चीन र एआई संघर्षको रिपोर्टपश्चात एप्पलको स्टक घट्यो
काठमाडौं । एप्पलको स्टक बिहीबार ४ प्रतिशतले घटेको छ । सन् २०२४ को अगस्ट ५ पछिको यो सबैभन्दा खराब दिन हो । चीनमा आईफोन बिक्रीमा कमी आएसँगै स्टक घटेको हो । बजार अनुसन्धान फर्म क्यानालिसको बिहीबारको रिपोर्टपछि स्टक घटेको हो । रिपोर्ट अनुसार एप्पलले चीनमा आईफोन बिक्रीमा गिरावटको सामना गरिरहेको छ । सन् २०२४ मा यसको वार्षिक बिक्री १७ प्रतिशतले घटेर कम्पनीलाई तेस्रो स्थानमा झार्यो । चीनमा भीभो र हुवावे पहिलो र दोस्रो स्थानमा छन् । विशेष गरी, डिसेम्बरमा चीनमा आईफोन बिक्रीमा १०-१२ प्रतिशत कमी आएको थियो । यस गिरावटको कारणहरूमा हुवावेजस्ता स्थानीय प्रतिस्पर्धीहरूको वृद्धि र आईफोन सिक्स्टीनमा कृत्रिम बाैद्धिकता (एआई) जस्ता सुविधाहरूको अभाव समावेश छन् । हुवावेले मेट सिक्सिज सिरिजको सफलतासँगै बजारमा आफ्नो उपस्थिति बलियो बनाएको छ । यसको परिणामस्वरूप एप्पलको सेयर मूल्यमा पनि असर पर्यो । एप्पलले चीनमा बिक्री बढाउन विभिन्न छुटहरू प्रदान गरिरहेको छ, जस्तै आईफोन सिक्सटिन मोडलहरूमा ५०० युआनसम्मको छुट। तर, विश्लेषकहरूका अनुसार एआई सुविधाहरूको अभावले आईफोनकाे मागमा वृद्धि गर्न सकेको छैन ।
माघ २४ देखि राजधानीमा क्यान इन्फोटेक २०२५, प्रायोजक एवं स्टल बुकिङ खुला
फाइल तस्बिर । काठमाडौं । क्यान महासंघले हरेक वर्ष आयोजना गर्दै आएको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को ३० औं संस्करण आगामी माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । नेपालकै ठूलो सूचना प्रविधि प्रदर्शनी मानिने क्यान इन्फोटेकमा यस पटक सूचना प्रविधिका नयाँ-नयाँ आविष्कार र प्रविधि समाधानलाई व्यापक रूपमा समेटिनेछ । क्यान इन्फोटेकको ३० औं संस्करणको मिति घोषणासँगै टाइटल स्पोन्सर, इन एसोसिएसन विथ, प्लाटिनम, डायमण्ड, गोल्ड र सिल्भर स्पोन्सरका साथै अन्य प्रायोजन तथा साझेदारीका निम्ति प्रस्ताव खुल्ला भएको छ । सञ्चार तथा सूचना प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कम्पनीहरूको सहभागिता रहने छ । प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ-नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरू र उपकरणको अवलोकन तथा खरिद गर्न पाउने क्यान महासंघका अध्यक्ष सुनैना पाण्डे घिमिरेले बताइन् । क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरू सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिने उनले बताइन्। प्रदर्शनीमा राखिने नवीनतम प्रविधि स्टार्टअप इनोभेशन तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने विश्वास लिइएको छ । यसैबीच क्यान महासंघले क्यान इन्फोटेक २०२५ का लागि आवश्यक पर्ने स्टल तथा ह्याङ्गर निर्माण र विद्युत आपूर्ति, सुरक्षा गार्ड, स्टेशनरी, छपाइलगायतका प्रस्तावहरू समेत आह्वानसमेत गरेको छ ।
नयाँ नम्बरबाट फोन र नयाँ ‘आइडी’बाट मेल आउँछ ? सावधान ! घरबारविहीन बनाउनसक्छ
काठमाडौं । तपाईंलाई कुनै नयाँ खालको नम्बरबाट फोन आउने गरेको छ ? वा कुनै नयाँ इमेल आइडीबाट प्रलोभन दिने खालका सन्देशहरू आइरहेका छन् ? यदि आइरहेका छ भने सावधान ! त्यस्ता इमेल वा नम्बरबाट आएका सन्देश तथा कुराकानीमा विश्वास नगर्नुहोला । त्यसले तपाईंलाई घरबारविहीनसमेत बनाउनसक्छ । नेपाल प्रहरी, साइबर ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपकराज अवस्थी त्यसरी आएको फोन उठाउन र त्यस्ता इमेलको विश्वास नगर्न तथा प्रतिक्रिया नदिन आग्रह गर्छन् । त्यसरी अपरिचित व्यक्तिले भनेका तथा अपरिचित इमेलबाट आएका सन्देशको भर पर्दा र प्रतिक्रिया जनाउँदा मानिसहरू ठगिएकाले यसतर्फ विशेष सावधानी अपनाउन उनले आग्रह गरेका हुन् । प्रहरी उपरीक्षक अवस्थीले पछिल्लो समय साइबर ब्यूरोलगायत नेपाल प्रहरीका विशिष्टीकृत कार्यालयहरू र नेपाल प्रहरीकै उच्च अधिकारीहरूको नाम तथा दर्जा प्रयोग गरी विभिन्न व्यक्तिहरूलाई चेतावनीयुक्त इमेलहरू प्राप्त भएको जस्ता गुनासाहरू नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोमा प्राप्त भएकाले यसतर्फ ब्यूरोको समेत गम्भीर ध्यानाकर्षण भएको बताए । उनले भने, ‘नेपाल प्रहरी साइबर ब्यूरोलगायत अन्य प्रहरी कार्यालयहरूबाट पठाइएको भनिएका यस्ता इमेलहरू नक्कली भएकाले यस प्रकृतिका मेलहरूको विश्वास नगर्न साथै कुनै प्रतिक्रिया नदिन सम्पूर्ण महानुभावहरूमा विनम्र अनुरोध छ ।’ त्यसरी आएका इमेलका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको तथा कुनै शङ्का लागेमा ब्यूरोको आधिकारिक वेबसाइटमा रहेका सम्पर्क नम्बरहरू र इमेलमार्फत जानकारी गराउन सबैमा अनुरोध गरिएको छ । ब्यूरोले एक सार्वजनिक सूचना जारी गरेर त्यस्ता गतिविधिप्रति सचेत हुन र कुनै शङ्का लागेमा नजिकका प्रहरीमा जानकारी गराउन अनुरोध पनि गरेको छ । रासस