झापाको सताक्षीधाम जाने सडक कालोपत्र, दैनिक पाँच सय बढी पर्यटक

झापा । शिवसतासी नगरपालिका–११ स्थित शिवसताक्षी धाम जाने सडक कालोपत्र भएसँगै आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका छन् । प्रदेश नं १ को सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको बजेटमा पूर्वपश्चिम राजमार्गबाट झिलझिले बजार उत्तर पाँच किलोमिटर सडक कालोपत्र जारी छ । प्रदेश सरकारको रु ३५ करोड २६ लाख १३ हजारको बजेटमा शिवसताक्षीधामबाट झिलझिले बजार हुँदै दक्षिण होकलबारीसम्मको २६ किलोमिटर सडक धमाधम कालोपत्र भइरहेको छ । तीमध्ये राजमार्गको उत्तरधाम क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर सडक कालोपत्र गरिसकेको सडक पूर्वाधार तथा सहरी विकास कार्यालय झापाका प्रमुख रमेश श्रेष्ठले जानकारी दिए । उनले राजमार्ग दक्षिण होकलबारी जाने सडकमा समेत कालोपत्र गर्ने कार्य तीव्ररूपमा भइरहेको बताए । ‘ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्रको विकासमा सडकै कारण थप सहयोग पुग्ने देखियो’, उनले भने, ‘धाममा आवतजावत गर्ने भक्त तथा पर्यटकलाई सजिलो होस् भनेर काममा हामीले विलम्ब गरेनौँ ।’ ठेक्का दिएको निर्माण कम्पनी रौताह खनाल जेभी इलामले चालु आर्थिक वर्षभित्रमा सो सडक सम्पन्न गर्ने जिम्मा पाएको छ । प्रदेश सरकारले बनाइदिएको कालोपत्रसहितको सडकमा बत्ती जडान गर्ने कार्य भने नगरपालिकाले गरिरहेको शिवसताक्षी धाम विकास समितिका अध्यक्ष प्रसाद सुब्बाले बताए । उनले सडक बनेसँगै धाममा आउने पर्यटकको सङ्ख्यामा दिनानुदिन वृद्धि भइरहेको बताए । उनका अनुसार चुनाव सकिएसँगै धामक्षेत्रमा दर्शन गर्न र वनभोज खान दैनिक पाँच सय बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । रासस

आन्तरिक पर्यटकको रोजाइमा चितवनको गाजीपुर मदनस्मृति पार्क

चितवन । चितवनको भरतपुर महानगरपालिका–१७ गाजीपुरमा रहेको मदनस्मृति पार्क आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । दृश्यावलोकन स्तम्भ भ्यू टावर लगायतका भौतिक संरचना निर्माण भएपछि यहाँ आन्तरिक पर्यटक बढ्न थालेका हुन् । नारायणी नदी किनारसँगै रहेको यो पार्क जननेता मदन भण्डारीको स्मृतिमा निर्माण गरिएको हो । विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटनामा परेका भण्डारीको शव यही ठाउँमा फेला परेको थियो । यहाँ नेता भण्डारीको अर्धकदको शालिक बनाइएको छ । पार्कमा चितवन र नवलपुरसँगै नारायणी र चितवन राष्ट्रिय निकुञ्जको दृश्यावलोकन गर्नका लागि स्तम्भ निर्माण गरिएको पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष गौरस तामाङले जानकारी दिए । उनले नारायणीको बाढी र कटानले सधैँ दुःख दिइरहने तटीय क्षेत्रलाई अहिले पार्कका रुपमा विकास गरिएको बताए । पार्कमा भ्यू टावरसँगै तीन प्रतिक्षालय, पार्कका विभिन्न ठाउँमा बस्नका लागि कुर्सी, भ्यूटावरको संरक्षणका लागि पर्खाल, गेट र उक्त क्षेत्रमा हिँडडुल गर्न मोज्याक टायल र आकर्षक रङ्गिन बत्ती लगायतका संरचना निर्माण गरिएको छ । पार्कमा आन्तरिक पर्यटक बढ्न थालेपछि नजिकै चार/पाँच रेष्टुरेन्ट र पसलसमेत सञ्चालनमा आएका छन् । बाटोको दुवैतिर र भ्यू टावरमा राखिएका रङ्गीन लाइटले पार्कलाई थप मनमोहक बनाएको तामाङले बताए । साँझको समयमा पार्कमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने भन्दै पार्कलाई थप आकर्षक बनाउन हिँड्ने बाटोमा रेलिङ र विभिन्न प्रकारका बिरूवा रोपेर हरियाली बनाउने काम भइरहेको उनले जानकारी दिए । मदन भण्डारीको स्मृतिलाई जीवन्त बनाउन त्यहाँ त्यसबेला जुन अवस्थामा शव देखिएको थियो त्यसैको झल्को दिने गरेर संरचना बनाउने योजना रहेको अध्यक्ष तामाङले बताए । झोलुङ्गे पुलबाट प्रतिमूर्तिसम्म पुगेर अवलोकन गर्न सकिने गरी व्यवस्थापन गर्ने योजना रहेको भन्दै उनले गाजीपुर क्षेत्रमा मदन भण्डारी स्मृति पार्क, ‘बायोडाइभर्सिटी’ अनुसन्धान केन्द्र बन्ने जानकारी दिए । यहाँ सङ्घ, प्रदेश र स्थानीय सरकारले बजेट विनियोजन गरेर काम भइरएको छ । पार्कलाई थप विस्तार गर्ने तयारी गरिएको छ । दासढुङ्गादेखि चितवनको पश्चिमी अन्तिम बिन्दु गोलाघाटसम्म नदीकिनारको क्षेत्रमा पर्यटकीय पूर्वाधार विकासका कार्यक्रमलाई समेटेर एकीकृत विकास योजना अगाडि बढाइएको पार्क निर्माण उपभोक्ता समितिका सदस्य टुकमान गुरूङ बताउँछन् । ‘अहिले पार्कको प्रारम्भिक चरणको विकासको काम भएको छ, अझै धेरै काम हुन बाँकी नै छ, सबै संरचना निर्माण भएपछि यो नमूना पर्यटकीय केन्द्रका रुपमा विकास हुनेछ’, उनले भने । मझुवा सामुदायिक वन र दियालो सामुदायिक वन तथा कालाबञ्जर मध्यवर्ती क्षेत्रको नजिक रहेको यस क्षेत्रमा पर्याप्त पर्यटकीय सम्भावना छ । यस क्षेत्रको संरक्षण गरी हिउँदमा देखिने साइबेरियन हाँस, कर्याङकुरूङलगायत धेरै किसिमका चरा, एकसिङ्गे गैँडा तथा गोहीको बासस्थानका रुपमा विकास गर्न सकिने र पर्यटकको आकर्षणको केन्द्र बनाउन सकिने सम्भावना छ ।

