भीस्याट र स्याटेलाइट प्रविधिबाट दुर्गम क्षेत्रमा सेवा विस्तार गर्दै नेपाल टेलिकम
काठमाडौं । नेपाल टेलिकमले देशका विकट तथा दुर्गम क्षेत्रहरूमा स्याटेलाइट प्रविधिमा आधारित जीएसएम मोबाइल तथा भीस्याट टेलिसेन्टरमार्फत दूरसञ्चार सेवा विस्तारलाई तीव्रता दिएको जनाएको छ । कम्पनीले टुजी प्रविधिमा आधारित मोबाइल, टेलिफोन र डाटा सेवा यस्ता क्षेत्रहरूमा उपलब्ध गराउँदै आएको छ । चालु आर्थिक वर्षमा डोल्पाको उपल्लो डोल्पास्थित कुगाउँ र निजाल, दोलखाको ना–गाउँ (च्छो–रोल्पा पदमार्ग) तथा रसुवाको चन्दनबारी (गोसाईकुण्ड पदमार्ग) गरी चार नयाँ स्थानमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गरिएको छ । हालसम्म नेपाल टेलिकमले देशका ३८ दुर्गम स्थानमा यस्तो सेवा सञ्चालन गरिरहेको छ, जसमा सबैभन्दा धेरै १४ साइट डोल्पा जिल्लामा रहेका छन् । हुम्ला र मुगुमा पाँच–पाँच स्थानमा सेवा उपलब्ध छ भने मनाङ, दोलखा, ताप्लेजुङ, सोलुखुम्बु, रसुवा, दार्चुला, बाजुरा र जुम्लाका विभिन्न स्थानहरूमा पनि सेवा विस्तार गरिएको छ । कम्पनीका अनुसार दुर्गम क्षेत्रमा सेवा पुर्याउन हेलिकप्टरमार्फत उपकरण ढुवानी गर्नुपरेको छ । यस्ता परियोजनाबाट व्यावसायिक लाभ नहुने भए पनि ‘राष्ट्रको सञ्चार’ भन्ने नारालाई साकार पार्ने उद्देश्यले सेवा विस्तार गरिएको हो । नेपाल टेलिकमले आगामी दिनमा यी साइटहरूलाई आधुनिक प्रविधिमार्फत स्तरोन्नति गर्ने योजना पनि अघि सारेको छ । ब्याकबोन ट्रान्समिसन परियोजना अन्तर्गत अप्टिकल फाइबर नेटवर्क विस्तार, नेटवर्क सुदृढीकरण, उच्च क्षमतायुक्त राउटर तथा डीडब्लुडीएम उपकरण जडान लगायतका कार्य भइरहेका छन् । यससँगै पूर्व–पश्चिम तथा उत्तर–दक्षिण करिडोरमा उच्च क्षमतायुक्त, सुरक्षित र भरपर्दो डाटा सेवा विस्तार गर्ने लक्ष्यसहित अप्टिकल फाइबर केबल बिछ्याउने, माइक्रोवेभ लिंक स्तरोन्नति गर्ने र वैकल्पिक लिंक स्थापना गर्ने कार्य पनि अघि बढाइएको छ । कम्पनीले दुर्गम क्षेत्रमा सेवा निरन्तरता सुनिश्चित गर्न सम्बन्धित निकायहरूसँग समन्वय, मर्मतसम्भार तथा पूर्वाधार संरक्षणका उपायहरू अवलम्बन गरिरहेको जनाएको छ ।
मेटामाथि इयुको बालसुरक्षा आरोप
काठमाडौं । युरोपेली सङ्घ (इयु) ले सामाजिक सञ्जालमार्फत बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाब बढाएको छ । नियामकहरूले फेसबुक र इन्स्टाग्रामजस्ता प्लेटफर्ममा कम उमेरका प्रयोगकर्तालाई रोक्न असफल भएको निष्कर्ष सार्वजनिक गर्दै कडा कारबाहीको चेतावनी दिएका छन् । इयुको कार्यकारी निकाय युरोपेली आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक मूल्याङ्कनमा मेटाले १३ वर्षभन्दा कम उमेरका बालबालिकालाई प्लेटफर्ममा साइन अप गर्नबाट रोक्न प्रभावकारी प्रणाली विकास गर्न नसकेको जनाएको छ । आयोगका अनुसार खाता खोलिसकेपछि