काठमाडौं । हालै अर्थात् (जेठ १५ गते) तारा एयरको नाइन एनएईटी ट्विनअटर विमान दुर्घटना भयो । मुस्ताङको थासाङ गाउँपालिका २, सानुसरे पहाडमा विमान दुर्घटनाग्रस्त भएको थियो । जसमा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली, ४ भारतीय र २ जर्मन नागरिकको निधन भयो । घटना आलो नै छ । विमान दुर्घटनाको बारेमा अनुसन्धान सकिएको छैन । जसकारण पनि विमान दुर्घटनालाई लिएर विभिन्न तर्क र प्रशंगहरु उठिरहेका छन् ।
सरकारले गठन गरेको छानबिन समितिको अध्ययन नआउन्जेल यही भएको हो भन्ने कुरा मात्र अनुमानमा सिमित छ । दुर्घटनाताका केही मानिसहरु नेपालमा विमान दुर्घटना धेरै भएको छ भन्ने कुराहरु उठाउँछन् । तर नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजकुमार क्षेत्रीको भने यसमा असहमति छ । पूर्व महानिर्देशक क्षेत्रीले नेपालमा पछिल्लो तथ्यांक हेर्दा विमान दुर्घटना कम हुँदै गएको र मौसमको भर नहुने भएकोले मौसमलाई ध्यान दिएर मात्रै उडान भर्नुपर्ने अवस्था रहेको बताए ।
उनले भने, ‘दुर्घटना हुनु नै राम्रो कुरा होइन । यद्यपी हाम्रोमा केही बढीजस्तो देखिएको छ । तर हाम्रो टोपोग्राफिकल कण्डिशन, वेदरको प्याट्रन छिनछिनमा चेन्ज हुने, ठाउँठाउँमा चेन्ज हुने, यी कुराहरुले हाम्रोमा अलि धेरै दुर्घटना अन्य देशको तुलनामा धेरै देखिएको मात्रै हो ।’
उनले दुर्घटना हुनु दुखद् भएको तर दुर्घटना के कति कारणले भयो ? मानवीय त्रुटी थियो वा मौसम बाधक थियो, ट्रेनिङको कमी थियो भन्ने बारेमा सरकारबाट विस्तृत अध्ययन गरेर दुर्घटना हुन नदिने पहल चाल्न आवश्यक रहेको बताए । छानबिन समितिले दिएको प्रतिवेदन पाइलट, विमानस्थल, सिभिल एभेसन लगायत सरोकारवाला सबै निकायहरुले पालना गर्नुपर्ने उनी बताउँछन् ।
‘दुर्घटना जहाँकहीँ हुन्छ तर के कारणले भयो रु मानवीय वा प्राविधिक त्रुटी के हो ? मौसम बाधक हो कि, पाइलट वा त्यसमा सहभागी जनशक्तिको ट्रेनिङको कमी हो कि ? के हो त्यो कुरालाई हामीले राम्रोसँग छानबिन समिति गठन भएको छ, उहाँहरुले राम्रोसँग केलाएर दिनुपर्छ, त्यो कुरालाई नियामक निकाय एयरलाइन्स, सिभिल एभेसनले सबैले लागू गर्नुपर्छ,’ उनले भने ।
महानिर्देशक क्षेत्रीले पोखराबाट जोमसोम उडान गरेको तारा एयर मौसमका कारण दुर्घटनाग्रस्त भएको हुनसक्ने बताए । अब सरकारले र विमनस्थलहरुले साथै सम्बन्धित निकायले मौसम छलेर कसरी सुरक्षित उडान गर्ने भन्ने कुरामा सोच्न आवश्यक रहेको उनी बताउँछन् । अहिले भइरहेको नियामक निकायलाई अझै प्रभावकारी बनाइ सुधार गर्नुपर्ने उनको भनाइ छ ।
पूर्व महानिर्देशक क्षेत्रीले नेपालमा १५ वर्षभन्दा पुरानो रेजिस्टर भएको विमान ल्याउन नपाइने कानून बनेको र विमान पुरानो नहुने बरु त्यसको लाईफ टाइम हुने जानकारी दिए ।
यस्तै उनले हेलिकोप्टरमा दुईजना पाइलट राख्ने निर्णय सबैको लागि ठिक नभएपनि केही स्थान, परिवेश र हेलिकोप्टरका लागि उचित रहेको बताए । उहाँले मौसम प्रतिकुल रहेका बेला एकजना पाइलटले भन्दा दुवै पाइलटको निर्णयले परिपक्वता देखाउने र सम्भावित दुर्घटनालाई निम्तिन नदिने बताए ।