वायुसेवा निगममा बेथितिः कर्मचारी सय दिनदेखि आन्दोलनमा, जहाज जति एयरपोर्टमा घाम ताप्दै

काठमाडौं । नेपालीका ठूला चाडपर्व दशैं, तिहार तथा छठ नजिकिन थालेसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीहरुलाई भ्याइनभ्याई हुन थालेको छ । दशैं आउन २०/२५ दिन बाँकी हुँदादेखि नै आन्तरिक उडान गर्ने वायुसेवा कम्पनीहरुले दशैंका लागि सबै टिकट बुकिङ भइसकेको जनाएका छन् । दशैं अगाडी नै निजी कम्पनीले सबै टिकट सकियो भन्ने दाबी गरिरहँदा सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमका जहाज भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा घाम ताप्दै थन्किएर बसेका छन् । आन्तरिक उडानका लागि निगमसँग रहेका ३ वटा ट्वीनअटर विमानमध्ये अहिले एउटा जहाजले मात्र उडान गर्ने गरेको छ । बाँकी २ वटा जहाजमध्ये एउटा जहाज सन् २०१४ देखि नै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा थन्किएर बसेको छ । अर्काे एउटा जहाज पनि विगत १० देखि विग्रिएर बसेको निगम स्रोतले जानकारी दियो । निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले विभिन्न गन्तव्यमा दैनिक १ सयभन्दा बढी उडान तथा अवतरण गर्दै आएको छ । निजी क्षेत्रका वायुसेवा कम्पनीमध्ये बुद्धले धेरै उडान गर्दै आएको छ भने सरकारी ध्वजाबाहक कम्पनी आन्तरिक उडानको लागि आकाशमा जहाजविहिन जस्तै अवस्थामा पुगेको छ । नेपाल वायुसेवा निगम सञ्चालक समितिलेको २०७७ साउन १५ गते बसेको बैठकले आन्तरिक उडानमा प्रयोग भएका ६ वटा चिनियाँ जहाज ग्राउन्डेड गर्ने निर्णय गरेसँगै सो विमान समेत विमानस्थलमा ग्राउन्डेड छन् । निगमसँग सुगम तथा दुर्गम क्षेत्रमा उडान भर्न ९ वटा जहाज ग्राउन्डेड हुँदा १ वटा जहाजमा सिमित भएको हो । निगमका जहाज पुराना भएका कारण ट्विनअटर विमान उडानभन्दा धेरै ग्राउन्डेड हुने गरेका छन् । अन्तर्राष्ट्रिय उडानमा न्यून उपस्थिति निगमले आन्तरिकसँगै अन्तर्राष्ट्रिय उडानमा समेत ध्यान दिएको छैन । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई सय ७४ सिट क्षमताको दुई थान ‘ए३३०-२००’ वाइडबडी र एक सय ५८ सिट क्षमताको दुई थान ‘ए३२०-२००’ न्यारो बडी गरी ४ जहाज सञ्चालनमा छन् । निगम व्यवस्थापनको वेवास्ताका कारण यसअघि न्यारोबडी जहाजको गन्तव्यमा बाइडबडी जहाजले उडान गर्दै आएको छ । लामो दुरीका लागि भन्दै ल्याइएको वाइडबडी जहाजले गन्तव्य विस्तार नहुँदा क्षमताअनुसार उडान गर्न नपाएर छोटो दुरीको उडान गरिरहेको हो । कोभिडपछि कतारको दोहामा दैनिक उडान गर्दै आएको निगमले दशैं नजिकिएसँगै उडान संख्या कटौति गरेको छ । रोजगारीका लागि खाडी मुलुक पुगेका नेपाली दशैं, तिहार, छठ जस्ता ठूला चाडपर्व मान्न नेपाल फर्किने समयमा नै निगमले उडान घटाएको हो । निगमको यस्तो कार्यले अन्य विमान सेवा कम्पनीहरुलाई व्यवसाय विस्तारमा सहयोग पुगेको छ । निगमसँगै प्रतिस्पर्धा गर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको संख्या बढेको भन्दै उडान संख्या बढाएर सातामा १० उडान गर्ने गरेको छ । जबकि सोही गन्तव्यमा उडान गर्दै आएको निगम भने यात्रु नपाइएको भन्दै उडान संख्या कटाएर सातामा ३ मा सिमित गरिरहेको छ । अन्य कम्पनीको व्यवसायमा सहयोग पुर्याउनको लागि उच्च व्यवस्थापनले सो क्षेत्रको उडान कटौति गरेको आरोप लाग्ने गरेपनि स्वतन्त्र र प्रभावकारी छानविन हुन नसक्दा यस्तो विषयको सत्य तथ्य पत्ता लाग्न सकेको छैन । १०० दिनदेखि कर्मचारी आन्दोलनमा नेपाल एयरलाइन्सका कर्मचारीहरु विभिन्न माग राखी १०० दिनदेखि आन्दोलनमा छन् । कर्मचारीले विशेष गरेर निगम निजीकरण गर्न लागिएको भन्दै सोको विरोधमा आन्दोलन गरिरहेका हुन् । अहिले निगमका कर्मचारीहरु आन्दोलनमा छन् भने आन्तरिक उडानतर्फका ९ मध्ये ८ वटा जहाज एयरपोर्टमा घाम तापेर बसेका छन् । हाकिम थुनेर खाए तलब सय दिनभन्दा अघिदेखि आन्दोलित कर्मचारीले तलब भने पाइसकेका छन् । आन्दोलनमा खटिएको समयमा तलब रोकिएको भन्दै कर्मचारीले निगमका विभागीय प्रमुखहरुलाई उनीहरुकै कार्यकक्षमा थुनेपछि गत सोमबार नै तलब खाएका हुन् ।

