टाइगर कप २०८२ माघ ९ गते देखि, टिकटिङ पार्ट्नरमा ‘खल्ती’

काठमाडौं । नेपालको प्रतिष्ठित भलिबल प्रतियोगिता ‘द टाइगर कप’को छैटौँ संस्करणमा डिजिटल वालेट ‘खल्ती’ टिकटिङ पार्टनरका रूपमा जोडिएको छ । टाइगर ग्रुप अफ पोखराद्वारा आयोजना हुँदै आएको यो प्रतियोगिता माघ ९ गतेदेखि १७ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने छ । यस वर्षको प्रतियोगितामा ७ पुरुष र ७ महिला गरी १४ टोली सहभागी हुँदैछन्, जसमा ४ अन्तर्राष्ट्रिय टोलीसमेत रहेका छन् । आयोजकका अनुसार टाइगर कपको टिकट मूल्य ३ सयदेखि ५ सय रुपैयाँसम्म तोकिएको छ । दर्शकहरूले प्रतियोगिताका सबै खेलका टिकट खल्ती एपमार्फत सहजै खरिद गर्न सक्नेछन् । डिजिटल टिकटिङको व्यवस्थाले दर्शकलाई खेलस्थलमा पुगेर प्रत्यक्ष रूपमा खेलाडीको उत्साह र प्रतिस्पर्धाको मजा लिन थप सहज बनाउने अपेक्षा गरिएको छ । राष्ट्रियस्तरमै सबैभन्दा ठूलो भलिबल प्रतियोगिताका रूपमा परिचित टाइगर कपले अघिल्ला संस्करणदेखि नै देशभरका दर्शक र प्रशंसकको ध्यान आकर्षित गर्दै आएको छ । खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले टाइगर कपसँगको साझेदारीलाई खेलकुद प्रेमीका लागि उत्साहजनक भएको बताउँदै डिजिटल टिकटिङमार्फत दर्शकको अनुभव अझ उत्कृष्ट बनाउने विश्वास व्यक्त गरे । उनले सहज रूपमा अनलाइन टिकट लिएर खेलको भरपुर आनन्द लिन सबैलाई आग्रह गरेका छन् ।

संकटमा प्रविधि : अमेरिकी हवाई आक्रमणपछि भेनेजुएलामा स्टारलिङ्कको निःशुल्क इन्टरनेट

