किन पर्यटकको रोजाइमा पर्छ डोल्पा ?
जाजरकोट । नेपालकै सबैभन्दा गहिरो ताल हो शे फोक्सुण्डो । वरिपरि पहाडले घेरिएको बीचमा रहेको वाई आकारको यो ताल समुन्द्री सतहबाट तीन हजार ६११ मिटर उचाइमा अवस्थित छ । तालको लम्बाइ ४.८ किलोमिटर र चौडाइ १.६ किलोमिटर छ । नेपालको गहिरो यो तालको गहिराइ ६५० मिटर छ । कान्जिरोवा हिमालको काखमा सजिएर बसेको यो तालले बेलाबेलामा रङ बदल्छ भनिन्छ । हिमालको काखमा रहेको यो ताल सफा र कञ्चन हिमाल पग्लिएर बनेको छ । शे–फोक्सुण्डो नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज पनि हो । यो डोल्पा र मुगु जिल्लामा फैलिएको छ । नेपालको पश्चिमी दुर्गम हिमालपार क्षेत्रमा रहेको यस निकुञ्जमा तिब्बती वातावरणमा पाइने प्राकृतिक सम्पदा पाइन्छ । यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारि क्षेत्रको तिब्बती भूमिसम्मको भू–धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउरलगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन् । यस निकुञ्जलाई डाँफे, मोनाल, चिरलगायत २०० प्रजातिका पक्षी, ६ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाएको छ । यहाँ पाइने हिउँ चितुवाको आहार–विहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त बासस्थान प्रमाणित भएको छ । काञ्जिरोवा दक्षिण (६,८६६ मि), सिकाल्पो खाङ (६,५५६ मि.), वेज चुचुरो (७,१३९ मिटर) जस्ता हिमशिखरहरू र कतिपय हिमनदीहरूले यस निकुञ्जलाई अनुपम प्राकृतिक सुन्दरता प्रदान गरेका छन् । निकुञ्जको लगभग मध्य भागमा रहेको नेपालको सबैभन्दा गहिरो शे फोक्सुण्डो ताललाई सन् २००७ मा रामसारमा सूचीकृत गरिएको छ । ११औँ शताब्दीमा निर्मित शे गुम्बा पनि यहीँ छ । गुम्बामा तिब्बती बौद्ध धर्मको शिक्षा दिइन्छ । यो राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा राख्न सिफारिस गरिएको छ । निकुञ्जको आम्दानी नगण्य भएकाले मध्यवर्ती क्षेत्रका बासिन्दाको चाहना अनुसारका एकीकृत संरक्षण र सामुदायिक विकासका कार्यक्रमहरू सञ्चालन गर्न सकिएको छैन । डोल्पा सडक सञ्जालसँग जोडिएपछि अहिले यो ताल आन्तरिक पर्यटकको प्रमुख रोजाइमा पर्न थालेको छ । सडक सञ्जालले छोए पनि यहाँसम्म पुग्न भरपर्दो विकल्प भनेको हवाईजहाज नै हो । तालको मनोरम दृश्यले जसलाई पनि मोहित बनाउँछ । पछिल्लो समय फोक्सुण्डो ताल आकर्षणको केन्द्र बन्ने गरेको छ । सडकमार्ग हुँदै यहाँ पुगेमा यात्रा निकै रमाइलो छ । त्यस्तै हवाई मार्गमार्फत गएमा झनै मन लोभ्याउने दृश्य देख्न सकिने पर्यटकहरु बताउँछन् । बास बस्नका लागि ठाउँठाउँमा होटेलहरु निर्माण गर्ने क्रम जारी छ । बाटोमा जतिसुकै दुःख पाए पनि तालसम्म पुग्दा पर्यटकलाई लोभ्याउने प्राकृतिक क्षमता छ । डोल्पा मात्र होइन, छिमेकी जिल्लाको समृद्धिको ठूलो आधार ताल बन्न सक्छ । ताल शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र छ । राज्यको लगानी न्यून कर्णालीमा रहेका पर्यटकीय क्षेत्रहरुको विकास, समृद्धि र संसारलाई आकर्षित गर्नसक्ने क्षमता भए पनि राज्यले ध्यान नदिँदा