अबदेखि रत्नपार्कमा निःशुल्क इन्टरनेट चलाउन पाइने
काठमाडौं । काठमाडौंको रत्नापार्कमा जाडो याममा घाम ताप्दै निःशुल्क इन्टरनेट चलाउन पाइने भएको छ । कुनैबेला अस्तव्यस्त फुटपाथ भएको क्षेत्रका रुपमा स्थापित (शंखधर उद्यान) रत्नपार्क व्यवस्थित बनेसँगै निःशुल्क वाइफाइ सेवासमेत जडान सुरु गरिएको छ । महानगरपालिका अन्तर्गतको हरियाली प्रवर्द्धन आयोजनाले नेपाल टेलिकमका छ वटा राउटर ल्याएर रत्नापार्कमा निःशुल्क वाइफाइ जडानको काम गरिरहेको छ । शंखधर उद्यान तथा रानीपोखरी एकाइका टेक्निसियन सुरेशकुमार श्रेष्ठ मङ्सिरभित्रै रत्नपार्कको सबै स्थानमा निःशुल्क इन्टरनेट सेवा प्रदान गरिने बताउँछन् । 'निःशुल्क वाइफाइका लागि नेपाल टेलिकमका छ वटा राउटर ल्याएर ५०० एमविपिएस क्षमताको इन्टरनेट जडान कार्य भइरहेको छ, चाँडै नै रत्नापार्कभित्र छिर्ने सर्वसाधारणले घाम ताप्दै निःशुल्क इन्टरनेट सेवा लिन सक्नेछन्', उनी भन्छन् । अव्यवस्थित रत्नापार्कलाई काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७२/७३ मा करिब ८० लाख रुपैयाँको लागतमा पुनःनिर्माण र व्यवस्थापन गरेपछि रत्नपार्कको मुहार फेरिएको छ भने अहिले रत्नपार्कभित्र छिर्ने सर्वसाधारणको सङ्ख्यासमेत बढेको छ । काठमाडौं महानगरपालिकाले रत्नापार्कलाई व्यवस्थित बनाएसँगै अहिले रत्नपार्कमा वृद्धवृद्धा घाम ताप्नदेखि युवायुवती तस्बिर खिच्न र रमाउन पुग्ने गरेका छन् । महानगरपालिकाअन्तर्गतको हरियाली प्रवर्द्धन आयोजनाद्वारा हाल सञ्चालनमा रहँदै आएको रत्नपार्कलाई शङ्खधर पार्कका रूपमा समेत चिनिँदै आएको छ । महानगरपालिकाले विसं २०७२ असार १५ देखि रत्नपार्क प्रवेशमा शुल्क लिने व्यवस्था गरेको थियो । रत्नपार्क भित्र छिर्नका लागि हाल विद्यार्थीलाई २० रुपैयाँ, सर्वसाधारणलाई ३० रुपैयाँ र सार्क राष्ट्र तथा विदेशी पर्यटकलाई १०० रुपैयाँ लाग्ने गरेको छ । यस्तै व्यक्तिगत क्यामेरा लिएर भित्र प्रवेश गर्नेले १०० रुपैयाँ, दोहोरी गीत म्युजिक भिडियो सुटिङ गर्न जानुपरेमा पाँच हजार रुपैयाँ, विवाह फोटो सुटका लागि ५०० रुपैयाँ, व्यावसायिकरूपमा फोटो खिच्नेले एक हजार ५०० रुपैयाँ र सांस्कृतिक पोशाक झल्काउन जानेले १०० रुपैयाँ शुल्क तिनुपर्ने व्यवस्था रहेको छ । महानगरले रत्नपार्कबाट हाल वार्षिक ५० लाख रुपैयाँदेखि एक करोडसम्म आम्दानी गर्दै आएको छ । शंखधर उद्यान तथा रानीपोखरी एकाइका प्रमुख उत्तमकुमार घले पछिल्लो सयम रत्नपार्क छिर्नेको सङ्ख्या बढेको बताउँछन् । रत्नपार्कभित्र चालू आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म ६१ हजार ५३७ जना प्रवेश गरेका छन् । तीमध्ये १२ हजार ८५० विद्यार्थी र ४८ हजार ६८७ रहेका छन् । ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र एकल महिलालाई रत्नापार्क प्रवेशमा शुल्क लाग्दैन । महानगरपालिकाले चालू आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्मको चार महिनामा १८ लाख १४ हजार ४१० रुपैयाँ राजस्व संकलन गरेको छ । महानगरले रत्नपार्कभित्र क्यामरा लगेवापतको शुल्क दुई हजार ६०० रुपैयाँ, व्यवसायिक रिलवापत रु एक हजार ५०० रुपैयाँ, सर्वसाधारण प्रवेश शुल्क १४ लाख ६० हजार ६१० रुपैयाँ, विद्यार्थी प्रवेश शुल्क दुई लाख ५७ हजार रुपैयाँ, दोहोरी गीत म्युजिक भिडियो सुटिङवापत सात हजार रुपैयाँ, पर्यटक प्रवेश शुल्कवापत ७१ हजार ५०० रुपैयाँ, ड्राइफुड पिकनिकवापत चार हजार २०० रुपैयाँ, चलचित्र सुटिङवापत १० हजार रुपैयाँ आम्दानी गरेको छ । रत्नपार्कमा हाल दैनिक ५०० देखि एक हजार व्यक्ति घुम्नका लागि आउने गरेका छन् । शनिबार र बिदाको दिनमा भने त्योभन्दा धेरै हुने गरेको उद्यानका प्रमुख घले बताउनुहुन्छ । रत्नपार्कभित्र मानिस घाम तापेर सुखदुःखका गफ गर्ने, स्कुलका विद्यार्थीले खेल्ने, युवायुवती फोटो खिच्न तथा रमाउनका लागि आउने गरेका छन् । रत्नपार्कभित्र बस्नका लागि सेट बक्स र कुर्सीको व्यवस्था गरिएको छ । यहाँ सार्वजनिक शौचालयसमेत रहेको छ । यस्तै पार्कभित्र शंखधरको सालिक, पद्मरत्न तुलाधरको सालिक, युनिगार्डेनलगायत रहेको छ । उद्यानका प्रमुख घले रत्नपार्कभित्र हाल पानीको अभाव रहेकाले बोटविरुवा संरक्षणमा समस्या परेको बताउँछन् । पानी ट्यांकरमा ल्याएर फूल तथा बोटविरुवालाई हाल्नुपर्ने अवस्था आएको उनको भनाइ छ । उक्त उद्यानमा चाँडै नै पानीको फोहोरासमेत सञ्चालन गर्ने लक्ष्य राखिएको छ । रासस
सोशल मिडिया प्रतिबन्धले बालबालिकालाई जोखिममा पार्ने युट्युबको चेतावनी
काठमाडौं । युट्युबले बुधबार अस्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाका लागि लाग्ने सामाजिक सञ्जाल प्रतिबन्धको कडा आलोचना गर्दै यसलाई ‘छिटो निर्णय गरिएको’ र बालबालिकालाई अनलाइनमा कम सुरक्षित बनाउने बताएको छ । अस्ट्रेलियाले १० डिसेम्बरदेखि फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युब जस्ता लोकप्रिय सामाजिक सञ्जालमा १६ वर्ष मुनिका प्रयोगकर्ताहरूलाई प्रतिबन्ध लगाउने योजना बनाएको छ । युट्युबका सार्वजनिक नीतिका प्रमुख रेचेल लर्डले भने, 'यो कानूनले बालबालिकालाई अनलाइन सुरक्षित बनाउने वाचा पूरा गर्ने छैन । बरु, अस्ट्रेलियाली बालबालिकालाई युट्युबमा कम सुरक्षित बनाउने सम्भावना छ । हामीले अभिभावक र शिक्षकहरूबाट यस्ता चिन्ताहरू सुनेका छौं ।' युट्युबका अनुसार १० डिसेम्बरदेखि १६ वर्ष मुनिका सबै अस्ट्रेलियाली प्रयोगकर्ताहरू स्वचालित रूपमा साइन आउट हुनेछन् । यी प्रयोगकर्ताहरू खाता बिना वेबसाइट हेर्न सक्ने भए पनि धेरै सुविधा जस्तै ‘सुरक्षा फिल्टर’ जस्ता सेटिङहरू गुमाउनेछन् । लर्डले भने, 'हामी डिजिटल संसारमा सुरक्षित