एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएलका खेलहरू लाइभ हेर्न पाइने
काठमाडौं । एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको डिजिटल स्ट्रिमिङ पार्टनर डिसहोमसँगको सहकार्यमा ग्राहकका लागि एनपीएल प्ले प्याक सञ्चालनमा ल्याएको छ । यो प्याकका साथ ग्राहकहरूले डिशहोम गो एपमार्फत हाल भइरहेका खेलहरुको मजा आफ्नै मोबाइलमा लिन सक्छन् । ग्राहकले एनपीएल दोस्रो संस्करणका खेलहरु सहज रूपमा हेर्न सकून् भन्ने उद्देश्यले एनपीएल प्ले प्याक संचालनमा ल्याइएको एनसेलले जनाएको छ । ग्राहकले बन्डल भएर आउने थप डेटा र सुविधाका आधारमा करसहित रु २९९ पर्ने यो एपीएल प्ले प्याक लिन सक्छन् । प्याकमा खेलको लाइभ मजा लिन डिशहोम गो एपमा सहज पहुँच सुनिश्चिन गरिएको छ । एनपीएल प्ले प्याकमा ग्राहकले २८ दिनका लागि मान्य रहने १ जीबी डेटा बन्डल सेवाका रूपमा पाउँछन् । ग्राहकले एनसेल एप वा *१२३# डायल गरी सहजै यी प्याक खरिद गर्न सक्छन् भने मुलुकभर रहेका एनसेलका खुद्रा विक्रेताहरु मार्फत पनि प्याक खरिद गर्न सकिन्छ । प्याक लिएपछि ग्राहकले आफ्नो मोबाइल नम्बरमा प्राप्त एसएमएफमार्फत डिशहोम गो एप लगइन गरी एनपीएलका खेलहरू लाइभ हेर्न पाउछन् । एनसेलले एनपीएलसँग पहिलो संस्करणमा जस्तै दोस्रो संस्करणमा पनि ‘पावर्ड वाइ’का रूपमा सहकार्य जारी राखेको छ । यस पटक ‘युनाइटेड वाइ क्रिकेट, कनेक्टेड वाइ एनसेल’ भन्ने नाराका साथ एनसेल एनपीएलमा आवद्ध रहेको छ । एनपीएलका खेलहरूलाई थप रोमाञ्चक बनाउनका लागि एनसेलले एनपीएल फ्यान प्याकहरू पनि सार्वजनिक गरिसकेको छ । यसैगरी, एनसेल फाउन्डेसनले पनि गत वर्ष जस्तै यस वर्ष पनि व्यवसायिक सामाजिक जिम्मेवारीअन्तर्गतको कामलाई जारी राखेको छ । जसमा एनपीएलका खेलमा प्रहार हुने प्रत्येक चौकावापत एनसेलले ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई ४ वटा शैक्षिक सामग्री प्रदान घोषणा गरेको छ ।
भायानेटको २०० एमबिपिएसको योजना लिने ग्राहकलाई एक महिना इन्टरनेट निःशुल्क
काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशन लिमिटेडले नयाँ ‘सुपरहिट इन्टरनेट प्याक’ सार्वजनिक गरेको छ । यो योजना उच्चगति, भरपर्दो र किफायती इन्टरनेट सेवा चाहने प्रयोगकर्ताका लागि विशेष रूपमा तयार गरिएको कम्पनीले जनाएको छ । सुपरहिट इन्टरनेट प्याकअन्तर्गत भायानेटले १०० एमबिपिएस, २०० एमबिपिएस र ३०० एमबिपिएस इन्टरनेट योजना सार्वजनिक गरेको छ । यसमध्ये सबैभन्दा लोकप्रिय रहेको २०० एमबिपिएसको वार्षिक प्याकेज अब ११ हजार २ सय रुपैयाँ (करसहित) मा उपलब्ध हुनेछ । साथै, २०० एमबिपिएस वा सोभन्दा माथिको वार्षिक योजना लिने ग्राहकले एक महिना इन्टरनेट निःशुल्क पाउनेछन् । यिनै प्याकेजहरूमा ‘प्रायोरिटी सर्भ’ सहित ‘सेम डे सर्पोट’ सुविधा पनि समावेश गरिएको छ । कम्पनीका अनुसार दिउँसो ३ बजेअघिसम्म दर्ता गरिएका इन्टरनेटसम्बन्धी गुनासाहरूलाई उही दिनमै प्राथमिकताका साथ समाधान गरिनेछ । ग्राहकको इन्टरनेट अनुभव सहज बनाउन भायानेटले मेश राउटर पनि विशेष मूल्यमा उपलब्ध गराएको छ । सामान्यतया ३ हजार रुपैयाँ पर्ने मेश राउटर हाल २ हजार ५०० रुपैयाँमा पाइनेछ । नयाँ ‘सुपरहिट इन्टरनेट प्याक’ले प्रयोगकर्तालाई छिटो, भरपर्दो र स्थिर सेवा उपलब्ध गराउनेछ । यो योजना नयाँ तथा पुराना दुवै ग्राहकका लागि उपयोगी हुने भायानेटको दाबी छ ।
