प्रभु महालक्ष्मी लाइफ एनसीएचएलमा आबद्ध, सबै भुक्तानी डिजिटलबाटै हुने
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको भुक्तानी सम्बन्धी कारोबार नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) बाट गर्न सकिने भएको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सबै भुक्तानी एनसीएचएलको भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाटै गर्न सकिने भएको हो । प्रभु महालक्ष्मीको भुक्तानी सम्बन्धी कारोबार गर्ने दुई संस्थाबीच सम्झौता भएको छ । सम्झौतापत्रमा प्रभु महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोस प्रसाईं र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । यससँगै प्रभु महालक्ष्मीको आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछन । प्रभु महालक्ष्मी लाइफले एनसीएचएल आईपीएस र आरपीएस प्रणालीहरुमार्फत् प्रिमियम भुक्तानी संकलन, एजेन्ट कमिशन, तलब, भेण्डर भुक्तानी, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायत सेवा उपलब्ध हुने छन् । साथै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले एनपीआई प्रयोग गरी आफ्ना बीमाकर्ताहरूलाई ऋण भुक्तानी गर्न थालिसकेको छ । भविष्यमा अन्य भुक्तानीहरु पनि क्रमिक रुपमा लागू हुने कम्पनीले जनाएको छ ।
एनसेलविरुद्ध दायर गरेको रिट खारेज, सर्वोच्चको सात बुँदे निर्देशनात्मक आदेश
काठमाडौं । एनसेलविरुद्ध परेको रिट खारेज भएको छ । एनसेलको ८० प्रतिशत सेयर हिस्सा ओगट्ने कम्पनीको खरिदबिक्री रोक्नुपर्ने माग गर्दै सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको हो । न्यायाधीशहरू सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको इजलासले रिट निवेदन खारेज गर्दै सात बुँदे निर्देशनात्मक आदेश दिएको छ । मलेसियाको आजिआटा कम्पनीले रेनोल्ड होल्डिङको सबै सेयर बेलायतमा स्थापना भएको स्पेक्ट्रलाईट युके लिमिटेडलाई बेच्ने निर्णय गरेको थियो । सेयर खरिदबिक्रीको निर्णय सर्वाजनिक भएपछि सर्लाही–४ का स्वतन्त्र सांसद अमेरेश कुमार सिंहले रोकिनुपर्ने माग गर्दै रिट निवेदन दर्ता गरेका थिए । पुँजीगत लाभकर छल्ने उद्देश्यले वास्तविकभन्दा कम मूल्यमा सेयर विक्री गर्न खोजिएको भनी उनले रिट निवेदन दर्ता गरेका हुन् । आजिआटाले टेलिकम क्षेत्रका व्यवसायी सतीशलाल आचार्यलाई ५५ मिलियन अमेरिकी डलर (करिब ६ अर्ब ६५ करोड रुपैयाँ)मा सेयर बिक्रीको घोषणा गरेको थियो ।
भुक्तानी नभएपछि ईसेवाले भन्यो- अस्थायी रूपमा प्रभावित भएको हो, चाँडै समाधान हुन्छ
काठमाडौं । भुक्तानी सेवा प्रदायक ईसेवामा समस्या देखिएको छ । एपमार्फत भुक्तानी कारोबार हुन नसकेपछि कम्पनीले प्राविधिक कठिनाइका कारण सेवा अस्थायी रूपमा प्रभावित भएको जानकारी दिएको छ । ‘प्राविधिक कठिनाइहरूको कारण इसेवाका सेवाहरू केही समयको लागि अस्थायी रूपमा अवरुद्ध भएको यो सूचना मार्फत जानकारी गराउँदछौं,’ ईसेवाद्वारा जारी सूचनामा भनिएको छ । ईसेवाले सेवा अवरुद्ध हुँदा ग्राहकले भोग्नुपरेको असुविधाका लागि माफी मागेको छ । समस्या समाधानका लागि प्राविधिक टोली सक्रिय रूपमा जुटेको पनि कम्पनीले उल्लेख गरेको छ । भुक्तानी कारोबार रोकिएपछि सेवाग्राहीहरू प्रभावित भएका छन् । ईसेवा नेपालकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । सन् २००९ मा स्थापना भएको कम्पनी ईसेवाले अहिले नेपालका ७७ जिल्लाको ७५३ वटै स्थानीय निकायमा आफ्नो एजेन्ट नेटवर्क पुर्याउन सफल रहेको छ ।