बजेटमा हवाई क्षेत्रलाई सम्बोधन भएनः वायुसेवा सञ्चालक
काठमाडौं । नेपाल वायुसेवा सञ्चालक संघले सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ कोे बजेटमा हवाई (वायुसेवा) क्षेत्रलाई सम्बोधन नगरेको जनाएको छ । अन्य क्षेत्रका उद्योगलाई विभिन्न खालका छुट दिदाँ सरकारले वायुसेवा क्षेत्रलाई सम्बोधन नगरेको संघका अधिकारीहरुले बताएका छन् । संघका प्रवक्ता योगराज कँडेल सरकारले पर्यटन मन्त्रालयलाई राम्रो बजेट उपलब्ध गराएपनि वायुसेवा क्षेत्रलाई नसमेटेको बताउँछन् । ‘बजेट वक्तव्यमा कोभिड–१९ प्रभावित हवाई सेवा, होटल, ट्राभल, ट्रेकिङ लगायतका पर्यटन व्यवसायले आ.व.२०७८/७९ मा तिर्नुपर्ने ईजाजत तथा नविकरण दस्तुर छुट दिई स्वतः नवीकरण हुने व्यवस्था मिलाइएको भनिएको छ तर नवीकरण छुट पाउँन हामीले विभिन्न खालको समस्या भोग्नुपर्छ’, उनले भने, ‘आयकर ऐनमा विशेष उद्योगमा समेटिएका क्षेत्रलाई मात्र कर छुट दिने भन्ने व्यवस्था छ । हाम्रो हवाई क्षेत्र विशेष उद्योगभित्र पर्दैन । आयकर ऐन संसोधन नहुँदासम्म हामीले नवीकरण छुट पाउने अवस्था छैन ।’ गत वर्ष पनि कोभिड प्रभावित उद्योगलाई ५ प्रतिशत व्याजदरमा दिइने पुनर्कर्जालाई निरन्तरता दिईएको भनिएको थियो । तर आmूहरुले गत वर्षपनि पुनर्कर्जा नपाएको र यसपाली पनि पुरानै कार्यक्रम नै दोहोरिएकोले पाइन्छ भन्ने नभएको उनको भनाई छ । गत वर्ष हवाई उद्योग २० करोडभन्दा माथि नपर्ने उद्योग हुँदा पुनर्कर्जा सुविधा नपाएको उनी बताउँछन् । विमानस्थल विस्तारदेखि पर्यटन प्रवद्र्धनमा सरकारले जोड दिँदा विदेशी पर्यटक उलेख्य रुपमा भित्र्छन भन्ने अनुमान छ । विदेशी धेरै आउँदा हामीलाई केही राहत हुन्छ । यस्तै सरकारले आगामी बजेटमा तारे होटेलका लागि आवश्यक पर्ने पहुँच मार्ग र प्रशारण लाइन लगानीकर्ता स्वयंले निर्माण गरेमा निर्माण लागतको ७५ प्रतिशत रकम शोधभर्ना दिने भएको छ । आईसोलेशन सेन्टरको रुपमा रहेका होटललाई सरकारले निर्धारण गरेको मापदण्ड बमोजिमको रकम उपलव्ध गराउने व्यवस्था बजेटमा गरिएको छ । होटललाई उत्पादनमूलक उद्योग सरहको सुविधा उपलब्ध गराउने तथा निषेधाज्ञा अवधिभरको विद्युत महसुल शुल्कमा छुट दिने व्यवस्था मिलाईएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट बक्तव्यमा उल्लेख गरेको छन् । होटल संघ नेपाल (हान) का उपाध्यक्ष विनायक शाह होटल व्यवसायीको लामो समयदेखिको माग बजेटमा सम्बोधन भएको बताउँछन् । उनले होटल व्यवसायलार्ई उत्पादन उद्योगसरहको सुविधा उपलब्ध गराईने कुरा सकारात्मक भएको बताए । यस्तै सरकारले बजेटमा नेपालको पर्यटन प्रवद्र्धन गर्न विभिन्न ल्याएका विभिन्न कार्यक्रम राम्रो भएको भन्दै कार्यान्वयन हुनुपर्ने बताए ।
क्यारेन्टिन होटलका रुपमा पर्यटकदेखि पाँचतारे स्तरका होटल सूचिकरण, शुल्क निर्धारणको जिम्मा होटललाई