यहाँको हीरा पनि किराका रुपमा परिणत हुनु परेको कर्णालीवासीको गुनासो छ । राज्यको लगानी तथा भरपर्दो रुट निर्माणमा ध्यान नदिँदा माल पाएर चाल नपाएझैँ भएको टानका कार्यसमिति सदस्य जितेन्द्र झाँक्री बताउँछन् । निजी क्षेत्रबाट स्थानीयवासीले दुःख गरी निर्माण गरिएका होटेल, घरबास मात्र फोक्सुण्डोमा रहेको छ । याम छोपेर मात्र यहाँका गतिविधिहरु चल्ने भएकाले स्थानीयवासीलाई समेत दुःख भएको झाँक्रीले बताए । छिञ्चु जाजरकोट हुँदै डोल्पासम्म जाने सडकको ट्र्याक खोलेसँगै फोक्सुण्डो ताल आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइमा पर्न थालेको छ । अहिले जाजरकोट खण्डमा पुल निर्माणको काम करिब ८० प्रतिशत सकिएको छ भने डोल्पा खण्डमा निर्माण जारी छ । जाजरकोट सदरमुकामदेखि १७ किलोमिटरमा रहेको ठूलीभेरी र सानीभेरीका सङ्गमस्थल रिम्नासम्म पिचको काम जारी रहेको छ । त्योभन्दा माथि जाजरकोटको अन्तिम विन्दु तल्लु बगरसम्म पिचका लागि केही दिनमै बोलपत्र आह्वान गर्न लागिएको सडक डिभिजन चौरजहारीका प्रमुख ध्रुव झाले बताए । जाजरकोटदेखि दुनै सडक ११७ किलोमिटरमा १४ वटा पुल निर्माण गर्ने काम जारी छ । शे–फोक्सुण्डो मात्र नभएर उपल्लो डोल्पामा आन्तरिक पर्यटक बढाउनका लागि भौतिक संरचना निर्माणमा भारी जोड दिनु जरुरी छ । संसारमै लोपोन्मुख हिउँ चितुवासमेत यही निकुञ्ज क्षेत्रमा पाइन्छ । अहिले सो ठाउँमा रहेका चारवटा हिउँ चितुवालाई रेडियो कलार जडान गरी अध्ययन थालिएको निकुञ्जले जनाएको छ । प्राकृतिक सुन्दरतामा मात्र नभएर सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक दृष्टिले पनि निकै धनी छ डोल्पा । डोल्पाको सुन्दर पक्षले जति ख्याति पाएको छ, त्यसअनुसार पर्यटक जान नसक्दा नीति निर्माण तहमा बस्नेलाई सधैँ यस क्षेत्रका जनसाधारणले आक्रोश पोख्दै आएका छन् । सुर्खेतको छिञ्चुदेखि जाजरकोट हुँदै तल्लोबगरसम्म, तल्लोबगरदेखि खदाडसम्म, खदाडदेखि त्रिपुराकोटको कान्तिबजारसम्म र कान्तिबजार हुँदै डोल्पाको सदरमुकाम दुनै सडक मार्गबाट पुग्न सकिन्छ । हवाई जहाजबाट जाने हो भने अहिले काठमाडौंदेखि डोल्पाको जुफाल एयरपोर्टसम्म यात्रुको चापअनुसार नेपाजगञ्जदेखि जुफालसम्म हवाई सेवा नियमित छ । जुफालदेखि डोल्पाको सदरमुकासम्म जिपमा एक घण्टा लाग्छ । त्यसपछि फोक्सुण्डो जान पैदल यात्रा तय गर्नुपर्ने हुन्छ । दुनैदेखि तीन दिनको पैदल यात्रापछि फोक्सुण्डो तालको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । धार्मिक महत्व उत्तिकै डोल्पा जाने मुख्यद्वारमा बाला त्रिपुरासुन्दरी देवीको उत्पत्तिस्थल, सतीदेवीको एक अङ्ग पतन भएको ठाउँ र दश महाविद्यासमेत उत्पत्ति भएकाले मन्दिरको विशिष्टता छ । बाला त्रिपुरासुन्दरी मन्दिरस्थललाई ‘त्रिपुराकोट’ पनि भनिन्छ । यो पुरानो तिब्रिकोट जिल्लाको सदरमुकाम क्षेत्र हो । यहाँको सुरम्य डाँडको मन्दिर परिसरमा चारैतर्फ सत्तल एवं पार्टी–पौवाहरूले घेरिएको बीचमा भगवतीको मन्दिर छ । मन्दिरको दक्षिणतर्फ रहेको एक प्राकृतिक शिलालाई ‘त्रिपुरादेवी’ भनिँदै आएको छ । यो एउटा