हवाई सेवा : ४१ देशसँग सम्झौता, ११ देशमा मात्रै उडान
काठमाडौं । नेपालले हालसम्म विश्वका ४१ देशसँग उडान सम्झौता गरेको छ । उडान सम्झौता भएका उक्त देशमा बिना रोकतोक नेपाली वायुसेवा कम्पनीहरुले उडान भर्न पाउँछन् । नेपालले ४१ वटा देशसँग द्विपक्षीय हवाई उडान सम्झौता गर्दा एउटा देशसँग मल्टिल्याट्रल सम्झौता गरेको छ । नेपालले हवाई उडान सम्झौता गरेका ४० वटा देशमध्ये नेपाली जहाजले ११ देशमा उडान भर्ने गरेका छन् भने बाँकी देशमा उडान गर्न सकेका छैनन् । सन् १९९५ देखि २०२२ सम्म एकल र बहु उडान गर्ने गरी सम्झौता गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्रालयको तथ्यांकमा उल्लेख छ । तर, सम्झौता गर्ने काम नगर्ने परिपाटीले नेपाली वायुसेवा कम्पनीहरु कमजोर बन्दै गएका छन् । विशेषगरी समयानुकूल व्यवस्थापनलाई चुस्त बनाउन नसक्दा राष्ट्रिय ध्वजावाहक जहाजले सम्झौता गरेका देशको आकाशसम्म उडान भर्न सकैका छैनन् । लामो दूरीमा उडान भर्ने क्षमताको विमान अभाव त छँदै छ, विदेशी राष्ट्रले समेत उडान अनुमति नदिँदा उडान भर्न समस्या हुँदै आएको निगमका उच्च अधिकारीहरु नै बताउँछन् । गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थललाई मध्येनजर गरेर पछिल्लो समयमा सरकारले कुवेत र युएईमा सम्झौता संशोधन गरेर क्षमता विस्तार गर्ने पहल गरेको छ । अष्ट्रेलिया, ओमान, जोर्डन, कतार, कम्बोडिया, बेलायतलगायतका देशमा उडान सम्झौता भएको भएपनि नेपाली एयलाइन्स कम्पनीले भने अहिलेपनि कतार, मलेसिया, हङकङ, चीन, युएई, बंगलादेश, साउदी, जापानको नारिता, चीन तथा भारतमा मात्रै उडान गरिरहेका छन् । हाल नेपालबाट अन्तर्राष्ट्रिय हवाई उडान गर्ने नेपाली हवाई कम्पनीहरुमा नेपाल वायुसेवा निगम, हिमालय एयरलाईन्स र बुद्ध एयर रहेका छन । यी हुन हवाइ सम्झौता गरेका देश मन्त्रालयको तथ्यांकअनुसार नेपालले सबैभन्दा पहिले सन् १९९५ मा पाकिस्तानसँग उडान सम्झौता गरेको थियो । बहु उडानका रुपमा नेपालले गरेको सम्झौतामा सन् २०१५ को अक्टोबरमा पुनः उडान सम्झौता पुनरवलोकन गरिएको थियो । सम्झौताअनुसार नेपालले वार्षिक रुपमा १ लाख ९७ हजार ६ सय सिट क्षमता बराबरको उडान भर्न पाउँछ । नेपालले अस्ट्रिया, बहराइन, बङ्गलादेश, भुटान, बु्रनाई, चीन, क्रोएसिया, इजिप्ट, फ्रान्स, जर्मनी, हङकङ, इन्डिया, इजरायल, इटाली, जापान, जोर्डन, कुवेत, लक्जेमबर्ग, मकाउ, मलेसिया, माल्दिभ्स, म्यान्मार, ओमान, पाकिस्तान, फिलिपिन्स, कतार, दक्षिण कोरिया, रसिया, साउदी अरेबिया, सिङ्गापुर, श्रीलङ्का, थाइल्यान्ड, नेदरल्यान्ड, यूएई, बेलायत, टर्की, भियतनाम, न्युजिल्यान्ड, कम्बोडिया, अष्ट्रेलिया, र बेलायत लगायतका देशमा उडानको सम्झौता गरेको छ । सरकारी स्वामित्वको राष्ट्रिय ध्वजावाहक विमान सेवा कम्पनी नेपाल वायुसेवा निगमले ६ देशका ८ स्थानमा मात्रै उडान भर्दै आएको छ । निगमले हाल १ सय ५८ सिट क्षमताको दुईवटा एयरबस ३२० (न्यारोबडी) र २ सय ७४ सिट क्षमताको दुईवटा एयरबस ३३० (वाइडबडी) गरी ४ वटा एयरबसले, दिल्ली, मुम्बई, हङकङ, क्वाललाम्पुर, बैंकक, दुबई, ब्यांग्लोर, कतारको दोहा, साउदीको रियाद, जापानको नारितामा उडान गर्दै आएको छ । नेपाल–चीन संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले विभिन्न देशका ११ गन्तव्यमा अन्तर्राष्ट्रिय उडानमा गर्दै आएको छ । हिमालयले हाल युएईको आबुधाबी र दुबई, साउदीको दमाम र