गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा अन्योल

काठमाडौं। निर्माणको अन्तिम चरणमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) हुन सकेको छैन । सन् २०१५ बाट निर्माणको तयारी भएको उक्त विमानस्थलमा परीक्षण उडानको टुंगो नलाग्दा विमानस्थल सञ्चालनमा अन्योल भएकोे छ । क्यालिब्रेसन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्ने धावनमार्ग, टावरलगायतका क्षेत्रमा जडान भएका उपकरणले काम गरेका छन् या छैनन् भनेर परीक्षण गर्ने हो । यसका लागि जहाज नै ल्याएर उडान अवतरण गर्दै परीक्षण गर्नुपर्ने हुन्छ । सन २०२० को सुरुवाती चरणमा नै नियमित उडान सञ्चालनको तयारी भएको उक्त विमानस्थलको केही प्राविधिक कामबाहेक सम्पूर्ण भौतिक संरचना निर्माण सकिएको छ । परीक्षण उडानको टुंगो नलाग्दा विमानस्थल सञ्चालनको अवधि लम्बीएको छ । परीक्षण उडान भएको तीन महिनाभन्दा अगाडी नियमित उडान सञ्चालन गर्न नसक्ने विमानस्थल आयोजना कार्यालयले जनाएको छ । कार्यालयका आयोजना प्रमुख प्रवेश अधिकारी यसअघिका सम्पूर्ण प्रक्रिया रोकिदा परीक्षण उडान हुन नसकेको बताउँछन् । उनका अनुसार कार्यालयमा मौसम, सञ्चार र विमानको दिशा पत्ता लगाउनेसम्बन्धी महत्वपूर्ण उपकरण जडान गरि सकिएको छ । परीक्षण उडानका लागि आवश्यक पर्ने विशेष विमान ल्याउने सम्झौताअनुरूप आइसिबी टुको ठेक्का लिएको थाइल्यान्डको एरो थाई कम्पनीको हो । कोभिड–१९ का कारण त्यहाँको सरकारले विमान आउन अनुमति नदिदा परीक्षण उडान हुन नसकेको हो । नेपाल नागरिक उडड्यन प्राधिकरणले थाइल्याण्डबाट विमान नआएपछि विकल्पको रुपमा भारत र अस्ट्रियासँग कुरा भइरहेको जनाएको छ । क्यानका महानिर्देशक राजन पोखरेलका अनुसार दुई देशमा परीक्षण उडानका लागि आवश्यक पर्ने विमान ल्याउने विषयमा छलफल भइरहेको छ । यसअघि पटक/पकट उद्घाटनको मिति तोकिएको उक्त विमानस्थलको हालसम्म परीक्षण उडान हुन सकेको छैन । सन् २०२० को तयारीमा नै विमानस्थल सञ्चालनमा ल्याउने तयारी भएको बताईएपनि सन् २०२१ मा समेत सञ्चालनमा नआउने देखिएको छ । सन् २०१५ जनवरी १५ अर्थात २०७१ साल माघ १ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास हुँदा २०१७ डिसेम्बरमा निर्माण सक्ने लक्ष्य थियो । दुई वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने उक्त विमानस्थल ६ वर्षपूरा हुँदा समेत सम्पन्न भएको छैन । विमानस्थल निर्माणमा विशेषज्ञता हासिल गरेको चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्टसँग ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २८ रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । आइसिपी–१ र आइसिपी–२ गरी विमानस्थलको निर्माणको कार्य गरिएकोमा आइसिपी–१ अन्तर्गतका अधिकांश कामहरू सम्पन्न भइसकेका छन् । हाल आइसिपी–१ अन्तर्गत धावनमार्ग, ट्याक्सी वे, टर्मिनल भवनलगायत संरचना निर्माण सम्पन्न भइसकेका छन् । आइसिपी–२ अन्तर्गतका कामहरू कोरोनाका कारण प्रभावित हुँदा विमानस्थल निर्माणको काममा ढिलाई हुँदै आएको छ । आइसिपी २ अन्तर्गत हवाईजहाज, पाइलट र विमानस्थलबीचको समन्वयका लागि प्रविधि निर्माण रहेको छ ।

