अमेरिकी सरकारका लागि अमेजनले एआई पूर्वाधारमा ५० अर्ब डलर लगानी गर्ने

काठमाडौं । अमेजनले अमेरिकी सरकारका लागि कृत्रिम बौद्धिकता (एआई) तथा उच्च क्षमता कम्प्युटिङ सेवा विस्तार गर्न ५० अर्ब डलरसम्म लगानी गर्ने भएको छ ।  कम्पनीले सोमबार आफ्नो क्लाउड सेवा (एडब्ल्यूएस) का अमेरिकी सरकारी ग्राहकहरूका लागि यस्तो घोषणा गरेको हो । यो परियोजना २०२६ मा सुरु हुनेछ र संघीय एजेन्सीहरूका लागि विशेषरूपमा डिजाइन गरिएका नयाँ डेटा सेन्टरमार्फत १.३ गिगावाट क्षमताको पूर्वाधार थपिनेछ । उक्त लगानीपछि एजेन्सीहरूले एडब्ल्यूएसका एआई उपकरणहरू, एन्थ्रोपिकको क्लाउडी मोडेलहरू, एनभीडीया चिपहरू तथा अमेजनकै ट्रेनियम एआई चिपहरूको प्रयोग गर्न सक्नेछन् । यसअघि एन्थ्रोपिक, मेटा, ओराकल, ओपनएआई, सफ्टबैंकलगायत कम्पनीहरूले पनि अमेरिकी भूमिमा विशाल एआई पूर्वाधार विस्तार गर्ने योजनाहरू घोषणा गरिसकेका छन् । यो क्रममै स्टारगेट नामक संयुक्त परियोजनाले अर्का ५०० अर्ब डलरसम्म अमेरिका भित्रै एआई पूर्वाधारमा लगानी गर्ने लक्ष्य लिएको छ । एडब्ल्यूएसका अनुसार नयाँ परियोजनाले एजेन्सीहरूले कस्टम एआई समाधान विकास, डेटासेट अनुकूलन, तथा कार्यदलको उत्पादकता वृद्धि गर्न मद्दत पुर्‍याउनेछ। अमेजनका अनुसार एडब्ल्यूएसले हाल ११ हजारभन्दा बढी अमेरिकी सरकारी निकायहरूलाई सेवा दिइरहेको छ। प्रमुख कार्यकारी अधिकृत (सीईओ) म्याट गार्मनले भने, ‘यस लगानीले सरकारले सामना गर्दै आएको प्रविधिगत अवरोध हटाउनेछ र एआई युगमा अमेरिकालाई अग्रणी बनाउनेछ ।’ एआई सेवाका लागि आवश्यक पूर्वाधार निर्माण भइरहेको प्रतिस्पर्धामा अघिल्ला वर्षहरूमा टेक कम्पनीहरूले अर्बौं डलर छुट्याइरहेका छन् । अमेजनले पनि अक्टोबरमा २०२५ को लागि आफ्नो पूँजी खर्च अनुमान ११८ अर्बबाट बढाएर १२५ अर्ब डलर पुर्‍याएको थियो । फेसबुक–इन्स्टाग्राम मानसिक स्वास्थ्यका लागि हानिकारक ? मेटाले रोक्यो आफ्नै अनुसन्धान १ ट्रिलियनको नयाँ प्याकेज होइन, २०१८ को पे डिलले टेस्ला संकटमा