रियाद, मलेसियाको क्वाललाम्पुर, कतारको दोहा, दुबई, बंगलादेशको ढाका, चीनको बेइजिङ र कुनमिङ र चोन्चीङ र कुबेतमा उडान भर्दै आएको छ । भारतको नयाँदिल्ली उडानका लागि लामो समयदेखि उडानको अनुमति मागेतापनि अहिलेसम्म पाएको छैन । आन्तरिक उडानमा एकछत्र राज गरेको निजी क्षेत्रको हवाइ सेवा कम्पनी बुद्ध एयरले भारतको बनारसमा उडान गर्दै आएको छ । यसअघि भारतकै कोलकता उडान गरेको बुद्धले कोरोना महामारीका कारण कोलकाता उडान बन्द गरेको थियो । आगामी जनवरी १ तारिखबाट सञ्चालनको तयारी थालिएको पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्धले कोलकातामा पुन उडान सुरु गर्ने तयारी थालेको छ । यस्तै, पोखराबाटै बुद्धले देहरादुनमा समेत उडानको तयारी थालेको छ । हाल बुद्धले ७२ सिट क्षमतको एटिआरले अन्तराष्ट्रिय उडान गर्दै आएको छ । चीनले दिएन ‘ग्रिन सिग्नल’ नेपाल वायुसेवा निगमले लामो समयदेखि चीन उडानका लागि अनुमति माग्दै आएतापनि चीन सरकारले हालसम्म उडानकोे अनुमति दिएको छैन् । निगमले सन् २०१४ मा पहिलोपटक नेपाली व्यापारी बाक्लै आउजाउ हुने चीनको ग्वान्जाओ सहरमा उडान अनुमति मागेको थियो । तर हालसम्म पनि चीनले अनुमति दिएको छैन । सरकारी ध्वाजावाहक कम्पनीले अनुमति माग गरेको आठ वर्ष वितिसक्दा समेत चीनले बिभिन्न बाहाना बनाउँदै अनुमति रोकेको हो । निगमलाई उडान अनुमति नदिएको चीनका वायुसेवा कम्पनीले हाल दैनिक उडान गर्दै आएका छन् । नेपाल नागरिक उडड्यन प्राधिकरणको तथ्यांक अनुसार हाल एयर चाइना, चाइना साउथन र चाइना इष्टनले दैनिक उडान गर्दै आएका छन् । नेपाल–चीन हवाइ सम्झौताअनुसार नेपाली वायुसेवा कम्पनीले चीनका ७ वटा सहरमा ७० वटासम्म उडान गर्न पाउँछन् । बेइजिङ, संघाई, ल्हासा, ग्वाङजाओ, कुनमिङ, छेन्दु र जियान नेपाली वायुसेवाले उडान गर्न पाउने गन्तव्य हुन् । गन्तव्य हुँदाहुँदै पनि निगमले उडान अनुमति पाउनसकेको छैन । ईयुको कालोसूचीमा पर्दा समस्या सन् २०१३ देखि युरोपियन युनियन (ईयु) ले सम्पूर्ण नेपाली वायुसेवा कम्पनीलाई कालोसूचीमा राख्दै आएको छ । नेपालले हवाई सेवा सम्झौता गरेकामध्ये केही देशमा युरोपियन मुलुकमा युरोपियन युनियन (ईयु) को कालोसूचीमा भएका कारण निगमले उडान भर्न सकेको छैन । अन्तर्राष्ट्रिय उडान गर्दै आएका नेपालका तीन एयरलाइन्सले हवाइ सम्झौता भए पनि सबै देशमा उडानका लागि पर्याप्त मात्रामा जहाज तथा यात्रु नभएको भन्दै उडान भर्न नसकिएको बताउँदै आएका छन् । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले नेपाली वायुसेवा कम्पनीसँग पर्याप्त मात्रामा जहाज नहुँदा उडान गर्न नसकेको जनाएको छ । क्यानका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारी नेपालले हवाई सेवा सम्झौता गरेका देशमा जहाज नभएकै कारण नेपाली वायुसेवा कम्पनीले उडान भर्न नसकेको दाबी गर्छन् । ‘अन्तर्राष्ट्रिय रुपमा उडान गर्न नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससँग पर्र्याप्त मात्रामा जहाज नै छैनन्, जहाज नै छैनन्, कसरी लामो दुरीका गन्तव्यमा उडान भर्न सक्छन्,’ उनले भने । यता निगमका प्रवक्ता अर्चाना खड्का लामो दुरीका उडानका लागि जहाज अभावकै कारण उडान भर्न नसकिएको बताउँछिन् । ‘हामीसँग न्यारोवडी र वाईडबडी जहाज सिमित मात्रामा छन्, जहाज सिमित हुँदा गन्तव्य विस्तारमा समस्या भयो’, उनले भनिन ।
कहिले निर्माण होला रुकुमकोटको पाहुना घर ?
