चिसो मौसम सुरु भएसँगै सुनसान बन्दै सगरमाथा क्षेत्र
सोलुखुम्बु । विश्वको प्रमुख पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्र सुनसान बन्दै गएको छ । पर्यटकीय सिजन सकिएर चिसो मौसम सुरु भएसँगै खुम्बु क्षेत्र सुनसान बन्दै गएको हो । केही समयअघिसम्म पर्यटकले खचाखच भरिएका विमानस्थल, होटल, लज, क्याम्पिङ साइट, चौतारा, बाटो तथा दृश्यावलोकन गर्ने स्थलहरू सिजन सकिएसँगै सुनसान बनेका छन् । पर्यटनको मध्य सिजनमा धेरै पर्यटकको आगमन हुँदा सेवा दिनसमेत धौधौ परेका होटल व्यवसायीहरू समेत यतिखेर फुर्सदिला बनेका छन् । खुम्बु क्षेत्र भित्रिने पर्यटकको सङ्ख्या बढ्दा पर्यटकको भारी बोक्ने खच्चड र भरियाको ताँतीले भरिभराउ खुम्बु क्षेत्र यतिखेर सुनसान जस्तै बनेको स्थानीय होटल व्यवसायी याङजी शेर्पाले बताए । खचाखच पर्यटक र भरिया भेटिने साँघुरा पदमार्गहरूमा अहिले सीमित पर्यटक मात्रै भेटिने गरेको पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेको तथ्याङ्कलाई हेर्दा पछिल्लो एक सातामा एक हजार तीन सय ९० जना पर्यटक भित्रिएका छन् भने दुई हजार एक सय सातजना बाहिरिएका छन् । पिक सिजनमा दैनिक सात सय जनासम्म पर्यटक भित्रिने गरेको खुम्बुमा अहिले भित्रिने पर्यटकभन्दा बाहिरी पर्यटकको सङ्ख्या अधिक रहेकोे निकुञ्जका सूचना अधिकारी मनोज मण्डलले जानकारी दिए । पर्यटकको अवागमन न्यून भएसँगै निकुञ्ज चेकपोष्टका कर्मचारीहरू पनि केही फुर्सदिला बनेका छन् । पर्यटकहरू फर्किएसँगै होटल व्यवसायीहरू पनि खुम्बु क्षेत्रबाट बाहिरिने क्रम बढेको छ । खुम्बु क्षेत्रका नागरिकहरूको मुख्य आम्दानीको स्रोत नै पर्यटन भएकाले सिजन सकिएसँगै चिसो छल्नकै लागि यहाँका होटल व्यवसायीहरू बेसिजनमा जिल्लाबाट बाहिरिने गरेका छन् । सिजनमा कडा मेहनत गर्ने र ‘अफसिजन’मा रमाइलो, घुमफिर, भ्रमणलगायतका कार्यमा समय बिताउनु यहाँका नागरिकहरूको विशेषता जस्तै बनेको छ ।
पदयात्रीको रोजाइमा पर्दै नवलपुरकै अग्लो ‘देवचुली डाँडा’
त्रिवेणी । पदयात्रा रुचाउनेका लागि अहिले नवलपुरको ‘देवचुली डाँडा’ प्रमुख गन्तव्य बनेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकामा रहेको सो स्थान समुद्र सहतदेखि करिब एक हजार नौ सय ३४ मिटरको उचाइमा रहेको छ । अहिले सो स्थान नवलपुरसहित आसपासका जिल्लाका पदयात्रीको रोजाइमा पर्ने गरेको छ । यहाँबाट नवलपुरका विभिन्न भू–भागसहित तनहुँ, पाल्पा, कास्की, चितवनका भू–भागहरू अवलोकन गर्न सकिन्छ । देवचुली डाँडाको चुचुरोबाट उत्तरतर्फ देखिने मनमोहक हिमशृङ्खलाको दृश्यले यहाँ पुग्ने जो कसैलाई आनन्दित बनाउँछ । साथै दक्षिणतर्फ नारायणी नदी, पूर्व–पश्चिम राजमार्ग छेउका घना बस्ती, चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रसहित समथर भू–भाग डाँडाबाट सहजै अवलोकन गर्न सकिने जनाइएको छ । पर्यटकीय दृष्टिले ‘देवचुली डाँडा’ निकै रमणीय रहेको स्थानीय लोक तिमिल्सिनाले बताए । प्राकृतिकरूपमा निकै सुन्दर ठाउँ रहेको र यहाँ घुम्दा निकै रमाइलो अनुभूति भएको उनले सुनाए । ‘साँच्चै देवचुली डाँडा निकै रमाइलो ठाउँ रहेछ, पहिलोपटक आएँ, डाँडाबाट नजिकै देखिने हिमशृंखला, पहाडका टाकुरा र दक्षिणमा देखिने फाँट निकै मनमोहक लाग्ने,’ उनले भने ।