निजी कलेज धमाधम एआई कोर्समा, सरकारी कलेजलाई छैन वास्ता
काठमाडौं । शिक्षा, स्वास्थ्य, उद्यमशीलतालगायत हरेक क्षेत्रमा कृत्रिम बौद्धिकता (एआई) ले विश्वव्यापी रूपमा क्रान्तिकारी परिवर्तन ल्याइरहेको छ । भविश्यको मुख्य आधार एआईमै रहेको विश्लेषण गर्दै विश्वका अधिकांश शिक्षालयले यसलाई प्राथमिकता दिन थालेका छन् । नेपालका निजी कलेजहरूले पनि यही प्रवृत्ति पछ्याउँदै धमाधम एआई कोर्स सञ्चालन गरिरहेका छन् । तर, त्रिभुवन विश्वविद्यालय (टियू) अन्तर्गतका सरकारी क्याम्पस भने अझै सुस्त गतिमा छन् । उपत्यकाभित्र मात्रै सयौं विद्यार्थी अध्ययनरत क्याम्पसहरूमा एआई विषयलाई प्राथमिकतामा नराखिएको पाइएको छ । कतिपय सरकारी कलेजका विद्यार्थीलाई एआईसम्बन्धी सामान्य जानकारीसमेत उपलब्ध गराइँदैन । सामाजिक सञ्जाल वा अनौपचारिक माध्यमबाट विद्यार्थीले प्रविधिबारे बुझिरहे पनि कोर्सकै रूपमा एआई पठाउने अभ्यास सरकारी क्याम्पसमा अत्यन्त न्यून छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पुल्चोक इन्जिनियरिङ क्याम्पसले एआई कोर्ष सुरु गरेपनि अन्य संकायमा भने यो कोर्ष प्राथमिकतामा छैन । विश्वविद्यालयले नै एआईलाई प्राथमिकता नदिँदा अन्य सरकारी क्याम्पसहरू पनि यो विषयलाई लिएर गम्भीर भएको देखिँदैन । काठमाडौंमा घण्टाघरमा रहेको त्रिचन्द्र क्याम्पस पूरानो क्याम्पस मध्येमा पर्छ । स्नातक र स्नातकोत्तर तहमा बर्सेनि सयौं विद्यार्थी अध्यापन गराउँदै आएकाले कलेजमा एआई जस्ता प्राविधिक विषयमा सिकाएको पाइँदैन । त्रिचन्द्र कलेजका संयोजक डा.दयानिधि छत्कुली पूर्वाधारदेखि सेवासुविधा नहुँदा कोर्सहरू सञ्चालन गर्न नसकेको बताउँछन् । ‘आफ्नो स्रोत केही छैन, आयस्रोत भनेको विद्यार्थीको शुल्कमात्रै हो, तलब पनि सरकारले टाउको गनेर पठाउँछ । एआई कोर्स सञ्चालनका लागि ल्याब, कम्प्युटरको सुविधा, भवन हुनुपर्छ । हामीसँग केही पनि छैन । अब यस्तो अवस्थामा एआई कोर्स कसरी सम्भव हुन्छ ?,’ उनले भने । छत्कुलीका अनुसार कलेजसँग आफ्नो अन्य कुनै स्रोत छैन । विद्यार्थीको शुल्कबाट पार्टटाइम राखिएका शिक्षकहरूलाई पारिश्रमिक दिन पुग्दैन । त्यसमाथि विद्यार्थीको शुल्क पनि निकै कम छ । यहाँ बीएस्सी पढ्ने विद्यार्थीले प्रतिवर्ष ६ हजार शुल्कमात्रै तिरे पुग्छ । उनी भन्छन्, ‘शुल्क बढाउन पनि मिल्दैन, युनियनहरूले आन्दोलन गरिहाल्छन्, ल्याबमा उत्तिकै खर्च चाहिन्छ ।’ उनी अहिले एआई प्राविधिक विषयमा मात्र नभई अप्राविधिक विषयमा पनि निकै महत्वपूर्ण हुने बताउँछन् । मीनभवनमा रहेको कमर्स क्याम्पसले पनि एआईका कुनै कार्यक्रम सुरु नगरेको जानकारी दिएको छ । यस्ता कार्यक्रम सञ्चालनका लागि टियूबाट कुनै निर्देशन नआएकाले यो विषयमा कुनै कार्यक्रम सञ्चालन गर्न नसकेको क्याम्पस प्रशासनले जनाएको छ । ‘हामीले कुनै पनि पाठ्यक्रम, कोर्स आफै सञ्चालन गर्न मिल्दैन, टियूले जेजे आदेश दिन्छ, हामीले त्यही गर्नुपर्छ । कलेजलेलाई बजेटदेखि हरेक कुरा टियुले नै व्यवस्थापन गर्ने भएकाले कार्यक्रम सुरु गर्न सकिएको छैन,’ प्रशासनका एक कर्मचारीले भने । ठमेलमा रहेको अमृत साइन्स कलेजमा पनि एआई विषय पढाइ हुँदैन । जबकि अमृत क्याम्पसमा पढाइ हुने भनेकै विज्ञान विषय हो । क्याम्पसका सहायक प्रमुख गोपाल न्यौपानेका अनुसार एआईको प्रयोग कसरी गर्ने भन्ने विषयमा बीएससीआईटीमा पढाइ हुन्छ तर कोर्सको रूपमै पढाउन सुरु गरिएको छैन । ‘अन्य कलेजजस्तै एआई भन्ने विषय छैन, तर एआई के हो भन्ने जानकारी दिने तरिकाले सामान्य जानकारी गराउने खालको मात्र विषय समावेश गरिएको छ, ’ उनी भन्छन्, ‘अन्य विश्वविद्यालय वा कलेजमा छुट्टै एआई विषय नै हुन्छ, विद्यार्थीले कुन विषय रोज्ने भन्नेमा कसैले एआई नै छनोट गर्छन् तर हामी कहाँ त्यस्तो छैन ।’ कोर्षकै रूपमा एआई सुरु त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको इन्जिनियरिङ अध्ययन संस्थानले भने एआई कोर्स सुरु गरेको जनाएको छ । संस्थानका डीन डा. सुशील बज्राचार्यले मास्टर अफ कम्पुयटर इन्जिनियरिङ, ब्याचलर इन इलेक्ट्रोनिक्स कम्युनिकेसन विषय अन्तर्गत कोर्सको रूपमा पढाउँदै आइरहेको जानकारी दिए । ब्याचलर्स कम्प्युटर इन्जििनियरिङ, ब्याचलर इलेक्टो«निक्स एण्ड कम्युनिकेसन आईटीका विषयमा एआई कोर्सहरू राखिएको उनले बताए । अहिले निजी कलेजले भने कार्यक्रमको रूपमा ब्याचलर्समा कोर्स सुरु गरेका छन् । जसले विद्यार्थीको आकर्षण बढेको छ । उनी भन्छन्, ‘मास्टर्समा साइवर सेक्युरिटी कोर्समा पनि एआईको कोर्स छ । तर अलग्गै ब्याचलर्स इन एआई भन्ने कोर्ष भने छैन, हामीले नयाँ पाठ्यक्रममा राखेर एआइको विषय अध्यायन गराइरहेका छौं ।’ अहिले यो कोर्स संसोधनका लागि आफू लागिरहेको उनले बताए । इन्जिनियरिङ अध्ययन संस्थानल एआई कोर्ष सुरु गरेपनि त्रिविका अन्य कुनै पनि संस्थानले यो विषयलाई प्राथमकिता दिएका छैनन् । त्रिविको व्यवस्थापन संकायका प्राध्यापक भोजराज अर्याल कुनै पनि संकायले एआई कोर्सलाई अगाडि बढाउन नसकेको बताउँछन् । व्यवस्थापन संकायले बीआइएमको पाँचौं समेस्टरको पाठ्यक्रममा केही प्राविधिक विषय समावेश गरे पनि एआइ कोर्स नै सुरु नभएको उनी बताउँछन् । त्रिभुवन विश्वविद्यालयको करिकुलम डिपार्टमेन्टले भने नेपाली र अंग्रेजी बाहेकको कोर्सबाहेक सबै काम डिन कार्यालयबाटै हुने भएकाले एआईको विषयमा जानकारी नभएको जनाएको छ । ‘गर्नुपर्ने काम त यही विभागको हो । तर, अहिले हामीले नेपाली र अंग्रेजी विषयको मात्र काम गरिरहेका छौं । एआई कोर्स पाठ्यक्रममा समावेश भए÷नभएको विषयमा हामीलाई जानकारी छैन,’ पाठयक्रम विकासकेन्द्रका एक कर्मचारीले भने । ‘कोर्समै