
काठमाडौं । बुद्ध एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने पहिलो अन्तर्राष्ट्रिय उडानको तयारी गरिरहेको छ । बुद्ध एयरले आगामी पुस १७ देखि सञ्चालनमा आउन लागेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडानको तयारी गरेकाे हाे ।
यसका लागि कम्पनीले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) समक्ष अनुमतिका लागि निवेदन दिएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले बताए ।
‘पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडानका लागि हामीले तयारी सुरु गरिसकेका छौं, सबै तालमेल मिले पहिलो अन्तर्राष्ट्रिय उडान बुद्ध एयरबाट हुनेछ,’ उनले भने । पोखरा विमानस्थलबाट बुद्ध एयरले भारतका तीन गन्तव्य पोखरा-बनारस-पोखरा, पोखरा-दिल्ली-पोखरा र पोखरा-देहरादुन-पोखरामा उडान गर्ने योजना बनाएको छ ।
पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ‘सिङ्गल अप्रोच’ बाट हुनेछ । विमानस्थलको पूर्वपट्टिबाट मात्रै अन्तर्राष्ट्रिय उडान र अवतरण हुनेछन् भने आन्तरिकतर्फ रन-वेको दुवैतर्फबाट उडान तथा अवतरण गर्न मिल्ने क्यानको भनाइ छ ।