एनसेलविरुद्ध दायर गरेको रिट खारेज, सर्वोच्चको सात बुँदे निर्देशनात्मक आदेश
काठमाडौं । एनसेलविरुद्ध परेको रिट खारेज भएको छ । एनसेलको ८० प्रतिशत सेयर हिस्सा ओगट्ने कम्पनीको खरिदबिक्री रोक्नुपर्ने माग गर्दै सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको हो । न्यायाधीशहरू सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको इजलासले रिट निवेदन खारेज गर्दै सात बुँदे निर्देशनात्मक आदेश दिएको छ । मलेसियाको आजिआटा कम्पनीले रेनोल्ड होल्डिङको सबै सेयर बेलायतमा स्थापना भएको स्पेक्ट्रलाईट युके लिमिटेडलाई बेच्ने निर्णय गरेको थियो । सेयर खरिदबिक्रीको निर्णय सर्वाजनिक भएपछि सर्लाही–४ का स्वतन्त्र सांसद अमेरेश कुमार सिंहले रोकिनुपर्ने माग गर्दै रिट निवेदन दर्ता गरेका थिए । पुँजीगत लाभकर छल्ने उद्देश्यले वास्तविकभन्दा कम मूल्यमा सेयर विक्री गर्न खोजिएको भनी उनले रिट निवेदन दर्ता गरेका हुन् । आजिआटाले टेलिकम क्षेत्रका व्यवसायी सतीशलाल आचार्यलाई ५५ मिलियन अमेरिकी डलर (करिब ६ अर्ब ६५ करोड रुपैयाँ)मा सेयर बिक्रीको घोषणा गरेको थियो ।
भुक्तानी नभएपछि ईसेवाले भन्यो- अस्थायी रूपमा प्रभावित भएको हो, चाँडै समाधान हुन्छ
काठमाडौं । भुक्तानी सेवा प्रदायक ईसेवामा समस्या देखिएको छ । एपमार्फत भुक्तानी कारोबार हुन नसकेपछि कम्पनीले प्राविधिक कठिनाइका कारण सेवा अस्थायी रूपमा प्रभावित भएको जानकारी दिएको छ । ‘प्राविधिक कठिनाइहरूको कारण इसेवाका सेवाहरू केही समयको लागि अस्थायी रूपमा अवरुद्ध भएको यो सूचना मार्फत जानकारी गराउँदछौं,’ ईसेवाद्वारा जारी सूचनामा भनिएको छ । ईसेवाले सेवा अवरुद्ध हुँदा ग्राहकले भोग्नुपरेको असुविधाका लागि माफी मागेको छ । समस्या समाधानका लागि प्राविधिक टोली सक्रिय रूपमा जुटेको पनि कम्पनीले उल्लेख गरेको छ । भुक्तानी कारोबार रोकिएपछि सेवाग्राहीहरू प्रभावित भएका छन् । ईसेवा नेपालकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । सन् २००९ मा स्थापना भएको कम्पनी ईसेवाले अहिले नेपालका ७७ जिल्लाको ७५३ वटै स्थानीय निकायमा आफ्नो एजेन्ट नेटवर्क पुर्याउन सफल रहेको छ ।
‘एनसेल वुमन आइकन आइसीटी अवार्ड २०२४’ बाट बन्दना शर्मा सम्मानित
काठमाडौं । ‘एनसेल वुमन आइकन आइसीटी अवार्ड- २०२४’ बन्दना शर्माले पाएकी छन् । हालै सम्पन्न आइसीटी अवार्ड २०२४ को ग्राण्ड फिनाले कार्यक्रममा उनले यो अवार्ड पाएकी हुन् । सूचना प्रविधि क्षेत्रमा क्रियाशील रहेर योगदान पुर्याएवापत् शर्मालाई यो वर्षको अवार्ड प्रदान गरिएको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कडेल र एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले संयुक्त रूपमा अवार्ड प्रदान गरे । नेपाल बैंकको कार्ड तथा डिजिटल बैंकिङ डिभिजन प्रमुखको रूपमा कार्यरत शर्माले यो अवार्डसँगै ३ लाख रुपैयाँ नगद पुरस्कारसमेत पाएकी छिन् । नेपालको सूचना प्रविधि क्षेत्रमा काम गर्दै यो क्षेत्रको विकासमा उल्लेख्य योगदान पुर्याएका महिलालाई यो अवार्ड प्रदान गरिन्छ । सूचना प्रविधि क्षेत्रमा सक्रिय महिलाहरुलाई सम्मान तथा प्रोत्साहन गर्नका लागि विगत पाँच वर्षदेखि आइसिटी अवार्ड र एनसेलबीच सहकार्य हुँदै आएको छ । यो वर्षको एनसेल वुमन आइकन आइसिटी अवार्ड विजेता शर्मा सूचना प्रविधि क्षेत्रमा १८ वर्षदेखि निरन्तर क्रियाशील महिला हुन् । यसअघि २०२३ मा सुनैना घिमिरे पाण्डे, २०२२ शीला कंसाकार कार्की, २०२१ मा गुणकेशरी प्रधान र २०२० मा तिमिला यमी ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड’बाट सम्मानित भएकी थिइन् । यो अवार्डबाहेक एनसेल फाउन्डेसनले सूचना प्रविधिको पाटोमा विशेष गरी शिक्षा, डिजिटल डिभाइड कम गर्न र साइबर सुरक्षा, डिजिटल साक्षरता जगाउन विभिन्न कार्यहरु गरेको छ । यो वर्षको एनसेल वुमन आइकन आइसिटी अवार्ड विजेता शर्मा २००६ मा आइटी सपोर्ट अफिसरको रूपमा नेपाल बैंकमा प्रवेश गरेकी थिईन् । नेपाल बैंकलाई डिजिटलाइज गर्ने काममा सुरूवातदेखि नै आवद्ध उनले कोर बैंकिङ सिस्टम, नेटवर्क सुरक्षा, साइबर सुरक्षा लगायत बैंकको डिजिटल पूर्वाधार विकास तथा सेवाहरूलाई ग्राहकमैत्री बनाउन निकै महत्त्वपूर्ण भूमिका खेलेकी छिन् । पोखरा विश्वविद्यालयबाट बीसीए अध्ययन गरेकी शर्माले मास्टर्समा सूचना प्रविधि, नेटवर्क एण्ड ई बिजनेस र एमबीए पनि अध्ययन गरेकी छन् । शर्मा क्यान महासंघ, वुमन इन आईटी, युनिप्रोफेसनल म्यानेजमेन्ट कमिटिमा पनि आवद्ध भएर आफ्नो अनुभव बाँडिरहेकी छन् । साथै वित्तीय समावेशीता र स्टेम एजुकेसनमा उनको योगदान रहेको छ ।