पर्यटकीय गन्तव्य बन्दै सोलेडाँडा, दैनिक दर्जनौँ पर्यटक आउने
ढोरपाटन । वरपर घना जङ्गल । बीचमा समथर भूभाग । यसैले आकर्षित गरिरहेको छ धेरैलाई । यही ठाउँ हो बागलुङ र म्याग्दीको सिमाना सोलेडाँडा । दुई हजार छ सय ३० मिटर उचाइमा अवस्थित सोलेडाँडाको प्राकृतिक सौन्दर्य लोभलाग्दो छ । पछिल्लो समय यो डाँडा हिमाल तथा सूर्योदय र सूर्यास्त हेर्न पुग्नेहरुको गन्तव्य भएको छ । चैत र वैशाखमा ढकमक्क लालीगुँरास फुल्दा सोलेडाँडाको सौन्दर्य झन् खुल्छ । हिउँदमा डाँडालाई हिउँले छपक्कै छोप्दा यसको आकर्षणको बयान शब्दले पुग्दैन । सडकको सहज पहुँचले पछिल्लो समय यहाँ आउने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दो छ । यसलाई विदेशी पर्यटकसम्म पुर्याउन प्रचारप्रसारको खाँचो छ । वनभोज, रात्रि ‘क्याम्प’ र पदयात्राका लागिसमेत मानिस सोलेडाँडा पुग्छन् । यहाँबाट देखिने हिमशृङ्खला र दर्जनौँ प्राकृतिक मनोरम दृश्यले धेरैलाई लोभ्याउने गर्छ । उच्च पहाडी क्षेत्रमा रहेको यस डाँडामा शान्त वातावरण, स्वच्छ हावापानीसँगै जीवजन्तुको चिरबिर आवाजले मन मस्तिष्कलाई आनन्दित बनाउँछ । यहाँबाट बागलुङ र म्याग्दीका सयौँ गाउँसँगै धौलागिरि, धौलाश्री, माछापुछ्रे, मानापाथीलगायत दर्जनौँ हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । पछिल्लो समय सोलेडाँडामा म्याग्दी र बागलुङ दुवैतिरबाट घुम्न आउने आन्तरिक पर्यटक बढ्दै गएका स्थानीय बताउँछन् । तमानखोला गाउँपालिका–४ मा पर्ने यस ठाउँमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन र सहिदको सम्मानका लागि गाउँपालिकाले पूर्वाधार निर्माणसँगै सहिदको सालिक बनाएको छ । गाउँपालिकाले यहाँ सहिद पार्कसहित विभिन्न आन्दोलनमा मृत्युवरण गरेकाको सालिक निर्माण गरेको हो । गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले दोस्रो जनआन्दोलनका प्रथम सहिद लखन थापा, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दसहित सशस्त्र द्वन्द्वका बेला तमानखोलाका विभिन्न गाउँबाट ज्यान गुमाएका दुर्गाबहादुर बुढा, प्रेम घर्ती मगर, ओमकार बुढा र गङ्गबहादुर पुनको शालिक राखिएको बताए । अध्यक्ष बुढामगर भन्छन्, ‘सोलेडाँडा पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको ठाउँ हो, पहिलेदेखि नै निकै चर्चित सोलेडाँडा पूर्वाधार निर्माण नहुँदा ओझेलमा परेको थियो, हामी निर्वाचित भएर आएपछि पूर्वाधार निर्माणलाई जोड दिएका छौँ, पर्यटक आकर्षणका लागि र सहिदको सम्मानस्वरुप यहाँ सहिद पार्कसहित सहिदको सालिक बनाएका छौँ, यसले पनि पर्यटक भित्र्याउन ठूलो मद्दत गरेको छ ।’ सोलेडाँडालाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न पर्यटन पूर्वाधार निर्माणलाई जोड दिएको उनको भनाइ छ । सडक सञ्जालले जोडिएपछि आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुँदै गएको अध्यक्ष बुढामगर बताउँछन् । उनले पर्यटकको सहजताका लागि सोलेडाँडा क्षेत्रमा शौचालय र खानेपानीको धारो निर्माण भइसकेको बताए । यस क्षेत्रमा गाउँपालिकाले पाँच वर्ष अगाडि नै खानेपानीको धारा र शौचालय निर्माण गरिसकेको छ । यहाँ पार्क, सालिकसहित विभिन्न संरचना निर्माणका लागि गाउँपालिकाले हालसम्म करिब २० लाख रुपैयाँ बढी लगानी गरिसकेको अध्यक्ष बुढामगरको भनाइ छ । सोलेडाँडालाई अब राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा परिचित पर्यटकीय गन्तव्यसँग जोड्न पहल भइरहेको अध्यक्ष बुढाको भनाइ छ । गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्यालले सालिक निमार्णको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले दुई जिल्लाको सिमानामा रहेको सोलेडाँडामा दैनिक दर्जनौँ पर्यटक आउने गरेको बताए । सोलेडाँडामा पुग्ने सडक राम्रो हुँदा आन्तरिक पर्यटकको आगमनमा वृद्धि भएको उपाध्यक्ष छन्त्यालको भनाइ छ । स्थानीय पूर्ण सिर्पालीले सोलेडाँडामा पर्यटक दिनदिनै आउने गरेको जनाउँदै उनीहरुका लागि बास बस्नका लागि उपयुक्त स्थान भने नभएको बताए । सिर्पालीले स्थानीयलाई घरबास होमस्टे सञ्चालनका लागि सरकारले प्रोहोत्सान गरे पर्यटकलाई सहज हुनाका साथै स्थानीयको आयआर्जनको माध्यम बन्नसक्ने बताउँछन् । उनले सोलेडाँडामा हिउँद बर्खा बाह्रै महिना पर्यटक घुम्न आउने बताए । हिउँदमा हिउँ खेल्न र बर्खाका समयमा गर्मी छल्न बजार क्षेत्रबाट बढी मान्छे आउने गरेको उनी बताउँछन् । अन्तर्राष्ट्रिय पर्यटनसँग तमानखोलालाई जोड्न काठेखोलाको घोडाबाँधेदेखि ताराखोला, दुरलेक हुँदै सोलेडाँडाबाट ढोरपाटन जोड्ने पदमार्गको सम्भाव्यता अध्ययन भइसकेको गाउँपालिकाले जनाएको छ । रासस
विमानस्थलमा क्यालिब्रेसन फ्लाइट, उडान प्रभावित हुने
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित हुने भएको छ । विमानस्थलमा जडान गरिएको उपकरण परीक्षणका क्रममा विमानस्थलमा क्लालिब्रेसन फ्लाइट हुँदा बिहीबारको उडान प्रभावित हुने भएको हो । विमानस्थल कार्यालयले बिहीबार बिहान ९ बजेदेखि नोटाम जारी गरेको गर्दै उडान प्रभावित हुने जनाएको छ । विमानस्थलका उपकरण परिक्षण गर्न थाई एयरले क्लालिब्रेसन फ्लाइट गर्न लागेको विमानस्थलका महाप्रवन्धक प्रेम ठाकुरले बताए । उनले उपकरण परीक्षण गर्न ६ घण्टाजतिसमय लाग्ने भन्दै उडान डिले हुने जानकारी गराए । उनले बिहान ९ बजेदेखि नै क्लालिब्रेसन उडान गर्ने तयारी गरिए पनि भिजिबिलिटी कम हुँदा क्यालिब्रेसन उडान सुचारु हुन सकेको छैन् । विमानस्थल कार्यालयले बिहान ९ बजेदेखि साँझ ५ बजेसम्मका लागि नोटाम जारी गरेको छ । क्लालिब्रेसनसँगै नियमित उडान बीचमा हुने ठाकुरले जानकारी दिए । बिहीबार अन्तर्राष्ट्रिय तर्फ ८० उडान तथा अवतरण र आन्तरिक तर्फ ३ सय उडान तालिका रहेको जनाईएको छ ।
दोहा र क्वालालम्पुरबाट भैरहवा उडान गर्दै नेपाल एयरलाइन्स
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सले कतारको दोहा र मलेसियाको क्वालालम्पुरबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको छ । निगमले आगामी पुस ४ गतेदेखि ती दुई गन्तव्यमा उडान सञ्चालन गर्नेगरी नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले उडान अनुमति दिएको जनाइएको छ । निगमका प्रवक्ता अर्चना खड्काले दोहा र क्वालालम्पुरबाट भैरहवा उडान गर्ने उडान तालिका स्वीकृत भएको जानकारी दिए । उनका अनुसार साताको दुई दिन आइतबार र मङ्गलबार काठमाडौं–दोहा–भैरहवा–काठमाडौं र साताको एक दिन क्वालालम्पुरदेखि भैरहवा उडान गरेर उक्त जहाज काठमाडौं आउनेछ । यसैबीच निगमको भारतको नयाँदिल्ली गन्तव्यमा साताको १४ उडान हुने भएको छ । यसअघि कटौती भएको दिल्लीको सबै उडान हुनेगरी तालिका पुनःस्वीकृत भएको निगमले जनाएको छ । निगमले काठमाडौं–दिल्ली गन्तव्यमा अव दैनिक दुई उडान गर्नेछ । पछिल्लो एक महिनादेखि निगमले उक्त गन्तव्यमा साताको १० उडान गर्दै आएको थियो । तीनभन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अनिवार्य उडान गर्नुपर्ने क्यानको बाध्यकारी निर्णपछि निगमको दिल्ली उडान कटौती भएको थियो ।