पदयात्राका क्रममा बीच भागमा आवश्यक मात्रामा होटल, अघिल्लो दिन आउनेका लागि स्तरीय आवासको व्यवस्था भए अझै राम्रो हुने उनले बताए । देवचुली पूर्वपश्चिम राजमार्गको दलदलेबाट उत्तरतर्फ रहेको छ । देवचुली डाँडा जाने २ वटा मार्ग छन् । एउटा देवचुली नगरपालिकाको कीर्तिपुर हुँदै र अर्को कुसोतबाट पोखरी हुँदै देवचुली डाँडा जान सकिन्छ । कीर्तिपुर र पोखरीसम्म यातायातको सुविधा छ । पोखरी हुँदै जाँदा करीब २० किलोमिटर दलदलेबाट उत्तर लाग्नुपर्छ । कीर्तिपुरबाट जाँदा १२ किलोमिटरको दूरी पर्छ । त्यसपछि भने पैदलमार्ग शुरू हुन्छ । करीब ३ घण्टाको पैदलयात्रापछि देवचुली डाँडा पुग्न सकिन्छ । देवचुली डाँडा जाने धेरैजसो पोखरी हुँदै जाने गरेका छन् । यो मार्ग हुँदै जाँदा ठाडो उकालो कम पर्ने हुनाले धेरैले यो मार्ग प्रयोग गर्ने गर्दछन् । यो मार्ग भएर जाने कतिपय अघिल्लो साँझ नै बोझापोखरी पुग्ने गर्दछन् । यहाँ घरबास समेत रहेकाले राति घरबासमा बस्ने, पहाडका स्थानीय परिकार खाने, सांस्कृतिक कार्यक्रममा रमाइलो गर्ने र बिहानै पैदलयात्रामा निस्कने गर्दछन् । कतै वन, बीच भागतिर एकाध घर र साना–साना फाँट छिचोल्दै देवचुली डाँडा पुगिन्छ । देवचुली डाँडा पदयात्राका लागि जिल्लाकै उत्कृष्ट गन्तव्य रहेको कावासोतीका बुलेट सिग्देलले बताए तर पदमार्गलाई थप व्यवस्थित बनाउने, बीचबीचमा विश्रामस्थल निर्माण गर्ने, खानेपानीको व्यवस्था गर्ने, पदमार्गमा बाटोको संकेत चिह्न राख्ने हो भने अझै राम्रो हुने उनले बताए । ‘केही पूर्वाधारको आवश्यकता रहेको छ, पदमार्ग राम्रो बनाउने, विश्रामस्थल, खानेपानीको व्यवस्था ठाउँठाउँमा बनाउन सके अझै राम्रो हुने थियो,’ उनले भने । रोट्रयाक्ट क्लब अफ नवलपुर सिटीका अध्यक्ष समेत रहेका सिग्देलले देवचुली डाँडाको विकासमा सरोकारवालाको ध्यान जानुपर्ने बताए । सो स्थान जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यभित्रसमेत पर्ने गर्दछ । डाँडाबाट देखिने प्राकृतिक दृश्यसहित यहाँ प्राकृतिक गुफा, तीनकन्या माईको मन्दिर, भ्यूटावरलगायतका संरचनासमेत छन् । परापूर्वकालमा यहाँ पाँच पाण्डवहरू गुप्तवास बसेको किंवदन्तीसमेत रहेको छ । थारू समुदायले प्रत्यक वर्ष चैत पूर्णिमाका दिन देवचुली डाँडामा विशेष पूजा गर्ने गर्दछन् । सो दिन डाँडामा मेलासमेत लाग्ने गर्दछ । थारू समुदायमा यहाँ पूजाआजा गर्नाले आफ्नो कूलमा सुख, समृद्धि हुने विश्वास रहिआएको छ । देवचुली नगरप्रमुख हरिप्रसाद न्यौपानेले देवचुली डाँडा पर्यटकीय क्षेत्रका रूपमा नगरकै गौरव रहेकाले यस क्षेत्रको विकासमा आफूहरु लाग्ने बताए । