काठमाडौं । निजी क्षेत्रकोे लगानीमा सञ्चालित बुद्ध एयरले आगामी साउन १७ गतेबाट पोखरा–नेपालगन्ज उडान शुरु गर्ने भएको छ ।
बुद्धले यसअघि नै उक्त गन्तव्यमा उडान विस्तारको तयारी गरेतापनि कोरोना महामारीका कारण उडान शुरु हुन सकेको थिएन । कम्पनीका अनुसार साताको यो रुटमा साताको तीन उडान नियमित हुने भएको हो । जहाज आइतबार, बुधबार र शुक्रबार पोखराबाट बिहान ९ः१० मा उड्नेछ ।
सुरुवाती चरणमा सातामा तीन उडानको तयारी गरेको कम्पनीले यात्रुको माग र आवश्यकता अनुसार उडान थप गर्दै लैजाने जनाएको छ ।
यसबाट भारतीय पर्यटकलाई समेत पोखरा आकषिर्त गर्न सहज हुनेछ । सरकारले आन्तरिक उडानमा मागेजति उडान खुला गरेसँगै अब एयरलाइन्सहरुले यात्रु आकर्षित गर्न प्याकेजहरु समेत लागू गर्दैछन् ।
बुद्ध एयरका बजार निर्देशक रुपेश जोशी नेपालगन्जमा उडान विस्तारसगैँ केही घण्टाको दुरीमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज तथा कणार्ली चिसापानीतिर पर्यटकको मुभमेन्टमा बृद्धि हुने बताउँछन् ।
नेपालगञ्जका वासिन्दा पनि पर्यटकीय शहर पोखरा तथा वरिपरि रहेका तालतलाउ तथा हिमाल श्रृंखलाको आनन्द लिन सक्छन् ।
९ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा विचक्राफ्ट गरी १४ जहाजबाट बुद्धले दैनिक सय उडान गर्दै आएको छ । बुद्धले हाल भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । काठमाडौं, पोखराबाट माउन्टेन फ्लाईट गरिरहेको छ ।