मुसीकोट । रुकुमकोट कमलपोखरीको उत्तरपूर्व केही संरचना निर्माणको काम अलपत्र छ । संरचनामा रङ लगाएर छोडिएको छ । वरपर झाडी मात्र उम्रेको छ । काठ, ढुङ्गा, बालुवा यत्रतत्र छरिएका छन् । ती भवन निर्माण भएर सञ्चालनमा आउने कुनै छाँट देखिएको छैन । ती संरचना निर्माण गर्न थालेको करिब छ वर्ष नै पुग्न लागि सक्यो । पाहुनाघर भनेर निर्माण थालेका ती भवनले पूर्णता पाउन सकेका छैनन् । पाहुना घर निर्माण गर्ने भन्दै दुई वटा भवन निर्माणको काम अलपत्र परेका छन् । लामो समयसम्म पनि ती भवनले पूर्णता पाउन सकेका छैनन् । ती भवन निर्माण छ वर्ष पुुग्नै लाग्यो । निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले पटक-पटक म्याद थप गर्दा पनि काम सम्पन्न गर्न नसकेको हो । पछिल्लो समय ठेकेदार कम्पनी सम्पर्कविहीन हुँदा भवन निर्माण अलपत्र परेको छ । विसं २०७४ असार २० मा सरकारको सघन सहरी तथा भवन निर्माण आयोजना दाङको आर्थिक सहयोगमा भवन निर्माण थालिएको हो । गाल्भा क्याराभान जेभीले रु दुई करोड ७५ लाखमा दुई वर्षभित्र निर्माण सक्ने गरी जिम्मा लिएको आयोजनाका सव-इन्जिनियर सुधीर नेपालीले बताउनुभयो । कम्पनीले त्यसयता पाँच पटक म्याद थप गरिसकेको छ । यस क्षेत्रमा घुमघामका लागि आउने पर्यटक तथा पाहुनाका लागि खान-बस्न सहज होस् भनेर यसको निर्माण थालिएको हो । दश कोठे भवनको हालसम्म ८५ प्रतिशत निर्माण सकिएको आयोजनाले जनाएको छ । सार्वजनिक खरिद ऐनको पछिल्लो संशोधनअनुसार अब एकपटक यसको म्याद थप्न पाउने व्यवस्था भए पनि ठेकेदार कम्पनी सम्पर्कमा नआएको सव-इन्जिनियर नेपालीको भनाइ छ । पाहुना घर निर्माणको लागि स्थानीयतहले पनि ताकेता नगरेको देखिन्छ । रासस
डेभिज फल्स अवलोकन गर्ने पर्यटक बढे, वार्षिक दुई करोड आम्दानी
पोखरा । हिमाली दृश्य, गुफा, तालतलैया, सांस्कृतिक र प्राकृतिक सम्पदाले पोखरा स्वदेशी विदेशी पर्यटकका लागि आकर्षक पर्यटकीय गन्तव्य मानिन्छ । पोखरा पुग्नेहरुलाई सुन्दर र आकर्षक लाग्ने ठाउँ हो फेवातालको निकासको रुपमा रहेको पाताले छाँगो । पोखरा–१७ को छोरेपाटनमा रहेको यस छाँगोले पर्यटकलाई सधै लोभ्याइरहेको छ । जमिनको सतहभन्दा तल गुप्तेश्वर गुफातर्फ झर्ने यो झरना बर्खायाममा ठूलो र आकर्षक देखिन्छ । पर्यटकलाई लोभ्याउने पाताले छाँगोलाई ‘डेभिज फल्स’ भनेरसमेत चिनिन्छ । कोभिडका कारण दुई वर्षदेखि छाँगो अवलोकन गर्नेको कमी आएपनि दसैँपछि पर्यटकको सङख्या ह्वात्तै बढेको छ । अहिले अधिकांश भारतीय पर्यटक र शैक्षिक भ्रमणमा आउने विद्यार्थीहरू बढी हुने गरेको जानकारी पातले छाँगोस्थित टिकट काउन्टरका प्रमुख सुरेन्द्र सापकोटाले दिए । सबै देशका गरी यतिबेला