भगवतीको भावनात्मक ‘शक्तिपीठ’ हो । त्रिपुरासुन्दरी धार्मिक पर्यटन क्षेत्र कर्णाली प्रदेशको सबैभन्दा ठूलो त्रिपुरासुन्दरी नगरपालिकामा पर्दछ । इसं १११४ मा स्थापना भएको विश्वास गरिने यो मन्दिर भौगोलिक रुपमा पनि पृथक छ । यसको चारैतिर होचो भू–भाग र दायाँबायाँ, तलमाथि विशाल नदीले घेरेको ठाउँ छ । यहाँ बीचैमा उठेको थुम्को र त्यसैको थाप्लोमा अडिएको विशाल संरचना छ । करिब सात हजार फिटको उचाइमा यो तीर्थस्थल रहेको छ । मन्दिर नेपालका परम्परागत मन्दिरभन्दा फरक शैली र आकारको छ । इसं १११४ मा स्थापना भएको विश्वास गरिने यो मन्दिर भौगोलिक रुपमा पनि पृथक छ । यस मन्दिरको पश्चिममा ताम्रावणी नदी, उत्तरमा मुकुटेश्वर हिमाल, दक्षिणमा भैरवी गङ्गा लगायतका प्रसिद्ध तीर्थस्थल रहेका छन् भने बीचको टाकुरामा यस मन्दिर अवस्थित छ । उत्तरतर्फबाट आउने ताम्रवर्णी, पूर्वबाट आउने सुन्दरी खोला र दक्षिणतर्फबाट झर्ने भैरवी खोलाको सङ्गमस्थल दोभान) भन्दा अलिकति माथि डाँडाको टुप्पामा बालात्रिपुरासुन्दरी देवीको मन्दिर रहेको छ । यहाँ उत्तर र पूर्वबाट आउने खोलालाई ‘छलगाड’ भन्दछन् । यसै सङ्गमस्थलबाट भेरी नदीको सुरुआत हुन्छ । धार्मिक मान्यताअनुसार बाला त्रिपुरासुन्दरीबाट उडेर पुतलीरुपी देवीहरु बाँकेको बागेश्वरी, जुम्लाको कनिका सुन्दरी, सल्यानको खैरबाँङ, बैतडीको रणसैनी त्रिपुरेश्वरी, बाजुराको बडीमालिका लगायतका ठाउँमा गई त्यहाँ यिनै नामले प्रसिद्ध छन् । बाँकी चार बहिनी देवी, बाला, त्रिपुरा, सुन्दरी डोल्पाको त्रिपुरासुन्दरीमा रहेको धार्मिक विश्वास छ । विराजमान चार देवी महाकाली, महालक्ष्मी, महासरस्वतीका नामले प्रसिद्ध छन् । परापूर्वकालदेखि नै यस मन्दिरमा न्यौपाने थरका पुजारीले पूजाआजा गर्दै आएका छन् । यो मन्दिर नेपालमा रहेका त्रिपुरासुन्दरी देवीका मन्दिरमध्ये प्रमुख शक्तिपीठ हो । ‘त्रिपुरा सुन्दरी देवीको उत्पत्तिस्थल, सतीदेवीको अङ्ग पतन भएको ठाउँ र दशमहाविद्या समेत उत्पत्ति भएका कारण मन्दिरको अझ बढी महत्व रहेको इतिहासका जानकार रविप्रसाद न्यौपानेले बताए । स्वस्थानीमा उल्लेख भएअनुसार सतीदेवीको अङ्ग (ढाड) पतन भएको शक्तिपीठका रुपमा यसलाई मानिन्छ । यस क्षेत्रमा वर्षाका देवता मेघले तपस्या गरेकाले चरम खडेरी परेको बेला पूजापाठ गरे पानी पर्ने जनविश्वास छ । सतीदेवीको अङ्ग पतन भएपछि शक्ति स्वरुपाका रुपमा भैरवेश्वर महादेव उत्पत्ति भएको किंवदन्ती रहेको न्यौपानेले बताए । सरकारले देशभरका १०० वटा नयाँ पर्यटकीय गन्तव्यको सूची सार्वजनिक गरेकामा डोल्पाका पनि तीन सम्पदा पर्यटकीय गन्तव्यमा परेका छन् । शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज, त्रिपुरासुन्दरी मन्दिर, रारा–फोक्सुन्डो मार्ग नयाँ गन्तव्यको रुपमा छनोटमा परेका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले प्राकृतिक, पुरातात्विक, ऐतिहासिक तथा धार्मिक महत्वका आधारमा नयाँ पर्यटकीय गन्तव्यभित्र डोल्पाका तीनवटा सम्पदा परेका थिए । नेपालकै ठूलो निकुञ्जको रुपमा रहेको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज, देशकै