एआई समेट्न समय लाग्छ’ त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक दीपक अर्याल कोर्स सञ्चालनका लागि नीति नै परिर्वतन गर्नुपर्ने भएकाले केही समय लाग्ने बताउँछन् । मौखिक आधारमा कोर्स परिवर्तन गर्न नसिकने हुँदा विश्वविद्यालय तयारीमा रहेको उनको भनाइ छ । उनी भन्छन्, ‘पाठ्यक्रममा कस्ता विषय समेट्ने, कुन विषय परिमार्जन गर्ने भन्ने विषयमा नीति बनाउनुपर्ने हुन्छ, नीति बनाउने भनेको त्रिवि सिनेटले हो । एआईमा जाने, एआई कोर्स डिजाइन गर्ने भन्ने नीति पास गर्ने तयारीमा छौं,’ उनले भने । ‘विश्वविद्यालय पुनःसंरचनामा र ओएनएम नयाँ गर्दैछौं, जुन सरंचनामा विश्वविद्यालय थियो अब त्यो ढंगल हुँदैन । नयाँ तरिकाले अगाडि बढ्नुपर्छ भन्ने महसुस भइसकेकाले त्यही अनुसारको काम पनि सुरु गरिसकेको छ,’ उनले थपे । अर्यालले अब प्रदेशका शैक्षिक गतिविधि प्रदेशमा टुंग्याउने गरी शैक्षिक छलफल अगाडि बढाइसकेको बताए । ‘अहिले हामी रिस्ट्रक्चर पनि प्रदेशमै होस् भन्ने छलफलमा छौं । भर्खरै टियू पोखरा च्याप्टरसँग छलफलमा थियौं, अब सबै प्रदेशमा प्रदाशिक हिसाबले जानुपर्छ भन्ने तरिकामा छौं । यसका लागि दौडधूपमा छौं त्यहीअनुसार कोर्ष डिजाइन गरिरहेका छौं,’ उनले भने । पहिले पुनःसंचनामा जाने, त्यही अनुसारको ओएनएम गर्ने यो गरिसकेपछि यता केन्द्रमा लोड पनि हुँदैन । अर्याल यसका लागि ढिलो भयो भन्दै आत्तिनुपर्ने अवस्था नरहेको बताउँछन् । ‘प्रविधिको विकाससँगै अहिले साना बच्चाहरूले एआई सिकिसकेको अवस्था छ, हामीले यो कार्यक्रम केही ढिलागरी सुरु गर्दैमा त्यति असर पर्ने देखिँदैन,’ उनी भन्छन्, ‘हामी पनि यो विषयमा लागिरहेका भएकाले अब हाम्रा विद्यार्थी पनि यो कोर्स चाँडै पढ्न पाउँछन् ।’ विज्ञहरु भन्छन् : ढिलो भयो विज्ञहरू भने सरकारले सरकारी क्याम्पसमा एआई सिकाउन ढिलो भइसकेको बताउँछन् । एआई भनेको मानिसले सोच्ने, बुझ्ने निर्णय गर्ने काम कम्प्युटरले गर्न सक्ने बनाउने विज्ञान हो । अहिले यो विज्ञानले संसारमा तहल्का मच्याइरहेको बताउँदै शैक्षिक संस्थाले यस्ता कुरामा जोड दिनुपर्ने उनीहरूको भनाइ छ । पछिल्लो समय भविश्यका सबै रोजगारी एआईसँग जोडिने भएकाले पनि शैक्षिक संस्थाहरूले प्राविधिक विषयलाई जोड दिनुपर्ने अस्कल क्याम्पसका सहायक प्रमुख न्यौपाने बताउँछन् । उनी भन्छिन्, ‘यो अहिलेको आवश्यकता हो तर टियुले काम गर्न सकेको छैन, एआईमात्र नभई अन्य सबै पाठ्यक्रम नै परिवर्तन आवश्यक छ ।’ ‘कतिपय ५०, ३०, २० वर्ष अगाडिका पाठ्यक्रम टियुले पढाइरहेको छ । परिवर्तन गरेपनि सामान्यरूपमा केही कुराहरू मात्र परिवर्तन हुन्छ । कोर्स परिवर्तन गर्नुपर्छ भन्ने मनासयमा टियु पुगेको जस्तो देखिन्छ,’ उनी भन्छन्, ‘भौतिक संरचना, समयमा नतिजा सावर्जनिक गर्ने, परीक्षा लिने जस्ता समयमै गर्नुपर्ने क्रियाकपालाप, पाठ्यक्रम परिवर्तन यी तीन कुरामा टियू लाग्नै पर्छ ।’ उनी राजनीतिले गिजोलिएको त्रिभुवन विश्वविद्यालयमा परिवर्तन आवश्यक रहेको बताउँछन् ।