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पर्यटकीय क्षेत्रको विकासमा देवचुली डाँडालाई प्राथमिकता दिएर समेटिएकाले आवश्यक पूर्वाधार निर्माणमा नगर लागिपर्ने उहाँले जानकारी दिए । ‘देवचुली डाँडा हाम्रो प्रमुख पर्यटकीय क्षेत्र हो, हामीले प्राथमिकता दिएका छौँ, नगरमात्रै होइन आवश्यक परे निजी क्षेत्रलाई समेत समेटेर यस क्षेत्रलाई थप पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना बनाएका छौँ’, नगरप्रमुख न्यौपानेले भने । देवचुली नगरपालिकाको नामाकरणसमेत यसै डाँडाको नामबाट गरिएको हो । रासस
पर्यटन बोर्डका निर्देशक भन्छन्- संसद भवन तत्काल खालि गर्नुपर्छ, त्यो हाम्रो सम्पत्ति हो
काठमाडौं । नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले हाल संसद भवन रहेको बिरेन्द्र अन्तर्राष्ट्रिय कन्भेन्सिङ सेन्टर (बिआइसीसी) हल तत्काल खालि गर्नुपर्ने बताएका छन् । उनले काठमाडौंमा अन्तराष्ट्रिय स्तरको हलको आवश्यक रहेको बताउँदै तत्काल खालि गराएर अन्तराष्ट्रिय प्रदर्शनी हलका रुपमा सञ्चालन गर्नुपर्ने बताए । ‘त्यो संसद बस्ने स्थान होइन, बिआईसीसी हललाई जति सक्दो खालि गराउनुपर्छ, त्यो अन्तराष्ट्रिय प्रदर्शनी हल हो, सरकार चलाउने हल होइन, बिआईसीसी अन्तराष्ट्रिय प्रदर्शनी हल चिन सरकारको सहयोगमा बनेको हो, मेला महोत्सव तथा प्रदर्शनी गर्न हामीलाई दिईएको सम्पत्ति हो, जुन प्रयोजनाका लागि दिइएको हो त्यसैका लागि प्रयोगमा ल्याउनुपर्छ,’ उनले भने । सोमबार नेपाल उधोग बाणिज्य महासंघले आयोजना गरेको अर्थतन्त्रमा मेला महोत्सवको महत्त्व, बिधमान चुनौती र आगामी तयारी कार्यक्रममा बोल्दै वरिष्ठ निर्देशक ऐरले सरकारले ठूलाठूला मेला महोत्सव आयोजना गर्न हल निर्माण गर्नु पर्नेमा जोड दिए । उनले पर्यटन बोर्डले मेला महोत्सव आयोजना गर्दा निजी क्षेत्रलाई सहकर्मीको रुपमा लिने गरेको बताए । पूर्व पश्चिमका विभिन्न स्थानमा हुने मेला महोत्सवमा पर्यटन बोर्ड सधैं सयोग गर्दै आएको उनको भनाइ छ । साथै मेला महोत्सव आयोजना गर्दा भारतीय बजारलाई समेत समेट्नु पर्ने उनले बताए । ‘नेपालको बजारले हामीलाई भ्याउँदैन, नेपालको बजारलाई अन्तराष्ट्रिय स्तरमा जोड्ने हो भने धेरै नजिक सीमामा छौं, भारतीय पूर्व सिलगुडी देखि लिएर पश्चिम बरेलीसम्मको बजार र नेपालको बजार एउटै प्रकृतिको छ, समान भिजनमा पूर्व सिलगुडीदेखि लिएर विराटनगर, विरगञ्ज, नेपालगञ्ज हुँदै धनगढीसम्म भारतीय बजारलाई जोड दियो भने मेला महोत्सवलाई नयाँ आयाम दिन सक्छ,’ उनले भने । दुवै देशको पर्यटन विस्तार गर्न विजनेश टू कन्जुमर (बिटुसी) गर्ने उनको भनाइ छ । पदर्शनी स्थल पुर्वाधार विकासका लागि पर्यटन बोर्डले सकरात्मक भूमिका निर्वाह गर्ने उनले बताए ।