गहिरो फोक्सुन्डो ताल, सुलिगाड झरना, सयौँ वर्ष पुराना बुद्धमूर्तिहरु रहेको शे–गुम्बा, विश्वको सबैभन्दा अग्लो मानवबस्ती रहेको धो उपत्यका लगायतका चर्चित प्राकृतिक सम्पदा पनि यसै निकुञ्जभित्र पर्दछन् । अर्को गन्तव्यको रुपमा हिन्दु धर्मालम्बीको आस्थाको केन्द्र त्रिपुरासुन्दरी मन्दिर सूचिकृत भएको थियो । शे–गुम्बा, संसारकै अग्लो मानवबस्ती तिन्जे गाउँ, जगदुल्ला ताल, सुनदह, राजारानी क्षेत्र लगायतका दर्जनौँ चर्चित पर्यटकीय सम्पदाका साथै ५ हजार मिटर भन्दा अग्ला दर्जनौँ हिमाल पनि डोल्पामा पर्दछन् । डोल्पामा सबैभन्दा धेरै फोक्सुण्डोबाट शे गुम्बा हुँदै धो तराप उपत्यका भएर पदयात्रा गर्नेको सङ्ख्या बढी छ । रासस
नागरिक उडड्यन प्राधिकरणको महानिर्देशकमा क्षेत्री नियुक्त
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा राजकुमार क्षेत्री नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैंठकले प्राधिकरणको महानिर्देशकको रुपमा क्षेत्रिलाई नियुक्त गरेको हो । प्राधिकरणका तत्कालीन महानिर्देशक राजन पोखरेलले गत असोज ८ गते अनिवार्य अवकाश पाएसँगै क्षेत्री निमित्त महानिर्देशकको रुपमा कार्यरत रहेका थिए । आगामी पुस २५ गते अनिवार्य अवकाश पाउन लागेका क्षेत्रीलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमवहादुर आलेको प्रस्तावमा नियुक्त गरिएको हो । क्षेत्री यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख समेत रहेका थिए । महानिर्देशक भएसँगै क्षेत्रीलाई आफ्ना प्रतिस्पर्धीहरुलाई व्यवस्थापन गर्नेदेखि लामो समयदेखि काम सम्पन्न हुन नसकेका दुई ठुला विमानस्थल सञ्चालनको चुनौती थपिएको छ । यस्तै क्षेत्रीलाई युरोपेली युनियन (ईयु) ले लामो समयदेखि नेपाली आकाशलाई राखेको कालोसूची हटाउनुपर्ने चुनौतीमुख्य रुपमा रहेको छ । प्राधिकरण टुक्राउने विषयमा कर्मचारीहरु रुष्ट बनिरहेको बेला त्यसलाई व्यवस्थापन गरी दुई वटा निकाय बनाउने जिम्मेवारी समेत उनलाई रहेको छ । प्राधिकरणको महानिर्देशको कार्यकाल ४ वर्षको भए पनि प्राधिकरणको १२ औं तहमा बढुवा भएपछि ६ वर्षसम्म पदमा रहन पाउने व्यवस्था छ । सोही व्यवस्था अनुसार क्षेत्रीले आगामी पुस २५ गते १२ औं तहमा पुगेको ६ वर्ष अवधि पूरा भएका कारण स्वतः अवकाश पाउँदैछन् ।
मन्त्रिपरिषद निर्णयः पुनर्बीमा कम्पनीको अध्यक्षमा घिमिरे, वायुसेवा निगममा अधिकारी
काठमाडौं । सरकारले राष्ट्रिय वायुसेवा निगम र नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष नियुक्त गरेको छ । सरकारका प्रवक्ता समेत रहेका संचार तथास सु्चना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले निगम अध्यक्षमा युवराज अधिकारी र नेपाल पुनर्बीमा कम्पनीको संचालक समिति अध्यक्षमा बीमा विज्ञ रविन्द्र घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए । नवनियुक्त कार्यकारी अध्यक्ष अधिकारीले संक्षिप्त कुराकानी गर्दै राष्ट्रिय ध्वजावाहकको मर्यादा र प्रतिष्ठा बढाउने गरी काम गर्ने बताए । उनले भने, ‘निगमको विभिन्न विभागको जिम्मेवारीमा रहेर लामो समय सेवा गरेको व्यक्ति भएकाले आज मेरो नियुक्तिमा निगमका कर्मचारीहरु अत्यन्तै खुशी छन् । म गएपछि निगमभित्रको लामो समयदेखिको कर्मचारीको आन्दोलन पनि रोकिन्छ । भोलि मैले उनीहरुलाई सम्बोधन गर्नेछु ।’ अध्यक्ष अधिकारीले निगमको बृहत्तर हित, संस्थागत सुदृढीकरण तथा कर्मचारीको हक, हित र सेवाको सुरक्षाको सुनिश्चितता हुने गरी आफूले काम गर्ने विश्वास व्यक्त गरे । निगमलाई कम्पनी मोडलमा लगेर निजीकरण गर्न खोजिएको भन्दै निगमभित्रका विभिन्न कर्मचारी ट्रेड युनियनले १०४ दिन लामो आन्दोलन गरेका थिए । निगमका प्रहाप्रबन्धक डिमप्रसाद पौडेलको राजीनामाको माग गर्दै कर्मचारीले निरन्तर आन्दोलन गर्दा निगमका महत्वपूर्ण काम कारबाही प्रभावित भएको थियो । गत असोज २२ गते नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले निगमका कर्मचारी ट्रेड युनियनलाई मन्त्रालयमा बोलाएर छलफल गरी आन्दोलन स्थगित गराएका थिए । निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया अघि बढाइएसँगै निगमका कर्मचारीले गत असार १८ देखि निगम केन्द्रीय कार्यालयमा धर्नालगायत कार्यक्रम गर्दै आएका थिए । निगमका महाप्रबन्धक १०२ दिनदेखि कार्यालय पुग्न सक्नुभएको थिएन । असोज २५ गतेदेखि आन्दोलन स्थगित गरिएको छ । निगमले अनुमति पाएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड हेन्डलिङ सेवाका लागि आवश्यक तयारीको कार्य आन्दोलनले प्रभावित भएको निगमले विज्ञप्ति जारी गरेर जनाएको थियो । त्यस्तै निगममा आइएफआरएस प्रणाली लागू गर्ने सम्बन्धमा गर्नुपर्ने तयारी, अनलाइन टिकट प्रणालीसमेत हुने गरी पिएसएस लागू गर्ने सम्बन्धमा गरी राखिएको तयारीको काम पनि अघि बढ्न सकेको थिएन । ए ३२० को इन्जिन मर्मतका लागि एमआरओ छान्नेसम्बन्धी सम्पूर्ण प्रक्रिया अवरोध भएको छ भने अर्थ मन्त्रालयको निर्देशनबमोजिम गर्नुपर्ने निगमको अद्यावधिक डिडिएसम्बन्धी काम पनि प्रभावित भएको थियो । निगम यवस्थापनले तयार गरी सञ्चालक समितिले स्वीकृत गरेको १० वर्षे व्यावसायिक योजना कार्यान्वयन गरी आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका लागि विमान सङ्ख्या थप गर्न नेपाल सरकारसँग समन्वय गर्नेसम्बन्धी सम्पूर्ण कामलगायत काम कारबाहीहरू प्रभावित हुन पुगेको निगमले जनाएको थियो । निकै कठिन परिस्थितिमा निगमले नेतृत्व पाएसँगै निगमका आगामी काम कारबाही प्रभावकारी ढङ्गले अघि बढ्ने निगमभित्रका कर्मचारीको विश्वास छ । निगमकका एक उच्च अधिकारीले निगमभित्र लामो समयदेखिको अन्योलपूर्ण अवस्थाको अन्त्य भई नीतिगत योजनाका साथ प्रभावकारी काम हुने बताए । यसअघि निगमको अर्थ विभागको निर्देशक पदको जिम्मेवारी सम्हालिसकेका नवनियुक्त कार्यकारी अध्यक्ष अधिकारी उमेर हदका कारण सेवा निवृत्त भएका थिए । निगममा ३४ वर्ष दुई महिना दुई दिन सेवा गरेर अधिकारी गत वर्ष सेवा निवृत्त भएका थिए । लोकसेवामार्फत चौथो तहदेखि सेवा प्रवेश गरेका अधिकारीले निगमभित्रका विभिन्न चारवटा विभागको निर्देशकका रुपमा काम गरिसकेका थिए । रासस