तत्काल फोरजीलाई बन्द गरी फाइभजीमा जाने अवस्था छैन : सञ्चारमन्त्री तिमिल्सिना
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले फाइभजीमा तत्काल जाने अवस्था नरहेको बताएका छन् । बुधबार (आज) मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘अहिलेको चरणमा फोरजीलाई अधिकतम प्रभावकारी बनाउने र दोस्रो चरणमा फाइभजी कार्यान्वयन गर्ने तयारी भइरहेको छ ।’ ‘फाइभजी सेवा सुरु गर्ने कार्य सरकारको प्राथमिकतामा छ र त्यसका लागि आवश्यक फ्रिक्वेन्सी निर्धारण तथा वितरणसम्बन्धी प्रक्रिया समेत अगाडि बढाइएको छ,’ उनले थपे । दूरसञ्चार क्षेत्रमा प्रतिस्पर्धा बढाउन थप मोबाइल अपरेटरलाई अनुमति दिने बारेको सञ्चारकर्मीको जिज्ञासामा सञ्चारमन्त्री डा. तिमिल्सिनाले यसबारे सरकारले अध्ययन गरिरहेको र आवश्यकताका आधारमा चाँडै निर्णय लिइने जानकारी दिए । हाल दुईवटा कम्पनीले यस्तो सेवा दिइरहेकोमा तेस्रो मोबाइल अपरेटरका लागि सम्भावना र आवश्यकता पहिचानसहितको प्रक्रिया अगाडि बढाइएको उनले बताए । साथै नेपाल टेलिकमलाई बलियो बनाउने, दूरसञ्चार पूर्वाधारलाई जनताको हितमा उपयोग गर्ने तथा क्षेत्रलाई सुदृढ बनाउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको पनि उनले उल्लेख गरे । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण र सरकारी लगानीको सेवा प्रदायक नेपाल टेलिकमसँग मन्त्रालयले नियमित छलफल र समन्वय गरिरहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले नेपाल टेलिकमसँग सम्बन्धित बिलिङ प्रणाली तथा सेवा व्यवस्थापनका विषयमा सरकार गम्भीर रहेको बताए । यसबारे विद्यमान नियम कानुनभित्र बसेर विवाद सिर्जना नहुने गरी पारदर्शीपूर्ण ढंगले समाधान खोजिने उनले स्पष्ट पारे । सञ्चारमन्त्री तिमिल्सिनाले डेटा सेन्टर तथा डिजिटल पूर्वाधार विकासका विषयमा बहुराष्ट्रिय कम्पनीहरूको चासो, त्यसको सम्भावना तथा विदेशी लगानी आकर्षित गर्ने सम्भावनाबारे पनि अध्ययन भइरहेको जानकारी दिए । जनताको करबाट सिर्जित सम्पत्तिको दुरुपयोग तथा प्रणालीगत भ्रष्टाचार रोक्न सरकार प्रतिबद्ध रहेको पनि सञ्चारमन्त्री तिमिल्सिनाको भनाइ छ ।
राष्ट्रिय चुनौती समाधानमा युवा सोच : ‘नेपाल स्टार्टअप इनोभेसन ह्याकाथन २०२६’ सम्पन्न
काठमाडौं । देशका प्रतिभाशाली युवाहरूलाई एकै ठाउँमा ल्याउँदै ‘नेपाल स्टार्टअप इनोभेसन ह्याकाथन २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ । ग्लोजकलद्वारा आयोजित तीनदिने कार्यक्रममा २१८ आवेदनमध्ये छनोट भएका १७ टोलीले डिजिटल समावेशीकरण, जलवायु परिवर्तन, शिक्षा, कृषि, पर्यटन, उद्यमशीलता र स्वास्थ्यजस्ता राष्ट्रिय चुनौतीमा आधारित नवप्रवर्तनकारी समाधान र प्रोटोटाइप प्रस्तुत गरेका थिए । सहभागीमध्ये ५७ प्रतिशत कलेज र ४३ प्रतिशत विद्यालय तहका विद्यार्थी रहेका थिए भने काठमाडौं उपत्यकासहित धनगढी, बुटवल, जनकपुर, वीरगन्ज, विराटनगर र सुर्खेतबाट समेत सहभागिता रहेको थियो । ७२ घण्टासम्म उद्योग विज्ञहरूको मेन्टरसिपमा काम गरेका टोलीहरूले अन्तिम दिन निर्णायकसमक्ष आफ्नो ‘पिच’ प्रस्तुत गरेका थिए । अनलाइन शिक्षामा ‘प्रुफ अफ वर्क’ अभावको समस्या समाधान गर्ने प्लेटफर्म विकास गरेको टोली ‘टिम नाेभा’ विजेता बन्दै ५० हजार रुपैयाँ पुरस्कार जित्न सफल भएको छ । कार्यक्रम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहकार्य तथा एशियाली विकास बैंक को साझेदारीमा सम्पन्न भएको थियो । आयोजकका अनुसार यस्तो ह्याकाथनले युवालाई प्रविधि र नवप्रवर्तनमार्फत देश विकासमा प्रत्यक्ष योगदान दिन प्रेरित गर्ने विश्वास लिइएको छ ।
नेपाल टेलिकमको तेस्रो त्रैमासिकमा ६ अर्ब २७ करोड नाफा
काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक अवधिको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको सञ्चालन आय र खुद मुनाफा दुवैमा वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म कम्पनीको कुल सञ्चालन आय २.४२ प्रतिशतले बढेर रु. २५ अर्ब ९२ करोड ९६ लाख पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो आय रु. २५ अर्ब ३१ करोड ७६ लाख रहेको थियो । त्यसैगरी, कम्पनीको कुल आय पनि १.४९ प्रतिशत अर्थात् रु. ४२ करोड ३३ लाखले वृद्धि भई रु. २८ अर्ब ८५ करोड ४८ लाख पुगेको छ । मुनाफातर्फ, तेस्रो त्रैमासिकसम्म खुद मुनाफा ९.८५ प्रतिशतले बढेर रु. ६ अर्ब २७ करोड २९ लाख पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुनाफा रु. ५ अर्ब ७१ करोड ५ लाख रहेको थियो । नाफा वृद्धिसँगै प्रति शेयर आम्दानी (EPS) रु. ४२.३ बाट बढेर रु. ४६.४७ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको खुद सम्पत्ति पनि रु. १४ अर्ब ३८ करोड २ लाख पुगेको छ, जुन गत वर्षको तुलनामा १.३२ प्रतिशतले बढी हो । वित्तीय सूचक सुधार हुनुका प्रमुख कारणमा जीएसएम सेवातर्फको राजस्व वृद्धि र ह्रासकट्टी खर्चमा आएको गिरावटलाई लिइएको छ । विवरणअनुसार जीएसएम राजस्व २.७६ प्रतिशत (रु. ५७ करोड ७४ लाख) ले बढेको छ भने ह्रासकट्टी खर्च ८.४६ प्रतिशत (रु. ३८ करोड ६९ लाख) ले घटेको छ । यद्यपि, बजारमा घट्दो ब्याजदरका कारण कम्पनीको ब्याज आम्दानीमा भने २०.५७ प्रतिशत (करिब रु. ५७ करोड ६६ लाख) ले कमी आएको छ ।