डिप्रोक्स नेपालले ३ सय घरमा इन्टरनेट जडान गरिदिने, स्पीड १ सय एमबीपीएस

काठमाडौं । डिप्रोक्स नेपालले ३ सय घरमा इन्टरनेट जडान गरिदिने भएको छ । गैर सरकारी डिप्रोक्स नेपालले दाङको शान्तिनगर र दंगीशरण गाउंपालिकाका ३ सय (१० प्रतिशतसम्म थप हुन सक्ने) घरधुरीमा इन्टरनेट सेवा जडान गरिदिने भएको हो । गैर सरकारी डिप्रोक्स नेपालले जेर्सी ओभर्सेज एडको आर्थिक सहयोग र प्राक्टिकल एक्सनको अगुवाईमा समुन्नति डिजिटल फाइनान्स परियोजना सञ्चालन गरेको छ । उक्त परियोजना दाइ, रोल्पा र रुकुम पूर्वका स्थानीय तहहरूमा सञ्चालन गरिरहेको छ । परियोजनाले सेवा दिनुपर्ने ५ हजार ५ सय घरधुरीमध्ये अधिकांश घरधुरीमा इन्टरनेट सेवाको पहुँच नभएको जनाएको छ । इन्टरनेट सेवा उपलब्ध गराई डिजिटल प्रविधिमार्फत वित्तीय सेवा, बजारसँग सम्पर्क र सूचना सेवाको प्रयोग गर्न सक्ने अवस्थामा ल्याउन इच्छुक इन्टरनेट सेवा प्रदायकले बोलपत्र पेश गर्न आह्वान गरेको छ । यसअघि गत मंसिर २६ गते ७ दिनको समयावधि राखी बोलपत्र आह्वान गरेकोमा बोलपत्र नआएकोले सोही कामको लागि पुनः दोस्रो पटक इच्छुक इन्टरनेट सेवा प्रदायकबाट सिलबन्दी बोलपत्र आह्वान गरेको डिप्रोक्स नेपालले जनाएको छ । इच्छुक कम्पनीले दाङमा कुनै न कुनै किसिमको इन्टरनेट सेवा दिएको प्रमाण संलग्न गर्नुपर्नेछ । इन्टरनेट सेवा प्रदायकले शान्तिनगर गाउँपालिकाका १७३ र दंगीशरण गाउँपालिकाका १२७ घरधुरीमा सेवा दिनुपर्नेछ । यी ३०० घरधुरीको सूची परियोजनाबाट उपलब्ध हुनेछ । यी परिवारलाई इन्टरनेट सेवा जडान गर्न र वार्षिक इन्टरनेट शुल्कमा केही अनुदान उपलब्ध गराइनेछ । सेवा प्रदायकले तोकिएका शर्तहरुको पालना गरी सम्झौताको ४५ दिनभित्रमा सबै घरधुरीमा सेवा जडान गर्नुपर्नेछ । इन्टरनेटको स्पीड १ सय एमबीपीएस हुनुपर्नेछ ।

टेलिकमको लोगो प्रयोग गरी सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भयो : टेलिकम

काठमाडौं । नेपाल टेलिकमले टेलिकमको लोगो प्रयोग गरी सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भैरहेको सम्बन्धमा ध्यानाकर्षण गराएको छ । ‘नेपाल टेलिकमले आउँदै गरेको क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर रु. ५ हजार सम्मको नगद तथा उपहारको व्यवस्था गरेको’ भनी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भैरहेको प्रति ध्यानाकर्षण गराएको हो । टेलिकमले प्रेस विज्ञप्ति जारी गर्दै सबैजनालाई सचेत रहन आग्रह गरेको छ । साथै कम्पनीको आधिकारिक ब्लु टिकसहितको फेसबुक र एक्स (पूरानो ट्वीटर) लगायतका सामाजिक सञ्जालमा भएका सूचना तथा कम्पनीको आधिकारिक वेबसाइटलाई मात्र आधार मानेर कम्पनीका सेवा बारेमा अद्यावधिक हुन पनि आग्रह गरेको छ ।

इन्ड्राइभ आइसिटी अवार्डको ग्राण्ड फिनाले शुक्रबार, विभिन्न १५ विधामा अवार्ड प्रदान हुने

