हिमाल आरोहणमा गएका तीन फ्रान्सेली नागरिक बेपत्ता

सोलुखुम्बु । जिल्लाको खुम्बु क्षेत्रमा पर्ने खाङतेका हिमाल आरोहणमा आएका तीन फ्रान्सेली नागरिक बेपत्ता भएका छन् । उनीहरु ६ दिनदेखि बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालका अनुसार बेपत्ता हुनेमा फ्रान्सेली नागरिक थोमस, गाब्रियल र लुइस छन् । उनीहरु आठ जनाको समूहमा होलिडे हिमालय ट्रेक्स एण्ड एक्सपिडीशन प्रालिमार्फत गत असोज १८ खाङतेका हिमाल आरोहणका लागि गएका थिए । तीनै जना यही कात्तिक ९ गतेदेखि सम्पर्कविहीन बनेपछि खोजीकार्य जारी राखेको प्रहरीले जनाएको छ । बेपत्ताको खोजीका लागि सोमबारदेखि कैलाश एयरको हेलिकोप्टर प्रयोग गरिएको छ । एउटै समूहमा गएकामध्ये अन्य पाँच जना भने सम्पर्कमा आएको कम्पनीले जनाएको छ ।

विमानस्थलमा १२ सयमै पीसीआर परीक्षण, शुल्क घटाउन अस्पताललाई निर्देशन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २ हजार रुपैयाँमा हुँदै आएको कोभिड–१९ परीक्षण अब १२ सय रुपैयाँमानै हुने भएको छ । आईतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन विभागले विमानस्थल परिसरमा पीसीआर परीक्षण गर्ने अस्पताललाई शुल्क घटाएर १२ सय रुपैयाँ बनाउन निर्देशन दिएका हुन । हाल विमानस्थल परिसरभित्र पीसीआरका लागि नमूना संकलन गर्दै आएका स्टार अस्पताल, टीजी मेडिसिन डिष्ट्रिब्यूटर्स प्रालि, क्रिस्टल डाईग्नोष्टिक प्रालि, अल्फा हेल्थ केयर एण्ड डाईग्नोष्टिक, क्लिनिकल एण्ड मोलिकुलर जेनेटिक, कोरोना ट्रेडिङ कम्पनी, सिद्धि पोलिक्लिनिक र विध ल्याबले पीसीआर परीक्षण गर्दै आएका छन् । उक्त ८ अस्पतललाई आईतबारदेखि नै शुल्क घटाएर १२ रुपैयाँ लिन पत्र लेखी निर्देशन दिइएको सञ्चालन विभाग प्रमुख सुरेशप्रसाद खनालले जानकारी दिए । उनका अनुसार सो अस्पतालले तोकिएको शुल्कभन्दा बढी शुल्क लिए कारवाही हुनेछ । यसअघि, नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले विमानस्थल सहित अस्पतालको अनुगमन गरेका थिए । अनुगमनका क्रममा वीर अस्पतालमा कोरोना परीक्षण गर्दा १ हजार २० रुपैयाँ मात्र लिने गरेको पाइएको थियो । सरकारी अस्पतालको तुलनमा विमानस्थल परिसरमा चर्काे शुल्क लिएको पाएपछि मन्त्रीको निर्देशनपछि विमानस्थल सञ्चालन विभागले शुल्क घटाउन निर्देशन दिएको हो । चर्काे शुल्क सँगै विमानस्थलमा यात्रुसँग पीसीआर परीक्षणमा समेत सिण्डिकेट लागु गरिएको भन्दै यात्रुले गुनासो गर्ने गरेका छन् ।

त्रिअविको महाप्रबन्धकमा गुरागाईँ

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा भोलाप्रसाद गुरागाईँले जिम्मेवारी पाएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले एभिएशन सेफ्टी एण्ड सेक्युरिटी विभाग प्रमुख रहेका गुरागाईँलाई विमानस्थल प्रमुखको जिम्मेवारी दिएको हो । प्राधिकरणले विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीलाई सरुवा गरी कर्मचारी प्रशिक्षण प्रतिष्ठान प्रमुखको जिम्मेवारी दिएको छ । हाल प्रतिष्ठान प्रमुख रहेका देवचन्द्रलाल कर्णलाई प्राधिकरणमा ल्याइएको छ । जिम्मेवारी हेरफेर आजैबाट लागू हुने प्राधिकरणले जनाएको छ । एक साताअघि प्राधिकरणको महानिर्देशक बनेका राजकुमार क्षेत्रीले विभिन्न विभागमा जिम्मेवारी हेरफेर गरेका छन् । यसअघि प्राधिकरणका निर्वतमान महानिर्देशक राजन पोखरेलले प्राधिकरणबाट बाहिरिने क्रममा कर्मचारीको सरुवा गरेका थिए । मन्त्रिपरिषद्को यही कात्तिक ९ गते भएको बैठकले क्षेत्रीलाई महानिर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।