सञ्चार सेवा सहज बनाउन मन्त्री गुरुङको निर्देशन

मनाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार सेवा सहज बनाउन निर्देशन दिएका छन् । सञ्चारमन्त्री गुरुङले बुधबार जिल्ला हुलाक कार्यालयको अनुगमन गर्दै जिल्लाका सबै क्षेत्रसम्म सञ्चार सेवा सहज बनाउन निर्देशन दिएका हुन् । सो अवसरमा उनले टेलिफोन नेटवर्कका बारेमा स्थानीयको रायसुझाव लिएका थिए । यसैगरी जिल्लास्थित सरकारी कार्यालयहरुको अनुगमनपछि  सञ्चारमन्त्री गुरुङले बेँसीसहर–चामे सडक निर्माणलाई तीव्रता दिन आग्रह गरे । उनले भने, ‘हरेक क्षेत्रका व्यक्ति सञ्चार सेवाबाट वञ्चित हुनु हुँदैन, हुलाक र टेलिकम सेवालाई सहज बनाउन आवश्यक छ ।’

नेपालमा दर्ता भयो टिकटक, यस्ता छन् सर्त

काठमाडौं । नेपालमा आधिकारिक रूपमा चीनको प्रख्यात एप टिकटक दर्ता भएको छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ३ को उपदफा ६ बमोजिमको व्यवस्थाअनुसार टिकटक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दर्ता गरिएको हो । मन्त्रालयका अनुसार मंगलबार टिकटकका प्रतिनिधिले दर्ता प्रमाणपत्र लिएका थिए । एपले नेपालको कानुन तथा सर्त मान्न तयार भएको, पर्यटन प्रवर्द्धन तथा डिजिटल साक्षरतामा पनि सघाउने प्रतिबद्धता जनाएको छ । निर्देशिकाको दफा ३ को उपदफा ८ अनुसार दर्ता भएको सामाजिक सञ्जाल प्लेटमर्फ सञ्चालन गर्ने व्यक्ति, कम्पनी वा संस्थाले प्रत्येक ३ वर्षमा विवरण अद्यावधिक गराउनुपर्ने व्यवस्था रहेको छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ३ मा सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले निर्देशिका बमोजिम मन्त्रालयमा सूचीकरण गर्नुपर्ने व्यवस्था छ । टिकटक नेपालमा दर्ता हुने तेस्रो सामाजिक सञ्जाल हो । यसअघि भाइबर र विटक नेपालमा दर्ता भएका थिए । साथै सरकारले फेसबुक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालको माउ कम्पनी मेटालाई पनि नेपालमा दर्ता हुन आह्वान गर्दै पात्राचार गरेको छ । विश्वभर धेरै मानिसलाई स्टार बनाएकाे टिकटकलाई कुनै समय नेपालमा बन्देज लगाइएकाे थियाे, यद्यपि अहिले उक्त बन्देज खुला गरिएकाे छ । टिकटक नेपाल र भारतमा मात्र नभइ विश्वरभर चर्चित छ । तर, सन् २०२० मा भारत–चीन सीमामा भएको झडपपछि भारतीय सरकारले टिकटकलगायत ५९ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो । भारतमा यसलाई प्रतिबन्ध लगाउँदा विश्वभर डेढ अर्बभन्दा बढी पटक डाउनलोड भइसकेको थियो । यी डाउनलोडहरूमध्ये एक तिहाइ भारतीयहरूले नै गरेका थिए । अहिले विश्वका धेरै देशले यसलाई प्रतिबन्ध लगाएका छन् । यद्यपि यो एप अझै पनि धेरै देशहरूमा प्रयोग गरिन्छ । यो पनि पढ्नूहाेस् :  धेरैलाई स्टार बनाएको टिकटकका मालिक बने चीनको सबैभन्दा धनी व्यक्ति

स्मार्टफोन बजारमा सामसुङको छलाङ, तेस्रो स्थानबाट सिधै पहिलो

काठमाडौं । दक्षिण कोरियाली सामसुङले भारतीय स्मार्टफोन बजारमा ठूलो फड्को मारेको छ । यो वर्षको दोस्रो त्रैमासमा बजार हिस्साको हिसाबले तेस्रो स्थानमा थियो । तेस्रो त्रैमासमा यो सिधै पहिलो स्थानमा उक्लिएको छ । दाेस्रो स्थानमा भने एप्पल छ । भारतीय स्मार्टफोन बजारमा भीभो तेस्रो नम्बरमा छ । जहाँ पहिलो स्थानमा रहेको शाओमी यसपटक पाँचौं स्थानमा पुगेकाे छ । स्मार्टफोन बजारमा रेकर्ड वृद्धि भारतमा यस वर्षको तेस्रो त्रैमासिक अर्थात जुलाईदेखि सेप्टेम्बर २०२४ सम्मको स्मार्टफोन बिक्रीको तथ्याङ्क काउन्टरपोइन्ट रिसर्चले बुधबार सार्वजनिक गरेको थियो । यस प्रतिवेदनअनुसार यो वर्षको तेस्रो त्रैमासिककाे आधारमा हेर्दा स्मार्टफोनको बजार रेकर्ड १२ प्रतिशतले बढेको छ । यो कुनै एक त्रैमासिकमा भएको उच्च वृद्धि हो । यति मात्र होइन, यो अवधिमा स्मार्टफोनको सिपमेन्ट ३ प्रतिशतले बढेको छ । पहिलो स्थानमा सामसुङ यस प्रतिवेदनका अनुसार तेस्रो त्रैमासिकका दाैरान मूल्यकाे आधारमा बजारमा सामसुङकाे हिस्सा २२.८ प्रतिशत रहेको छ । योसँगै यो बजारको शीर्ष स्थानमा पुगेको हाे । यसभन्दा एक त्रैमासअघि कम्पनी १८ दशमलव १ प्रतिशतको बजार हिस्साका साथ तेस्रो स्थानमा थियो । तेस्रो त्रैमासिकमा एप्पल २१.६ प्रतिशतकाे साथ दोस्रो स्थानमा छ । सोही वर्षको दोस्रो त्रैमासमा एप्पल पाँचौं स्थानमा पनि थिएन । भीभो १५.५ प्रतिशतको बजार हिस्साका साथ तेस्रो र ओप्पो १०.८ प्रतिशतको बजार हिस्साका साथ चौथो स्थानमा रहेको छ । साओमीलाई ठूलो झट्का भारतीय स्मार्टफोन बजारमा साओमीको दबदबा समाप्त हुँदै गएको देखिन्छ । यस वर्षको दोस्रो त्रैमासमा साओमी एक नम्बरमा थियो । त्यतिबेला यसको बजार हिस्सा १८.९ प्रतिशतमात्रै थियो । तेस्रो त्रैमासिकमा साओमीको बजार हिस्सा ८.७ प्रतिशत मात्रै रहेको छ । योसँगै कम्पनी पाँचौं स्थानमा झरेको छ । यो त्रैमासमा अन्य स्मार्टफोन कम्पनीको बजार हिस्सा २०.५ प्रतिशत रहेको छ । स्मार्टफोनमा फाइभ-जीको गरिमा तेस्रो त्रैमासमा फाइभ-जी स्मार्टफोनले सबैलाई पराजित गरेको छ । यसले कुल ढुवानीमा ८१ प्रतिशतको अहिलेसम्मकै उच्च अंश हासिल गरेको छ । बजारलाई आकर्षक ईएमआई अफर र ट्रेड-इनले समर्थन गरिरहेको विश्लेषकहरू बताउँछन् । (एजेन्सीहरूकाे सहयाेगमा)