काठमाडौं । सेप्टेम्बर महिनामा अन्तर्राष्ट्रिय उडानतर्फ करिब डेढ लाख यात्रुले हवाई यात्रा गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको तथ्यांक अनुसार सेप्टेम्बर महिनामा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान मार्फत ५ लाख ३० हजार बढी यात्रुले उडान गरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार एक महिनामा अन्तर्राष्ट्रिय उडान तर्फ १ लाख ४२ हजार ८९५ जना र आन्तरिक उडान तर्फ ३ लाख ८७ हजार ५ सय ७९ यात्रुले सेवा लिएका हुन् ।
जसमध्ये अन्तर्राष्ट्रिय तर्फ ५४८ वटा उडान तथा ५४५ अवतरण गरी १ हजार ९३ उडान मार्फत १ लाख ४२ हजार ८९५ जनाले यात्रा गरेका हुन ।
जसमा ६५ हजार १०९ जना नेपाल भित्रिएका छन् भने ७७ हजार ७८५ जना नेपाल छाडेर अन्य देश पुगेका छन् । कोरोना महामारीका कारण लामो समयसम्म बन्द भएको एयरलाइन्स तथा मुलुकमा जारी निषेधाज्ञाका कारण विगतको तुलनामा कम संख्या यात्रुले यात्रा गरेका हुन् ।
यात्रु बोक्ने पहिलो बन्यो कतार एयरलाइन्स
विमानस्थल कार्यालयको तथ्यांक अनुसार सेप्टेम्बर महिनामा सबैभन्दा बढी कतार एयरलाइन्सले यात्रु ओसारपसार गरेको छ । कतार एयरलाइन्सले एक महिनामा यात्रा गर्ने कुल यात्रुमध्ये २३.८ प्रतिशत अर्थात् ३४ हजार ४३ जना यात्रुलाई सेवा दिएको छ भने दोस्रो नम्बरमा रहेको हिमालयन एयरलाइन्सले १८.८ प्रतिशत अर्थात् २६ हजार ८१० जना यात्रुलाई सेवा दिएको छ ।
तेस्रो नम्बरमा रहेको नेपाल एयरलाइन्सले १८ प्रतिशत अर्थात् २५ हजार ७८८ जना र एयर अरेबियाले ८.९ प्रतिशत अर्थात् १२ हजार ६९३ जना यात्रु ओसारपसार गरेको छ ।
आन्तरिक तर्फ ३ लाख ८७ हजार
अन्तर्राष्ट्रिय उडानको तुलनामा आन्तरिक उडान झन्डै दोब्बर भएको छ । कार्यालयको तथ्यांक अनुसार एक महिनाको अबधिमा ३ लाख ८७ हजार ५ सय ७९ यात्रुले सेवा लिएका छन् ।
जसमध्येमा काठमाडौंबाट बाहिरिने १ लाख ९४ हजार ९ सय ५२ यात्रु रहेकोमा भित्रिनेको संख्या १ लाख ९२ हजार ६ सय २२ रहेका छन् । आन्तरिक तर्फ एकछत्र सेवा दिदैं आएको बुद्ध एयरले मात्रै २ लाख २० हजार ८ सय ९६ यात्रुलाई सेवा दिएको छ ।
दोस्रोमा यति एयरलाइन्सले ८४ हजार २ सय ७५, तेस्रोमा श्री एयरलाइन्सले ५९ हजार ९ सय ९ यात्रुलाई सेवा दिएको छ । यस्तैगरी, गुण एयरलाइन्सले १ हजार २ सय १३, तारा एयरलाइन्सले १ हजार ५ सय १६ यात्रुलाई सेवा दिएको छ ।