झापाको दोमुखामा थपिँदै पूर्वाधार, पर्यटकको आकर्षण बढ्दो

झापा । झापाको प्रमुख पर्यटकीय क्षेत्र दोमुखा पछिल्लो समय आन्तरिक पर्यटकको थप आकर्षण बन्दै गएको छ । शिवसताक्षी नगरपालिका–९ को कन्काई नदीको तटमा रहेको दोमुखामा हिउँदयाम लागेसँगै वनभोज खाने तथा अवलोकन गर्नेको लर्को लाग्न थालेको छ । प्रदेश १ को प्रमुखमध्येको पर्यटकीय गन्तव्य रहेको यस स्थानमा धमाधम पूर्वाधार निर्माण थपिएसँगै पर्यटकको थप रोजाइमा परेको छ । दोमुखा पर्यटन विकास समितिका अनुसार हिउँदयाम सुरु भएसँगै यहाँ दर्जनौँ वनभोज टोली आउने गरेका छन् । समितिका उपाध्यक्ष रमेश तिम्सिनाका अनुसार वनभोजको सिजनमा यहाँ दैनिक एक हजारभन्दा बढी पर्यटक आउने गरेका छन् । पर्यटकीय क्षेत्र दोमुखालाई नै लक्षित गरी यहाँ शिवसताक्षी नगरपालिकाले नगरकै सबैभन्दा बढी बजेट यहाँ विनियोजन गरेको छ । नगरप्रमुख रोशन थोप्राका अनुसार दोमुखालाई नै लक्षित गरी छ करोड रुपैयाँ विनियोजन गरिएको छ । सोमध्ये पाँच करोड रुपैयाँको लागतमा करिब तीन किलोमिटर सडक कालोपत्रे हुँदैछ । पूर्वपश्चिम राजमार्गको माईधार चोकदेखि चुरे क्षेत्रसँग जोडिएको दोमुखासम्मको दुई किलोमिटर नौ सय मिटर सडक कालोपत्रे हुँदैछ । यसका लागि पाँच करोड रुपैयाँ छुट्याइएको छ । यसका लागि बोलपत्र आह्वान भइसकेको छ । यो सडक कालोपत्रे भएपछि पूर्वी नेपालका साथै सीमावर्ती भारतका पर्यटकसमेत थप आउने अपेक्षा गरिएको छ । दोमुखा पर्यटकीय क्षेत्रमा वालउद्यान र सङ्ग्रहालयसमेत निर्माणाधीन छ । निर्माणाधीन वाल उद्योगनका लागि स्वीमिङ पुल निर्माणका लागि नगरपालिकाले ४५ लाख रुपैयाँ छुट्याएको छ । यसैगरी दोमुखामा पर्यटकको थप आकर्षणका लागि बहुसांस्कृतिक सङ्ग्रहालयसमेत बनिरहेको छ । सोही सङ्ग्रहालयका लागि थप १० लाख रुपैयाँ विनियोजन गरिएको नगरपालिकाले जनाएको छ । कन्काई नदीबाट नहर सुरुआत गरी बाँध निर्माण गरिएको र चुरे क्षेत्रसँग जोडिएको मनोरम क्षेत्र दोमुखामा दर्जनौँ नेपाली चलचित्र तथा म्युजिक भिडियोसमेत छायाङ्कन भएका छन् । यो स्थानमा पूर्वी नेपालका विभिन्न जिल्लाका साथै भारतको पश्चिम बङ्गाल, सिक्किम, विहारलगायतका स्थानबाट समेत पर्यटक आउने गरेका छन् । रासस