दैनिक तीनदेखि तीन हजार पाँच सयको सङ्ख्यामा छाँगो अवलोकन गर्न आउने पर्यटकको तथ्याङ्क पनि सापकोटाले दिए । दशैं अघि दैनिक हजारको सङ्ख्यामा अवलोकन गर्न पर्यटक आउथे । सोमबार दिउँसो पातले छाँगो अवलोकन गर्न पुगेकी भारत विहार प्रदेश निवासी पुनम कुमारीले भने, ‘पातले छाँगो निकै सुन्दर लाग्यो, यहाँका फेवा ताल, गुप्तेश्वर र महेन्द्र गुफा, म्युजियम लगायत अन्य ठाउँ सुन्दर छन् ।’ स्पेनबाट आएका दुई पर्यटक पातले छाँगो अवलोकनपछि भन्दै थिए, यस्ता प्राकृतिक झरनाले हाम्रो मन निकै लोभ्यायो । सहर नजिकै फेवाताल, डेभिज फल्स, बेगनास, माछापुच्छ्रे हिमाल जस्ता प्राकृतिक सम्पदा देख्न पाउँदा आनन्दित भएको उनीहरु बताउँछन् । पातले छाँगो अवलोकन गरेबापत प्रवेश शुल्कबाट वार्षिक दुई करोड रुपैयाँ बढी आम्दानी हुन्छ । छाँगो सञ्चालन र संरक्षणको जिम्मा स्थानीय छोरेपाटन माविले लिएको छ । उक्त शुल्कबापत हुने आम्दानी निजी स्रोतबाट राखिएका ७० शिक्षकको तलब र छाँगोमा परिचालित कर्मचारीको तलबका साथै बाँकी रकम त्यहीको संरचना निर्माणमा खर्च गर्ने गरेको उक्त विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्माले बताए । प्रधानाध्यापक शर्माका अनुसार विद्यालयमा दुई हजार तीन सय विद्यार्थी छन् । त्यहाँ सरकारीस्तरबाट २५ शिक्षक दरबन्दी छन् । निजीस्तरबाट ७० शिक्षक तथा कर्मचारी रहेका हुँदा शुल्कबाट उठेको रकम अधिकांश तलब भत्तामा नै खर्च हुने गर्छ । २०३५ सालदेखि विद्यालयले पाताले छाँगो अवलोकन गर्ने पर्यटकबाट प्रवेश शुल्क उठाउँदै आएको हो । आम्दानीको ४० प्रतिशत पाताले छाँगो व्यवस्थापन र बाँकी ६० प्रतिशत विद्यालयको शैक्षिक भौतिक विकासका लागि खर्च गरिने जानकारी शर्माले दिए । यहाँको पर्यटकहरु सेल्फी खिच्दै छाँगोबाट आइरहेको पानीको शीतलतामा रमाइरहेको यहाँ पुग्ने जोकोहीले सजिलै हेर्न सकिन्छ । डेभी नाम गरेकी एक स्विस पर्यटक सन् १९६१ यस झरनाबाट खसेर बेपत्ता भएको हुनाले यस झरनाको नाम डेभिज फल्स रहन गएको हो । पाँच सय मिटर भूमिगत जल प्रवाह र सय फिट गहिराइ रहेको छाँगोमा निरन्तर जल प्रवाह भइरहन्छ भने जेठदेखि असोज महिना छाँगो हेर्न आकर्षक मानिन्छ । छाँगो वरिपरिका फूलका बगैँचा, परम्परागत घर, हिमालका कृत्तिम दृश्य, बुद्धका मूर्ति र विभिन्न जनजातिका पोसाकसहितका तस्बिर खिच्ने ठाउँहरुले पनि पर्यटकलाई लोभ्याएको पाइन्छ । करिब १२ रोपनी क्षेत्रफलमा रहेको यस पर्यटकीयस्थलमा आन्तरिक र भारतीय पर्यटकको चाप हुने गरेको छ । अवलोकनका लागि टिकट दर प्रतिविद्यार्थी २० रुपैयाँ, नेपाली ४० रुपैयाँ र विदेशीलाई ८० रुपैयाँ र तेस्रो मुलुकका विदेशीका लागि रु सय तोकिएको छ ।