काठमाडौं । एलन मस्कको स्टारलिङ्कले अमेरिकी हवाई आक्रमण र राष्ट्रपति निकोलस मादुरोको पक्राउपछि भेनेजुएलामा प्रयोगकर्ताहरूलाई फेब्रुअरी ३ तारिखसम्म निःशुल्क ब्रडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ । उपग्रह इन्टरनेट सेवा प्रदायक कम्पनीले आइतबार जारी गरेको विज्ञप्तिमा बदलिँदै गइरहेका अवस्था र नियामक आवश्यकताहरूको निगरानी गरिरहेको बताउँदै सक्रिय तथा निष्क्रिय दुवै खातामा अग्रिम रूपमा सेवा क्रेडिट थपिँदै गरेको जनाएको छ । ‘स्थानीय रूपमा सेवा खरिद उपलब्ध हुने समयरेखा अहिलेसम्म तय भइसकेको छैन। यदि र जब यससम्बन्धी कुनै अपडेट हुन्छ, ती आधिकारिक स्टारलिङ्क च्यानलमार्फत प्रत्यक्ष रूपमा जानकारी गराइनेछ,’ विज्ञप्तिमा उल्लेख छ । एयरोस्पेस कम्पनी स्पेसएक्सको सहायक कम्पनी स्टारलिङ्कले लो–अर्थ–अर्बिट उपग्रहमार्फत इन्टरनेट सेवा प्रदान गर्छ र प्रयोगकर्ताले सेवामा जडान हुन छुट्टै उपकरण खरिद गर्नुपर्छ । स्टारलिङ्कको वेबसाइटमा रहेको उपलब्धता नक्सामा भेनेजुएलालाई ‘छिट्टै उपलब्ध हुँदै’ भनेर देखाइएको छ, जसले कम्पनीले त्यहाँ औपचारिक रूपमा सेवा सुरु नगरेको संकेत गर्छ, यद्यपि केही प्रयोगकर्ता पहिल्यै सक्रिय रहेको संकेत पनि दिएका छन् । देशमा निःशुल्क इन्टरनेट सेवाको विस्तारले हालै भएका अमेरिकी हवाई आक्रमण र मादुरोलाई पक्राउ गरी मुद्दा चलाउन अमेरिका लैजान गरिएको स्थल कारबाहीपछि उत्पन्न अवस्थाबीच कनेक्टिभिटी उपलब्ध गराउन सहयोग पु‍र्याउन सक्ने अपेक्षा गरिएको छ । मादुरोमाथि लागुऔषध तस्करी गिरोह र निर्वाचन धाँधलीसहितका आरोप छन् । सरकारी विज्ञप्तिअनुसार जनवरी ३ मा अमेरिकाले सञ्चालन गरेको कारबाही मुख्यतया भेनेजुएलाको राजधानी काराकासका क्षेत्रहरूमा केन्द्रित थियो । साथै मिरान्डा, आरागुआ र ला ग्वाइरा राज्यहरू पनि आक्रमणको चपेटामा परेका थिए । हवाई आक्रमणपछि काराकासका केही क्षेत्रमा विद्युत् आपूर्ति र इन्टरनेट सेवा अवरुद्ध भएको रिपोर्टहरू आएका थिए । स्थानीय सञ्चारमाध्यमहरूले सप्ताहन्तमा मिरान्डा क्षेत्रमा पनि सेवा अवरोध भएको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको संक्रमणकालीन व्यवस्थापन अमेरिकाले हेर्ने बताएका छन्, तर सत्ता शून्यताको चिन्ताबीच त्यसको विस्तृत विवरण अझै स्पष्ट छैन । राष्ट्रपतिले शनिबार मादुरोको पक्राउपछि उपराष्ट्रपति डेल्सी रोड्रिगेजले शपथ लिएको घोषणा गरेका छन् । साथै नेतृत्वले ‘अनुशासनमा नआए’ भेनेजुएलामाथि दोस्रो आक्रमण गर्ने चेतावनी पनि दिएका छन् । यसैबीच संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले अमेरिकी कारबाहीको वैधानिकताबारे छलफल गर्न जनवरी ६ मा बैठक बोलाउने योजना बनाएको छ । ब्राजिल र स्पेनजस्ता अमेरिकी सहयोगी राष्ट्रसहित विभिन्न देशहरूले सैन्य कारबाहीको निन्दा गरेका छन् । भेनेजुएला स्टारलिङ्क प्रयोग भएको पहिलो द्वन्द्वग्रस्त क्षेत्र भने होइन । युक्रेनमा पनि रूसको आक्रमणले क्षतिग्रस्त इन्टरनेट र सञ्चार सञ्जालको सट्टा उपग्रह सेवा उपलब्ध गराउन स्टारलिङ्क प्रयोग गरिएको थियो । युक्रेनमा सुरुमा स्टारलिङ्कले ठूलो मात्रामा आफ्नै खर्चमा सेवा उपलब्ध गराएको थियो भने सन् २०२३ जुनदेखि अमेरिकी रक्षा मन्त्रालयसँगको सम्झौताअन्तर्गत यसको सञ्चालनको खर्च वहन हुँदै आएको छ । स्टारलिङ्कले भेनेजुएलामा कति प्रयोगकर्ता छन् वा सेवा उपलब्ध गराउन कति लागत लागिरहेको छ भन्ने विवरण सार्वजनिक गरेको छैन ।

