काठमाडौं । लगातारको वर्षापछि आएको बाढीका कारण डुबानमा परेको विराटनगर विमानस्थल बिहीबार साँझ ५ बजेसम्म बन्द गरिएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणले बुधबार नोटामा जारी गर्दै बिहीबार बेलुका ५ बजेसम्म विमानस्थल बन्द हुने जनाएको हो ।
अत्याधिक वर्षका कारण बुधबार बिहानैदेखि विमानस्थल जलमग्न भएपछि सम्पूर्ण उडान प्रभावित भएको छ । विराटनगर विमानस्थल बन्द भएपछि आन्तरिक उडान गर्दै आएका वायुसेवा कम्पनीहरुले विकल्पका रुपमा भद्रपुरमा उडान थप गरेका छन् ।
निजी क्षेत्रका वायुसेवा कम्पनी बुद्ध र यतीले सूचना नै जारी गरी भद्रपुर विमानस्थलमा उडान थप गरिएको जनाएका छन् । जसमा बुद्ध एयरले भद्रपुरमा दैनिक ५ उडान गर्दै आएकोमा अब ७ उडान र यति एयरलाइन्सले थप २ उडान गरिएको जनाएको छ।