नेपाल टेलिकमको सत्रौँ वार्षिक साधारणसभा सम्पन्न, लाभांश पारित
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को सत्रौँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । राष्ट्रिय सभा गृह, काठमाडौंमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को मुनाफा रकम मध्येबाट प्रतिसेयर ३० रुपियाँका दरले सेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । साधारणसभामा करिब ९१.६२ प्रतिशत सेयरको प्रतिनिधित्व गर्ने सेयरधनीहरूको उपस्थिति रहेको थियो । उक्त सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ । यसैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आव २०८१/८२ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउन्टेन्टद्वय नरेन्द्र भट्टराई र प्रकाशजंग थापालाई लेखापरीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिक समेत तोकेको छ । सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले साधारणसभामा उपस्थित सेयरधनीहरूलाई स्वागत गर्दै कम्पनीको सत्रौँ वार्षिक प्रतिवेदन पेस गरेकी थिइन् । प्रतिवेदन प्रस्तुत गर्दै उनले यस क्षेत्रमा रहेको तीव्र प्रतिष्पर्धि वातावरणमा मुनाफाभन्दा बढी सेवाभावलाई उच्च प्राथमिकतामा राखी भौगोलिक रुपले अति विकट तथा दुर्गम क्षेत्रमा सेवा विस्तार तथा वितरण गर्दै डिजिटल नेपाल बनाउने नेपाल सरकारको अवधारणामा सहयोग गर्ने, विद्युतीय सुशासनको क्षेत्रमा सदा झैं थप सहयोगी भूमिका निर्वाह गर्ने तथा अप्टिकल फाईबरको माध्यमबाट सूचना महामार्ग निर्माण गरी डिजिटल डिभाइड कम गर्ने तर्फ कम्पनीले आफ्ना कार्यक्रमहरुलाई परिलक्षित गरिरहेको बताइन् । समीक्षा अवधिमा कम्पनीको २ करोड ३० लाखभन्दा बढी सन्तुुष्ट ग्राहक पुगेको उल्लेख गर्दै अध्यक्ष अर्यालले भनिन्, ‘आन्तरिक तथा बाह्य वातावरणमा देखिएका विविध प्रतिकूलताकाबीच कम्पनीले कुल रु ४२ अर्ब ११ करोड आम्दानी गरी रु ६ अर्ब २३ करोड मुनाफा आर्जन गर्न सफल भएको छ । समीक्षा अवधिमा कम्पनीले कर तथा शुल्कवापत आफ्नो कूल आयमध्ये ४१ अर्ब ५९ करोड राजस्वको रुपमा नेपाल सरकारलाई बुझाइ राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याएको छ ।’ कम्पनीले सत्रौँ साधारणसभाले पारित गरेबमोजिमको लाभांश रकम आजदेखि नै एनएमबी बैंकमार्फत सर्वसाधारण सेयरधनीहरूलाई वितरण गर्ने व्यवस्था मिलाएको टेलिकमका प्रवक्ता हरि ढकालले उल्लेख गरेका छन् ।
आईटी कम्पनीलाई विदेशमा विस्तार गर्ने कानुनी सुधार ल्याउनु स्वागतयोग्य छ : क्यान महासंघ
काठमाडौं । नेपाल सरकारले नेपाली सूचना प्रविधि (आईटी) कम्पनीहरूले विदेशमा लगानी गर्न पाउने कानुनी प्रावधानका लागि अध्यादेश मार्फत कानुन संशोधन गर्ने निर्णय गरेपछि सूचना प्रविधि क्षेत्र उत्साहित बनेको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले सरकारको यो कदमलाई ऐतिहासिक निर्णयको रूपमा स्वागत गर्दै सूचना प्रविधि क्षेत्रमा नयाँ सम्भावनाको ढोका खुलेको प्रतिक्रिया दिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले केही नेपाल ऐन संशोधन सम्बन्धी अध्यादेश स्वीकृत गरी नेपाली आईटी कम्पनीहरूले विदेशमा लगानी गर्न, शाखा खोल्न, कारोबार गर्न र त्यहाँको आम्दानी नेपाल भित्र्याउन पाउने कानुनी व्यवस्था गरेको छ । यस व्यवस्थाले नेपाली आईटी कम्पनीहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने र वैदेशिक मुद्रा आर्जनमा वृद्धि गर्ने विश्वास क्यान महासंघले व्यक्त गरेको छ । क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले सरकारको यो पहलकदमीले सूचना प्रविधि क्षेत्रमा ठूलो सुधार ल्याउने बताउँदै यसले नेपाली आईटी उद्योगलाई नयाँ दिशामा लैजान मार्गप्रशस्त गर्ने धारणा व्यक्त गरिन् । उनले क्यान महासंघले लामो समय देखि यस्तो कानुनी सुधारको माग गर्दै आएको स्मरण गराउँदै नीतिगत सुधारसँगै यस क्षेत्रमा देखिएका समस्या र चुनौतीहरूको समाधानका लागि स्पष्ट कार्यक्रम ल्याउनुपर्नेमा पनि जोड दिइन् । ‘नेपालको सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक छ,’ अध्यक्ष घिमिरेले भनिन्, ‘नेपालबाट विदेशमा आईटी कम्पनी विस्तार गर्ने देखि विदेशबाट नेपालमा गुणस्तरीय आईटी परियोजना ल्याउने वातावरण बनाउन अपरिहार्य छ ।’ साथै, उनले यहाँका श्रमशक्तिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन सरकारबाट आवश्यक सहयोगको अपेक्षा व्यक्त गरे । त्यसैगरी, सरकारले स्टार्टअप कम्पनीहरूलाई ४० प्रतिशतसम्म स्वेट सेयर जारी गर्न सकिने व्यवस्था गर्ने गरी कानुन संशोधन गरेकोमा पनि क्यान महासंघले प्रशंसा गरेको छ । क्यान महासंघका महासचिव चन्द्र विलास भूर्तेलले यो निर्णयले नेपाललाई ज्ञानमा आधारित अर्थतन्त्र तर्फ उन्मुख गराउने र सूचना प्रविधि क्षेत्रमा बजार विस्तार गर्न सहायक हुने बताए । उनले सरकार र निजी क्षेत्रको सहकार्यले मात्र आईटी हबको लक्ष्य हासिल गर्न सकिने विश्वास व्यक्त गरे। क्यान महासंघले सरकारले चालेको कदमप्रति धन्यवाद व्यक्त गर्दै सूचना प्रविधि क्षेत्रमा थप नीतिगत र संरचनागत सुधारको आवश्यकता रहेको बताएको छ ।
एनसेलको आम्दानी ३४ अर्ब र लाभांश ७० प्रतिशत, २७ अर्ब रहेको ऋण २२ अर्बमा झार्यो
काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको व्यापार निरन्तर घट्दै गएको छ । सार्वजनिक तथ्यांकअनुसार कम्पनीको आम्दानी पछिल्लो चार वर्षमा निरन्तर घट्दै गएको देखिएको हो । सन् २०२५ को पहिलो त्रैमासमा यस कम्पनीको अपरिष्कृत सञ्चालन आम्दानी ८ अर्ब ३० करोड ४० लाख रुपैयाँ देखिएको छ । यस्तै, सन् २०२४ को अपरिष्कृत सञ्चालन आम्दानी ३४ अर्ब ६ करोड ८० लाख र सन् २०२३ मा ३७ अर्ब ४४ करोड २० लाख र सन् २०२२ मा ३९ अर्ब ७२ करोड ५० लाख रुपैयाँ रहेको छ । एनसेलको आम्दानी प्रत्येक वर्ष घटिरहेको देखिन्छ । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार मोबाइल फोन सेवाको प्रयोग घट्दै जाँदा र मोबाइल डाटाको प्रयोग बढ्दै जाँदा आम्दानी घटेको हो । पछिल्लो समयमा फेसबुक मेसेन्जर, भाइबर, ह्वाट्स एप लगायत सामाजिक सञ्जालको प्रयोग बढेसँगै मोबाइल फोन सेवाबाट प्राप्त हुने आम्दानीको आकार दूरसञ्चार सेवा प्रदायकको आम्दानीमा असर परिरहेको छ । विगतका तीन आर्थिक वर्षमा औसत ८३ प्रतिशत लाभांश वितरण गरेको एनसेलले गत आर्थिक वर्षमा भने ७० प्रतिशत मात्रै वितरण गरेको बताइएको छ । स्पाइस नेपाल प्राइभेट लिमिटेडको रूपमा सन् २००१ मा दर्ता भएको यस कम्पनीले पहिलो निजी क्षेत्रको जीएसएम टेलिकम अपरेटरका रूपमा मेरो मोबाइल ब्रान्ड नाम अन्तर्गत सन् २००५ को सेप्टेम्बरदेखि व्यावसायिक सञ्चालन सुरु गरेको थियो । त्यसपछि सन् २००८ को सेप्टेम्बरमा युरोपियन टेलिकम जायन्ट टेलियासोनेराले कम्पनीमा बहुमत सेयर लिएर सन् २०१० को मार्चमा यसको ब्रान्ड नाम परिवर्तन गरी एनसेल र कम्पनीको नाम परिवर्तन गरी एनसेल प्राइभेट लिमिटेड राखिएको थियो । सन् २०१६ अप्रिल १२ मा यो कम्पनी मलेसियन कम्पनी एक्सियाटाको स्वामित्वमा गयो । यस कम्पनीले एनसेलको ८० प्रतिशत सेयर खदिर गरेको थियो । बाँकी २० प्रतिशत सेयर नेपालकै सुनिभेरा क्यापिटल भेन्चर प्राइभेट लिमिटेडसँग थियो । त्यसपछि फेरि कम्पनीको नाम परिवर्तन गरी एनसेल एक्सियाटा लिमिटेड राखिएको थियो । सन् २०२० अगस्ट ३ मा यो पब्लिक लिमिटेड कम्पनीमा परिणत गरियो । सन् २०२३ को डिसेम्बरमा एक्सियाटाले रेनोल्ड्स होल्डिङ लिमिटेडको आफ्नो सतप्रतिशत सेयर स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री ग¥यो । तर, यो सेयर स्थानान्तरणमा हुन सकेको छैन । सरकारले स्वीकृति दिएको छैन । स्पेक्ट्रलाइट यूके लिमिटेडका सेयरधनी सतिशलाल आचार्य हुन् । उनी नेपाली मूलका सिंगापुरेली नागरिक हुन् । इक्रा नेपालका अनुसार एनसेलले २२ अर्ब ६० करोड रूपैयाँ बैंक कर्जाका लागि रेटिङ गराएको छ । त्यसमध्ये १० अर्ब ६० करोड दीर्घकालिन र १२ अर्ब रुपैयाँ अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । यसअघि कम्पनीले २७ अर्ब २२ करोड ५० लाख रुपैयाँ ऋणका लागि रेटिङ गराएको थियो । कम्पनीले यो बिचमा ४ अर्ब ६२ करोड ५० लाख रुपैयाँ कर्जा घटाएको छ । कम्पनीले दीर्घकालिन कर्जाका लागि एल ए र अल्पकालीन कर्जाका लागि ए वानको रेटिङ पाएको छ ।