पनि यस्ता प्रयोगकर्तालाई पहिचान गरी हटाउने काम पर्याप्त रूपमा भइरहेको छैन । मेटाले आफ्नै नियमअनुसार फेसबुक र इन्स्टाग्राम प्रयोग गर्न न्यूनतम उमेर १३ वर्ष तोकेको भए पनि व्यवहारमा त्यसको कार्यान्वयन कमजोर देखिएको आयोगको ठहर छ । यसले बालबालिकालाई प्लेटफर्ममा प्रवेश मात्र होइन, उनीहरूलाई उमेरअनुसार अनुपयुक्त सामग्री र अनुभवको जोखिममा पनि राखिरहेको उल्लेख गरिएको छ । यो मुद्दा केवल पहुँचमा सीमित नभएको आयोगले जनाएको छ । १३ वर्षमुनिका बालबालिकाले प्लेटफर्म प्रयोग गर्दा उनीहरू कस्तो सामग्रीसँग सम्पर्कमा आउँछन् भन्ने जोखिमको मूल्याङ्कनसमेत मेटाले पर्याप्त रूपमा नगरेको निष्कर्ष निकालिएको छ । युरोपेली आयोगले यो कारबाही डिजिटल सेवा ऐन (डिएसए) अन्तर्गत अघि बढाएको हो । उक्त ऐनले २७ सदस्य राष्ट्रहरूमा सञ्चालन गर्ने ठूला प्रविधि कम्पनीहरूलाई प्रयोगकर्ताको सुरक्षा, विशेषगरी नाबालिगहरूको सुरक्षामा थप जिम्मेवार बनाउने व्यवस्था गरेको छ । आयोगका कार्यकारी उपाध्यक्ष हेना विर्ककुनेनले सन् २०२४ देखि सुरु गरिएको अनुसन्धानले मेटाका प्लेटफर्महरूले आफ्नै नियम र सर्तमा १३ वर्षमुनिका प्रयोगकर्तालाई लक्षित नगर्ने उल्लेख गरे पनि व्यवहारमा त्यसलाई लागू गर्न ‘अत्यन्त सीमित प्रयास’ मात्र गरिएको देखाएको बताए । उनका अनुसार नियमहरू केवल कागजमा सीमित नहुने, प्रयोगकर्ताको सुरक्षाका लागि ठोस कार्यमा रूपान्तरण हुनुपर्ने स्पष्ट सन्देश दिनुपर्ने समय आएको छ । अब मेटालाई आयोगको प्रारम्भिक निष्कर्षमा आफ्नो प्रतिक्रिया दिने अवसर दिइनेछ । अन्तिम निर्णयपछि यदि उल्लङ्घन प्रमाणित भएमा कम्पनीलाई विश्वव्यापी वार्षिक आम्दानीको छ प्रतिशतसम्म जरिवाना लगाइने सम्भावना रहेको छ । यस विषयमा मेटाले भने तत्काल कुनै प्रतिक्रिया दिएको छैन । इयुको यो कदमले विश्वभर सामाजिक सञ्जाल कम्पनीहरूमाथि बालसुरक्षासम्बन्धी जिम्मेवारी कडा पार्ने सङ्केतका रूपमा हेरिएको छ । रासस
एनटीसी प्रिपेडका २८ दिने सबै प्याकेज अब ३० दिन
काठमाडौं । नेपाल टेलिकम (एनटीसी) ले आफ्नो प्रिपेड सेवाअन्तर्गतका २८ दिन अवधिका सबै प्याकेजको समयावधि बढाएर ३० दिन बनाएको छ । एनटीसीले आफ्नो ‘कम्बो–२९९ प्याक’ को समयावधि गत चैत २४ गते देखि नै २८ दिनबाट बढाएर ३० दिन कायम गरिसकेको छ । यो अवधिका सबै प्याकेज यही वैशाख ११ गतेबाट केही मूल्य समायोजनसहित ३० दिन अवधिको बनाइएको एनटीसीका प्रवक्ता रविन्द्र मानन्धरले जानकारी दिए । यस व्यवस्थाबाट एनटीसीका ग्राहकलाई प्रत्यक्ष रूपमा लाभ पुग्ने अपेक्षा गरिएको छ । साथै उही मूल्यमा दुई दिन बढी सेवा पाउने भएकाले ग्राहकले डेटा, भ्वाइस तथा एसएमएस प्रयोगमा अतिरिक्त सुविधा प्राप्त गर्नेछन् । यसले खर्च व्यवस्थापनलाई पनि सहज बनाउने र उपभोक्ता सन्तुष्टि बढाउने विश्वास गरिएको छ ।