पर्यटन व्यवसायबाट उत्कृष्ट करदाताको रुपमा मनकामना केबलकार सम्मानित
काठमाडौं । मनकामना केबलकार पर्यटन व्यवसायबाट सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ । आन्तरिक राजस्व विभागले बुधबार राष्ट्रिय कर दिवस, २०७९ को अवसरमा कम्पनीलाई आर्थिक वर्ष २०७७/७८ पर्यटन व्यवसायमध्ये सबैभन्दा बढी आयाकर दाखिल गरेकोमा सम्मान गरेको हो । कम्पनीका निर्देशक राजेश बाबु श्रेष्ठले उक्त सम्मान ग्रहण गरेका छन् । सरकारले आज आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा धेरै कर तिर्ने व्यक्ति तथा संस्थालाई विभिन्न १५ वटा विधामा सम्मान गरेको हो ।
पोखरा विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ प्रदान गर्न प्राधिकरणलाई निगमको अनुरोध
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ सेवा ‘ग्राउण्ड ह्याण्डलिङ’ निगमलाई प्रदान गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अनुरोध गरेको छ । निगमले ग्राउण्ड ह्याण्डलिङमा लामो अनुभव रहेको र सोहीअनुसारको दक्ष जनशक्ति तथा आवश्यक प्राविधिक स्रोत साधनको उपलब्धता रहेकाले निगमलाई प्रदान गर्न अनुरोध गरिएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए । सोमबारदेखि यान्त्रिक परीक्षण उडान भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ सेवा प्राधिकरण आफैँले गर्ने जनाएको थियो । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निगमको स्थापनाकालदेखि नै आफ्नो र अन्य अन्तर्राष्ट्रिय एयरलाइन्सहरूलाई ग्राउण्ड ह्याण्डलिङ सेवा प्रदान गर्दै आएको छ । ग्राउण्ड ह्याण्डलिङ कार्यमा लामो समयसम्मको व्यवस्थापकीय अनुभव, सोहीअनुसारको स्रोत साधन र जनशक्ति रहेकाले पोखरा विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ कार्यसमेत निगमलाई नै प्रदान गर्न व्यवस्थाका लागि अनुरोध गरिएको छ’, निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । निगमले अन्तर्राष्ट्रियस्तरको ग्राउण्ड ह्याण्डलिङ सेवा दिइरहेको र आइसागो, आयोटा सेफ्टी अडिट फर ग्राउण्ड अपरेसन्स सर्टिफाइड रहेको निगमले उल्लेख गरेको छ । साथै आन्तरिक वायुसेवाको भूमिस्थ सेवासमेत गर्न सक्षम भएको छ । निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ कार्य गर्दै आएको छ । निगमले अन्तर्राष्ट्रिय उडानतर्फ हाल भारतका तीनसहित आठ देशका विभिन्न १० वटा गन्तव्यमा उडान सञ्चालन गर्दै आएको छ ।
आइएमई समूहले लियो ‘होटल ले हिमालयन’, हस्पिटालिटी क्षेत्रमा तेस्रो पाइला
काठमाडौं । उदाउँदो व्यावसायिक घराना आइएमई समूहले ‘होटेल ले हिमालय’ लिएको छ । आइएमई समूहले समालेको यो तेस्रो होटेल हो । चन्द्रागिरी हिल्स रिसोर्टबाट हस्पिटालिटी विजनेशमा हात हालेको आइएमई समूहले ६ महिनाअघि मात्र पोखरामा लेकसाइड रिट्रिट रिसोर्ट सञ्चालनमा ल्याएको थियो । कोरोना महामारीले थलिएको पर्यटन क्षेत्र विस्तारै लयमा फर्कदैँ गर्दा आइएमई समूहले चलिरहेको होटल लिएर सञ्चालन गरेको हो । स्वदेशी र विदेशी सबै पर्यटकलाई लक्षित गरी यो होटल सञ्चालनमा ल्याएको बेस्ट रिजोर्ट नेपाल हस्पिटालिटिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अभिषेक विक्रम शाहले जानकारी दिए । उनले ग्राहकहरुलाई सुलभ मूल्यमा फाइभ स्टार होटलको जस्तो सेवा दिइरहेको बताए । ‘आनन्दले घुम्ने योजनाका साथ काठमाडौं आएका आन्तरिक तथा बाह्य पर्यटकहरुलाई होटल ले हिमालयले सस्तोमा फाइभ स्टार होटलको जस्तै उच्च स्तरको सेवा दिन्छ,’ सीईओ शाहले भने । सीईओ शाहले सहरी क्षेत्रमा तत्काल सेवा विस्तार गर्ने लक्ष्यका साथ काठमाडौंको केन्द्र विन्दु लाजिम्पाटमा रहेको होटेल लिएको बताए ।’लाजिम्पाट व्यवसायिक हिसावले निकै महत्वपूर्ण स्थान हो, धेरै देशका दूतावासहरु यस क्षेत्रमा छन् , ठूला कर्पोरेट हाउसहरु यसै क्षेत्रमा केन्द्रीत छन्, विदेशी पर्यटकको लागि पनि यो सजिलो गन्तव्य हो’ उनले भने । होटल ले हिमालय थ्री स्टार क्याटागोरीको होटल हो । होटल ले हिमालयमा ५० वटा कोठाहरु छन् । एउटा कन्फ्रेन्स (सभा) हल रहेको छ । सभा हलको क्षमता १५० जना भन्दा बढी रहेको छ । साथै, होटल भित्रै एउटा रेष्टुरेण्ट एण्ड बार छ । उक्त होटलमा कर्पोरेट हाउसहरुको लागि भनेर एउटा बोर्ड रुम बनाइएको छ । होटलमा रुफ टप रेष्टुरेन्ट थप्न लागिएको शाहले जानकारी दिए । होटल सहरको केन्द्रीय भागमा रहेकोले र प्रयाप्त पार्किङ व्यवस्था रहेको उनले बताए । व्यवसायिक भेटघाट, बैठक, सेमिनार, तालिम, गोष्ठि, पार्टी आयोजना गर्नको लागि होटल ले हिमालय असाध्यै उपयोगि रहेको उनले बताए । ‘घरमा पाहुना आयो भने खुसी हुने हाम्रो संस्कार हो, हामी ‘अथिति देवो भवः’ भन्छौं, यसलाई आत्मसात गरेका छौं,’ उनले भने, ‘हामी उत्कृष्ट स्वादका परिकारसहित उत्कृष्ट सेवा दिनेछौं ।’ ग्राहकले अफोर्डएवल मूल्यमा फाइभ स्टार होटलको जस्तो सुविधा उपभोग गर्न पाउने उनको दावी छ । आइएमई ग्रुपले सञ्चालनमा ल्याएका धेरै जस्तो सेवाहरु आईएमई ब्राण्डमा छन् । तर, होटल क्षेत्रमा भने आइएमई समूहको ब्राण्ड प्रयोग गरिएको छैन । आइएमई समूहको नामबाट नै होटलहरुको नामाकरण गर्नेबारे निर्णय हुन सक्ने शाहले बताए । ‘एउटा ब्राण्ड त बनाउनै पर्छ, एउटा स्ट्याण्डर्डमा चल्नै पर्छ, यसबारे हामीले गृहकार्य गरिरहेको छौं,’ उनले भने, ‘हामी होटल क्षेत्रमा नेपाली ब्राण्ड सिर्जना गर्न चाहान्छौं, तर नाम अहिले नै फाइनल भएको छैन ।’