खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ सुरु

काठमाडौं । ‘खल्ती’ले करोडौंको अफर रहेको ‘द बिगेस्ट पेमेन्ट जात्रा’को चौंथो संस्करण बिहीबारबाट सुरु गरेको छ ।  यस संस्करणमा खल्तीले जात्रा ब्याटल ग्राउन्ड नामक नयाँ रोमाञ्चक प्रतिस्पर्धा पनि ल्याएको छ जहाँ हरेक हप्ता खल्ती प्रयोगकर्ताहरूले नयाँ इन्फ्लुन्सरसँग प्रतिस्पर्धा गर्नेछन् । यस जात्राअन्तर्गत ५ जनाले भेस्पा एलएक्स १२५ जित्न सक्नेछन् । यसैगरी, ९ जनाले अनर एक्स ८ सी स्मार्टफोन जित्नुका साथै प्रयोगकर्ताहरूले अल्टिमा साउन्ड बार, स्मार्ट घडी,  एअर बड देखि सयौं उपहारहरू जित्न सक्नेछन् ।  पहिलेको संस्करणमा जस्तै हरेक खल्ती प्रयोगकर्ताहरूले आफ्नै प्रोमोकोड बनाई आफ्नो सञ्जालमा सेयर गर्न सक्नेछन् भने हरेक दिन खुत्रुके र हरेक भुक्तानीमा स्क्र्याचकार्ड मार्फत उपहारहरू जित्न सक्नेछन् । असार ३२ सम्म लागू रहने ६३ दिनको यस जात्रा अवधिमा १५-१५ दिन गरी ४ राउन्ड रहेको छ ।  प्रत्येक राउन्डमा खल्तीबाट कुनै पनि २ भुक्तानी पूरा गर्ने प्रयोगकर्ताहरू भेस्पा एलएक्स १२५ को लागि ‘लक्की ड्र’मा सहभागी हुनेछन् ।  हरेक राउन्डको अन्त्यमा एक भाग्यशाली विजेता घोषणा हुनेछ । चारवटै राउन्डहरूमा सहभागी हुने प्रयोगकर्ताहरू बोनस राउन्डका लागि स्वतः सहभागी हुनेछन् र बोनस राउन्डको पाँचौं भेस्पा एलएक्स १२५ जित्न सक्नेछन् । कुल मिलाएर एक प्रयोगकर्ताले । भेस्पा एलएक्स १२५ जित्ने ५ वटा मौका पाउनेछन् । गत वर्षजस्तै खल्तीले ‘सेयर अ कोड’ फिचरलाई निरन्तरता दिएको छ । खल्ती एप भित्र जात्रा पेजमा गएर प्रयोगकर्ताहरूले ‘क्रियट’ ट्याप गरी हरेक हप्ता आफ्नै प्रोमोकोड भएको कुपन बनाउन सक्नेछन् जुन सेयर गरी प्रयोगकर्ताहरू स्वयम् खल्ती इन्फ्लुन्सर बन्न सक्नेछन् ।  साथीभाइले प्रोमोकोड प्रयोग गरे अफर र क्यासब्याकको लाभ लिन सक्नेछन् भने सेयर गर्नेलाई हरेक कोड प्रयोगमा १० खल्ती पोइन्ट्स प्राप्त हुनुका साथै हरेक हप्ता ५ मा ५ प्रयोग भएमा हनर एक्स ७बी स्मार्टफोन जित्ने मौका मिल्नेछ । ‘सेयर अ कोड’  को विस्तारित खेल स्वरूप हो ‘जात्रा ब्याटलग्राउन्ड’ जसमा हरेक हप्ता २ टोली बिच प्रतिस्पर्धा हुनेछ । एक टोलीमा हुनेछन् एक जना कन्टेन्ट क्रियटर र उनले बनाएको आफ्नो कोड । अर्को टोलीमा हुनेछन् सम्पूर्ण खल्ती फ्यानहरू र उनीहरूले बनाएका कोडहरू । जुन टोलीले लक्षित गरिएको कोड प्रयोग सङ्ख्या पूरा गर्नेछ, जित उसैको हुनेछ। पहिलो हप्ता २ बी गेमर ब्याटलग्राउन्डमा देखिन्छन् भने हरेक हप्ता नयाँ क्रियटर आउने खल्तीले जनाएको छ । दैनिक रूपमा 'खुत्रुके' फुटाएर विशेष कोड प्राप्त हुनेछ र हरेक दिन ‘लक्की ड्र’ मार्फत एक भाग्यशाली विजेताले साउन्ड बार, स्मार्ट घडी,  एअर बड जस्ता अल्टिमा प्रडक्टहरू जित्नेछन् भने प्रयोगकर्ताहरूले १०० भन्दा माथिको हरेक भुक्तानीमा डिजिटल स्क्र्याच कार्ड मार्फत विभिन्न किसिमका अफर र क्यासब्याकहरू प्राप्त गर्न सक्नेछन् ।  

