काठमाडौं । कोरोना महामारीको बीचमै सगरमाथा आरोहण शुरु भएको छ । सेभेन समिट ट्रेक कम्पनीका अनुसार शुक्रबार साँझ ६ बजे १२ जना आरोही विशेषज्ञ शेर्पाहरुको टोली चुचुरोमा पुगेको छ ।
आरोहणको मुख्यपाटो रोप फिक्सिङ अर्थात डोरि टाङ्ने काम सकिएको छ । कृतिमानी आरोहि कामी रिता शेर्पाको नेतृत्वमा गएको १२ जनाको समूहले आज ६ बजे डोरी टागेको हो ।
समूहमा कामी रिता शेर्पा, फुर्टेन्जी सेर्पा, लाक्पा नर्बु शेर्पा, निग्मा ताशी शेर्पा, मिग्मा तेञ्जी शेर्पा, फुरा छेरिङ् शेर्पा, तेन्जिङ्ग शेर्पा, छेतेन दोर्जे शेर्पा, तेन्जिङ्ग ग्यालजेन शेर्पा, फुर्वा छाेतर शेर्पा, मिग्मा दाेर्ची शेर्पा र फुर्वा कुसंग शेर्पा रहेका छन् ।
यससँगै अब आरोहीहरुलाई चुचुरोतर्फ जाने बाटो खुलेको छ ।
पर्यटन विभागले यस सिजनको हिमाल आरोहण अन्तरगत सगरमाथा आरोहणका लागि ४४ समूहका ४०८ जना आरोहीलाई आरोहण अनुमति दिएको छ । जसमा ३ सय १५ पुरुष र ९२ जना महिला रहेका छन् ।
यस सिजनको हिमाल आरोहणका लागि विभागले सगरमाथा सहित विभिन्न १६ वटा हिमाल आरोहण गर्न ८५ समूूहका ७ सय ४२ आरोहीले आरोहणको अनुमति दिइसकेको छ ।
यसअघि यस सिजनको पहिलो हिमालको रुपमा अन्नूर्ण हिमालको आरोहण सफल भइसकेको छ भने दोस्रो हिमालको रुपमा सगरमाथा आरोहण सुरु भएको हो ।