गुगलले प्रयोगकर्ताहरूको ‘उमेर निर्धारण’ गर्न ‘एआई’को प्रयोग गर्ने
काठमाडौं । गुगलले आफ्ना उत्पादनहरू प्रयोग गर्न प्रयोगकर्ताहरू उमेरअनुसार उपयुक्त छन् कि छैनन् भन्ने निर्धारण गर्न कृत्रिम बौद्धिकता (एआई) प्रयोग गर्ने घोषणा गरेको छ । कम्पनीले बुधवार यो जानकारी दिएको हो । गुगलले प्रयोगकर्ताहरूको उमेर निर्धारण गर्ने नयाँ प्रविधिको घोषणा ‘बच्चाहरू, किशोरहरू र अभिभावकहरूका लागि नयाँ डिजिटल सुरक्षा’ केन्द्रित ब्लगको एक भागको रूपमा गरेको हो । गुगलका प्रवक्ताले यो स्वचालित प्रणाली युट्युब सहित गुगलका विभिन्न उत्पादनहरूमा प्रयोग गरिने पुष्टि गरेका छन् । गुगलका अरबौं प्रयोगकर्ताहरूमध्ये १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताहरूलाई केही गुगल सेवाहरूमा प्रतिबन्ध लागू गरिएको छ । गुगलको ’कोर’ प्रविधि टोलीकी वरिष्ठ उपाध्यक्ष जेन फिट्जप्याट्रिकले ब्लग पोष्टमा लेखेकी छिन्, ‘यस वर्ष हामी संयुक्त राज्य अमेरिकामा मेसिन लर्निङ-आधारित उमेर अनुमान मोडेल परीक्षण गर्नेछौं ।’ कोर युनिटले कम्पनीका प्रमुख उत्पादनहरूको प्राविधिक आधार तयार पार्ने र प्रयोगकर्ताहरूको अनलाइन सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी लिन्छ । फिट्जप्याट्रिकले लेखेकी छिन्, ‘यो मोडेलले हामीलाई प्रयोगकर्ता १८ वर्षभन्दा माथि छन् कि तल छन् भन्ने अनुमान गर्न मद्दत गर्छ, जसले हामीलाई उमेर-उपयुक्त अनुभव प्रदान गर्न सुरक्षा उपायहरू लागू गर्न सहयोग गर्छ ।’ यो नवीनतम एआई पहल कानुन निर्माताहरूले बाल सुरक्षाको लागि अनलाइन प्लेटफर्महरूलाई थप प्रावधानहरू सिर्जना गर्न दबाब दिँदै गरेको बेलामा आएको हो । कम्पनीले भनेको छ कि यसले आफ्नो एआई आधारित उमेर अनुमानलाई समयको साथ अरू देशहरूमा पनि ल्याउनेछ । मेटाले सेप्टेम्बरमा यस्तै फिचरको सुरुवात गरेको थियो । गुगल र प्रविधि उद्योगका अन्य कम्पनीहरूले विभिन्न कार्यहरू र उत्पादनहरूका लागि एआई माथिको निर्भरता बढाउँदै छन् । उमेर-सम्बन्धित सामग्रीका लागि एआई प्रयोग गर्ने गुगलको नवीनतम एआई पहल हो । गुगलको ‘कोर’ टोलीको यो नयाँ पहल कम्पनीले गत वर्ष यो युनिटको पुनर्गठन गरेपछि आएको हो ।
नेपाल टेलिकमको नाफा २.६३ अर्ब रुपैयाँ, ८.४० प्रतिशत घट्यो कुल आम्दानी
काठमाडौं । नेपाल टेलिकमको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा खुद नाफा ३२.९७ प्रतिशत घटेर २ अर्ब ६३ करोड ५१ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । पुस मसान्तसम्ममा कम्पनीको सञ्चालन आम्दानी १.४० प्रतिशत घटेर १७ अर्ब ४९ लाख रुपैयाँ मात्रै आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १७ अर्ब २४ करोड ६७ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनीको वित्तीय आम्दानी ३६.३० प्रतिशत ३६.३० प्रतिशत घटेर २ अर्ब ३० करोड ३४ लाख रुपैयाँ र कुल आम्दानी ८.४० प्रतिशत घटेर १९ अर्ब ५१ करोड ९२ लाख रुपैयाँ गरेको छ । साथै कम्पनीको वित्तीय खर्च ०.१९ प्रतिशत घटेर ७ करोड ६७ लाख रुपैयाँ गरेको छ । १८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७३ अर्ब १४ करोड रुपैयाँ सञ्चित छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी १४.४० रुपैयाँ घटेर २९.३८ रुपैयाँमा सीमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ५०६.३४ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३०.३३ गुणा रहेको छ ।
