पोखरा विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको जिम्मा निगमलाई

<p>काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको जिम्मा सरकारी ध्याजावाहक नेपाल वायुसेवा निगमलाई दिएको छ । यसअघि निजी वायुसेवा कम्पनीले ग्राउण्ड ह्याण्डलिङको माग गरेतापनि क्यानले निगमलाई दिएको हो । अन्य वायुसेवा कम्पनीले ग्राउण्ड ह्याण्डलिङका लागि इच्छा देखाएपनि क्यानले निर्णय नै गरेर निगमलाई जिम्मा दिइसकेको क्यानका प्रवक्ता जगरनाथ निरौलाले [&hellip;]</p>

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको जिम्मा सरकारी ध्याजावाहक नेपाल वायुसेवा निगमलाई दिएको छ ।

यसअघि निजी वायुसेवा कम्पनीले ग्राउण्ड ह्याण्डलिङको माग गरेतापनि क्यानले निगमलाई दिएको हो । अन्य वायुसेवा कम्पनीले ग्राउण्ड ह्याण्डलिङका लागि इच्छा देखाएपनि क्यानले निर्णय नै गरेर निगमलाई जिम्मा दिइसकेको क्यानका प्रवक्ता जगरनाथ निरौलाले जानकारी दिए ।

‘भैरहवाका लागि हिमालय र पोखराका लागि बुद्ध एयरले ग्राउण्ड ह्याण्डलिङका लागि हामीकहाँ निवेदन दिएका थिए, काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको जिम्मा नेपाल वायुसेवा निगमले गरेको छ, पोखराको जिम्मा पनि हामीले निगमलाई दिइसकेका छौँ’, उनले भने, ‘सरकारी ध्याजावाहकको संरक्षण गर्नुपर्ने हाम्रो दायित्वसँगै अनुभवका आधारमा हामीले निगमलाई नै दिएका हौँ ।’

निगमले सुरुवाती चरणका लागि पोखरा विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको जिम्मा निगमलाई दिने निर्णय गरेतापनि अवधि तोकिएको छैन् । यस्तै भैरहवा विमानस्थलका लागि समेत समय नतोकिएको निगमले जनाएको छ ।

यसअघि निगम सञ्चालक समितिले न्यूनतम १० वर्ष र आधिकारिक ट्रेड युनियनले १५ देखि २० वर्षको अबधिको समयसिमा तोक्नुपर्ने बताउँदै आएका थिए ।

‘नेपाल नागरिक उडड्यन प्राधिकरणबाट हामीलाई पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङका लागि औपचारिक रुपमा पत्र नै आइसकेको छ, पत्र आएपछि हामीले आन्तरित तयारी थालेका छौँ,’ निगमका प्रवक्ता अर्चना खड्काले भनिन ।

उनका अनुसार सुरुवाती चरणमा काठमाडौं र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत जनशक्तिले नै पोखरा विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ गर्नेछन् भने निगमले नयाँ जनशक्तिका लागि तालिम समेत दिन थालेको जनाएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङमा कार्यरत एक कर्मचारी ग्राउण्ड ह्याण्डलिङका लागि एक विमानस्थलमा कम्तीमा सय देखी डेढसय सम्म कर्मचारी आवश्यक पर्ने बताउँछन् ।

नयाँ कर्मचारीलाई अन्तराष्ट्रिय स्टाण्डरको तालिम समेत दिनुपर्ने हुन्छ । उक्त तालिका १ महिनासम्मको हुने निगमका अधिकारीहरु बताउँछन् । कर्मचारीलाई तालिम, आवश्यक उपकरण खरिद तथा जडान गर्दा तत्काल एक विमानस्थलका लागि ३ अर्ब खर्च हुनेछ ।

यता बुद्ध एयरले अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको जिम्मा क्यानले निगमलाई दिएकोे भन्दै आन्तरिक तर्फ आफैले गर्ने जनाएको छ । ‘हामीले अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङका लागि अनुमति मागेका थियौँ, क्यानले निगमलाई दियो, हामीले यसअघि गर्दै आएको आन्तरिक तर्फको ह्याण्डलिङ हामी आफैले गछौँ’, बुद्धले भन्यो ।

क्यानले जनवरी १ तारिखदेखि औपचारिक रुपमा पोखरा विमानस्थलबाट उडान गर्ने जनाएको छ ।

Share News