गुगल, मेटा, लिंक्डइनसहित १८ कम्पनी दर्ता, उठायो ४१ करोड रुपैयाँ बढी कर

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल दर्ताको विषय चर्चामा रहेका बेला गुगल, मेटा, लिंक्डइन लगायत १८ कम्पनीबाट सरकारले ४१ करोड रुपैयाँ बढी कर संकलन गरेको छ । महालेखापरीक्षको ६२औँ प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा विभिन्न १५ करदाताबाट ४१ करोड ७ लाख २० हजार कर सङ्कलन भएको हो ।  साथै, आर्थिक वर्ष २०७९/८० मा मूल्य अभिवृद्धि करसमेत १० करोड ८४ लाख २९ हजार कर सङ्कलन भएको थियो । आर्थिक ऐन, २०७९ को दफा २० मा गैरबासिन्दा व्यक्तिले नेपालका उपभोक्तालाई उपलब्ध गराएको विद्युतीय सेवाको कारोबार मूल्यमा २ प्रतिशतका दरले विद्युतीय सेवा कर लगाउने व्यवस्था गरेको छ । ठूला करदाता कार्यालयबाट प्राप्त विवरणअनुसार २०८०÷८१ सम्म गुगल, मेटा, लिंक्डइन, माइक्रोसफ्ट, अमेजन लगायतका १८ कम्पनी दर्ता भएका छन् । यस्तो कारोबार गर्ने सबै गैरबासिन्दा व्यक्तिलाई करको दायरामा ल्याउनुपर्ने महालेखाको सुझाव छ ।   

९ दूरसञ्चार सेवा प्रदायक संस्थाले सरकारलाई तिरेनन् रोयल्टी र जरिवानावापत १३ करोड रुपैयाँ

काठमाडौं । ९ दूरसञ्चार सेवा प्रदायक संस्थाले सरकारलाई रोयल्टी र जरिवानावातपको  रकम नबुझाएको पाइएको छ । बुधबार महालेखापरीक्षकले सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदनका अनुसार आव २०८०/८१ मा  ९ दूरसञ्चार सेवा प्रदायक संस्थाले १३ करोड ७ लाख रुपैयाँ तिर्न बाँकी रहेको छ । महालेखाले उक्त रकम असुल्न सरकालाई भनेको छ । त्यस्तै ७ सेवा प्रदायकले ग्राहकसँग मर्मत तथा विभिन्न शुल्क बापत प्राप्त गरेको आम्दानीको रोयल्टी र जरिमानासमेत १ करोड ४२ लाख ५४ हजार छुट भएको देखिएकोले उक्त रकम असुल गर्नुपर्ने उल्लेख गरिएको छ । दूरसञ्चार नियमावली, २०५४ को नियम ३१ बमोजिम रेडियो फ्रिक्वेन्सी दस्तुर प्रत्येक वर्ष समाप्त भएको ६ महिनाभित्र भुक्तानी गर्नुपर्ने, न्यूनतम फ्रिक्वेसी बाहेक थप फ्रिक्वेन्सी, अधिकतम फ्रिक्वेन्सी र भिस्याटको दस्तुर प्रत्येक आर्थिक वर्षको लागि सो आर्थिक वर्ष सुरु भएको ३ महिनाभित्र अग्रिम भुक्तानी गर्नुपर्ने छ ।  नगरेमा बाँकी दस्तुरमा थप दस्तुरसमेत लाग्ने व्यवस्था छ । त्यसैगरी आव २०८०/८१ मा १ सेवा प्रदायकले बुझाउनुपर्ने फ्रिक्वेन्सी तथा भिस्याट दस्तुरबापत २४ करोड ३४ लाख दाखिला गर्न बाँकी देखिएकाले असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरेको छ ।