लयमा फर्कदै उडान, एक महिनामा ५ लाख बढी हवाई यात्रु

काठमाडौं । सेप्टेम्बर महिनामा अन्तर्राष्ट्रिय उडानतर्फ करिब डेढ लाख यात्रुले हवाई यात्रा गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको तथ्यांक अनुसार सेप्टेम्बर महिनामा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान मार्फत ५ लाख ३० हजार बढी यात्रुले उडान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार एक महिनामा अन्तर्राष्ट्रिय उडान तर्फ १ लाख ४२ हजार ८९५ जना र आन्तरिक उडान तर्फ ३ लाख ८७ हजार ५ सय ७९ यात्रुले सेवा लिएका हुन् । जसमध्ये अन्तर्राष्ट्रिय तर्फ ५४८ वटा उडान तथा ५४५ अवतरण गरी १ हजार ९३ उडान मार्फत १ लाख ४२ हजार ८९५ जनाले यात्रा गरेका हुन । जसमा ६५ हजार १०९ जना नेपाल भित्रिएका छन् भने ७७ हजार ७८५ जना नेपाल छाडेर अन्य देश पुगेका छन् । कोरोना महामारीका कारण लामो समयसम्म बन्द भएको एयरलाइन्स तथा मुलुकमा जारी निषेधाज्ञाका कारण विगतको तुलनामा कम संख्या यात्रुले यात्रा गरेका हुन् । यात्रु बोक्ने पहिलो बन्यो कतार एयरलाइन्स विमानस्थल कार्यालयको तथ्यांक अनुसार सेप्टेम्बर महिनामा सबैभन्दा बढी कतार एयरलाइन्सले यात्रु ओसारपसार गरेको छ । कतार एयरलाइन्सले एक महिनामा यात्रा गर्ने कुल यात्रुमध्ये २३.८ प्रतिशत अर्थात् ३४ हजार ४३ जना यात्रुलाई सेवा दिएको छ भने दोस्रो नम्बरमा रहेको हिमालयन एयरलाइन्सले १८.८ प्रतिशत अर्थात् २६ हजार ८१० जना यात्रुलाई सेवा दिएको छ । तेस्रो नम्बरमा रहेको नेपाल एयरलाइन्सले १८ प्रतिशत अर्थात् २५ हजार ७८८ जना र एयर अरेबियाले ८.९ प्रतिशत अर्थात् १२ हजार ६९३ जना यात्रु ओसारपसार गरेको छ । आन्तरिक तर्फ ३ लाख ८७ हजार अन्तर्राष्ट्रिय उडानको तुलनामा आन्तरिक उडान झन्डै दोब्बर भएको छ । कार्यालयको तथ्यांक अनुसार एक महिनाको अबधिमा ३ लाख ८७ हजार ५ सय ७९ यात्रुले सेवा लिएका छन् । जसमध्येमा काठमाडौंबाट बाहिरिने १ लाख ९४ हजार ९ सय ५२ यात्रु रहेकोमा भित्रिनेको संख्या १ लाख ९२ हजार ६ सय २२ रहेका छन् । आन्तरिक तर्फ एकछत्र सेवा दिदैं आएको बुद्ध एयरले मात्रै २ लाख २० हजार ८ सय ९६ यात्रुलाई सेवा दिएको छ । दोस्रोमा यति एयरलाइन्सले ८४ हजार २ सय ७५, तेस्रोमा श्री एयरलाइन्सले ५९ हजार ९ सय ९ यात्रुलाई सेवा दिएको छ । यस्तैगरी, गुण एयरलाइन्सले १ हजार २ सय १३, तारा एयरलाइन्सले १ हजार ५ सय १६ यात्रुलाई सेवा दिएको छ ।

बिहीबार ५ बजेसम्म विराटनगर विमानस्थल बन्द

काठमाडौं । लगातारको वर्षापछि आएको बाढीका कारण डुबानमा परेको विराटनगर विमानस्थल बिहीबार साँझ ५ बजेसम्म बन्द गरिएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणले बुधबार नोटामा जारी गर्दै बिहीबार बेलुका ५ बजेसम्म विमानस्थल बन्द हुने जनाएको हो । अत्याधिक वर्षका कारण बुधबार बिहानैदेखि विमानस्थल जलमग्न भएपछि सम्पूर्ण उडान प्रभावित भएको छ । विराटनगर विमानस्थल बन्द भएपछि आन्तरिक उडान गर्दै आएका वायुसेवा कम्पनीहरुले विकल्पका रुपमा भद्रपुरमा उडान थप गरेका छन् । निजी क्षेत्रका वायुसेवा कम्पनी बुद्ध र यतीले सूचना नै जारी गरी भद्रपुर विमानस्थलमा उडान थप गरिएको जनाएका छन् । जसमा बुद्ध एयरले भद्रपुरमा दैनिक ५ उडान गर्दै आएकोमा अब ७ उडान र यति एयरलाइन्सले  थप २ उडान गरिएको जनाएको छ।

वर्षाका कारण काठमाडौँ–विराटनगर हवाई उडान अवरुद्ध

काठमाडौं । लगातारको वर्षापछि आएको बाढीका कारण विराटनगर विमानस्थल डुबानमा परेको छ । विमानस्थल जलमग्न भएपछि सम्पूर्ण उडान प्रभावित भएको छ । काठमाडौँ–विराटनगर हवाई उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थल अवरुद्ध भएपछि बुद्ध एयर र यती एअरलाइन्सले काठमाडौँ–विराटनगरका सबै उडान रद्द गरेका छन् । उडान रद्द हुँदा सयौँ यात्रु समस्यामा परेका छन् । आन्तरिक उडानका दुवै ठूला एयरलाइन्सले सूचना निकालेर काठमाडौँदेखि विराटनगर गन्तव्यका सबै उडान रद्द गरिएको जानकारी गराएका हुन् । यो गन्तव्यमा बुद्ध एयरको दैनिक ११ देखि १३ उडान हुन्थ्यो । विराटनगरको विकल्पमा भद्रपुरमा उडान थप्ने क्रममा रहेको सो एयरलाइन्सले जनाएको छ । भद्रपुर विमानस्थबाट यात्रुले आवतजावत गर्नसक्नेछन् । बुद्धले भद्रपुरमा दैनिक पाँच उडान गर्दै आएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको सहयोगमा अब यात्रुको माग अनुसार केही उडान थप्न लागिएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए । स्थानीय केसलीया खोलामा आएको बाढी विमानस्थलमा पसेकाले धावनमार्ग, पार्किङ एरिया लगायतका स्थान डुबानमा परेका छन् । हाल भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापिय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा विगत चार दिनदेखि बदली र वर्षा भइरहेको छ । हाल देशको प्रदेश नं १ प्रदेश नं २ र बागमती प्रदेशमा पूर्ण बदली र बाँकी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ का थोरै र प्रदेश नं २, बागमती र गण्डकी प्रदेशमा एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज काठमाडौँको अधिकतम २१ दशमलव आठ र न्यूनतम तापक्रम १८ दशमलव सात डिग्री सेल्सियस छ ।