काठमाडौं । विदेशबाट नेपाल आउने यात्रुकाई राख्न सरकारले ७८ वटा होटललाई क्यारेन्टिन होटल बनाईएको छ । पर्यटन विभागले पर्यटक स्तरदेखि पाँचतारे स्तरका होटललाई क्यारेन्टिन होटलका रुपमा सूचिकरण गरेकोे होे । विभागले बुधबार होटलको नाम सार्वजनकि गर्दै विभागमा दर्ता भएका होटललाई क्यारेन्टिन होटल बनाईएको जनाएको छ । विभागको सूचना अनुसार पाँच तारे स्तरका होटलमध्येमा क्यारेन्टिन होटलका रुपमा सांग्रीला, र्याडिशन, होटल याक एण्ड यती, हायात होटल, सोल्टी, अलप्ट र एभरेष्ट होटल रहेका छन् । यसअघि नै एयर बबल अवधारण अनुरुप नेपाल भित्रनेहरुका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले ८ वटा होटललाई क्यारेन्टिन होटल बनाईसकेको छ । उक्त होटलका लागि प्रतिदिन तीन हजारसम्म शुल्क समेत तोकिएको थियो । विभागले मन्त्रालयले सर्वावजनिक गरेको ८ होटल सहित ७८ वटा होटलको नाम सार्वजनिक गरेको हो । भारतबाट आउनेले प्रतिदिन तीन हजार शुल्क तोकिएपनि हाल सार्वजनिक गरिएको क्यारेन्टिन होलटको शुल्क भने सार्वजनिक गरिएको छैन । यसपालि पाँचतारे होटललाई समेत क्यारेन्टिन होटलका रुपमा बनाईएको भन्दै शुल्क नतोकिएको विभागका महानिर्देशन रुद्रसिंह तामाङ बताउँछन् । उनका अनुसार ती होटलमा पाहुना राख्न शुल्क तय गर्ने जिम्मा सम्बन्धित होटलाई नै दिइएको छ । सरकारले भारत लगायत अन्य देशबाट आउने यात्रुलाई अनिवार्य रुपमा १० दिन क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेको छ । यस्तै, खाडी मुलुकाबाट आउनेले पाँच दिन बसे पुग्छ भन विशेष परिस्थिति भएकालाई होम क्वरेन्टिनमा पठाउने व्यवस्था पनि गरेको छ । विभागले सार्वजनिक गरेको सूची अनुसार ७ वटा पाँचतारे, ३ वटा चारतारे, ७ वटा तीनतारे, ५१ वटा पर्यटक स्तरका र बाँकी २ वटा रिसोर्ट स्तरका होटल रहेको छ । भारत बाहेक तीन देशबाट अाउने यात्रुका लागि विभागले क्यारेन्टिन हाेटलकाे नाम सार्वजनिक गरेकाे हाे । बिहीबारदेखी कतार, टर्कीमा नियमित उडान खुल्ला गरिएकाे छ ।
मे महिनामा १२ हजार नेपाल भित्रिए, २३ हजार बाहिरिए
काठमाडौं । गत मे महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालय हुँदै १२ हजार नेपाल भित्रिएका छन् । अध्यागमन विभागले सार्वजनिक गरेको मे महिनाको तथ्याङ्कअनुसार १२ हजार ४०० जना नेपाल भित्रिएका हुन् । जसमा एक हजार ४६८ जना विदेशी नागरिक र १० हजार ९३२ जना नेपाली नागरिक स्वदेश भित्रिएका छन् । गत मेमा नेपाल भित्रनेभन्दा बाहिरिनेको तथ्याङ्क दोब्बर छ । सो अवधिमा २३ हजार १३५ बाहिरिएका छन् । बाहिरिनेमध्ये नौ हजार ९७७ विदेशी र १३ हजार १५८ जना नेपाली छन् । अन्य महिनाको तुलनामा मेमा कम सङ्ख्यामा विदेशी नेपाल भित्रिएका छन् । कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका थिए । विभागको तथ्याङ्कअनुसार अप्रिलमा १४४ देशबाट २२ हजार ४५० जना विदेशी नेपाल भित्रिएका थिए । यस्तै, गत अप्रिलमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै ५१ हजार ७७५ नेपाली विदेशिएका छन् ।