एआई मार्केटमा डीपसीक- भी फोरको इन्ट्री, फेरि दवाबमा अमेरिका

काठमाडौं । चिनियाँ कृत्रिम बौद्धिकता (एआई) स्टार्टअप डीपसीकले शुक्रबार आफ्नो बहुप्रतीक्षित भी फोर ठूलो भाषा मोडेलको प्रिभ्यु संस्करण सार्वजनिक गरेको छ । यो संस्करणले प्रयोगकर्तालाई यसको नयाँ क्षमताहरू र विशेषताहरू परीक्षण गर्न अनुमति दिन्छ । यो सार्वजनिककरण डीपसीकले आफ्नो आरवान तर्क- आधारित मोडेल सार्वजनिक गरेको एक वर्षभन्दा बढी समयपछि आएको हो । उक्त मोडेलले अपेक्षाभन्दा राम्रो प्रदर्शन र दक्षताका कारण विश्वव्यापी प्रविधि बजारमा हलचल मच्चाएको थियो, जबकि यो अमेरिकी प्रतिस्पर्धीहरूभन्दा निकै कम लागतमा विकास गरिएको बताइएको थियो । डीपसीकको अघिल्लो भी थ्री मोडेल जस्तै नयाँ अपग्रेड पनि ओपन सोर्स छ, जसले विकासकर्ताहरूलाई कोड डाउनलोड गर्न, स्थानीय रूपमा चलाउन र आवश्यक अनुसार परिमार्जन गर्न अनुमति दिन्छ । हाङ्झोउमा आधारित कम्पनीले भी फोरले विशेषगरी एजेन्ट आधारित कार्य, ज्ञान प्रशोधन र निष्कर्ष निकाल्ने क्षमतामा घरेलु प्रतिस्पर्धीहरूसँग कडा प्रदर्शन गर्ने दाबी गरेको छ । कम्पनीले थपेअनुसार डीपसीक भी फोरलाई एन्थ्रोपिकको क्लाउड कोड र ओपनक्ल जस्ता लोकप्रिय एजेन्ट उपकरणहरूसँग प्रयोग गर्न अनुकूल बनाइएको छ । यो मोडेल आकारका आधारमा ‘प्रो’ र ‘फ्लास’ दुवै संस्करणमा उपलब्ध छ । सन् २०२३ मा स्थापना भएको डीपसीकले २०२४ को अन्त्यतिर आफ्नो निःशुल्क, ओपन-सोर्स भी थ्री मोडेलमार्फत ध्यान खिचेको थियो, जसलाई कम शक्तिशाली चिप प्रयोग गरेर र ओपनएआई तथा गुगलजस्ता कम्पनीहरूले बनाएका मोडेलहरूको लागतको सानो अंशमै तालिम दिइएको बताइएको थियो । केही हप्तापछि जनवरी २०२५ मा कम्पनीले आरवान नामक तर्क-आधारित मोडेल सार्वजनिक गर्‍यो, जसले विश्वका धेरै अग्रणी एलएलएमहरूलाई उछिनेको थियो । विश्वव्यापी रूपमा प्रतिस्पर्धी ओपन-सोर्स मोडेलको उदयले एआई पूर्वाधारमा हुने लगानीको स्तरमा कस्तो प्रभाव पर्छ भन्ने विषयमा प्रविधि बजारमा प्रश्न उठाएको थियो । त्यसयता डीपसीकले मोडेल अपग्रेडहरूको श्रृंखला सार्वजनिक गरेको छ, तर तीमध्ये कुनै पनि आरवान जत्तिको प्रभाव पार्न सकेका छैनन् । हाल कम्पनीले चीनको तीव्र रूपमा विस्तार भइरहेको एआई क्षेत्रमा बढ्दो प्रतिस्पर्धाको सामना गरिरहेको छ, जहाँ अलिबाबा र बाइटडान्सजस्ता कम्पनीहरूले पनि यस वर्ष नयाँ मोडेलहरू सार्वजनिक गरेका छन् । (सीएनबीसीबाट अनुदित तथा सम्पादित)

माछापुच्छ्रे बैंकको एमबीएल आईटी कर्जा योजना सार्वजनिक, आईटी उद्यमीलाई सहज वित्तीय पहुँच

