा पुनःनिर्माणका क्रममा छन् भने केही निर्माण सम्पन्न भइसकेका छन् । यस क्षेत्रका २७ सम्पदा पुनर्निर्माण सम्पन्न भइसकेका छन् । यहाँ रहेका ७० सम्पदामध्ये १२ वटामा भूकम्पले क्षति गरेको थिएन । भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये ११ वटाको पुनर्निर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । अड्डाका कार्यालय प्रमुख सन्दीप खनालका अनुसार अहिले बनिरहेका सम्पदाको काम नसकी काम शुरु गर्न नमिल्ने भएकाले २० सम्पदाको काम अझै हुन सकेको छैन । हनुमानढोका दरबार क्षेत्रको नौतले दरबार चीन सरकारको अनुदान सहयोगमा पुनर्निर्माण भइरहेको छ । दरबारको ६० प्रतिशत काम सकिएको छ । कोरोना महामारीका कारण नौतले दरबार पुनर्निर्माणमा केही ढिलाइ भएको छ । नौतले दरबार सन् २०२२ सम्ममा सक्ने गरी सम्झौता भएको अड्डाले जनाएको छ । यसैगरी गद्दी बैठक अमेरिकाको सहयोगमा पुनर्निर्माण सम्पन्न भइसकेको छ । जगन्नाथ र गोपीनाथ मन्दिर वाग्मती प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पुनर्निर्माण भइरहेको छ । नासलचोक पश्चिमको राणाकालीन सेतो भवन र नासलचोक तथा गद्दी बैठकबीचको भवन पनि हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिमार्फत पुनर्निर्माण भइरहेको छ । आगम्छे घर र शिव मन्दिर जापानी सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा पुनर्निर्माण भइरहेको बताइएको छ । मोनकाली चोक, मूलचोक, नासल चोकलगायतको चोकहरु यहाँको अन्य महत्वपूर्ण सम्पदाहरु हुन् ।