मधेशदेखि कर्णालीसम्म : २५० नयाँ टावरमार्फत एनसेलको फोरजी पहुँच सुदृढ

काठमाडौं । एनसेलले आफ्नो फोरजी नेटवर्कको पहुँच विस्तार र गुणस्तर सुधारतर्फ महत्त्वपूर्ण कदम चाल्दै गतवर्ष २०२५ मा देशभर २५० वटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको छ ।  साथै २ हजार २०० वटा टावरहरूमा क्षमता अभिवृद्धि गरेको छ । विश्वसनीय कनेक्टिभिटी एक सेवा मात्र नभई सुरक्षा, शिक्षा, व्यवसाय तथा आफ्ना प्रियजनहरूसँग सधैं सम्पर्कमा रहन लागि अत्यावश्यक बन्दै गएको बेलामा यो फोरजी नेटवर्क सुदृढीकरण र सेवा विस्तार गरिएको हो ।  सातै प्रदेशका विभिन्न स्थानीय तहहरूमा नयाँ टावरहरू स्थापना गरी सञ्चालनमा ल्याइएका छन् भने विशेषगरी मधेस, लुम्बिनी, कोशी र बागमती प्रदेशमा केन्द्रित हुँदै यो पहल अघि बढाइएको थियो । एनसेलले कर्णाली प्रदेशका दैलेखको सभापोखरी, रुकुम पश्चिमको पुर्तिमकाँडा र सल्यानको बागचौर लगायतका स्थानिय तहहरुमा टावर स्थापना गर्दै फोरजी सेवा दिइएको छ । सुदूरपश्चिम प्रदेशका डोटीको लडागडा, कैलालीको बनजरिया र कञ्चनपुरको सरस्वती टोललगायत अन्य ठाउँमा पनि टावरहरू स्थापना गरिएका छन्।  यसैगरी, मधेश प्रदेशका सिराहाको हनुमाननगर, सप्तरीको भीमपुर र धनुषाको मुसहरनियालगायत दर्जनौं स्थानहरूमा नयाँ टावर सञ्चालनमा आएपछि स्थानीयहरू उच्च गुणस्तरको भ्वाइस र मोबाइल ब्रोडब्याण्ड सेवाबाट लाभान्वित भएका छन् । कुल २५० वटा टावरमध्ये १९७ वटा टावरहरू पछिल्लो साढे दुई महिनामा स्थापना गरिएका हुन् भने स्टकमा रहेका तथा स्पेयर उपकरणको अधिकतम उपयोगमार्फत ५३ वटा नयाँ टावर सञ्चालनमा ल्याइएका हुन् । लामो समयसम्म रोकिएको सहजीकरण नेपाल दूरसञ्चार प्राधिकरणले सहज बनाएसँगै कम्पनीले नयाँ टावर स्थापनाको कामलाई तीव्र रुपमा अगाडि बढाएको थियो । नयाँ टावरहरूको संख्याका दृष्टिले मधेश प्रदेशमा १०० भन्दा बढी नयाँ टावरहरू स्थापना गरिएका छन्, त्यसपछि लुम्बिनीमा ४० भन्दा बढी र कोशी प्रदेशमा ३५ भन्दा बढी टावरहरू स्थापना भएका छन् । यसैगरी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि थप टावरहरू स्थापना गरिएका छन् ।  नयाँ उपकरणको आयातमा प्रतिबन्ध लागेका बेलामा पनि एनसेलले आफ्नो फोरजी सुधार र विस्तार कार्य जारी राख्दै स्टक र स्पेयर उपकरणको प्रयोग गरी ५३ वटा नयाँ टावर स्थापना गरेको थियो । यस विस्तारले देशव्यापी रूपमा ग्राहकहरूको लागि फोरजी नेटवर्क पहुँच अझ सुदृढ बनाउने छ र सेवाको गुणस्तरमा थप सुधार हुने विश्वास कम्पनीले लिएको छ ।  एनसेलले ग्राहकहरूलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा पहुँच सुनिश्चित गर्दै जेठ २०७४ बाट फोरजी सेवा सुरु गरेको थियो । यो सेवा ७७ वटै जिल्लामा विस्तार विस्तार भइसकेको छ र कुल जनसंख्याको ९५ प्रतिशतभन्दा बढी जनतामाझ यो सेवा पुगेको छ ।