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको ग्राण्ड फिनाले पुस ५ गते शुक्रबार हुने भएको छ । काठमाडौंको बौद्धमा रहेको ह्यात रिजेन्सी होटलमा ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२४ सपोर्टेड बाई एनसेल फाउन्डेसन इन एशोशिएसन विथ नेपालपे क्युआर, जेनस एण्ड जुम’मा विभिन्न १५ विधामा अवार्ड प्रदान गरिने छ । सन् २०१६ देखि लिभिङ विथ आइसिटीले आयोजना गर्दै आइरहेको आइसिटी अवार्ड कार्यक्रम, विगत ६ महिनादेखि छनौट प्रक्रिया र प्रिइभेन्टहरु सम्पन्न गर्दै ग्राण्ड फिनालेसम्म आइपुगेको छ । फिनालेमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रसँग सम्बन्धित स्टार्टअप, प्रडक्ट, इन्नोभेसन, उद्यमी, प्रोफेसनल, संघ संस्था गरी विभिन्न १५ विधाहरूमा विजेताको घोषणासँगै अवार्ड वितरण हुनेछ ।यसैगरी सातै प्रदेशका उत्कृष्ट स्टार्टअपहरुलाई प्रोभिन्सियल स्टार्टअप आइसिटी रिकग्निसन २०२४ बाट समेत सम्मान गरिनेछ । अवार्डमा दक्षिण एसियाली देशहरुलाई लक्षित गरिएको साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड सार्क राष्ट्रको सर्वोत्कृष्ट स्टार्टअपलाई प्रदान गरिने छ । प्रविधि क्षेत्रको विशेष उत्सवको रूपमा आयोजना हुने आइसिटी अवार्डको ग्राण्ड फिनालेमा मन्त्री, सांसद, उद्यमी, प्रोफेसनल लगायत स्वदेश तथा विदेशबाट करिब १ हजार विशिष्ट व्यक्तिहरूको सहभागीता रहनेछ । नवौं संस्करणको आइसिटी अवार्डको छनौटको लागि १४ जना स्वदेशी र ३ जना विदेशी विज्ञ जुरी समिती र १२ जनाको सल्लाहकार समिति गठन गरिएको थियो । यस वर्ष विभिन्न १४ विधा र रिकग्निसनमा खुल्ला गरिएको अनलाइन नोमिनेसनमा ८०० बढीको आवेदन प्राप्त भएको आयोजक समितिले जानकारी दिएको छ । अवार्ड वितरण हुने विधाहरुमा क्याटोगोरी ए अन्तर्गत स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र सोसल इन्नोभेसन रहेका छन् । व्यक्तिगत अवार्ड विधाहरुमा प्रोफेसनल एक्सिलेन्स, आन्टरप्रेनर, नेपाली डायस्पोरा, पायोनियर र एनसेल वुमन आईकन आइसिटी अवार्ड रहेका छन । संस्थागत र कर्पोरेट अवार्ड विधाहरुमा डिजिटल एजुकेसन (पब्लिक सेक्टर), डिजिटल एजुकेसन (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स र डिजिटल सर्भिसेस आइसिटी अवार्ड रहेका छन । क्याटोगोरी डी अन्तर्गत साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड रहेको छ । यस बाहेक क्याटोगोरी ए अन्तर्गत विधाका सेमिफाइनलिष्टहरू मध्येबाट सबैभन्दा बढी पब्लिक भोट ल्याउने स्टार्टअप, इन्नोभेसन वा प्रडक्टलाई पब्लिक च्वाइस आइसिटी अवार्ड प्रदान गरिने छ । ग्राण्ड फिनाले सातै प्रदेशमा स्टार्टअप मिटअप, बुटक्याम्प, मेन्टरिङ सेसन, काठमाडौंमा २ दिने स्टार्टअप एण्ड आइडिया फेस्ट, ग्राण्ड जुरी सेसन, स्पीड डेटिङ, टेलिभिजन कार्यक्रम, पब्लिक भोटिङ र फिल्ड भिजिटजस्ता प्रकृयाहरु सञ्चालन गरिएको थियो । अवार्ड छनौट प्रक्रियालाई पारदर्शी, निष्पक्ष र सर्वोत्कृष्ट बनाउन सम्पूर्ण तवरबाट प्रयास गरिएको अवार्डका संयोजक राजन लम्सालले बताए । आइसिटी अवार्ड केवल एक अवार्ड कार्यक्रममात्र नभएर डिजिटल रुपान्तरण र इकोसिस्टमको सारथी भएको उनको भनाइ छ । हरेक वर्ष आयोजना हुने अवार्ड कार्यक्रमले सूचना प्रविधिको क्षेत्रमा काम गर्न चाहने र गरिरहेकाहरूलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्दै आएको छ । साथै अवार्डमा प्रतिस्पर्धामा आएका स्टार्टअप, प्रडक्ट र इन्नोभेसनहरूले थप लगानी र बजार विस्तारको लागि अवसर समेत प्रदान गरिरहेको छ । अवार्ड विजेताले विभिन्न कम्पनीका अफरहरूसँगै ट्रफी र सम्मान प्राप्त गर्नेछन् भने एनसेल वुमन आइकन विजेतालाई ३ लाख रुपैयाँ नगद पुरस्कार पनि प्रदान गरिने छ । शुक्रबार आयोजना हुने ग्राण्ड फिनाले कार्यक्रमलाई सफल बनाउन इन्ड्राइभ, एनसेल, नेपालपे क्युआर, जेनस, जुम, स्मार्टन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नास्ट, फोर्टिनेट, राष्ट्रिय वाणिज्य बैंक, हाम्रो पे, एमआईटी कलेज, नबिल बैंक, सस्तो टिकेट्स, मेन्टरल्याब, हामो पात्रो, टेक्नोरियो, सिटी एक्सप्रेस, ब्रोडवे इन्फोसिस, कान्तिपुर टिभी, रूटिन अफ नेपाल बन्द, टेकस्पायर कलेज, एम्बिसन गुरू, आकाश टेल लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्थाहरूको सहयोग र सहकार्य रहेको  छ ।