क्यान इन्फोटेक सम्पन्न, दुई लाखले अवलोकन गरे
काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा ठूलो वार्षिक प्रदर्शनी ‘क्यान इन्फोटेक २०२५’ सफलतापूर्वक सम्पन्न भएको छ । कम्प्युटर एशोसिएसन नेपाल महासङ्घ (क्यान) द्वारा आयोजित ३० औँ संस्करण काठमाडौँको भृकुटीमण्डपमा यही माघ २४ देखि २८ गतेसम्म सञ्चालन भएको थियो । सूचना प्रविधि क्षेत्रमा नवप्रवर्तन, स्टार्टअप तथा प्रविधिप्रेमीहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्यसहित आयोजित प्रदर्शनीको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका थिए । सरकारका उच्च अधिकारी, व्यवसायी, नीति निर्माता, विद्यार्थी तथा प्रविधिप्रेमीको उल्लेख्य सहभागिता रहेको यस संस्करणले डिजिटल नेपाल निर्माणलाई नयाँ गति दिएको आयोजकले जनाएको छ । प्रदर्शनीको अन्तिम दिन सङ्घीय सरकारका पूर्वमन्त्री पार्वत गुरुङ, डा प्रकाशचन्द्र लोहनी, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोल, चर्चित भ्लगर शिशन बानियाँलगायतले अवलोकन गरेका थिए ।क्यान इन्फोटेकमा सूचना प्रविधिका विश्वस्तरीय ब्राण्ड, दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायक, फिनटेक, इ–कमर्स, साइबर सुरक्षा र समाधान, ब्ल्याकचेन प्रविधि, एआई तथा डिजिटल साक्षरताका नयाँ पहलहरू प्रस्तुत गरिएको थियो । साथै नेपाली स्टार्टअप तथा नवप्रवर्तनकर्ताहरूका नवीनतम प्रविधि, सफ्टवेयर, एप्लिकेशन तथा स्वदेशी रूपमा विकसित प्रविधिहरू प्रदर्शनीका प्रमुख आकर्षक थिए । ‘मेसिन लर्निङ’मा आधारित एआई प्रविधि, स्वदेशी सफ्टवेयर, सेल्फ–ड्राइभिङ कार प्रविधिलगायत परियोजनाहरू अवलोकनकर्ताको मुख्य रोजाइमा परेको थियो । प्रदर्शनीमा आएका विज्ञ तथा सरोकारवालाहरूले नेपाली एआई प्रविधिलाई विश्वव्यापी रूपमा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए । क्यान महासङ्घका अध्यक्ष सुनैना घिमिरे पाण्डेले सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकारसँग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनका अनुसार महासङ्घले ‘डेटा प्रोटेक्सन’ ऐन, ‘राइड शेयरिङ’ नीति, एआई प्रविधिका लागि आवश्यक तथ्याङ्क व्यवस्थापन तथा वैदेशिक लगानीसम्बन्धी ऐनमा संशोधन गर्नेलगायत विषयलाई प्राथमिकतामा राखेर नीति निर्माण प्रक्रिया अघि बढेको छ । यस संस्करणको क्यान इन्फोटेकमा दुई लाख बढीले अवलोकनकर्ताले अवलोकन गरेका आयोजकले जनाएको छ । प्रदर्शनीमा विभिन्न कम्पनीहरूले आफ्नो प्रविधि तथा सेवाको प्रदर्शन गर्ने उद्देश्यले एक सय ५५ प्रदर्शनी कक्ष राखिएको थियो । ती कम्पनीले उपभोक्तासँग अन्तरक्रिया, प्रविधि परीक्षण तथा विभिन्न प्रस्तावमार्फत सेवाका बारेमा प्रवर्द्धन गरेका अध्यक्ष पाण्डेले बताए । उनका अनुसार मेलाको अन्तिम दिनसम्म उपभोक्ताले ३० देखि ७० प्रतिशतसम्म छुट तथा विशेष प्रस्ताव (अफर) प्राप्त गरेका छन् । क्यान महासङ्घका महासचिव चन्द्रविलास भुर्तेलका अनुसार यो संस्करणले नेपाली नवप्रवर्तन तथा सूचना प्रविधिको विकासमा नयाँ ऊर्जा थपेको छ । आगामी संस्करणलाई अझ प्रभावकारी बनाउन महासङ्घले प्रविधि शिक्षामा जोड दिने, डिजिटल साक्षरता अभिवृद्धि गर्ने, नीतिगत सुधारका लागि पहल गर्नेलगायत योजना बनाएको उन ले उल्लेख गरे ।