नेपाल रेमिटर्स एसोसिएसन र मलेसियन एशोसिएसन अफ मनी सर्भिसेस बिजनेसबीच साझेदारी

काठमाडौं । नेपाल रेमिटर्स एसोसिएसनले मलेसियन एशोसिएसन अफ मनी सर्भिसेस बिजनेससँग औपचारिक साझेदारी गरेको छ ।  नेपाल रेमिटर्सले यस कदमलाई ‘ऐतिहासिक’ भन्दै एक महत्वपूर्ण कदमका रूपमा औंल्याएको छ ।  दुवै संघबीच केही चरणको छलफलपछि गरिएको सहकार्यले मनी सर्भिसेस बिजनेस क्षेत्रलाई सुदृढ गर्ने, सहकार्य विस्तार गर्ने र दुवै देशका उद्योगको वृद्धि प्रोत्साहन गर्ने लक्ष्य राखेको नेपाल रेमिटर्सले जनाएको छ । संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'यो साझेदारीले ज्ञान आदान–प्रदान, सीमा–पार सहकार्य र अन्तर्राष्ट्रिय उत्तम अभ्यासमार्फत उद्योग मापदण्ड सुधार गर्नेछ ।' साझेदारी घोषणा कार्यक्रममा मलेशियन एशोसिएसन अफ मनी सर्भिसेस बिजनेसका अध्यक्ष जाजाखान बिन कादेर गनी र नेपाल रेमिटर्सका अध्यक्ष रितेश मित्तलले दुवै देशका रेमिटेन्स उद्योगले सामना गरिरहेका साझा चुनौतीबारे विचार–विमर्श गरेका थिए । दुवैले नियामक अनुपालन सुधार, नवप्रवर्तन प्रवर्द्धन, डिजिटल रूपान्तरण, अवैध सञ्चालकका गतिविधि नियन्त्रण, तथा उपभोक्ता संरक्षणजस्ता विषयमा संयुक्त पहल आवश्यक भएको कुरा उल्लेख गरे । नेपाल रेमिटर्सका अध्यक्ष मित्तलका अनुसार यो सहकार्यले क्षेत्रीय सम्बन्ध मजबुत मात्र होइन, ज्ञान आदान–प्रदान र नवप्रवर्तनलाई पनि बल पुर्‍याउनेछ । उनका अनुसार अन्ततः यसले वैदेशिक रोजगारमा रहेका नेपालीहरू र नेपालको समग्र अर्थतन्त्रलाई प्रत्यक्ष लाभ दिनेछ ।

एनपीएलका खेल डिशहोम ‘गो’ बाट मात्र हेर्न सकिने, अन्य प्लेटफर्मबाट प्रसारण गर्न नपाइने

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग २०२५ को ओभर–द–टप (ओटीटी) प्रसारण अधिकारसम्बन्धी महत्वपूर्ण सूचना सार्वजनिक गर्दै अनधिकृत डिजिटल प्रसारणप्रति चेतावनी दिएको छ। मंसिर १ गतेदेखि सुरु भएको नेपाल प्रिमियर लिगको भारत बाहेक अन्य सबै देशहरूमा ओटीटी प्रसारण अधिकार डिश मिडिया नेटवर्क लिमिटेड लाई प्रदान गरिएको क्यानले जनाएको छ । दर्शकले डिशहोम ‘गो’ नामक अनुप्रयोग (एप) डाउनलोड गरी सम्पूर्ण खेलहरू सोही प्लेटफर्ममार्फत हेर्न सक्नेछन् । क्यानका अनुसार नेपाल प्रिमियर लिगका सबै खेलहरूको डिजिटल तथा ओटीटी अधिकार डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) लाई मात्रै दिइएको छ। डिशहोम ‘गो’ बाहेक युट्युब, फेसबुक, टिकटक, इन्स्टाग्राम, ट्विटर, टेलिग्राम वा कुनै पनि वेबसाइट तथा अनुप्रयोगबाट खेल प्रसारण गर्नु पूर्ण रूपमा अवैध हुनेछ । त्यसैले, खेलको अनधिकृत पुनःप्रसारण, बिक्री–वितरण, रेकर्डिङ, सम्पादन तथा अन्य किसिमले प्रयोग गर्न वा गराउन खोज्ने कार्य कानूनअनुसार दण्डनीय हुने क्यानले स्पष्ट पारेको छ । क्यान र डिशहोमले संयुक्त रूपमा सबै दर्शक, विज्ञापनदाता, सञ्चार माध्यम र सरोकारवालाहरूलाई केवल आधिकारिक प्लेटफर्म डिशहोम ‘गो’ मार्फत मात्र नेपाल प्रिमियर लिगका खेल हेर्न आग्रह गरेका छन् । साथै, अनधिकृत लिंक वा साइटमार्फत खेल हेर्न खोज्दा व्यक्तिगत तथा वित्तीय विवरण चोरी हुने जोखिम रहने हुँदा त्यस्ता अवैध माध्यम प्रयोग नगर्न र नगराउन समेत अनुरोध गरिएको छ । कुनै पनि खेल अनधिकृत रूपमा प्रसारण भएको जानकारी प्राप्त भएमा क्यान वा डिशहोम लाई तुरुन्तै जानकारी गराउन अपिल गर्दै क्यानले प्रचलित कानूनी व्यवस्थाअनुसार कडा कारबाही हुने चेतावनी दिएको छ ।