सञ्चालनको अन्यौलमा पोखरा विमानस्थल, महानगरले हटाएन ल्याण्डफिल्ड साइट
काठमाडौं । पोखरामा निर्माणाधीन पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थललाई आगामी पुस १७ गते अर्थात जनवरी १ तारिखदेखि सञ्चालन गर्ने तयारी थालिएको छ । नागरिक उडड्यन प्राधिकरण (क्यान) ले सम्पूर्ण तयारी सकिएको भन्दै विमानस्थल सञ्चालनको मिति तय गरिसकेको छ । पुस १७ गतेदेखि विमानस्थल सञ्चालनको तयारी थालिएतापनि विमानस्थल नजिकै रहेको ल्याण्डफिल्ड साइट नहट्दा सञ्चालन मिति सर्ने हो कि भन्ने अन्योल सिर्जना भएको छ । क्यानका महानिर्देशक इन्जिनियर प्रदिप अधिकारी पोखरा महानगरपालिकाले ल्याण्डफिल्ड साइट नहटाउँदा तोकिएकै समयमा विमानस्थल सञ्चालन गर्न नसकिने हो कि भन्ने आशंका थपिएको बताउँछन् । ‘पोखरा महानगरपालिकाले मंसिर १८ गतेबाट ल्याण्डफिल्ड साइट हटाउँछु भनेको थियो, अहिलेसम्म हटाएको छैन्, ल्याण्डफिल्ड साइट हटाएन भने हामीले निर्धारण गरेको समयमा विमानस्थल सञ्चालन गर्न सक्दौनौं, उनले भने, ‘अहिलेसम्म फोहोर फालेको छ, हामीले पटक–पटक ताकेता गर्दै आएका छौँ तर सुनुवाई भएको छैन, यसले अन्योलता सिर्जना गरेको छ ।’ विमानस्थलको रनवेबाट पश्चिमतर्फ रहेको ल्याण्डफिल साइटका कारण चराहरुको बनेको छ । रनवे नजिकै ल्याण्डफिल्ड साइट हुँदा रनवेमा राखिएको बत्तिमा चराले गुँड बनाउने गरेका छन् । पोखरा महानगरले भने विमानस्थल सञ्चालनको समयसम्म ल्याण्डफिल्ड साइट हटाउने जनाएको छ । महानगरका मेयर धनराज आचार्यले विमानस्थल संचालनमा आउने दिनसम्म ल्याण्डफिल साइट परिवर्तन हुने बताए । उनले हाल ल्याण्डफिल्ड साइट पुर्न थालिएको बताए । ३ हजार ९ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झण्डै २२ अर्ब रुपैयाँ लागतमा निर्माण भएको छ । विमानस्थलमा २ हजार ५ सय मिटर लम्बाई र ४५ मिटर चौडाइको धावनमार्ग छ । उडान सञ्चालनअघि विमानस्थलको पूर्वपट्टि पर्ने रिट्ठेपानीडाँडा कटानको पहिलो चरणअन्तर्गत १६ मिटर कटान कार्य सकिएको प्राधिकरणले जनाएको छ । धावनमार्गको ‘अप्रोच’ पर्ने भएकाले ४० मिटरडाँडा काटेर समतल बनाइनेछ । बाँकी २४ मिटर काट्न बाँकी छ ।
पुस ४ गतेदेखि भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्दै निगम
काठमाडौं । नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि गृहकार्य सुरु गरेको छ । निगमले भैरहवा विमानस्थलबाट मलेसिया र कतार उडान तथा अन्य मुलुकमा ओभरफ्लाइको तयारी सुरु गरेको हो । निगम प्रवक्ता अर्चना खड्काले मलेसिया र कतार उडानका साथै भारत, बर्मा, बङ्गलादेश, बैङ्ककलगायतमा ओभरफ्लाइङ अनुमति लिने प्रक्रिया सुरु गरेको जानकारी दिए । उनका अनुसार दुवै मुलुकमा निगमले सुरुमा काठमाडौंबाट उडान गर्नेछ भने फर्कँदा भैरहवा हुँदै काठमाडौं अवतरण गर्नेछ । नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीले सुरुमा मलेसियामा साताको एउटा र कतारमा साताको दुई वटा उडान गर्ने योजना बनाएको छ । आगामी दिनमा माग भए उडान सङ्ख्या बढाउन सकिने उनको भनाइ छ । निगमले आउँदो पुस ४ देखि भैरहवा विमानस्थलमा ‘टच डाउन’ गर्दै यी दुई गन्तव्यमा व्यावसायिक उडान गर्नेछ । हाल भैरहवा विमानस्थलबाट कुवेतको जजिरा एयरवेज र नेपालको हिमालय एयरलाइन्सले व्यावसायिक उडान गर्दै आएका छन् । रासस
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न जजिरा एयरवेजको चासो
काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानका लागि अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले चासो देखाउन थालेका छन् । विमानस्थलबाट उडानका लागि भारतीय र चिनियाँ विमान कम्पनीले चासो देखाएको नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । विमानस्थलबाट नेपाली विमान कम्पनीहरू बुद्ध एयर र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्ने तयारी गरिसकेका छन् । अन्तर्राष्ट्रियतर्फ कतारको जजिरा एयरवेजले पनि पोखरा विमानस्थलबाट उडान भर्नेमा चासो देखाएको उनले बताए । विमानस्थलमा साना र ठूला गरी ११ वटा विमान पार्किङ गर्न सकिन्छ । आन्तरिकतर्फ दैनिक ४८ र अन्तर्राष्ट्रियतर्फ छ वटा उडान तथा अवतरण गर्ने क्यानको तयारी छ । विमानस्थलसँग वार्षिक ८ लाख यात्रुलाई सेवा दिनसक्ने क्षमता छ ।