निषेधाज्ञा खुलेको पहिलो दिनमै बुद्धले बोक्यो ३५ सय यात्रु

काठमाडौं । गत बैशाख २० गतेदेखि बन्द रहेको आन्तरिक उडान करिब दुई महिनापछि सुरु भएको छ । बिहीबारदेखि सुरु भएको आन्तरिक उडानमा यात्रुको उत्साहजनक सहभागिता देखिएको छ । निषेधाज्ञा अघिल्लो उडान हुने संख्याको आधारमा अहिलेलाई ५० प्रतिशतमा झारिएको छ । बुध्द एयरले यसको आधारमा ३१ उडान पाएका छन् । ३१ उडानबाट बुद्धले झण्डै ३८०० यात्रुले उडान भर्न सक्ने जनाएकोे छ । बुध्द एयरका सेल्स एण्ड मार्केटिङ निर्देशक रुपेश जोशीका अनुसार आज पहिलो दिन ३५०० बुकिङ भएको रहेछ । ‘यो हाम्रो लागि निकै उत्साहजनक संख्या हो । पहिलो बन्दाबन्दी पछि भएको उडानमा यत्तिको सहभागिता थिएनन्’, उनले भने । नागरिक उड्डयन प्राधिकरणको उडान तालिका अनुसार हरेक घण्टामा ७ उडान मात्रै हुनेहुँदा विमानस्थलमा भिडभाड देखिएको छैन । कोभिडविरुद्धको निर्देशिका अनुसार उडान सेवा सञ्चालन भइरहेको छ । हरेक यात्रुको तापक्रम मापन, ह्याण्ड सेनिटाइजरको व्यवस्था, विमानभित्र मास्क र फेशशिल्डको अनिवार्य प्रयोग सुरक्षाका प्रमुख उपायहरु अपनाइएका छन् । बढीपहिराले बाटोघाटो असहज भएका गन्तव्यमा बुध्द एयरले उडान थप गरेको छ । बुध्द एयरसँग १५ वटा जहाजमध्ये १० एटीआर ७२, ३ वटा एटीआर ४२ र २ वटा बिचक्राफ्ट जहाजहरु रहेका छन् । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आन्तरिक वायुसेवा कम्पनीको दैनिक ६७ उडान सञ्चालन गर्नेगरी उडान तालिका बनाएको छ । कोभिड महामारी नियन्त्रणका लागि सरकारले वैशाख १६ देखि निषेधाज्ञा लागू गरेको थियो । वैशाख २० गतेदेखि आन्तरिक र वैशाख २३ गतेदेखि अन्तर्राष्ट्रिय उडान स्थगन गरिएको थियो । जसमध्येमा बुद्ध एयरलाई ३१, यती एयरलाइन्सलाई १५, श्री एयरलाइन्सलाई १०, सौर्य एयरलाइन्सलाई तीन तथा स्टकतर्फ उडान गर्ने वायुसेवाका लागि तीनरतीन उडान स्वीकृति दिइएको हो ।

अब सातामा २१ वटा मात्र अन्तर्राष्ट्रिय उडान हुने

काठमाडौं । आजदेखि सातामा २१ वटा अन्तर्राष्ट्रिय उडान हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले जुलाई महिनाका लागि नियमित अन्तर्राष्ट्रिय उडानको तालिका स्वीकृत गर्दै उक्त संख्या तोकेको हो । सरकारले भारत, कतार, यूएई, टर्की, साउदी अरेबिया, कुवेत, मलेसिया, ओमान, जापान, चीन र कोरियाका लागि निश्चित संख्या तोकी नियमित उडान सुरु गरिसकेको छ । उक्त गन्तव्यमा विभिन्न वायुसेवा कम्पनीले निश्चीत उडान गर्नेगरी कोटा तोकिएको हो । सरकारले ११ गन्तव्यका लागि अन्तर्राष्ट्रिय उडान खुला गरेतापनि हालसम्म कोरिया र चीनमा उडान हुन सकेको छैन । नेपालका कम्पनी नजाने गन्तब्यमा भने सम्बन्धित मुलुकका वायुसेवा कम्पनीको मात्र उडान हुनेछ । कोरिया, टर्की, कुवेत र ओमान नेपाली वायुसेवा कम्पनी नजाने गन्तब्य हुन् । नेपाल सरकारले टर्कीमा उडान खुला गरेतापनि टर्की सरकारले नेपाल उडानलाई कालोसूचीमा राखेको छ । नेपालबाट अन्तर्राष्ट्रिय उडानको अनुमति पाएको नेपाल एयरलाइन्सले भारतको नयाँदिल्ली, कतारको दोहा, युएईको दुबई, मलेसियाको क्वालालाम्पुर र जापानको नारितामा उडान गर्नेछ । यस्तै, नेपाली तथा चिनियाँ संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले साउदी अरेबियाको दमाम, युएईको दुबई र मलेसियाको क्वालालाम्पुरमा उडान अनुमति पाएको छ । नेपालबाट अन्तर्राष्ट्रिय उडान अनुमति पाउनेमा कतार एयरवेज, सलाम एयर, एयर इन्डिया, फ्लाइ दुबई, जजिरा एयरवेज, टर्किस एयर र मालिन्दो एयर रहेका छन् ।