राख्ने विश्वास गर्छौं ।' युट्युबले खाताहरू सुरक्षित राख्ने र प्रयोगकर्ता १६ वर्ष पुगेपछि पुनः सक्रिय गर्न सक्ने व्यवस्था गरेको छ । यसले पहिलेका डाटा हटाउने छैन । अस्ट्रेलियाली सञ्चार मन्त्री अनिका वेल्सले युट्युबको आलोचना ‘असामान्य’ भएको बताउँदै भने, 'यदि युट्युबले हामीलाई आफ्नो वेबसाइट पूर्ण रूपमा सुरक्षित नभएको र केही सामग्री बालबालिकाको लागि अनुपयुक्त भएको सम्झाइरहेको छ भने, यो समस्या युट्युबले समाधान गर्नुपर्छ ।' विश्वभर सामाजिक सञ्जालका सम्भावित जोखिमहरूसँग जुझ्दै नियामकहरूले यस किसिमको प्रतिबन्ध काम गर्न सक्छ कि सक्दैन भन्ने विषयमा चासो राखिरहेका छन् । अस्ट्रेलियन सरकारले सुरुवातमा प्रतिबन्ध पूर्ण रूपमा प्रभावकारी नहुन सक्ने र केही उमेर मुनिका प्रयोगकर्ताहरू नियमको घेरेबाट बाहिर पर्न सक्ने स्वीकार गरेको छ । तर यदि प्लेटफर्महरूले ‘उचित कदम’ नचालेको खण्डमा तिनीहरूलाई ४९.५ लाख अस्ट्रेलियन डलर (३२ लाख अमेरिकी डलर) जरिवाना लाग्नेछ । मेटाले उमेरको आधारमा केही खाता निष्क्रिय गर्न सुरु गरिसकेको छ । डिजिटल अधिकार समूह ‘डिजिटल फ्रिडम प्रोजेक्ट’ ले गत हप्ता उच्च अदालतमा मुद्दा दायर गर्दै यसलाई अभिव्यक्ति स्वतन्त्रतामा ‘अन्यायपूर्ण हमला’ भएको दाबी गरेको छ । रासस
एनसेल एपको डाउनलोड १ करोड नाघ्यो, दैनिक १० जीबी डेटा उपहार
काठमाडौं । एनसेलको आधिकारिक मोबाइल एप ‘एनसेल एप’ को डाउनलोड सङ्ख्या एक करोड नाघेको छ । एक करोड नाघेको अवसरमा कम्पनीले १० दिने ‘उत्सव कार्यक्रम’ सार्वजनिक गरेको छ । मंगलबारदेखि सुरु भएको योजनाअन्तर्गत हरेक दिन १० जना भाग्यशाली ग्राहकले १० जीबी डेटा निःशुल्क प्राप्त गर्ने एनसेलले जनाएको छ । पहिलो पटक एप डाउनलोड गरी लग–इन गर्ने वा एपमार्फत कुनै प्याक खरिद गर्ने ग्राहकहरू पुरस्कारका लागि योग्य हुनेछन् । विजेताले प्राप्त गर्ने डेटा १० दिनसम्म प्रयोग गर्न सक्नेछन् । एनसेलका चिफ डिजिटल च्यानल्स एन्ड एक्सपिरियन्स अफिसर स्टिवन रोड्रिगेजका अनुसार एक करोड डाउनलोडको उपलब्धिले एनसेल एप ग्राहकहरूको डिजिटल दैनिकीको अभिन्न हिस्सा बनेको प्रमाणित गरेको छ । उनले सरकारको डिजिटल नेपाल अभियान तथा कागजरहित सार्वजनिक सेवा प्रवाहलाई यस उपलब्धिले टेवा पु–याएको उल्लेख गर्दै ग्राहकप्रति आभार व्यक्त गरे । एनसेल एपमार्फत ग्राहकले सेन्टर वा पसलमा नगईकनै रिचार्ज, प्याक खरिद, ब्यालेन्स ट्रान्सफर, गुनासो दर्ता, सेवा सक्रिय र निष्क्रिय गर्ने जस्ता सुविधा लिन सक्छन् । विदेशमा रहेका नेपालीले पनि यही एप प्रयोग गरी रोमिङ सेवा व्यवस्थापन तथा रिचार्ज गर्न सक्ने गरेका छन् । गुगल प्ले स्टोर र एप्पल एप स्टोर दुवैमा उपलब्ध एनसेल एप प्रयोगकर्ताको सहजता र प्रयोगअनुकूलता ध्यानमा राखी डिजाइन गरिएको कम्पनीले जनाएको छ ।