नेपाली महिलाद्वारा पहिलो पटक धवलागिरि हिमाल आरोहण

काठमाडौं । संसारको सातौँ, आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल पहिलोपटक नेपाली महिलाले सफल आरोहण गरेका छन् । धवलागिरि गाउँपालिका–४ मा पर्ने उक्त हिमालमा पूर्णिमा श्रेष्ठले सफल आरोहण गरेकी हुन । काठमाडौँको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत श्रेष्ठ यही असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर धवलागिरि हिमाल आरोहणमा गएकी थिईन । सेभेन समिट ट्रेकिङका सञ्चालक मिङ्मा शेर्पाले पूर्णिमासहित आफ्नो कम्पनीका २० जनाले आज बिहान ५ः०० बजे धवलागिरिको सफल आरोहण गरेका जानकारी दिए। “धवलागिरि हिमालमा नेपाली महिलाले पहिलोपटक आरोहण गरेका हुन्”, उनले भने, “धवलागिरिमा यसअघि नेपाली महिलाले सफल आरोहण गरेको रेकर्ड छैन ।” श्रेष्ठसँगै गएकी माया शेर्पालगायतले आरोहण गरे÷नगरेको पुष्टि हुन बाँकी रहेको छ । पत्रकारसमेत रहेकी गोरखा आरुघाटकी पूर्णिमाको टोलीले यसअघि गत वैशाख ३ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित आठ हजार ८१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाइसकेको छिन । पूर्णिमाको टोली अन्नपूर्ण हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला हुन् । शेर्पा (पथप्रर्दशक) पेम्बा शेर्पाको सहयोगमा पूर्णिमाले धवलागिरि आरोहण गरेकी हुन।उनले यसअघि सन् २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा आमाडब्लम हिमालको आरोहण गरिसकेको छिन । पूर्णिमाले आधार शिविर जानुअघि बेनीमा कोरोनाको दोस्रो लहर फैलिएपछि रोकिएका गत याममा गर्ने भनेको धवलागिरि आरोहण गर्ने लक्ष्य यसपालि पूरा गर्न लागेको बताएकि थिइन ।

७७ जनाको ज्यान जोगाउने पाइलट शेर्पासहित चालक दल ग्राउन्डेड, बुद्धले प्लेन उडाउन किन दिएन ?