काठमाडौं । माछापुच्छ्रे बैंकले ‘एमबिएल आईटी कर्जा’ नामक नयाँ कर्जा योजना सार्वजनिक गरेको छ । सूचना प्रविधि क्षेत्रमा संलग्न व्यवसायी तथा उद्यमीहरूलाई सशक्त बनाउने उद्देश्यसहित सुरु गरिएको यस योजनाले आईटी क्षेत्रमा भइरहेका नवप्रवर्तनलाई प्रोत्साहन गर्नुका साथै नेपालमा विकसित हुँदै गएको सूचना प्रविधि क्षेत्रलाई थप सुदृढ बनाउने अपेक्षा बैंकले गरेको छ । यस कर्जा योजनामार्फत नेपालका आईटी तथा सफ्टवेयर कम्पनीहरूलाई चालू पुँजी, पूर्वाधार विकास तथा व्यवसाय विस्तारका लागि सहज रूपमा वित्तीय पहुँच उपलब्ध गराइने बैंकले जनाएको छ । योजना अन्तर्गत कर्जा लिनका लागि सम्बन्धित सरकारी निकायमा दर्ता भएका व्यवसायहरू मात्र योग्य हुनेछन् । यसमा आईटी तथा सफ्टवेयर फर्म (एकल वा साझेदारी) र प्राइभेट लिमिटेड कम्पनीहरू समावेश छन् । यस्ता कम्पनीहरूले प्यान तथा भ्याट जस्ता कर नियमित रूपमा तिरेको हुनुपर्नेछ । साथै, कर्जा लिन इच्छुक कम्पनीहरू सफ्टवेयर विकास, आईटी आउटसोर्सिङ, आईटी सेवा, साइबर सुरक्षा, फिनटेक, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा मेशिन लर्निङ जस्ता क्षेत्रमा संलग्न भई कम्तीमा दुई वर्षदेखि सञ्चालनमा रहेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

अब ३० दिनका सबै मोबाइल प्याकेज, नेपाल टेलिकमको समर अफर लागू

काठमाडौं । नेपाल टेलिकम ले ‘समर अफर २०८३’ अन्तर्गत विभिन्न आकर्षक भ्वाइस, डाटा तथा कम्बो प्याकेजहरू सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नयाँ अफरमा ग्राहकलाई सहज र किफायती सेवा उपलब्ध गराउने उद्देश्य राखिएको छ । यस अफरअन्तर्गत प्रिपेड मोबाइलमा उपलब्ध २८ दिनको प्याकेजलाई बढाएर ३० दिनको बनाइएको छ । अब सबै प्याकेज ३० दिनका हुनेछन् । साथै भ्वाइस प्याकहरूमा सबै नेटवर्कमा कल गर्न सकिने (अल–नेट) सुविधा समेत समावेश गरिएको छ । कम्पनीले लोकप्रिय ‘सजिलो अनलिमिटेड प्याक’लाई थप आकर्षक बनाएको जनाएको छ । यसअन्तर्गत ९९९ रुपैयाँमा अनलिमिटेड अल–नेट भ्वाइस, मासिक ३०० जीबी डाटा र ३०० एसएमएस सुविधा उपलब्ध हुनेछ । त्यस्तै ७९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस, १५० जीबी डाटा र २५० एसएमएस पाइनेछ । डाटा प्याकतर्फ ५४९ रुपैयाँमा ४० जीबी र ९९९ रुपैयाँमा १०० जीबी डाटा उपलब्ध हुनेछ । साथै ५९९ रुपैयाँमा दैनिक २ जीबी र ३४९ रुपैयाँमा दैनिक १ जीबी प्रयोग गर्न सकिने मासिक प्याकेज पनि सञ्चालनमा ल्याइएको छ । अनलिमिटेड प्याकअन्तर्गत २५ रुपैयाँमा १ घण्टासम्म चल्ने भ्वाइस तथा डाटा सुविधा उपलब्ध हुनेछ भने ९९९ रुपैयाँमा ३० दिनसम्म प्रतिदिन प्रयोग गर्न मिल्ने ५ एमबीपीएस स्पिडको डाटा प्याक उपलब्ध गराइएको छ । यसका अतिरिक्त बन्डल्ड, एड–अन, सीयूजी, एसएमएस तथा एफटीटीएच प्याकेजहरू समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ । उक्त ‘समर अफर २०८३’ भोलि बैशाख ११ गतेदेखि लागू हुने छ । ग्राहकहरूले मोबाइलबाट *१४१५# डायल गरी, ‘नेपाल टेलिकम’ एप तथा कम्पनीको वेबसाइटमार्फत प्याकेज सम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सक्नेछन् ।