काठमाडौं । प्राविधिक समस्या देखिएको जहाजमा रहेका ७७ जना यात्रुलाई सुरक्षित रुपमा काठमाडौं विमानस्थलमा अवतरण गराएको भनेर सामाजिक सञ्जालमा प्रशंसा कमाइरहेका पाइटल एजी शेर्पालाई बुद्ध एयरले उडानमा रोक लगाएको छ । सोमबार भएको सो घटनाका कारण उनीहरुको मनोवलमा कमि आउन सक्ने भन्दै कम्पनीले साे उडानका चालक दलका सबै सदस्यलाई केही समय उडानमा रोक लगाएको हो । चालक दलका सबै सदस्यलाई उडानमा रोक लगाएको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि मंगलबारबाटै उडाउन सुरु गरेको छ । जहाजमा समस्या नआएको जनाउँदै पुनः सुचारु गरे तापनि चालक दलका सदस्यलाई ग्राउन्डेड (उडानमा रोक) लगाएको भन्दै विरोध समेत भएको छ । बुद्धले प्रारम्भिक अनुमान अनुसार ल्यान्डिङ गियर खुलेको तर ककपिटमा रहने दुई इन्डिकेटरमध्ये एउटाले खुलेको, अर्कोले नखुलेको देखाएका कारण चालक दलले विराटनगरमा अवतरण नगरेको पाइएको जनाएको छ । बुद्धले गत सोमबार नै जहाजमा ल्यान्डिङ गियरका लागि रहेका दुइटा इन्डिकेटर मध्येमा प्राइमरी इन्डिकेटरमा ग्रिन संकेत नदेखिदा पाइलटले अवतरण नगरी काठमाडौं फर्काएको जनाएको थियो । ‘ककपिटमा रहेको (अगाडी) प्राइमेरी र पाइलटको टाउको माथि रहेको सेकेन्डरी इन्डिकेर दुबैमा ल्याण्डीङको समयमा ग्रिन सिंग्नल बल्छ । हामीले सोही सिंग्नका आधारमा ल्याण्डिङ गर्ने हो । सोमबार बुद्धको जहाजमा देखिएको प्राविधिक समस्या यसअघि कुनै पनि जहाजमा देखिएको सुनेको छैन’, एटीआर ७२ का एक पाइटलले भने । उनका अनुसार सोेमबारकोे उडानमा क्याप्टेनले संयमता अपनाउँदा ठूलो दुर्घटना हुनबाट बुद्ध एयर जोगिएको हो । ‘जहाजको म्यानुअलमा दुई इन्डिकेटरमध्ये एउटाले डाउन देखाउँदा ल्याण्ड गर्न मिल्छ, तर बुद्धका प्रशिक्षक पाइटल समेत रहनुभएका शेर्पाले म्यानुअल अनुसार ल्याण्ड गर्नुभएन । प्राङग्रा नर्झदा ल्याण्ड गरेको भए ठूलो दुर्घटना हुन सक्थ्यो, तर उहाँले सबैलाई सुरक्षित रुपमा काठमाडौंमा अवतरण गर्न सफल हुनुभयो’, ती पाइलटले भने । सोमबारको उडानका कमान्डर शेर्पा एटीआर–७२ का प्रशिक्षक पाइलट तथा प्राधिकरणमा पाइलटलाई जाँच लिने डीसीपी (डेजिग्नेटेड चेक पाइलट) हुन । बुद्धको सो घटनाका सम्बन्धमा अध्ययन गर्न नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) र कम्पनीले छानविन समिति गठन गरेको छ । क्यानका निमित्त महानिर्देशक राजकुमार क्षेत्री छानविनका क्रममा तथ्य–प्रमाण सबै जुटाउनु पर्ने भएकाले क्याप्टेन शेर्पालाई केही समयका लागि उडानमा रोक लगाइएको बताउँछन् । क्यानको उडान सेप्टीको नियम अनुसार पाइलट शेर्पासँगै उडान दलका सबै सदस्यलाई केही समय उडानमा रोक लगाइएको छ । यस्तै पर्यटन मन्त्री समेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवाले बुद्धको जहाजमा देखिएको प्राविधिक समस्यामा चासो देखाएका छन् । उनकाे चासोपछि मन्त्रालयले बुद्धको जहाजमा मात्रै नभएर सबै जडाजमा सो समस्या पुनः देखिन सक्ने भन्दै सबै जहाजको प्राविधिक अध्ययन गर्न ५ सदस्यीय अध्ययन समिति गठन गरेकाे छ । समस्या नभएपछि जहाज उडाईयो: बुद्ध प्राविधिकले जहाजको अवस्थाको बारेमा चाजँबुझ गर्दा कुनै पनि प्राविधिक समस्या नदेखिएपछि उडान सुचारु गरिएको बुद्ध एयरले जनाएको छ । ‘हाम्रा प्राविधिकले र क्यानका प्राविधिकले जहाजमा कुनै पनि समस्या नरहेका जनाएपछि पुनः उडान सुचारु गरिएको हो, बाँकी कुरा अध्ययन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक भएपछि थाहा भैहाल्छ’, बुद्धका एक कर्मचारीले भने, ‘क्यानको निर्देशन अनुसार केही समय रिफरेस्सका लागि चालक दलका सदस्यलाई बिदामा राखिएको हो ।’